आयुर्वेदको पुनर्जागरण र स्वस्थ नेपालको सङ्कल्प
२० कार्तिक २०८३
•
१० मिनेट पाठ
आयुर्वेदको पुनर्जागरण र स्वस्थ नेपालको सङ्कल्प
कात्तिक कृष्ण त्रयोदशी अर्थात् धनतेरसका दिन मनाइने धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस नेपाली समाजको स्वास्थ्य, संस्कृति र मौलिक चिकित्सा परम्परासँग जोडिएको महत्वपूर्ण अवसर हो। यो दिवस धार्मिक आस्था र सांस्कृतिक परम्पराको निरन्तरता मात्र नभई आयुर्वेद चिकित्सा पद्धतिको संरक्षण, प्रवर्द्धन, वैज्ञानिक विकास र राष्ट्रिय स्वास्थ्य प्रणालीमा यसको प्रभावकारी समायोजन गर्ने सङ्कल्पको दिन पनि हो।




आयुर्वेदका प्रवर्तक तथा स्वास्थ्य र औषधिका देवताका रूपमा पूजित भगवान् धन्वन्तरीलाई हिन्दू धर्मग्रन्थमा भगवान् विष्णुको अवतारका रूपमा वर्णन गरिएको छ। पौराणिक मान्यताअनुसार समुद्र मन्थनका क्रममा अमृत कलशसहित भगवान् धन्वन्तरीको प्रादुर्भाव भएको थियो। प्रकृतिमा उपलब्ध जडीबुटी र औषधीय वनस्पतिका माध्यमबाट मानव जीवनलाई निरोगी बनाउने ज्ञानको प्रतीकका रूपमा उहाँलाई सम्मान गरिन्छ। वैदिक दर्शनका चार उपवेदमध्ये एक आयुर्वेदलाई मानव स्वास्थ्य र दीर्घजीवनसँग सम्बन्धित प्राचीनतम् चिकित्सा विज्ञान मानिन्छ। यसले शरीर, मन र आत्माबीचको सन्तुलनलाई स्वस्थ जीवनको आधार मानेको छ। त्यसैले आयुर्वेद केबल रोग लागेपछि उपचार गर्ने पद्धति मात्र नभई रोगको रोकथाम, स्वास्थ्य प्रवर्द्धन, स्वस्थ जीवनशैली र दीर्घायु प्राप्त गर्ने समग्र विज्ञान हो।

नेपालमा २०५६ सालदेखि धन्वन्तरी जयन्तीलाई राष्ट्रिय आरोग्य दिवसका रूपमा मनाउन थालिएको हो। यसले आयुर्वेद चिकित्सा प्रणालीलाई राष्ट्रिय पहिचान, जनस्वास्थ्य र स्वास्थ्य सेवाको महत्वपूर्ण आधारका रूपमा स्थापित गर्ने उद्देश्य बोकेको छ। हरेक वर्ष विभिन्न कार्यक्रम, स्वास्थ्य सचेतना अभियान, योग तथा ध्यान अभ्यास, आयुर्वेदिक स्वास्थ्य परामर्श र औषधीय वनस्पतिको महत्वबारे जानकारी प्रदान गर्दै यो दिवस मनाइन्छ। ‘प्रकृति अनुकूल आहार, औषध र विहार रोगमुक्त समाजको आधार’ भन्ने यस वर्ष २७ औँ धन्वन्तरी जयन्ती र राष्ट्रिय आरोग्य दिवसको नाराले पनि स्वस्थ जीवनका लागि उपचारसँगै रोकथाम र स्वास्थ्य प्रवर्द्धनलाई प्राथमिकता दिनुपर्ने सन्देश दिएको छ। आधुनिक समयमा बढ्दै गएका नसर्ने रोग, मानसिक तनाव, असन्तुलित खानपान, शारीरिक निष्क्रियता र वातावरणीय प्रदूषणजस्ता चुनौतीको सामना गर्न जीवनशैलीमा सुधार आवश्यक छ। यस सन्दर्भमा योग, ध्यान र आयुर्वेदका व्यावहारिक पक्षलाई जनजीवनमा समावेश गर्नसके स्वास्थ्य क्षेत्रमा सकारात्मक परिणाम हासिल गर्न सकिन्छ।

