तिहारको थालीमा सेलरोटीको मौलिक स्वाद
२४ कार्तिक २०८३
•
७ मिनेट पाठ
तिहारको थालीमा सेलरोटीको मौलिक स्वाद
‘आहै! आख्खुम पाख्खुम्,




सेलरोटी चाख्खुम्...’ तिहार भन्नेबित्तिकै नेपालीको मनमा झट्ट आउने मीठो परिकारमध्ये एक हो - सेलरोटी। तिहारको सांस्कृतिक र पारिवारिक उल्लाससँग जोडिएको सेलरोटी स्वादको परिकार मात्र होइन, नेपाली मौलिक खानपान, कृषि जीवनशैली र सामाजिक सम्बन्धको एउटा विशिष्ट पहिचान पनि हो।

दसैँमा मासुका विभिन्न परिकार र मिठाईको विशेष महत्त्व भएजस्तै तिहारमा सेलरोटी, फलफूल, मिठाई र रङ्गीङच्गी फूलको आफ्नै सांस्कृतिक महत्त्व छ। घरघरमा चामलको पिठो मुछेर तेल वा घिउमा पकाइने सेलरोटीले तिहारको आगमनसँगै नेपाली भान्सामा छुट्टै रौनक ल्याउँछ। दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीय, कोसेली, पूजाआजा, पारिवारिक जमघट र देउसी भैलोको उत्सवमा पनि सेलरोटी अभिन्न परिकारका रूपमा रहँदै आएको छ।

नेपाली मौलिक खानाको प्रर्वद्धनमा सक्रिय खाद्य विश्लेषक शारदा ज्ञवाली सेलरोटीलाई ‘फेष्टिभ फास्टफुड’ का रूपमा मात्र नभई कृषि उपज भित्र्याउँदाको खुसीयाली र नेपाली जीवनशैलीसँग जोडिएको परिकारका रूपमा लिन्छिन्। उनीका विचारमा चाडपर्व र खानाबीच गहिरो सम्बन्ध छ। मौसम परिवर्तनसँगै नेपाली खानपानमा देखिने विविधतामध्ये सेलरोटी पनि एउटा महत्त्वपूर्ण हिस्सा हो।

परम्परागत नेपाली समाजमा बजारिया मिठाई, चकलेट, पेँडा र अन्य परिकारको पहुँच गाउँघरसम्म सहज नभएको समयमा सेलरोटी विशेष उत्सव र खुसीयालीको खानाका रूपमा प्रचलित थियो। पूजा, व्रतबन्ध, विवाह, दसैँ र तिहार जस्ता अवसरमा घरमै सेल पकाउने चलनले यसलाई पुस्तौँदेखि नेपाली भान्सामा जीवित राखेको छ।

अहिले बजारमा वर्षभरि नै व्यावसायिक रूपमा सेलरोटी उपलब्ध हुन थालेको छ। होटल तथा रेस्टुरेन्टदेखि सडक किनारका खाद्य पसलसम्म यसको बिक्री हुने गरेको छ तथापि तिहारमा जस्तो यसको व्यापकता, विविधता र सांस्कृतिक महत्त्व अरू समयमा देखिँदैन।

पाककलाका प्रशिक्षक ज्ञवालीका अनुसार सेलरोटीको मौलिकता जोगाउन यसको परम्परागत विधि र सामग्री कायम राख्न आवश्यक छ। पछिल्लो समय कतिपयले सेलरोटीमा सुजी, चिउरा लगायत सामग्री मिसाएर पकाउने गरेको उल्लेख गर्दै उनले त्यस्तो अभ्यासले मौलिक स्वाद र पहिचानमा असर पार्ने बताइन्।

‘‘सेलरोटी हाम्रो रैथाने खानाको पहिचान हो। यसलाई मौलिक स्वरूपमै संरक्षण र प्रर्वद्धन गर्नुपर्छ’’, उनले भनिन्। अर्थशास्त्रमा स्नातकोत्तर तथा संयुक्त राज्य अमेरिकाबाट स्वास्थ्य र पोषणसम्बन्धी अध्ययन एवं तालिम प्राप्त ज्ञवालीले नेपाली मौलिक खानाबारे विभिन्न समूह र समुदायलाई प्रशिक्षण दिँदै आएकी छन्।

