सिटिईभिटी अन्तर्गतको तुलसीपुर स्थित भ्यालि टेक्निकल ईन्स्टिच्यूटले त्यहाँ सञ्चालित उद्यम विकास सहजकर्ता (ईडिएफ ) कक्षा अध्ययनका लागि ६० जना विद्यार्थीको नाम निकाल्यो। ६० मध्ये ५१ जना मात्रै अध्ययनका लागि ईन्स्टिच्यूटमा आए। ५१ जना अध्ययनरत विद्यार्थी रहेको यो कक्षाको पढाई पुरा भैसक्यो। १८ महिने कोर्षको अध्ययन पुरा गरेका ४० जना विद्यार्थीले परिक्षा दिइसके। तर ११ जना विद्यार्थीले भने अहिलेसम्म परिक्षा दिन पाएका छैनन्। उनीहरु परिक्षाको मिति कुरेर बसेका छन्। एक विद्यार्थी भन्छन् ‘तिमीहरुको परिक्षाको रुटिन केहि दिनमै आउँछ भनेर सरले मिति सारिरहनु भएको छ।’ एसईई पास गरेपछि यो कक्षा अध्ययन गर्न पाईन्छ।
तर विद्यालयले गरेको यो चलाखी मात्रै हो। अझ शिक्षाका नाममा ईन्स्टिच्यूटले गरेको यो बद्मासीनै सावित भएको छ। ईन्स्टिच्यूटका अनुसार सिटिईभिटी अन्तर्गतको यो कक्षामा यो कलेजले पाएको कोटा भनेको ४० जना विद्यार्थी संख्या मात्रै हो। कोटा भन्दा बढि भर्ना गरिएका ११ जना विद्यार्थीको परिक्षा भने अन्यौलमा छ। विद्यार्थीहरु भन्छन्, ‘सरले तिमीहरुको परिक्षा हुन्छ ढुक्क भएर बस मात्रै भन्नु हुन्छ, तर कहिले हुन्छ केहि भन्नु हुन्न।’
ईन्स्टिच्यूटमा भर्ना भई परिक्षा दिन नपाएका विद्यार्थीहरुले ईन्स्टिच्यूटलाई बुझाउनु पर्ने सबै शूल्क बुझाइसकेका पनि छन्। १८ महिने कोर्षका लागि भर्ना सहित ६० हजार र परिक्षा शूल्क वापत थप १३ हजार ९ सय रुपैयाँ उनीहरुले ईन्स्टिच्यूटलाई बुझाएका छन्। विद्यार्थीहरुका अनुसार कक्षाका विद्यार्थीहरुलाई ग्रुप अनुसार विभाजन गरिएको छ।
ए,बी र सी ग्रुप गरि तीन ग्रुपमा विभाजन गरिएको भन्दै ईन्स्टिच्यूटले सी ग्रुपको परिक्षा तालिका आउन बाँकी रहेको भनिरहेको छ। ईन्स्टिच्यूटले पाएको ४० जना कोटा भित्र परेका विद्यार्थीहरुलाई ए र बी ग्रुपमा राखिएको थियो। ए र बी ग्रुपमा रहेका ४० जनाले परिक्षा दिइसकेका छन्।
तर परिक्षा दिन नपाएका ११ जना भने ग्रुप सीमा रहेको भन्दै परिक्षा केहि पछि हुने भनेर ईन्स्टिच्यूटले विद्यार्थीहरुलाई फकाइरहेको छ। ‘तिमीहरु ग्रुप सीमा छौ, परिक्षा ग्रुप अनुसार हुने भएकाले ए र बीको पहिला भएको हो भनेर सरले भन्नु हुन्छ,’ एक विद्यार्थीले भने ‘अब सी ग्रुपको पालो आउँछ, नआत्तिएर बस मात्रै भन्नु हुन्छ, तर कहिले परिक्षा हुन्छ केहि भन्नु हुन्न।’