आयुर्वेदः उपचारभन्दा व्यापक जीवनपद्धति

आयुर्वेदको मूल दर्शन स्वस्थ व्यक्तिको स्वास्थ्य रक्षा गर्नु र रोगीको रोग निवारण गर्नु हो। यसले मानिसको शारीरिक बनावट, उमेर, प्रकृति, खानपान, वातावरण र जीवनशैलीलाई ध्यानमा राखेर स्वास्थ्य व्यवस्थापन गर्ने अवधारणा प्रस्तुत गर्दछ। दिनचर्या, ऋतुचर्या, आहारविहार, निद्रा, व्यायाम, योग र मानसिक सन्तुलनलाई यसले विशेष महत्व दिएको छ। आजको व्यस्त जीवनशैलीमा मानिसहरू अनियमित खानपान, पर्याप्त निद्राको अभाव, तनाव र शारीरिक गतिविधिमा कमीका कारण विभिन्न स्वास्थ्य समस्याबाट प्रभावित भइरहेका छन्। उच्च रक्तचाप, मधुमेह, मोटोपना, मुटुरोग तथा मानसिक स्वास्थ्यसम्बन्धी समस्याहरू जनस्वास्थ्यका प्रमुख चुनौती बनेका छन्। यस्ता समस्याको रोकथामका लागि स्वस्थ आहार, नियमित व्यायाम, योग, ध्यान र अनुशासित जीवनशैली आवश्यक हुन्छ।  

आयुर्वेदले व्यक्तिको प्रकृतिअनुसार आहारविहार अपनाउन प्रेरित गर्दछ। यसले स्वास्थ्यलाई औषधिमा मात्र सीमित नराखी दैनिक व्यवहार र सामाजिक वातावरणसँग जोडेको छ। त्यसैले विद्यालय, समुदाय, घरपरिवार र कार्यस्थलसम्म स्वास्थ्य सचेतनाका कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ। भान्छाघरलाई नै स्वास्थ्यको पहिलो आधार बनाउने अवधारणा आयुर्वेदको महत्वपूर्ण पक्ष हो। स्थानीय रूपमा उपलब्ध पौष्टिक खाद्यवस्तु, मौसमी फलफूल, सागसब्जी तथा खाद्यान्नको सन्तुलित प्रयोगले पोषण सुधारमा सहयोग पुर्‍याउँछ।  

त्यसैगरी, नागरिक आरोग्य कार्यक्रम, योग अभ्यास, स्वर्णविन्दु प्राशन तथा स्वास्थ्य सचेतना अभियानलाई वैज्ञानिक मूल्याङ्कन र उपयुक्त स्वास्थ्य मापदण्डका आधारमा प्रभावकारी बनाउन सकिन्छ।

नेपालमा आयुर्वेदको सम्भावना र सेवा विस्तार

प्राकृतिक, भौगोलिक तथा जैविक विविधताका दृष्टिले नेपाल आयुर्वेद विकासका लागि अत्यन्त सम्भावनायुक्त मुलुक हो। हिमाल, पहाड र तराईमा पाइने विविध वनस्पति तथा जडीबुटी आयुर्वेद औषधि उत्पादनका महत्वपूर्ण आधार हुन्। हिमाली क्षेत्रमा पाइने बहुमूल्य औषधीय वनस्पतिदेखि तराईका स्थानीय जडीबुटीसम्मको व्यवस्थित पहिचान, संरक्षण, खेती, सङ्कलन र प्रशोधन गर्नसके मुलुकले स्वास्थ्य तथा आर्थिक क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्न सक्छ।

