कुनै पनि नयाँ व्यवसाय सुरु गर्नु आफैंमा चुनौती हो। अझै त्यसबाट सफलता हासिल गर्ने बाटो झनै कठिन छ। यही चुनौतीलाई हेरेर होला, नेपालमा सफलता मिलेको व्यवसायमा हात हाल्ने प्रचलन बढी छ। एउटा व्यापारिक घराना चुनौती मोलेर व्यवसायमा सफल भएपछि त्यही प्रकृतिको व्यवसायमा लगानी गर्ने धेरै देखिन्छन्।
मुलुकमा पहिलो पटक चितवन कोई समूहले मनकामना केबलकार निर्माण गर्यो। २०५५ सालमा सञ्चालनमा आएको मनकामना केबलकार परियोजना सफल भए पनि यो समूहले अहिलेसम्म अर्को परियोजना बनाएको छैन। पोखराको विश्व शान्ति स्तुप जोड्ने केबलकारमा चितवन कोईको लगानी छ। तर मनकामना केबलकारको सफलताबाट प्रेरणा लिएर व्यवसायी चन्द्र ढकालले चन्द्रागिरि केबलकार निर्माण गरे। यो परियोजना थोरै समयमै लोकप्रिय बनेपछि चितवन कोई जस्तै ढकाल निष्क्रिय भएर बसेको देखिएन। पछिल्लो समय ढकाल आक्रामक रूपमा केबलकार परियोजना विस्तारमा अघि बढेका छन्।
चन्द्रागिरि केबलकारको सफलतापछि ढकालको आइएमई समूहले रूपन्देहीको बुटवलमा लुम्बिनी केबलकार परियोजना अगाडि बढाएको छ। आइएमई समूहकै नेतृत्वमा नवलपुरको गैंडाकोटमा पनि मौलाकालिका केबलकार परियोजना अघि बढेको छ।
ढकाल आइएमई समूहका अध्यक्ष हुन्। उनी मुलुकका सातै प्रदेशमा केबलकार निर्माण गर्ने लक्ष्य लिएर अघि बढेका छन्। यो समूहको नेतृत्वमा बुटवलमा निर्माण सुरु भएको लुम्बिनी केबलकारको केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरे।
वित्तीय क्षेत्रमा सफलता पाएको आइएमई समूहले पछिल्लो समय केबलकार र सँगसँगै होटलमा लगानी बढाएको छ। मुलुकको पर्यटन विकासमा सघाउन सातै प्रदेशमा केबलकार निर्माण गर्ने लक्ष्य लिएको समूहका अध्यक्ष ढकालले बताए। ‘लुम्बिनीमा केबलकार निर्माण सुरु गरेका छौं,’ ढकालले नागरिकसँग भने, ‘एक वर्षमा सम्पन्न गर्ने योजनामा छौं।’ गैंडाकोटको मौलाकालिका मन्दिरमा पनि छिट्टै निर्माण अघि बढाउने उनले बताए।
व्यवसायी ढकालले केवलकार परियोजनामा होटल र मन्दिरलाई जोडने गरेका छन्। चन्द्रागिरी र बुटवलमा यी तीनै पक्ष छन्। लुम्बिनी केबलकार साढे तीन अर्ब रूपैयाँको लगानीमा निर्माण अघि बढाएको ढकालले जानकारी दिए। ‘केबलकारसहित तारे होटल पनि निर्माण गर्छौं,’ उनले भने, ‘स्वदेशी र विदेशी पर्यटक आकर्षित गर्ने योजना हो।’ खासगरी भारतीय र लुम्बिनी आउने विश्वका अन्य पर्यटकलाई लक्ष्य गरेर यो परियोजना अगाडि बढाइएको हो। औद्योगिक नगरी बुटवल, भैरहवालगायत त्यस आसपासका क्षेत्रमा जनघनत्व बढेकाले आन्तरिक पर्यटकलाई पनि लक्षित गरिएको छ।
केबलकारको बटम स्टेसन रूपन्देहीको बुटवल उपमहानगरपालिका ३ बमघाटमा छ। त्यहाँबाट तीन किलोमिटरको दूरीमा पाल्पाको तिनाउँ गाउँपालिका ३ वसन्तपुर डाँडामा टप स्टेसन हुनेछ। बटम स्टेसनबाट टप स्टेसनमा पुग्न १० मिनेट समय लाग्नेछ। दैनिक ६ हजार यात्रु ओसार्न सक्ने क्षमताको केबलकारमा २४ वटा गोन्डोला हुनेछन्। लुम्बिनी केबलकार बुटवलको चिडियाखोलादेखि पूर्व पाल्पाको वसन्तपुरसम्म जोड्नेगरी निर्माण अघि बढेको छ।