रैथाने खानाको प्रर्वद्धनका लागि सञ्चालन हुने अभियानमा सहभागी हुँदै आएकी उनी यस्ता खानाले नेपाली पर्यटन प्रर्वद्धन र सांस्कृतिक मौलिकताको संरक्षणमा योगदान पुर्याउने विश्वास व्यक्त गर्छिन्।

मौलिक खानाको मापदण्ड र अभिलेखीकरणको खोजी

नेपाली खानाको पहिचान व्यवस्थित रूपमा स्थापित गर्न यसको लिखित अभिलेख र मापदण्ड आवश्यक रहेको पर्यटन तथा आतिथ्य क्षेत्रका जानकारहरूको भनाइ छ।

सेफ एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष एवं एयरपोर्ट होटलका परामर्शदाता श्याम लामाका अनुसार नेपाली खानाका परिकारको व्यवस्थित लिखित अभिलेख नहुँदा तिनको तयारी विधि, परिकारको क्रम र गुणस्तरमा एकरूपता कायम हुन सकेको छैन। मानिसहरूले आआफ्नो अनुकूलता अनुसार परिकार तयार पार्ने गरेकाले नेपाली खानाको मानकीकरण र अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्न कठिनाइ भएको उनी बताउँछन्।

सेलरोटीलाई चाडपर्व विशेष खानाका रूपमा लिनु उपयुक्त भए पनि याे खाँदा स्वास्थ्य पक्षलाई पनि ध्यान दिनुपर्ने उनको सुझाव छ।

विशेषगरी एउटै तेलमा पटकपटक तारिएका वा धेरै तेलमा पकाइएका परिकारको अत्यधिक सेवनले स्वास्थ्यमा असर पार्न सक्ने उनको भनाइ छ। घिउमा पकाइएको सेलरोटी तुलनात्मक रूपमा आरोग्य विकल्प हुन सक्ने उनी बताउँछन्।

सेफ लामाका विचारमा सेलरोटीजस्ता मौलिक परिकारको सामग्री, पकाउने विधि, गुणस्तर र पोषण पक्ष समेटेर लिखित मापदण्ड तयार गर्नसके यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रर्वद्धन गर्न सहज हुनेछ। नेपाली खानामा सेतो मैदा, सेतो चिनी र सेतो नुन कम गर्नुपर्ने उनको धारणा छ।

नेपालको पहिलो ‘एक्ज्युक्युिटभ सेफ’ गोविन्द नरसिंह केसीले चिनीको विकल्पमा खुँदो, सखर, चाकु पनि राखेर सेल बनाउन सकिने र मसलाका रूपमा सुकुमेल, अलैँची, हर्राे र मेथीको धुलो हाल्दा थप स्वादिलो हुने बताए। उनीका अनुसार सकेसम्म टाइचिनको चामलमा सेल राम्रो मानिन्छ।

पर्यटन व्यवसायी राजन सिंखडा पनि सेलरोटीको इतिहास, मौलिकता र सांस्कृतिक महत्त्वलाई विश्वव्यापी रूपमा परिचित गराउनुपर्ने बताउँछन्। उनीका अनुसार सेलरोटी नेपाली भान्सामा कसरी प्रवेश गर्‍यो, गाउँघरमा पर्व र उत्सवसँग यसको सम्बन्ध कसरी स्थापित भयो तथा बालीनाली भित्र्याउँदाको खुसीयालीमा यसको भूमिका कस्तो रह्यो भन्ने विषय नेपाली मौलिक इतिहाससँग जोडिएका छन्। “सेलरोटी केवल खानेकुरा होइन, यो हाम्रो इतिहास, संस्कृति र किसानको जीवनशैलीसँग जोडिएको परिकार हो”, सिंखडा भन्छन्।