नेपालमा आयुर्वेद स्वास्थ्य सेवाको संस्थागत विस्तारका लागि विभिन्न प्रयास भइरहेका छन्। काठमाडौँको नरदेवीस्थित केन्द्रीय आयुर्वेद अस्पताल, प्रादेशिक आयुर्वेद अस्पताल, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, स्थानीय तहका आयुर्वेद शाखा तथा नागरिक आरोग्य सेवा केन्द्रमार्फत नागरिकलाई सेवा उपलब्ध गराउने व्यवस्था विस्तार हुँदै गएको छ। यी संस्थाबाट निःशुल्क स्वास्थ्य परीक्षण, आयुर्वेद औषधि वितरण, पञ्चकर्म, शल्यकर्म, योग तथा अन्य विशिष्टीकृत सेवाहरू सञ्चालन भइरहेका छन्। नागरिक आरोग्य कार्यक्रम र स्वास्थ्य प्रवर्द्धनसम्बन्धी गतिविधिले समुदायस्तरमा आयुर्वेद सेवाको पहुँच विस्तार गर्न सहयोग पुर्‍याएका छन्।  

यद्यपि संस्थागत संरचना विस्तार हुनु मात्र पर्याप्त छैन। सेवाको गुणस्तर, दक्ष जनशक्ति, आवश्यक औषधिको उपलब्धता, भौतिक पूर्वाधार र नागरिकको विश्वास अभिवृद्धि गर्न समानान्तर प्रयास आवश्यक छन्। विशेषगरी दुर्गम तथा ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकले सहज रूपमा गुणस्तरीय आयुर्वेद सेवा प्राप्त गर्ने वातावरण निर्माण गर्नुपर्छ।

संरक्षणसँगै वैज्ञानिक विकासको आवश्यकता

आयुर्वेदको संरक्षण भन्नाले परम्परागत ज्ञानलाई जस्ताको तस्तै निरन्तरता दिनुमात्र बुझ्नु हुँदैन। यसलाई समय, प्रविधि र वैज्ञानिक अनुसन्धानअनुसार परिमार्जन गर्दै लैजानु पनि उत्तिकै महत्वपूर्ण छ। परम्परागत ज्ञानको वैज्ञानिक परीक्षण, औषधिको गुणस्तर निर्धारण, प्रभावकारिताको अध्ययन र सुरक्षित प्रयोग सुनिश्चित गर्नु आजको आवश्यकता हो। आयुर्वेद औषधि उत्पादन तथा वितरणमा गुणस्तर नियन्त्रणलाई प्राथमिकता दिनुपर्छ। औषधिमा प्रयोग हुने कच्चा पदार्थको शुद्धता, पहिचान, प्रशोधन, मात्रा, भण्डारण र उत्पादन प्रक्रियालाई वैज्ञानिक मापदण्डअनुसार व्यवस्थित गर्न आवश्यक छ। औषधिको प्रभावकारिता र सम्भावित प्रतिकूल असरबारे अनुसन्धान हुनुपर्छ। यसबाट आयुर्वेदप्रति नागरिकको विश्वास अभिवृद्धि हुनुका साथै राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा नेपाली औषधिको विश्वसनीयता स्थापित गर्न सकिन्छ।

नेपालमा आयुर्वेद शिक्षाको गुणस्तर सुधार पनि महत्वपूर्ण विषय हो। शैक्षिक संस्थामा पाठ्यक्रमको एकरूपता, प्रयोगात्मक अभ्यास, अनुसन्धानमुखी शिक्षा र दक्ष चिकित्सक उत्पादनमा विशेष ध्यान दिनुपर्छ। आयुर्वेद चिकित्सा, औषधि विज्ञान, वनस्पति विज्ञान, जैविक प्रविधि र आधुनिक स्वास्थ्य अनुसन्धानबीच सहकार्य विस्तार गर्नसके नयाँ सम्भावनाका ढोका खुल्न सक्छन्। यस क्षेत्रमा दक्ष चिकित्सक, औषधि विज्ञ, अनुसन्धानकर्ता, प्राविधिक र जडीबुटीसम्बन्धी विशेषज्ञ जनशक्तिको विकास गर्न आवश्यक छ।  

सरकारी तथा निजी क्षेत्रका अनुसन्धान संस्थाबीच समन्वय गरी राष्ट्रिय प्राथमिकताका विषयमा अध्ययन अनुसन्धान अघि बढाउनुपर्छ।