चन्द्रागिरि केबलकारको अनुभवबाट नै नयाँ परियोजना अघि बढाएको ढकालले बताए। ‘चन्द्रागिरिबाट हामीले धेरै सिक्यौं,’ उनले भने, ‘अबका परियोजना सहज रूपमा अघि बढ्छन्।’ चन्द्रागिरि केबलकार १८ महिनामा निर्माण सम्पन्न गरेकाले लुम्बिनी केबलकार एक वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएको उनले बताए।
बटम स्टेसन समुद्री सतहबाट दुई सय ३० मिटर र टप स्टेसन नौ सय ४० मिटरको उचाइमा छ। भारतीय सीमाबाट नजिक भएकाले भारतीय पर्यटक आकर्षित हुने विश्वास लगानीकर्ताको छ।
गर्मी ठाउँबाट आएका पर्यटकलाई नौ सय ४० मिटरको उचाइमा रहेको स्थानमा पुग्दा आनन्दको अनुभूति हुनेछ। पर्यटकले १० मिनेटको अन्तरमा फरक प्रकृतिको हावापानीको अनुभव गर्न पाउने ढकालले बताए। ‘भारतको बोर्डरबाट तीस मिनेटमा आउन सकिन्छ,’ उनले भने, ‘गर्मीबाट चिसो ठाउँमा छिटो पुगिने भएकाले पर्यटक आकर्षित हुने विश्वास हाम्रो छ।’ प्रधानमन्त्री ओलीले पनि केबलकारले स्वदेशीमात्र नभएर विदेशी पर्यटक आकर्षित हुने शिलान्यासका क्रममा भनेका थिए।
आइएमई समूहले पर्यटन प्रवद्र्धनमा अर्को विशेषता जोडेको छ। केबलकारसँगै होटल, बाल उद्यान र धार्मिक स्थललाई प्राथमिकतामा राखिएको छ। चन्द्रागिरि केबलकार चढेर गएपछि भालेश्वर मन्दिरको दर्शन गर्न पाएजस्तै लुम्बिनी केबलकार चढेर टप स्टेसनमा पुगेपछि दुर्गा माताको मन्दिरमा दर्शन गर्न पाइनेछ। केबलकारसँगै तारे होटल पनि निर्माण गरिने भएको छ। एक सय ५० कोठाको होटल निर्माण गर्ने कम्पनीले जनाएको छ। पर्यटकको मनोरञ्जनका लागि पार्क, वनभोज स्थल, बाल उद्यान, होटल निर्माण गर्ने कम्पनीले जनाएको छ। त्यहाँ पुग्नेले तराई, हिमाल र पहाडको हावापानीको अनुभव गर्न पाउनेछन्।
केबलकार निर्माणका लागि आवश्यक पर्ने जंगल सरकारले लुम्बिनी केबलकार प्रालिलाई उपलब्ध गराएको छ। केबलकारको बटम स्टेसनबाट टप स्टेसनसम्म पुग्दा बीचमा पर्ने तीन किलोमिटर वन क्षेत्र प्रयोग गर्न मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएपछि परियोजना निर्माण चरणमा प्रवेश गरेको हो। सरकारले रूपन्देही र पाल्पा जिल्लामा पर्ने ६ दशमलव २७ हेक्टर वन क्षेत्रको भोगाधिकार २५ वर्षका लागि कम्पनीलाई दिएको छ।
यो परियोजनामा केबलकार उत्पादक तथा परामर्शदाता अन्तर्राष्ट्रिय कम्पनी डोपलमेयर हुनेछ। लुम्बिनी केबलकारले उक्त कम्पनीसँग सम्झौता गरेर काम अघि बढाएको हो। केबलकारमा पछिल्लो पटक प्रयोगमा आएको अत्याधुनिक प्रविधि प्रयोग गर्ने कम्पनीको दाबी छ। परियोजनामा आइएमई समूहले नेतृत्व गरेको भए पनि स्थानीयसहित अन्य लगानीकर्तालाई पनि सहभागी बनाउने जनाएको छ।