दसैँ र तिहारमा घरघरमा सेल पकाउने परम्परा कृषि उत्पादन र किसानको खुसीसँग पनि जोडिएको छ। खेतबारीमा उब्जिएको अन्न भित्र्याएपछि परिवार र समुदायमा उत्सव मनाउने नेपाली परम्परामा सेलरोटीले विशेष स्थान पाएको छ। त्यसैले यसको प्रर्वद्धन गर्दा स्वाद र व्यावसायिक पक्षसँगै ऐतिहासिक तथा सांस्कृतिक पक्षलाई पनि उजागर गर्नुपर्ने पर्यटन व्यवसायीहरूको सुझाव छ।

काठमाडौँको आरुबारीकी कोपिला अधिकारीले आफूले आमाबाट सेल पकाउन सिकेको जनाउँदै तिहारमा नभई नहुने खानाका रूपमा सेलरोटी रहेकाले आफूहरूले छरछिमेक र महिला समूहमा पनि पकाउन प्रेरित गर्दै आएको प्रतिक्रिया दिइन्। उनका अनुसार यस्ता प्रतियोगिताले सेलरोटी पकाउने परम्परागत सीपको सम्मान गर्नुका साथै नयाँ पुस्तालाई मौलिक खानाप्रति आकर्षित गर्न सहयोग पुर्‍याउँछन्। स्थानीय स्तरमा प्रचलित खानाका परिकारलाई पहिचान, संरक्षण र प्रर्वद्धन गर्ने अभियानलाई व्यापक बनाउनुपर्ने उनको भनाइ छ।

सेल पकाउन रुचि राख्ने तेह्रथुमकी सिप्पी खापुङले घिउ, चिनी, मीठो र आगोको मात्रा मिलाउन सकिए सेल राम्रो हुने अनुभव बताइन्। घरमा विशेष पर्वहरूमा सेल पकाउँदै आएकी खापुङ्ले दुई जना मिलेर दाउराको आगोमा पकाउँदा अझ व्यवस्थित हुने बताइन्।

प्रतियोगितामार्फत सेलरोटीको प्रर्वद्धन

सेलरोटीको मौलिकता संरक्षण र नयाँ पुस्तामाझ यसको महत्त्व स्थापित गर्न पछिल्लो समय विभिन्न अभियान र प्रतियोगिता सञ्चालन हुन थालेका छन्।

नेपाली खाना प्रर्वद्धन अभियानले ‘भोजन लिपि दोस्रो राष्ट्रिय  सेलरोटी प्रतियोगिता आयोजना गर्दै आएकामा यस वर्ष पनि निरन्तरता दियो। गत वर्ष पनि सेल पकाउने सीप र गुणस्तरका आधारमा उत्कृष्ट सहभागी छनोट गरी विजेता घोषणा गरिएको थियो। नेपाली खाना र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले भोजनलिपिका सर्जक अन्तररााष्ट्रिय सेफ घनश्याम कँडेल (हाल अमेरिका) र दुर्गा खड्का (हाल आयरल्याण्ड)को पाककलामा आधारित प्रतियोगितामा देउसे–भैलो पनि खेलिएको थियो।

नेपालको पहिलो ‘एक्ज्युक्युिटभ सेफ’ केसी संयोजक र खाद्य विश्लेषक ज्ञवाली सदस्य रहनुभएको यस वर्षको प्रतियोगितामा १४ सहभागी थिए। प्रतियोगितामा कोपिला अधिकारी प्रथम, कमल बुर्जा द्वितीय र सरिता गुरूङ तृतीयलाई क्रमश रु १५ हजार, रु १० हजार र पाँच हजार पुरस्कार प्रदान गरिएको थियो।

यसअघि भोजन लिपिका विभिन्न शृङ्खला सञ्चालन गरिएको र सेलरोटीलाई प्रतियोगिताका रुपमा सञ्चालन गरिएको यस वर्ष पनि यस्तै अभियान सञ्चालन गरिएको र यसलाई देशव्यापी रूपमा विस्तार गर्ने योजना रहेको नेपाली खाना प्रवर्धन अभियानल संयोजक देवीप्रसाद सापकोटाले बताए।