जडीबुटी संरक्षण र आर्थिक समृद्धि

नेपालको जडीबुटी क्षेत्र स्वास्थ्य सेवासँगै रोजगारी, उद्यमशीलता र निर्यात प्रवद्र्धनको सम्भावनायुक्त क्षेत्र हो तर यसको दिगो विकासका लागि प्राकृतिक स्रोतको संरक्षण र वैज्ञानिक व्यवस्थापन अनिवार्य छ। अव्यवस्थित सङ्कलन, वनस्पतिको प्राकृतिक बासस्थान विनाश र बजार व्यवस्थापनको अभावले बहुमूल्य जडीबुटी लोप हुने जोखिम बढाउन सक्छ। त्यसैले जडीबुटीको व्यावसायिक खेतीलाई प्रोत्साहन गर्नुपर्छ। किसानलाई प्राविधिक ज्ञान, गुणस्तरीय बीउ तथा बिरुवा, अनुदान, सहुलियतपूर्ण ऋण र बजारको सुनिश्चितता उपलब्ध गराउन आवश्यक छ।  

स्थानीय तह, सहकारी, निजी क्षेत्र र समुदायबीच सहकार्य गरी जडीबुटी उत्पादनदेखि प्रशोधन, औषधि निर्माण र बजारीकरणसम्मको मूल्य शृङ्खला विकास गर्न सकिन्छ। यसबाट ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना हुनुका साथै स्थानीय अर्थतन्त्र सुदृढ हुनेछ। नेपाली जडीबुटीको पहिचान, गुणस्तर प्रमाणीकरण र ब्रान्डिङ गर्नसके अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक क्षमता बढाउन सकिन्छ।

एकीकृत स्वास्थ्य प्रणालीतर्फको यात्रा

नेपालको स्वास्थ्य प्रणालीमा आयुर्वेद र आधुनिक चिकित्सा पद्धतिबीच प्रभावकारी समन्वय आवश्यक छ। नागरिकले आफ्नो आवश्यकता र स्वास्थ्य अवस्थाअनुसार सुरक्षित तथा प्रमाणमा आधारित सेवा प्राप्त गर्न पाउने व्यवस्था हुनुपर्छ। यसका लागि दुवै चिकित्सा प्रणालीबीच ज्ञान, अनुसन्धान, जनशक्ति र सेवा प्रवाहमा सहकार्य बढाउनुपर्छ। एकीकृत चिकित्सा कार्यक्रम सञ्चालन गर्दा उपचारको प्रभावकारिता, बिरामीको सुरक्षा र वैज्ञानिक प्रमाणलाई प्राथमिकता दिनुपर्छ।  

आयुर्वेद र आधुनिक चिकित्साका चिकित्सकबीच नियमित परामर्श, बिरामीको स्वास्थ्य विवरण आदानप्रदान तथा आवश्यकताअनुसार विशेषज्ञ सेवामा पहुँचको व्यवस्था गर्न सकिन्छ।

तीन तहका सरकारबीच नीतिगत समन्वय, पर्याप्त बजेट विनियोजन र संस्थागत जिम्मेवारी स्पष्ट हुनुपर्छ। आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रको विकासका लागि दीर्घकालीन रणनीति निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयन आवश्यक छ। टेलिमेडिसिन, डिजिटल स्वास्थ्य अभिलेख र सूचना प्रविधिको प्रयोगबाट दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्न सकिन्छ।

राष्ट्रिय प्रतिबद्धता र भावी दिशा

धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवसले हामीलाई आफ्नो मौलिक चिकित्सा ज्ञानको महत्व स्मरण गराउनुका साथै त्यसको संरक्षण र विकासप्रति जिम्मेवार बन्न प्रेरित गर्दछ।  

आयुर्वेदलाई केबल परम्परा वा सांस्कृतिक सम्पदाका रूपमा सीमित नराखी वैज्ञानिक अनुसन्धान, गुणस्तरीय सेवा र जनस्वास्थ्य प्रवर्द्धनको प्रभावकारी माध्यम बनाउनुपर्छ।  