पहिलो पटक निर्माण भएको केबलकार मनकामना मन्दिरसम्म पुर्याइएको थियो। चन्द्रागिरिमा निर्माण गरिएको चन्द्रागिरि केबलकार भालेश्वर मन्दिर, दोलखाको केबलकार कालिन्चोक भगवतीसम्म निर्माण गरिएको छ। निर्माणाधीन लुम्बिनी केबलकारको टप स्टेसनमा पनि दुर्गा माताको मन्दिर छ। आइएमई समूहकै नेतृत्वमा निर्माण गर्ने तयारी गरेको मौलाकालिका केबलकार पनि मौलाकालिका मन्दिरसँग जोडिएको छ।
मुलुकमा अहिलेसम्म मनकामना, चन्द्रागिरि र कालिन्चोक केबलकार सञ्चालनमा छन्। अहिलेसम्म सञ्चालनमा आएका तीनवटा केबलकारको सफलता देखेर लगानीकर्ताको मनोबल उच्च देखिएको छ। पोखराको सराङकोट र विश्व शान्ति स्तुपसम्म पुग्ने दुई केबलकार निर्माण भइरहेका छन्। विश्व शान्ति स्तुप जोड्ने केबलकारमा चितवन कोई समूहको लगानी छ।
ताप्लेजुङ जिल्लाको प्रसिद्ध शक्तिपीठ पाथिभरामा केबलकार निर्माणको काम अघि बढ्ने भएको छ। केबलकार निर्माण गर्ने विषयमा विभिन्न पक्षसँग आवश्यक सहजीकरण र वार्ता गर्न गठन भएको सर्वदलीय र सर्वपक्षीय सरोकार समितिको बैठकपछि निर्माणको काम अघि बढाइने भएको हो।
सो समितिको सोमबार बसेको बैठकमा यहाँ केबलकार निर्माण गर्न नहुने अडान राख्दै आएको सङ्घर्ष समितिसँग वार्ता गर्ने कामलाई निरन्तरता दिँदै निर्माणकार्यलाई पनि अघि बढाउने निर्णय भएको हो।
समितिले उनीहरूलाई पनि वार्ताका लागि बोलाएको र सहभागी सदस्यहरूले सकेसम्म सबै पक्षको सर्वसम्मतिबाट निर्माणको काम थाल्ने विषयमा छलफल गरेका थिए। केबलकार निर्माण गर्न नहुने भन्दै गठन भएको सङ्घर्ष समितिले भने आफ्नो अडान कायमै राखेको छ।
यसअघि पाथीभरामा निर्माण हुन लागेको केबलकारको कामलाई अघि बढाउन सबै पक्षसँग वार्ता र आवश्यक सहजीकरण गर्ने उद्देश्यले ताप्लेजुङ जिल्लाका जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा गत महिना उक्त समिति गठन गरिएको थियो।
सो समितिका सदस्यमा फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, पाथीभरा याङवरक गाउँपालिका अध्यक्ष केशरकुमार मेन्याङ्बो, सिरीजङ्घा र फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्षद्वय लालकृष्ण चौहान र राजन लिम्बू (मुक्ति), प्रमुख जिल्ला अधिकारी, पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष, ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष र केबलकार निर्माण कम्पनीका प्रतिनिधि रहेका छन्।पाथीभरा क्षेत्र विकास समितिको पहलमा गठित सो नौ सदस्यीय समितिले असहमत पक्षसँग वार्तासमेत गर्दै आएको छ।
सोमबारको बैठकमा समितिका सबै पक्षले निर्माणको काम थाल्ने र असहमत पक्षसँग आगामी दिनमा वार्तालाई निरन्तरता दिने निष्कर्ष निकालेको थियो। सोही सहमतिअनुसार निर्माणको काम सुरु गरिने पाथीभरा (मुकुमुलुङ) केबलकार दर्शन प्रालिका प्रतिनिधि रुद्र पौडेलले जानकारी दिए।
उनले आवश्यक कानुनीलगायतका सबै प्रक्रिया पूरा भएको र अब एक–दुई दिनमा नै निर्माणको काम थाल्ने जानकारी दिए।
पाथीभरामा केबलकार निर्माण हुँदा जैविक विविधता, यहाँको मौलिकता र प्राकृतिक सौन्दर्यमा असर पुग्ने भन्दै यहाँका केही स्थानीयले केबलकार निर्माणमा असहमति जनाउँदै आएका छन्।