“नेपालको मौलिक खानालाई पर्यटनसँग जोड्ने हो भने सेलरोटी जस्ता परिकारलाई सांस्कृतिक उत्पादनका रूपमा विकास गर्न सकिने सम्भावना छ।”, संयोजक सापकोटाले भने, “विदेशी पर्यटकलाई नेपाली खानाको स्वादसँगै त्यसको इतिहास, उत्पादन प्रक्रिया र सांस्कृतिक महत्त्वबारे जानकारी गराउन सके यसले पर्यटन अनुभवलाई थप विशिष्ट बनाउन सक्छ।”

यसै साता काठमाडौँ टोखा–४ धापासीमा आयोजना गरिएको स्वर्णिम कृषि प्रदर्शनी तथा रैथाने व्यापार मेलामा पनि महिलाहरूबीच सेलरोटी प्रतियोगिता सञ्चालन गरिएको थियो। हाम्रा रैथाने बाली र परिकारहरूको संरक्षण र प्रर्वद्धन गर्दै कृषि पर्यटनका माध्यमबाट मुलुकलाई समृद्ध तुल्याउन सकिने रैथाने एग्री प्रडक्स नेपाल अध्यक्ष तिलक ढकालले बताए।

विश्व वन्यजन्तु कोषका नेपाल प्रतिनिधि डा. घनश्याम गुरुङ पनि नेपालको पहिचान र मौलिकता संस्कृति, सभ्यतामा मात्र नभई रैथाने बाली र परिकारहरुमा पनि रहेको बताउँछन्। यसलाई मेला वा प्रदर्शनीमा मात्र सीमित नगरी दैनिक जीवनशैलीमा जोड्नसके स्वदेशी कृषि उत्पादनमा वृद्धि भई आयातित खाद्यान्नको निर्भरता कम गर्न सकिने उनको भनाइ छ।

-रासस 
अर्को समाचार
नेपाली कांग्रेस : पुनर्जागृत हुने कि स्खलित ?
०९ मंसिर २०८३
•
७ मिनेट पाठ
नेपाली कांग्रेस : पुनर्जागृत हुने कि स्खलित ?
नेपालमा प्रजातन्त्र स्थापना गर्ने देखी सबै खाले राजनैतिक आन्दोलनहरूमा आफ्नो दर्बिलो उपस्थिति देखाउँदै यस देशको विकास क्रममा नेपाली कांग्रेस कहिले खुम्चिएर त कहिले आम जनताको अभुतपूर्ण समर्थनमा करिब आठ दशकदेखि नेपालको राजनीतिको अग्रमोर्चामा छ।




पहिलो पटक जनताले आफ्नो प्रतिनिधि आफैँ चुन्न पाउनेदेखि, मौलिक हकहरू, समावेशिता, विकास(?)का अनेक पूर्वाधार निर्माणका सवालमा कांग्रेसले महत्त्वपूर्ण योगदान गरेको कुरा अकाट्य छ। नेपालमा बहुदलीय प्रतिस्पर्धात्मक राजनैतिक व्यवस्था , शान्ति प्रक्रिया हुँदै नेपाललाई संघिय लोकतान्त्रिक गणतन्त्रात्मक देशको रूपमा संविधानमै सुनिश्चित गराउने सम्मका काममा नेपाली कांग्रेस सदैव नेतृत्वदायी भूमिकामा रह्यो। 

तर कांग्रेसबाट जनताको अपेक्षा यतिमा मात्रमा सीमित थिएन। हिजोको जहानिया राणाशासन , पञ्चायती व्यवस्थाको विषम परिस्थितिमा समेत डटेर लडेको कांग्रेस आजको यत्तिको अवसरका बिचमा किन लरखराएको छ ? यो नै आम चिन्ताको विषय बनेको छ।

संविधानको कार्यान्वयन , सरकारको पारदर्शिता , भ्रष्टाचार , महँगी , बढ्दो बेरोजगारी , युवा पलायन लगायतका अनकन विषयहरूमा कांग्रेस र यहाँका मुख्य दलहरूमाथि जनताको जबरजस्त अविश्वास पैदा भयो। यही अविश्वासको जगमा समाजमा आक्रोश पैदा गराई देशका महत्त्वपूर्ण धरोहरहरू ; संसद् भवन , राष्ट्रपति कार्यालय ,सिंहदरबार लगायत थुप्रा नेताका घरहरू , व्यावसायिक स्थलहरू , छापाखाना क्षणभरमै खरानी बनाइए। 

नेपाली कांग्रेसको समर्थनमा रहेको तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार शान्ति सुरक्षाको मामिलामा निरीह मात्र रहेन सत्तासीन मन्त्री र सांसदहरूलाई ज्यान जोगाउनै धौधौ पर्‍यो। अझै पूर्वप्रधानमन्त्री समेत बनिसकेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा आफ्नो धर्मपत्नीकै साथ कुटाइ खानुपर्‍यो। अहिले उनको पछिल्लो अभिव्यक्ति अनुसार आफूलाई मार्ने षड्यन्त्रमा आफ्नै पार्टीका तत्कालीन महामन्त्री गगन थापाले व्यक्तिहरू परिचालन गरेको गम्भीर आरोपसमेत आएको छ। समयले थप सत्यहरू उजागर गर्दै पनि जाला।

तर राजनीतिका यी अनकन फोहोरी हर्कतभन्दा माथि आजको मुख्य सवाल नेपाली कांग्रेसको वैचारिक धरातलको हो। नेपालको राजनीतिमा आफूलाई जेठो पार्टी दाबी गरेर मात्रै वा हिजोका अग्रजहरूको योगदानको ब्याज खाएर मात्रै कांग्रेसले भोलिको समयमा आफ्नो औचित्य पुष्टि गरिरहन सक्दैन। 

स्थापनाको समयदेखि अहिलेसम्ममा सायदै काँग्रेस सबैभन्दा बढी विचार शून्य अवस्थामा छ र केवल पद प्राप्तिको लडाइँमा मात्र सीमित देखिन्छ। विशेष र नियमित महाधिवेशनको नाममा कांग्रेस अब प्राविधिक रूपमा मात्र विभाजित हुन बाँकी रहेको छ। तर यो विभाजन कुनै वैचारिक जगमा उभिएको विभाजन भने पटक्कै होइन। यो केवल राजनीतिलाई सतरन्जको खेल सम्झिनेहरूको परिणामहीन कुकृत्य मात्र हो। यसलाई पुष्टि गर्ने केही आधारहरू छन्। 

गत वर्षको भाद्रमा जेनजीआन्दोलनको भावना/मर्मको नाममा भाद्र २२ गतेसम्म भागबन्डामा मग्न नेताहरू भाद्र २५ देखि नेतृत्व हत्याउने हतारमा देखिन पुगे। भातृ संगठनको जगमा पार्टीको महामन्त्रीजस्तो जिम्मेवार पदमा आसीन नेताहरू आफ्नो पूरा कार्यकालभरि कुनै भातृ संगठनको अधिवेशनको पक्षमा न कतै बोले न त कुनै पहलकदमी देखाए। 

अझै भद्दा नेविसंघ र तरुण दलमा आफ्ना मान्छेहरू भन्दै भागबन्डाको बार्गेनिङमा यिनलाई निकम्मा बनाउन लागिपरे , त्यसकै फलस्वरूप युवाहरूको असङ्गठित आवाजले जेनजी आन्दोलनको नाममा विनाशको रूप लियो। फेरि उल्टै सारा दोष अरूमाथि पन्छाएर आफू पानीमाथिको ओभानो देखिन रत्तीभर लाज मानेनन्,हिचकिचाएनन्।

अब प्रश्नहरू आउँछन् , नेपाली कांग्रेसको मुख्य समस्या नीति हो वा नेतृत्व ? शेरबहादुर देउवाको अनुहार फालेर गगन थापा वा कसैको अनुहार देखाउँदैमा पार्टी मजबुत भइहाल्ने भए हालै सम्पन्न निर्वाचनको परिणाममा कांग्रेसको नयाँ सभापति बनेर आएँ भनेकै व्यक्तिको र पार्टीका सबैजसो उम्मेदवारहरूको निर्वाचनमा लज्जास्पद पराजय कसरी हुन पुग्यो ?

महाधिवेशन भनेको सभापति वा पदाधिकारी फेर्ने अभ्यास मात्र हो वा वैचारिक मन्थनको प्रक्रिया पनि हो ?

नेपालको शासन व्यवस्थामाथि जनताको जबरजस्त अविश्वास पैदा भयो , किन? त्यो अविश्वास पैदा हुनुमा तत्कालीन माओवादसहित सबै दल जिम्मेवार छन्। तर कांग्रेस किन र कुन अर्थमा के के कारण बढी जिम्मेवार छ? त्यसको रिफ्लेक्सन कांग्रेसको अन्तर पार्टी संघर्षमा देखिन्छ , कसरी?

अहिलेको कांग्रेसको आन्तरिक अवस्थाले देशको सकारात्मक रूपान्तरणमा सिर्जना हुन सक्ने अवरोधहरू कस्ता छन्? ती अवरोधहरू सिर्जना हुनुमा कांग्रेसको आन्तरिक शक्तिसङ्घर्ष किन र कसरी जिम्मेवार छ?

अहिले जसरी विशेष महाधिवेशन जसलाई ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेको भनिएको छ , त्यो समूहलाई आवश्यक लाग्यो भन्ने बित्तिकै अर्को पक्षलाई निषेध गरेर आफ्नै पार्टी पङ्क्तिलाई दास र लासको संज्ञा दिने हर्कतले कांग्रेसको भलो हुन्छ ?  

हिजो स्थापना कालदेखि कांग्रेसमा बिपी सुवर्णको बिचमा होस् वा केही समय अघिसम्म शेरबहादुर देउवा र कोइराला परिवारको अन्तर सङ्घर्षको बिचमा ! सबै समयमा नेताहरूले संवाद र सहमतिकै बाटो रोजेर पार्टी एक राखेका हुन् भने अहिले विशेष महाधिवेशनको गलत प्रयोग (लुप होल)को सहारा लिएर पार्टी विभाजन गर्नुको प्रयोजन के हो ?

यावत् प्रश्नहरू इतिहासले सोध्ने नै छ।

आज जे सतहमा देखिएको छ यो सरासर वैचारिक स्खलनको दिशातर्फ उन्मुख हर्कतहरु हुन् । तर , सङ्कटले आविष्कारको अवसर पनि दिएकै हुन्छ। अबको कांग्रेस फेरिपनी तब मात्र जनताको अघि सार्थक साबित हुनसक्छ जब कांग्रेस आफ्नो वैचारिक स्खलनको बाटोबाट वैचारिक पुनर्ताजगीको बाटोमा आइपुग्नेछ।

वैचारिक पुनर्ताजगी के हो ? बिपी कोइरालाले समाजवादको सन्दर्भमा भन्नुभएको एक हरफको मद्दत लिन चाहन्छु , "हाम्रो मुलुक गरिब छ , हाम्रो मुलुक किसान छ , जुन नीति र कार्यक्रमबाट गाउँमा बस्ने किसानहरूको भलाई हुन्छ त्यही अवधारणा नै नेपालको समाजवादी अवधारणा हो।" तर आजको दिनमा उत्पादनको साधन बदलिएको छ। 

हिजो बिपीको समयको हलो,कोदालो वा दुहुनो गाईलाई हामी बिम्बात्मक रुममा मनन गर्दै आजको प्रविधियुक्त विश्वमा नेपालका जनतालाई कसरी समृद्धितर्फ उन्मुख गर्न सकिन्छ भन्नेमा मुख्य ध्यान दिनु आवश्यक छ। भूमण्डलीकरण वा पुजीवादबाट समाजको बढ्दो उचनीचको खाडललाई कसरी भर्न सकिन्छ भन्नेमा अबको चासो देखिनु आवश्यक छ। 

शिक्षा , स्वास्थ्य लगायतका मुख्य विषयमा सबैलाई कसरी समान अवसर प्रदान गर्न सकिन्छ भनेर राज्यले र राजनैतिक दलहरूले सोच्न जरुरी छ। जाति, पेसा, भाषा, वर्ण, लिङ्ग, भूगोलको आधारमा हुने विभेदलाई हटाई नेपाललाई अनेकतामा एकता भएको देशको रूपमा सिद्ध गर्न गरिनुपर्ने कार्यक्रमहरूको चर्चा हुनु जरुरी छ।  

बदलिँदो विश्व राजनीति र यसको प्रभावको सन्दर्भमा हाम्रो मुलुकको साझा लक्ष र चुनौतीहरूको बिस्तारमा  छलफल हुनु आवश्यक छ। यी सबै उत्तरदायित्व नेपालको राजनीतिमा अझैसम्म पनि नेपाली कांग्रेसकै हो। अन्तरपार्टी संघर्षमा अनकन बिचारहरूको साझा प्रतिनिधित्व खोज्दै , राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा एकताको मध्य बिन्दु खोज्न सक्ने क्षमता कांग्रेसमा छ र सबै विषयहरूलाई निष्कर्षमा पुर्‍याउनुपर्ने अभिभारा समेत अझैसम्म पनी कांग्रेसको काँधमा छ। तर कांग्रेस बरालिएको देखिएको छ। 

'मियो बिनाको दाइँ ' भनेझैँ वा ' कुहिरोको काग ' भनेझैँ कांग्रेसले अहिले आफ्नो गति, दिशा र लक्ष पहिल्याउन सकिरहेको छैन। लामो वादविवादबाट सही बिचार ठम्याउन सक्नुपर्ने अवस्थामा अहिले तर्कभन्दा बढी कुतर्क , एकतामा भन्दा बढी आपसमा अनावश्यक पौठेजोरी खोज्नमा कांग्रेस मग्न देखिन्छ। अब सारा समस्याको एक मात्र हल भनेको पानी धमिल्याएर माछा मार्ने पदलोलुप , महत्वाकांक्षी र अवसरका भोगिहरुविरुद्ध कांग्रेसका सम्पूर्ण युवा , तरुण र अग्रजहरू एक ढिक्का भई तिनको सही पहिचान गरी तिनलाई परास्त गर्नुमा नै छ। 

भोलिको दिनमा कांग्रेसको वैचारिक धरातलको जग नै यहाँको लोकतन्त्र र देशको भविष्यसँग जोडिएको छ। यसरी आदर्श र बिचारलाई तिलाञ्जली दिँदै फगत चिन्हको लडाइँमा कांग्रेस मग्न रहने हो भने यो कांग्रेसजनका लागि मात्र होइन समग्र देश र यहाँको समग्र लोकतान्त्रिक व्यवस्थाकै लागि अभिशाप सिद्ध हुने निश्चित देखिन्छ। 

जनताको ठुलो त्याग , तपस्या र साहदत्तपश्चात् प्राप्त यो व्यवस्थाको जगमा अझै थुप्रा उपलब्धिहरू हासिल गर्नतर्फ उद्धत हुनुपर्ने कांग्रेस अहिलेको निर्णायक समयमा पतन (स्खलन)को  बाटो नरोजोस् , एउटा उन्नत र परिष्कृत बिचारको साथ जनताको मनमा हाजिर बनोस्। 

केन्द्रमा जुँघाको लडाइँमा मग्न बन्दै जाँदा कसैको आफ्नो व्यक्तिगत अभीष्ट त पूरा होला तर वडा,पालिका तहमा निस्वार्थ भावनाले पार्टीमा आबद्ध लाखौँ सदस्यहरूको मनमा ठेस पुग्नेछ। यसरी शिथिल अवस्थामा आसन्न निर्वाचनमा होमिँदै गर्दा पार्टीको कुन हबिगत रहने हो भन्नेमा पार्टीका जिम्मेवार नेतृत्व पंक्ति बेलैमा होसियार हुनु आवश्यक छ। समयमै कुवा खने पछि सहज होला , घरमा आगो लागिसकेपछि कुवा खन्न हिँड्नुको कुनै तुक हुनेछैन । (नेपाल कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन्।)
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस