नेपालगन्ज मेडिकल कलेजका कर्मचारीको आन्दोलनका कारण अस्पतालको सेवा प्रभावित भएको छ। तलब वृद्धि लगायतका माग राखेर कर्मचारीले गत मंसिर २६ गते देखी चरणबद्ध आन्दोलन घोषणा गरेका थिए।
कर्मचारीको आन्दोलन चर्किँदै जाँदा मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुर र नेपालगन्जको सेवा प्रभावित बनेको हो। कर्मचारीको आन्दोलनका कारण बाँकेको चिसापनीमा रहेको कलेजको शैक्षिक क्रियाकलाप प्रभावित बन्न पुगेको छ।
कर्मचारीले अस्पतालको आपत्कालीन सेवा बाहेक सबै सेवा ठप्प पारेका छन्। सेवा ठप्प भएपछि अस्पतालमा भर्ना भएका र उपचारका लागि भर्ना हुन आउने बिरामी समस्यामा परेका छन्।
अस्पतालको ओपिडी, प्रशासनिक, लेखा, एकेडेमी लगायत शाखामा कर्मचारीले तालाबन्दी गरेका छन्। कलेजमा कार्यरत कर्मचारीका तीन वटा संगठनले संयुक्त रूपमा गत असारमा ७ बुँदे र ४५ उपबुँदे माग पत्र व्यवस्थापन पक्षलाई बुझाए पनि बेवास्ता भएको आरोप लगाइएको छ।
पटक–पटक वार्तामा बसेपनि निष्कर्षमा विहीन भएपछि कानुनी प्रक्रिया पुर्याएर आन्दोलन गर्नु परेको आन्दोलन परिचालन केन्द्रीय कमिटी संयोजक रत्ना गिरीले बताइन्। कर्मचारीले उठाएका माग जायज भएको र व्यवस्थापन पक्षले सम्बोधन गर्नुपर्ने भन्दै विभिन्न कर्मचारीका संगठनले आन्दोलनप्रति ऐक्यबद्धता जनाएको बताएका छन्।
आन्दोलन परिचालन केन्द्रीय कमिटीका सह–संयोजक यमबहादुर खड्का कर्मचारीको आन्दोलनलाई कमजोर नठान्न व्यवस्थापनलाई चेतावनी दिए। कर्मचारीको माग पुरा नगर्दासम्म आन्दोलन नरोकिने उनले बताए। मेडिकल कलेजमा एक हजार ५ सय ५० जना कर्मचारी कार्यरत छन्।
‘कर्मचारीको माग पुरा गर्न सकिँदैन’
कर्मचारीको आन्दोलन चर्किँदै जाँदा व्यवस्थापन पक्षले भने उनीहरूको माग तत्काल पुरा गर्न नसकिने प्रष्ट्याएको छ। नेपालगन्जमा मंगलबार पत्रकार सम्मेलन गरेर व्यवस्थापन पक्षले कर्मचारीले उठाएको मुख्य माग तलब वृद्धिलाई सम्बोधन गर्न सक्ने स्थिति नै नरहेको प्रष्ट्याएको हो।
कलेजका सिइओ सन्तोष कुमार बि.एनले कर्मचारीहरूले माग गरेको तलब, भत्ताका सम्बन्धमा आगामी आर्थिक वर्ष २०८२ साउन महिनादेखि लागु हुने गरी कम्पनीको आर्थिक अवस्था अनुसार छलफल गरी दुवै पक्षको सहमतिमा लागु गरिने बताए।
कर्मचारीको आन्दोलनबारे जानकारी दिन नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन पक्षले गरेको पत्रकार सम्मेलन। तस्बिर: अर्जुन ओली/नागरिक कर्मचारीले तलब वृद्धिको माग राखेर अस्पताल जस्तो संवेदनशील क्षेत्रको सेवा ठप्प पार्ने काम गरेको उनको भनाई छ। कम्पनीले नेपाल सरकारले तोके अनुसार कर्मचारीलाई तलब दिइरहेको दाबी गरेको छ।
‘कम्पनीमा कार्यरत हाम्रा कर्मचारीहरूले तलब भत्ता तथा सेवा सुविधा प्रति हामी सजग रही हालको अवस्थालाई मध्यनजर गरी कम्पनीले दिन सक्ने सम्पूर्ण सुविधाहरू उपलब्ध गराउँदै आएका छाैं,’ सिइओ बि.एन.ले भने।
कलेजका एच.आर. प्रमुख श्यामकुमार शर्माले अस्पताल जस्तो संवेदनशील क्षेत्रमा अवरोध गर्न उचित नरहेको र मानवता विरोधी कार्य समेत भएकाले यस्ता क्रियाकलाप नगरी बन्दका कार्यक्रम फिर्ता लिन आग्रह गरे।
कर्मचारीले तालाबन्दी गर्दा शिक्षण अस्पताल कोहलपुर र नेपालगन्जमा दैनिक करिब ८ सय जना बिरामीहरू स्वास्थ्य सेवाबाट वञ्चित हुन पुगेको शर्माले बताए।
मेडिकल कलेजलाई विगत ८ महिनादेखि नयाँ व्यवस्थापनले सञ्चालनको जिम्मा लिएको छ। सञ्चालन गरेको एक वर्ष नपुग्दै कर्मचारीले अनावश्यक रुपमा मागहरू राखेर व्यवस्थापन पक्षसँग निहुँ खोजेको उनीहरूको आरोप छ।
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–७ टोप्लाका गर्भवती महिलालाई सुत्केरी व्यथाले भन्दा बढी चिन्ता स्वास्थ्य संस्थासम्म कसरी पुग्ने भन्ने हुन्थ्यो। विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए। कतिपय महिला त स्वास्थ्य संस्थासम्म पुग्न नसक्दा घरमै सुत्केरी हुन बाध्य थिए।