अर्कातर्फ यहाँका अधिकांश स्थानीय, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय तहका जनप्रतिनिधिले भने ताप्लेजुङजस्तो पर्यटकीय सम्भावना बोकेको जिल्ला र प्रसिद्ध शक्तिपीठ पाथीभरामा पर्यटकीय पूर्वाधार निर्माणको कार्यलाई रोक्न नहुने बताएका छन्।
केबलकार निर्माण पक्षले भने सबै प्रक्रिया पूरा गरी निर्माण थाल्न लागेको र यहाँका कुनै पनि मौलिकता एवं धार्मिक, सांस्कृतिक पक्षमा कुनै असर नपर्ने गरी निर्माण गरिने भन्दै यसका लागि आवश्यक वातावरण तयार गर्न सरोकारवाला निकायसँग आग्रह गर्दै आएको छ।
प्रसिद्ध धार्मिकस्थल पाथीभरालाई लिम्बू समुयदायले मुकुमुलुङ भन्ने गर्दछन्। पाथीभरा क्षेत्र चार स्थानीय तह फक्ताङ्लुङ गाउँपालिका, फुङ्लिङ नगरपालिका, पाथीभरा याङवरक गाउँपालिका र सिरिजङ्घा गाउँपालिकामा पर्दछ।
प्रसिद्ध पाथीभरा देवीको दर्शन गर्न यहाँ ठूलो सङ्ख्यामा भक्तजन आउने गर्दछन्। पाथीभरा क्षेत्र विकास समितिका अनुसार गत साउनदेखि पुससम्म यहाँ ९२ हजारभन्दा बढी भक्तजन आएका छन्।
यहाँ हाल वर्षमा करिब चार लाख धार्मिक पर्यटक एवं भक्तजन आउने गरेका छन्। यदि केबलकार तथा आवश्यक अन्य पर्यटकीय पूर्वाधार निर्माण हुनसकेमा वर्षमा कम्तीमा पनि १५ लाख भक्तजन यहाँ आउने अनुमान गरिएको छ। त्यसैले यहाँका नागरिक जतिसक्दो चाँडै केबलकार तथा अन्य पर्यटकीय पूर्वाधार निर्माण गर्नुपर्नेमा छन्।
अहिले पाथीभरा मन्दिरसम्म पुग्नका लागि काफ्लेपाटीसम्म सडक पुगेको छ। सुकेटारसम्म कालोपत्र गरेको सडकको पहुँच पुगेको छ भने सुेकेटारबाट काफ्लेपाटीसम्म ११ कोलोमिटर कच्ची सडक हँुदै पुग्न सकिन्छ।
काफ्लेपाटीबाट पदमार्ग हुँदै पाँच किलोमिटर उकालो चढेपछि तीन हजार सात सय ९५ मिटरमा अवस्थित पाथीभराको मन्दिरमा पुग्न सकिन्छ।
उचाइमा अवस्थित यस मन्दिरमा पुग्न उकालो बाटो भएकाले ज्येष्ठ नागरिक, बालबालिका, दीर्घरोगी तथा शारीरिक असक्त एवं फरक क्षमता भएकाहरूका लागि निकै कठिन हुने गरेको छ। त्यसैले स्थानीयजस्तै यहाँ आउने दर्शनार्थीले पनि केबलकार निर्माणको माग गर्ने गरेका छन्।
निर्माण कम्पनीले मन्दिर आसपास कुनै संरचनामा फेरबदल नहुने र केबलकारको स्टेशन मन्दिरबाट करिब एक किलोमिटर तल रहने भएकाले अहिलेकै पदमार्ग हुँदै पाथीभरा मन्दिर प्रवेशद्वारबाटै दर्शनार्थी जान सकिने गरी केबलकार निर्माण हुने स्पष्ट गरेको छ।
तीन अर्ब रूपैयाँभन्दा बढीको लागतमा यहाँ केबलकार निर्माण हुन लागेको र यसपछि यहाँ आउने ठूलो सङ्ख्याका पर्यटकलाई लक्ष्य गरी पर्यटकीय पूर्वाधारसमेत बन्ने भएकाले स्थानीयले प्रत्यक्ष लाभ लिनसक्ने गरी उनीहरूको सहमति र सहयकार्यमा नै यो बृहत् आयोजनालाई अघि बढाउनुपर्ने पक्षमा यहाँका स्थानीय तहका जनप्रतिनिधि रहेका छन्।
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...