यसका लागि सरकार, स्वास्थ्यकर्मी, प्राज्ञिक संस्था, अनुसन्धानकर्ता, निजी क्षेत्र, स्थानीय समुदाय र आम नागरिकबीच सहकार्य अपरिहार्य छ। पर्याप्त लगानी, दक्ष जनशक्ति, अनुसन्धानको विकास, औषधिको गुणस्तर नियन्त्रण र जडीबुटीको दिगो व्यवस्थापनलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्छ। आयुर्वेदको संरक्षण र सम्वर्द्धन गर्नु भनेको हाम्रा पुर्खाले विकास गरेको ज्ञान, सीप र प्राकृतिक सम्पदाको संरक्षण गर्नु पनि हो तर यसको वास्तविक उपलब्धि नागरिकले गुणस्तरीय, सुरक्षित, सुलभ र विश्वसनीय स्वास्थ्य सेवा प्राप्त गरेपछि मात्र प्रमाणित हुनेछ।  

अन्ततः स्वस्थ नागरिक नै समृद्ध राष्ट्र निर्माणको आधार हुन्। धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवसलाई औपचारिक समारोहमा मात्र सीमित नराखी स्वस्थ जीवनशैली अपनाउने, रोगको रोकथाम गर्ने, प्राकृतिक स्रोतको संरक्षण गर्ने र वैज्ञानिक स्वास्थ्य प्रणाली निर्माण गर्ने राष्ट्रिय अभियानका रूपमा अघि बढाउनुपर्छ।  

आयुर्वेदको मौलिकता र आधुनिक विज्ञानको उपलब्धिबीच सन्तुलित समन्वय कायम गर्नसके नेपालले आफ्नै मौलिक स्वास्थ्य पहिचानलाई सुदृढ गर्दै स्वस्थ, समृद्ध र आत्मनिर्भर राष्ट्र निर्माणको यात्रालाई थप गति दिन सक्नेछ। सन्तुलित आहार, योग, व्यायाम र स्वस्थ्य जीवनशैली अपनाउँदै औषधिको उचित प्रयोग गरी नसर्ने रोगबाट बच्नु नै आजको आवश्यकता हो।

(प्रस्तुत विचार नेपाल आयुर्वेद चिकित्सक सङ्घका निर्वतमान अध्यक्ष यादवसँग गरिएको कुराकानीमा आधारित)
अर्को समाचार
नेपाली कांग्रेस : पुनर्जागृत हुने कि स्खलित ?
०९ मंसिर २०८३
•
७ मिनेट पाठ
नेपाली कांग्रेस : पुनर्जागृत हुने कि स्खलित ?
नेपालमा प्रजातन्त्र स्थापना गर्ने देखी सबै खाले राजनैतिक आन्दोलनहरूमा आफ्नो दर्बिलो उपस्थिति देखाउँदै यस देशको विकास क्रममा नेपाली कांग्रेस कहिले खुम्चिएर त कहिले आम जनताको अभुतपूर्ण समर्थनमा करिब आठ दशकदेखि नेपालको राजनीतिको अग्रमोर्चामा छ।




पहिलो पटक जनताले आफ्नो प्रतिनिधि आफैँ चुन्न पाउनेदेखि, मौलिक हकहरू, समावेशिता, विकास(?)का अनेक पूर्वाधार निर्माणका सवालमा कांग्रेसले महत्त्वपूर्ण योगदान गरेको कुरा अकाट्य छ। नेपालमा बहुदलीय प्रतिस्पर्धात्मक राजनैतिक व्यवस्था , शान्ति प्रक्रिया हुँदै नेपाललाई संघिय लोकतान्त्रिक गणतन्त्रात्मक देशको रूपमा संविधानमै सुनिश्चित गराउने सम्मका काममा नेपाली कांग्रेस सदैव नेतृत्वदायी भूमिकामा रह्यो। 

तर कांग्रेसबाट जनताको अपेक्षा यतिमा मात्रमा सीमित थिएन। हिजोको जहानिया राणाशासन , पञ्चायती व्यवस्थाको विषम परिस्थितिमा समेत डटेर लडेको कांग्रेस आजको यत्तिको अवसरका बिचमा किन लरखराएको छ ? यो नै आम चिन्ताको विषय बनेको छ।