अब भने त्यो बाध्यता अन्त्य हुने आशा पलाएको छ। गाउँमै बर्थिङ सेन्टर निर्माण भएपछि टोप्लाका गर्भवती महिलाले स्थानीय स्तरमै प्रसूति सेवा पाउने भएका छन्। तातोपानी गाउँपालिकाले ३६ लाख रुपैयाँ खर्चेर निर्माण गरेको बर्थिङ सेन्टरबाट सेवा सञ्चालनसमेत सुरु भएको छ।
शुक्रबार कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही र गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले संयुक्त रूपमा भवन उद्घाटन गरे। बर्थिङ सेन्टर सञ्चालनमा आएपछि टोप्ला र आसपासका डुंग्री क्षेत्रका महिलालाई प्रसूति सेवाका लागि टाढाको स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।
यसअघि गर्भावस्थाको नियमित जाँचदेखि सुत्केरी गराउनसम्म यहाँका महिलाले कठिनाइ भोग्दै आएका थिए। सामान्य गर्भजाँचका लागि समेत घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था थियो। सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्थासम्म पुर्याउन परिवारका सदस्यले भोग्नुपर्ने सास्ती झनै कठिन थियो।
स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंका अनुसार गाउँमा प्रसूति सेवा दिने पूर्वाधार नहुँदा महिलाले वर्षौंदेखि यस्तो समस्या भोग्दै आएका थिए। 'वर्षौंदेखि यहाँका महिलाले भोग्दै आएको यही बाध्यता अब विस्तारै हट्ने आशा पलाएको छ,' उनले भने।
गाउँपालिका अध्यक्ष चौलागाईंले दुर्गम बस्तीका महिलालाई प्रसूति सेवाका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्न बर्थिङ सेन्टर निर्माण गरिएको बताए। 'दुर्गम टोप्ला र डुंग्रीका महिलाले अब प्रसूति सेवाका लागि सास्ती खेप्नु नपरोस् भनेर गाउँमै बर्थिङ सेन्टर निर्माण गरेका हौँ,' उनले भने, 'भवन बनिसकेको छ। आवश्यक उपकरण व्यवस्थापन गरेर सेवा सञ्चालनसमेत भइसकेको छ।'
गाउँपालिकाले भौगोलिक कठिनाइलाई ध्यानमा राखेर सुत्केरी महिलालाई बोकेर स्वास्थ्य संस्थासम्म पुर्याउने स्थानीयलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ भत्ता दिने नीतिगत व्यवस्था पनि गरेको छ।
प्रदेशसभा सदस्य शाहीले दुर्गम क्षेत्रका नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने गरी गाउँपालिकाले बर्थिङ सेन्टर निर्माण गर्नु प्रशंसनीय भएको बताए। उनले भवनको थप तला निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।
सरकारले संस्थागत सुत्केरीको दर शतप्रतिशत पुर्याउने लक्ष्य लिएको छ। टोप्लामा बर्थिङ सेन्टर सञ्चालनले उक्त लक्ष्य हासिल गर्न सहयोग पुग्ने स्वास्थ्य शाखाको अपेक्षा छ। आवश्यक उपकरण तथा सामाग्री गाउँपालिका र दातृ संस्थाको सहयोगमा व्यवस्थापन गरिने संयोजक चौलागाईंले बताए।
तर भवन निर्माण र सेवा सञ्चालनसँगै सुरक्षित प्रसूतिको पूर्ण सुनिश्चितता गर्नुपर्ने चुनौती पनि छ। बर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मीको नियमित उपलब्धता, पर्याप्त उपकरण, घेरबार तथा परिसर व्यवस्थापन र चौबिसै घण्टा सेवा सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ।
स्थानीय महिला साउनी रोकायाले बर्थिङ सेन्टरलाई भवन निर्माणमा मात्र सीमित राख्न नहुने बताइन्। 'यो एउटा भवन निर्माणको विषय होइन, वर्षौंदेखि प्रसूति सेवाका लागि भोग्दै आएको दुःख र बाध्यता कम हुने आशाको सुरुवात हो,' उनले भनिन्, 'आवश्यक उपकरण, दक्ष जनशक्ति र चौबिसै घण्टा सेवा उपलब्ध गराउन सके मात्रै यहाँका महिलाले गाउँमै सुरक्षित प्रसूति सेवाको वास्तविक अनुभूति गर्न पाउनेछन्।'
उक्त टोप्लामा बर्थिङ सेन्टर स्थापना हुनु दुर्गम क्षेत्रका महिलाको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्त्वपूर्ण कदम हो। गर्भवती महिलाले आवश्यक परेको जुनसुकै बेला दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित प्रसूति सेवा पाउने छन्।