यता ईन्स्टिच्यूटले पनि सिटिईभिटीबाट प्राप्त कोटा ४० जनाको मात्रै रहेको स्वीकार्छ। ईन्स्टिच्यूटका प्रमुख विनोद केसीले भ्यालि टेक्निकल कलेजमा प्राप्त विद्यार्थी कोटा संख्या ४० मात्रै रहेको तर अहिले परिक्षा दिन नपाएका विद्यार्थीहरु भने आफ्नै फरक अर्को कलेजका रहेको दावी गरे। ‘सिटिईभिटिबाट सम्बन्धन प्राप्त मेरा दुईवटा कलेजहरु हुन्,भ्यालि टेक्निकल ईन्स्टिच्यूटमा भर्ना भएका ४० जनाले परिक्षा दिइसकेका छन्,’ केसीले भने, ‘तर अर्को मेरै नाममा रहेको आस्था टेक्निकल कलेजका ११ जना विद्यार्थीहरुको परिक्षा हुन बाँकी छ।’ उनले ईन्स्टिच्यूटले विद्यार्थीहरुको रजिष्ट्रेशन गरिसकेको र चाँडै परिक्षा मिती तय हुने दाबी गरे। ‘परिक्षा दिन बाँकी रहेका भनिएका विद्यार्थीहरु फरक कलेजका हुन्,’ उनले भने ‘उनीहरुको पनि अब चाँडै परिक्षा मिती तोकिन्छ,उनीहरुले पनि परिक्षा दिन्छन्।’
केसीको भनाइलाई भने कागजी प्रमाणले गलत पुष्टि गरिदिन्छ। केसीले परिक्षा दिन बाँकी रहेको भनिएका ११ विद्यार्थीहरु आफ्नै अर्को कलेज आस्था टेक्निकल कलेजका विद्यार्थीहरु रहेको दावी गरेपनि ति ११ जना विद्यार्थी पनि भ्यालि टेक्निकल ईन्स्टिच्यूटकै रहेको कागजी प्रमाणले पुष्टि गर्छ। ति ११ जना विद्यार्थीहरुको भर्ना केसीले भने जस्तो आस्था टेक्निकल कलेजको नाममा भएको छैन। उनीहरु भ्यालि टेक्निकल ईन्स्टिच्यूटमै भर्ना भएको पुष्टि कलेजको भर्ना रसिदले गर्छ। उनीहरु सबैको भर्ना भ्यालि टेक्निकल ईन्स्टिच्यूटको रसिदमा उल्लेख गरिएको छ। यसैगरि सोही ईन्स्टिच्यूटकै नामको रसिदमा विद्यार्थीहरुले शूल्क समेत बुझाएका छन्। ‘हामीहरुलाई भ्यालि टेक्निकल कलेजमा पढ्ने हो भनेर भर्ना गरिएको हो, हामीहरुले पढेको पनि सोही कलेजकै भवनमा हो,’ अर्का विद्यार्थीले भने ‘फेरी हामीले त भ्यालि टेक्निकल कलेजकै रसिदमा शूल्क बुझाएका छौँ।’
त्यसोत, ईन्स्टिच्यूट प्रमुख केसीले भने जस्तो आस्था कलेजमा अध्ययनरत भनिएका विद्यार्थीहरुले अहिलेसम्म उक्त कलेजको नामै नसुनेको बताए। ‘हामीहरुलाई त यो आस्था कलेज भन्ने नामै थाहा थिएन,’ ति विद्यार्थीले भने ‘हामीहरुलाई भ्यालि टेक्निकल कलेजकै विद्यार्थी भनेर भर्ना गरिएको हो, अहिले कसरी अर्को कलेजको विद्यार्थी बन्यौँ हामी?’
ईन्स्टिच्यूट प्रमुख केसीले दुई ईन्स्टिच्यूट आफ्नो नाममा दर्ता रहेको तर पढाई भने एकै भौतिक संरचनामा हुने गरेको बताए। उनले दुई ईन्स्टिच्यूटको अध्ययन एकै भौतिक संरचनामा मात्रै नभई ईन्स्टिच्यूट प्रशासनीक संयन्त्र समेत एउटै रहेको बताए। यसर्थ पनि विद्यार्थीहरुले आफूहरु फरक ईन्स्टिच्यूटमा अध्ययनरत रहेको भन्ने थाहा नपाएको हुन सक्ने उनले बताए। ‘कलेज दुईवटा भएपनि एकै भवनमा दुबै कलेजको पठनपाठन गराईरहेका छौँ,’ उनले भने ‘हामीहरुले भवन भन्दा पनि कसरी शिक्षा प्रदान गर्ने भन्ने कुरा प्रमुख हो।’
तर नियमतः दुई ईन्स्टिच्यूटको पठनपाठन एकै भौतिक संरचनामा गर्न भने पाईँदैन। सिटिईभिटी लुम्बिनी प्रदेशका अनुसार दुई कलेज भन्ने तर दुईवटा कलेजको पढाई एकै थलोमा गर्छु भन्ने नियमसंगत नरहेको बताउँछ। ‘यो नियमत संगत हैन, दुई वटा कलेज भनेपछि भौतिक संरचना पनि फरक फरक हुनु पर्यो,’ सिटिईभिटीका लुम्बिनी प्रदेश प्रमुख गोपाल आचार्य भन्छन् ‘विद्यार्थी अनावश्यक भर्ना गर्ने, अनि लुकीछिपी यसरी दुई कलेजको नाममा एकै ठाउँमा पढाउने गलत कामहरु भैरहेका छन्, यसको नियमन जरुरी छ।’ उनले भ्याल टेक्निकल कलेजका ११ जना विद्यार्थीहरुको परिक्षा अन्यौल भएको बिषयमा आफूले जानकारी लिने बताए। ‘त्यहाँ के भएको रहेछ, म डिटेलमा बुझ्छु,’ उनले भने ‘अरु भन्दा पनि परिक्षा दिन नपाएका ति ११ जना परिक्षार्थीहरुलाई कसरी परिक्षामा सामेल गराने भन्ने तर्फ सोच्नु पर्छ।’
परिक्षा दिन नपाएका विद्यार्थीले भ्यालि टेक्निकल ईन्स्टिच्यूटको नाममा शूल्क बुझाएको रसिद। ईन्स्टिच्यूटले भने यी विद्यार्थीहरु फरक कलेजका रहेको दावी गर्छ।
गणित शिक्षणलाई प्रविधिमैत्री, सिर्जनात्मक र विद्यार्थीकेन्द्रित बनाउने उद्देश्यसहित त्रिभुवन विश्वविद्यालयमा शुक्रबारदेखि तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ।
सम्मेलनमा गणित शिक्षणका परम्परागत अभ्यास, डिजिटल नवप्रवर्तन तथा कृत्रिम बुद्धिमत्ता (एआई) र मानवीय बुद्धिमत्ता (एचआई) ले विद्यार्थीको सिकाइमा पार्ने प्रभावबारे विज्ञहरूले छलफल गरिरहेका छन्।
गणित शिक्षा परिषद् तथा गणित शिक्षा विभाग, केन्द्रीय शिक्षा विभाग (त्रिभुवन विश्वविद्यालय) को आयोजनामा त्रिभुवन विश्वविद्यालयको हलमा सम्मेलन भइरहेको हो।
सम्मेलनमा नेपाल, भारत, चीन, जापान, अमेरिका, क्यानडा, अस्ट्रेलिया, सिंगापुरलगायत देशका गणितमा कार्यरत अन्तर्राष्ट्रिय विज्ञहरूको ७० वटा प्रस्तुतीकरण रहने परिषद्का अध्यक्ष डा. रमेश प्रसाद अवस्थीले बताए।
सम्मेलनले गणित शिक्षणमा मानवकेन्द्रित दृष्टिकोण, डिजिटल नवप्रवर्तन र कृत्रिम बुद्धिमत्तालाई प्रमुख छलफलको विषय बनाएको अध्यक्ष अवस्थीले जानकारी दिए।
‘सम्मेलनमा मानवकेन्द्रित शिक्षण पद्धतिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास, त्यसको प्रस्तुति, छलफल तथा उपयोगका क्षेत्र खोजिनेछ,’ उनले भने, ‘त्यस्तै, डिजिटल नवप्रवर्तनको मूल्य, मान्यता र मूल्यमा आधारित गणित कक्षाकोठामा प्रविधिको प्रभावकारी प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा बहस गरिनेछ।’
पछिल्लो समय विद्यार्थीले च्याटजीपीटीजस्ता एआई उपकरण प्रयोग गरेर गणितीय समस्याको समाधान खोज्ने अभ्यास बढाउँदै लगेका छन्।
यस्तो प्रवृत्तिलाई सही तरिकाले प्रयोग गर्न सिकाउनुका साथै सिर्जनात्मक सिकाइ (क्रिएटिभ लर्निङ) र आलोचनात्मक सोच (क्रिटिकल थिंकिङ) विकास गर्नुपर्नेमा सम्मेलनको जोड छ।
गणित कक्षाकोठामा प्रयोग भइरहेका जेनेरेटिभ एआई, मिडिया विज्ञापन र सफ्टवेयरका कारण परम्परागत सिर्जनशीलता, जीविकोपार्जन तथा सांस्कृतिक मौलिकतामा देखिएका चुनौती पनि सम्मेलनका छलफलका विषय हुनेछन्।
यसबारे प्रस्तुति र अन्तरक्रियामार्फत नेपालमा विद्यार्थीका लागि एआई र एचआई (मानवीय बुद्धिमत्ता) को प्रभावकारी प्रयोगका उपाय खोजिने अध्यक्ष अवस्थीले जनाए।
त्रिविका पूर्व उपकुलपति एवं गणित विज्ञ प्राडा हिराबहादुर महर्जनले कृत्रिम बुद्धिमत्ताले गणित सिकाइका क्षेत्रमा पारेको सकारात्मक र नकारात्मक प्रभाव छलफलको विषय बन्दै गएको बताए।
सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘भविष्यको कक्षाकोठा कस्तो हुनुपर्छ र त्यसका लागि कस्ता तयारी आवश्यक छन् भन्ने विषयलाई पनि सम्मेलनले प्राथमिकता दिनुपर्छ। परम्परागत गणित कक्षामा प्रयोग हुँदै आएका व्याख्यान र अभ्यासमा आधारित शिक्षण विधिलाई प्रविधिको प्रभावकारी प्रयोगमार्फत थप विद्यार्थीकेन्द्रित बनाउनुपर्ने आवश्यकता छ।’
सम्मेलनमा ‘म गर्छु, हामी गर्छौं र तपाईं गर्नुहोस्’ जस्ता अभ्यासमा आधारित सिकाइलाई कक्षाकोठामा प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।
खोजमूलक सिकाइ, फ्लिप्ड कक्षाकोठा र पिक्ड सिकाइजस्ता आधुनिक शिक्षण विधिबारे छलफल गरी तिनको प्रयोग बढाउन शिक्षक तथा विद्यार्थीलाई प्रेरित गर्न सम्मेलनले सहयोग गर्ने अर्का गणित विज्ञ प्राडा हरिप्रसाद उपाध्यायले जनाए।
अर्का गणित विज्ञ प्राडा सिद्धिप्रसाद कोइरालाले एआई प्रयोगबाट हुन सक्ने गलत लेखाजोखालाई कानुनी रूपमा कसरी हेर्ने भन्ने विषय पनि छलफलमा आउनुपर्ने बताए।
सम्मेलनले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म गणित कक्षाकोठामा डिजिटल नवप्रवर्तनले परम्परागत शिक्षण र कक्षाकोठामा आधारित अभ्यासमा पारेको प्रभावको समीक्षा गर्ने अपेक्षा गरेको छ।
त्यसका आधारमा आवश्यक सुधारको खाका तयार पार्ने लक्ष्यसमेत सम्मेलनले राखेको छ।
यस्तै, एआई उपकरणको प्रयोग कम गरी मानवीय बुद्धिमत्ता र मानवीय सहयोगमा आधारित सिकाइलाई प्रोत्साहन गर्ने उपायसमेत खोजिनेछ।
कार्यशाला र प्यानल छलफलमार्फत गणित सिकाइका उत्तम विधिको खोजी गर्नुका साथै एआई र मानवीय बुद्धिमत्ताको प्रयोगबाट देखिएका समस्याको पहिचान र समाधानका उपाय खोजिनेछ।
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...