संविधानको कार्यान्वयन , सरकारको पारदर्शिता , भ्रष्टाचार , महँगी , बढ्दो बेरोजगारी , युवा पलायन लगायतका अनकन विषयहरूमा कांग्रेस र यहाँका मुख्य दलहरूमाथि जनताको जबरजस्त अविश्वास पैदा भयो। यही अविश्वासको जगमा समाजमा आक्रोश पैदा गराई देशका महत्त्वपूर्ण धरोहरहरू ; संसद् भवन , राष्ट्रपति कार्यालय ,सिंहदरबार लगायत थुप्रा नेताका घरहरू , व्यावसायिक स्थलहरू , छापाखाना क्षणभरमै खरानी बनाइए। 

नेपाली कांग्रेसको समर्थनमा रहेको तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार शान्ति सुरक्षाको मामिलामा निरीह मात्र रहेन सत्तासीन मन्त्री र सांसदहरूलाई ज्यान जोगाउनै धौधौ पर्‍यो। अझै पूर्वप्रधानमन्त्री समेत बनिसकेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा आफ्नो धर्मपत्नीकै साथ कुटाइ खानुपर्‍यो। अहिले उनको पछिल्लो अभिव्यक्ति अनुसार आफूलाई मार्ने षड्यन्त्रमा आफ्नै पार्टीका तत्कालीन महामन्त्री गगन थापाले व्यक्तिहरू परिचालन गरेको गम्भीर आरोपसमेत आएको छ। समयले थप सत्यहरू उजागर गर्दै पनि जाला।

तर राजनीतिका यी अनकन फोहोरी हर्कतभन्दा माथि आजको मुख्य सवाल नेपाली कांग्रेसको वैचारिक धरातलको हो। नेपालको राजनीतिमा आफूलाई जेठो पार्टी दाबी गरेर मात्रै वा हिजोका अग्रजहरूको योगदानको ब्याज खाएर मात्रै कांग्रेसले भोलिको समयमा आफ्नो औचित्य पुष्टि गरिरहन सक्दैन। 

स्थापनाको समयदेखि अहिलेसम्ममा सायदै काँग्रेस सबैभन्दा बढी विचार शून्य अवस्थामा छ र केवल पद प्राप्तिको लडाइँमा मात्र सीमित देखिन्छ। विशेष र नियमित महाधिवेशनको नाममा कांग्रेस अब प्राविधिक रूपमा मात्र विभाजित हुन बाँकी रहेको छ। तर यो विभाजन कुनै वैचारिक जगमा उभिएको विभाजन भने पटक्कै होइन। यो केवल राजनीतिलाई सतरन्जको खेल सम्झिनेहरूको परिणामहीन कुकृत्य मात्र हो। यसलाई पुष्टि गर्ने केही आधारहरू छन्। 

गत वर्षको भाद्रमा जेनजीआन्दोलनको भावना/मर्मको नाममा भाद्र २२ गतेसम्म भागबन्डामा मग्न नेताहरू भाद्र २५ देखि नेतृत्व हत्याउने हतारमा देखिन पुगे। भातृ संगठनको जगमा पार्टीको महामन्त्रीजस्तो जिम्मेवार पदमा आसीन नेताहरू आफ्नो पूरा कार्यकालभरि कुनै भातृ संगठनको अधिवेशनको पक्षमा न कतै बोले न त कुनै पहलकदमी देखाए। 

अझै भद्दा नेविसंघ र तरुण दलमा आफ्ना मान्छेहरू भन्दै भागबन्डाको बार्गेनिङमा यिनलाई निकम्मा बनाउन लागिपरे , त्यसकै फलस्वरूप युवाहरूको असङ्गठित आवाजले जेनजी आन्दोलनको नाममा विनाशको रूप लियो। फेरि उल्टै सारा दोष अरूमाथि पन्छाएर आफू पानीमाथिको ओभानो देखिन रत्तीभर लाज मानेनन्,हिचकिचाएनन्।

अब प्रश्नहरू आउँछन् , नेपाली कांग्रेसको मुख्य समस्या नीति हो वा नेतृत्व ? शेरबहादुर देउवाको अनुहार फालेर गगन थापा वा कसैको अनुहार देखाउँदैमा पार्टी मजबुत भइहाल्ने भए हालै सम्पन्न निर्वाचनको परिणाममा कांग्रेसको नयाँ सभापति बनेर आएँ भनेकै व्यक्तिको र पार्टीका सबैजसो उम्मेदवारहरूको निर्वाचनमा लज्जास्पद पराजय कसरी हुन पुग्यो ?

महाधिवेशन भनेको सभापति वा पदाधिकारी फेर्ने अभ्यास मात्र हो वा वैचारिक मन्थनको प्रक्रिया पनि हो ?

नेपालको शासन व्यवस्थामाथि जनताको जबरजस्त अविश्वास पैदा भयो , किन? त्यो अविश्वास पैदा हुनुमा तत्कालीन माओवादसहित सबै दल जिम्मेवार छन्। तर कांग्रेस किन र कुन अर्थमा के के कारण बढी जिम्मेवार छ? त्यसको रिफ्लेक्सन कांग्रेसको अन्तर पार्टी संघर्षमा देखिन्छ , कसरी?

अहिलेको कांग्रेसको आन्तरिक अवस्थाले देशको सकारात्मक रूपान्तरणमा सिर्जना हुन सक्ने अवरोधहरू कस्ता छन्? ती अवरोधहरू सिर्जना हुनुमा कांग्रेसको आन्तरिक शक्तिसङ्घर्ष किन र कसरी जिम्मेवार छ?

अहिले जसरी विशेष महाधिवेशन जसलाई ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेको भनिएको छ , त्यो समूहलाई आवश्यक लाग्यो भन्ने बित्तिकै अर्को पक्षलाई निषेध गरेर आफ्नै पार्टी पङ्क्तिलाई दास र लासको संज्ञा दिने हर्कतले कांग्रेसको भलो हुन्छ ?  

हिजो स्थापना कालदेखि कांग्रेसमा बिपी सुवर्णको बिचमा होस् वा केही समय अघिसम्म शेरबहादुर देउवा र कोइराला परिवारको अन्तर सङ्घर्षको बिचमा ! सबै समयमा नेताहरूले संवाद र सहमतिकै बाटो रोजेर पार्टी एक राखेका हुन् भने अहिले विशेष महाधिवेशनको गलत प्रयोग (लुप होल)को सहारा लिएर पार्टी विभाजन गर्नुको प्रयोजन के हो ?

यावत् प्रश्नहरू इतिहासले सोध्ने नै छ।

आज जे सतहमा देखिएको छ यो सरासर वैचारिक स्खलनको दिशातर्फ उन्मुख हर्कतहरु हुन् । तर , सङ्कटले आविष्कारको अवसर पनि दिएकै हुन्छ। अबको कांग्रेस फेरिपनी तब मात्र जनताको अघि सार्थक साबित हुनसक्छ जब कांग्रेस आफ्नो वैचारिक स्खलनको बाटोबाट वैचारिक पुनर्ताजगीको बाटोमा आइपुग्नेछ।

वैचारिक पुनर्ताजगी के हो ? बिपी कोइरालाले समाजवादको सन्दर्भमा भन्नुभएको एक हरफको मद्दत लिन चाहन्छु , "हाम्रो मुलुक गरिब छ , हाम्रो मुलुक किसान छ , जुन नीति र कार्यक्रमबाट गाउँमा बस्ने किसानहरूको भलाई हुन्छ त्यही अवधारणा नै नेपालको समाजवादी अवधारणा हो।" तर आजको दिनमा उत्पादनको साधन बदलिएको छ। 

हिजो बिपीको समयको हलो,कोदालो वा दुहुनो गाईलाई हामी बिम्बात्मक रुममा मनन गर्दै आजको प्रविधियुक्त विश्वमा नेपालका जनतालाई कसरी समृद्धितर्फ उन्मुख गर्न सकिन्छ भन्नेमा मुख्य ध्यान दिनु आवश्यक छ। भूमण्डलीकरण वा पुजीवादबाट समाजको बढ्दो उचनीचको खाडललाई कसरी भर्न सकिन्छ भन्नेमा अबको चासो देखिनु आवश्यक छ। 

शिक्षा , स्वास्थ्य लगायतका मुख्य विषयमा सबैलाई कसरी समान अवसर प्रदान गर्न सकिन्छ भनेर राज्यले र राजनैतिक दलहरूले सोच्न जरुरी छ। जाति, पेसा, भाषा, वर्ण, लिङ्ग, भूगोलको आधारमा हुने विभेदलाई हटाई नेपाललाई अनेकतामा एकता भएको देशको रूपमा सिद्ध गर्न गरिनुपर्ने कार्यक्रमहरूको चर्चा हुनु जरुरी छ।  

बदलिँदो विश्व राजनीति र यसको प्रभावको सन्दर्भमा हाम्रो मुलुकको साझा लक्ष र चुनौतीहरूको बिस्तारमा  छलफल हुनु आवश्यक छ। यी सबै उत्तरदायित्व नेपालको राजनीतिमा अझैसम्म पनि नेपाली कांग्रेसकै हो। अन्तरपार्टी संघर्षमा अनकन बिचारहरूको साझा प्रतिनिधित्व खोज्दै , राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा एकताको मध्य बिन्दु खोज्न सक्ने क्षमता कांग्रेसमा छ र सबै विषयहरूलाई निष्कर्षमा पुर्‍याउनुपर्ने अभिभारा समेत अझैसम्म पनी कांग्रेसको काँधमा छ। तर कांग्रेस बरालिएको देखिएको छ। 

'मियो बिनाको दाइँ ' भनेझैँ वा ' कुहिरोको काग ' भनेझैँ कांग्रेसले अहिले आफ्नो गति, दिशा र लक्ष पहिल्याउन सकिरहेको छैन। लामो वादविवादबाट सही बिचार ठम्याउन सक्नुपर्ने अवस्थामा अहिले तर्कभन्दा बढी कुतर्क , एकतामा भन्दा बढी आपसमा अनावश्यक पौठेजोरी खोज्नमा कांग्रेस मग्न देखिन्छ। अब सारा समस्याको एक मात्र हल भनेको पानी धमिल्याएर माछा मार्ने पदलोलुप , महत्वाकांक्षी र अवसरका भोगिहरुविरुद्ध कांग्रेसका सम्पूर्ण युवा , तरुण र अग्रजहरू एक ढिक्का भई तिनको सही पहिचान गरी तिनलाई परास्त गर्नुमा नै छ। 

भोलिको दिनमा कांग्रेसको वैचारिक धरातलको जग नै यहाँको लोकतन्त्र र देशको भविष्यसँग जोडिएको छ। यसरी आदर्श र बिचारलाई तिलाञ्जली दिँदै फगत चिन्हको लडाइँमा कांग्रेस मग्न रहने हो भने यो कांग्रेसजनका लागि मात्र होइन समग्र देश र यहाँको समग्र लोकतान्त्रिक व्यवस्थाकै लागि अभिशाप सिद्ध हुने निश्चित देखिन्छ। 

जनताको ठुलो त्याग , तपस्या र साहदत्तपश्चात् प्राप्त यो व्यवस्थाको जगमा अझै थुप्रा उपलब्धिहरू हासिल गर्नतर्फ उद्धत हुनुपर्ने कांग्रेस अहिलेको निर्णायक समयमा पतन (स्खलन)को  बाटो नरोजोस् , एउटा उन्नत र परिष्कृत बिचारको साथ जनताको मनमा हाजिर बनोस्। 

केन्द्रमा जुँघाको लडाइँमा मग्न बन्दै जाँदा कसैको आफ्नो व्यक्तिगत अभीष्ट त पूरा होला तर वडा,पालिका तहमा निस्वार्थ भावनाले पार्टीमा आबद्ध लाखौँ सदस्यहरूको मनमा ठेस पुग्नेछ। यसरी शिथिल अवस्थामा आसन्न निर्वाचनमा होमिँदै गर्दा पार्टीको कुन हबिगत रहने हो भन्नेमा पार्टीका जिम्मेवार नेतृत्व पंक्ति बेलैमा होसियार हुनु आवश्यक छ। समयमै कुवा खने पछि सहज होला , घरमा आगो लागिसकेपछि कुवा खन्न हिँड्नुको कुनै तुक हुनेछैन । (नेपाल कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन्।)
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस