डटपेनदेखि डटकम पुस्तासम्म संस्कृतको आकर्षण
१६ जेष्ठ २०८३
•
१५ मिनेट पाठ
डटपेनदेखि डटकम पुस्तासम्म संस्कृतको आकर्षण
नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ अन्तर्गतको अनु‌सन्धान व्यवस्थापन एकाइ (RMC) द्वारा विश्वविद्यालय अनुदान आयोग(UGC)को तत्त्वावधानमा संस्कृत शिक्षामा पुस्तागत भिन्नता विषयक त्रिदिवसीय कार्यशाला गोष्ठी आयोजना गरिएको थियो ।  यही जेठ १२, १३ र १४ गते आयोजित गोष्ठीको उद्घाटन सत्रमा RMC, वाल्मीकिका संयोजक तथा वाल्मीकि विद्यापीठका पूर्वप्राचार्य डा. गणेशप्रसाद घिमिरेको सभाध्यक्षता, विश्वविद्यालय अनुदान आयोग, नेपालका निर्देशक डा. केदारप्रसाद आचार्यको प्रमुख आतिथ्य, नेपाल संस्कृत विश्वविद्यालयका परीक्षानियन्त्रक सहप्रा. मुरलीधर दाहालको विशिष्ट आतिथ्य, वाल्मीकि विद्यापीठका प्राचार्य प्राध्यापक अच्युतप्रसाद लामिछानेको विशेष आतिथ्य रहेको थियो भने उक्त उद्घाटन सत्रको सहजीकरण RMC का सहसचिव तथा उपप्राध्यापक डा. शेखर दाहालले गरेका थिए ।  




कार्यशाला गोष्ठीमा वाल्मीकि विद्यापीठका सबै विभागका विभागाध्यक्ष तथा विद्यापीठमा अध्ययनरत विद्यार्थीहरूमध्ये सबै विभागका प्रतिनिधिमूलक छात्रछात्राहरूको उल्लेख्य सहभागिता रहेको थियो । उक्त गोष्ठीमा संस्कृत शिक्षासम्बद्ध प्राज्ञिक तथा अनुसन्धानमूलक कार्यपत्रहरू प्रस्तुत गरिएको थियो भने उद्घाटन सत्रका प्रमुख अतिथि डा. केदारप्रसाद आचार्य (निर्देशक-यूजीसी) द्वारा शुभकामना मन्तव्यका क्रममा संस्कृत विश्वविद्यालयलाई पौरस्त्य संस्कृतिको संरक्षणपूर्वक स्थापनागत उद्देश्य परिपूर्तिका लागि पुनःसंरचना गर्नुपर्ने, विश्वस्तरीय विश्वविद्यालय बनाउन आयुर्वेद, योग तथा वास्तु-इन्जिनियरिङजस्ता विश्व/समाजले खोजेको पाठ्यक्रम निर्माण, संस्कृत विश्वविद्यालयले आफ्नो उपादेयता पुष्टिका लागि पठनपाठनलगायत अनुसन्धानकार्यमा अघि बढ्नु पर्ने, पढ़ने पढाउने कार्यमा प्रविधिमैत्री हुनु पर्ने र जेन्जी आन्दोलनका पुस्ता, त्यसपछिका पुस्तालाई कसरी संस्कृत विद्याप्रति आकर्षण गर्ने ? नयाँ पुस्ताले के खोजिरहेका छन् ? त्यसलाई अध्ययन गर्दै नयाँ पुस्ताको रोजाइमा संस्कृतलाई स्थापित गर्नु पर्ने, विद्यालयतहदेखि नै नयाँपुस्तालाई संस्कारशिक्षा प्रदान गर्न संस्कृतविश्वविद्यालयका प्राध्यापकले योगदान पुर्याउनु पर्ने, प्राध्यापक तथा कर्मचारी सबै नैतिकरूपमा उत्तरदायी बन्नुपर्नेतर्फ ध्यानाकर्षण गराइएको थियो ।

त्यसैगरी विशिष्टातिथि परीक्षानियन्त्रक मुरलीधर दाहालद्वारा नवपुस्ताको आकर्षणको केन्द्रका रूपमा संस्कृत विश्वविद्यालयलाई स्थापित गर्न आधुनिक विषयहरूलाई जोड्दै अघि बढ्नु पर्ने र शास्त्रीय विषयहरूमा अनुसन्धान गर्न विद्यार्थीलाई प्रेरित गर्दै रोजगारमूलक शिक्षा प्रदान गर्नु पर्ने गुरुतर दायित्व रहेको विचार प्रकट भएको थियो । उक्त उद्घाटनसत्रमा ने.सं.वि. प्राध्यापक संघका केन्द्रीय सभापति प्रा.डा. मुकुन्दप्रसाद लामिछानेद्वारा समस्त प्राणीको रक्षाका लागि संस्कृतवाङ्मयको योगदान छ र संस्कृत वाङ्‌मयमा निहित जीवनोपयोगी ज्ञान‌राशि पस्किएर विश्वसमाजलाई नै उपकृत गर्ने अभिभारा संस्कृत विश्वविद्यालयको हो र त्यो ज्ञान विश्वविद्यालयका गुरुशिष्यका बीच हुने विचारमन्थनद्वारा उत्खनन गर्नुपर्ने महत्त्वपूर्ण विचार अभिव्यक्त भएको थियो भने RMC का सदस्य डा.रामप्रसाद पौडेलद्वारा स्वागतमन्तव्य, सहसंयोजक सहप्रा.डा. प्रेम‌प्रसाद न्यौपानेद्वारा धन्यवाद ज्ञापन र संयोजक तथा सभाध्यक्ष डा. गणेशप्रसाद घिमिरेद्वारा प्रमुख अतिथि, विशिष्ट अतिथि, समस्त अतिथि तथा गोष्ठीलाई भव्य बनाउन सहयोग पुर्याउने र सभालाई शोभायमान बनाउन समुपस्थित समस्त प्रशिक्षार्थीलाई स्वागतपूर्वक आभार समर्पण गर्दै उद्घाटनसत्र‌को समापन गरिएको थियो ।

जेठ १२ गते उद्‌घाटन सत्रसमाप्तिपश्चात् वाल्मीकि विद्यापीठ, नेपाली विभागका प्राध्यापक डा. देवी नेपालद्वारा ‘पुस्तागत भिन्नता र शिक्षण पद्धति’ शीर्षक कार्यपत्रको प्रस्तुति गरिएको थियो । प्रस्तुत कार्यपत्र एउटै कक्षामा विभिन्न उमेर समूहका विद्यार्थीहरू छन् भने तिनका लागि गरिने सिकाइ सहजीकरणमा के कस्ता विधि वा पद्धति प्रयोग हुन सक्छन् ? भन्ने मूल समस्या-समाधानमा केन्द्रित रहेको थियो । नेपालमा संस्कृत शिक्षाप्रति आकर्षण बढेसँगै नेपाल संस्कृत विश्वविद्यालयका शास्त्री र आचार्य कक्षामा अहिले एउटै कक्षामा २० वर्ष भन्दा मुनि(१८वर्ष) देखि र ६० वर्षभन्दा माथि (८४ वर्षसम्म) का विद्यार्थीहरूलाई एकै ठाउँमा राखेर सिकाउनु पर्ने अवस्था सिर्जना भएको, दुई पुस्तालाई सिकाइ र प्रविधिसँग जोडेर हेर्दा ‘डटपेन पुस्ता’ र ‘डट कम पुस्ता’का बीचमा पुस्तागत सम्बन्ध र दूरी स्पष्ट देखिने अनि सोच्ने र काम गर्ने तरिकामा समेत पुस्तागत भिन्नता भएका कक्षामा प्रयोग गर्न सकिने व्यावहारिक एवम् उपयोगी शिक्षण विधिहरू (आत्मनिर्देशित पद्धति, अनुभवमा आधारित पद्धति, उद्देश्यपूर्ण पद्धति, समस्या समाधानमुखि पद्धति, तत्काल उपयोगिता पद्धति, मिश्रित सिकाइ पद्धति आदि ) को खोजी र विश्लेषण गरी तिनको प्रयोगका लागि डा. नेपालको कार्यपत्रले दिग्दर्शन प्रस्ताव गरेको छ ।  

डा. नेपालको प्रस्तुत कार्यपत्रमाथि सहप्रा.डा. विमला शर्माद्वारा गहन समीक्षात्मक टिप्पणी गरिएको थियो । डा. शर्माका अनुसार प्रस्तुतकार्यपत्र सिकाइको सैद्धान्तिक विषयको गहन चर्चा गरिएकाले प्राज्ञिक रूपमा खँदिलो रहेको, कार्यपत्रले डटपेन पुस्तादेखि डटकम पुस्ता भनेर दुई पुस्तालाई आकर्षक ढङ्गले वर्गीकरण गरेको, विभिन्न विधिको चर्चाले कार्यपत्र प्रस्तोता डा. नेपालमा शिक्षण सिकाइको फराकिलो बुझाइ पाइएकोजस्ता सकारात्मक एवम् सबल पक्षले सम्पन्न रहेको छ भने कार्यपत्रले विद्यार्थीबाहेक शिक्षकको पुस्तागत समस्यालाई समेट्न नसकेको, लैङ्गिक र विभिन्न समुदायगत विद्यार्थीको पक्ष नसमेटिएको, लेखकको निजी अनुभवबाट शिक्षणपद्धतिको सैद्धान्तिकीकरण गर्न नसकेको रचनात्मक आलोचना तथा सुधारात्मक पक्षसमेत टिप्पणीकार डा. विमला शर्माबाट प्रस्तुत भएको थियो ।  

त्यसैगरी अर्का विद्वान् टिप्पणीकार प्रा.डा. नुरापति पोख्रेलद्वारा प्रस्तुत कार्यपत्र शिक्षण विधिमा बढी केन्द्रित रहेको तर पुस्तान्तरको समाधान कसरी गर्ने तर्फ केन्द्रित हुन नसकेको, पुस्तागत भन्दा पोख्रेलका दृष्टिमा गुरुकुल, संमावि र भाषाप्रशिक्षणबाट आएका विद्यार्थीगत विविधताले शिक्षण प्रक्रियामा समस्या खडा गरेको देखिन्छ । त्यसैगरी भाषाप्रशिक्षणबाट आएका विद्यार्थीलाई लक्ष्य गरेर सरल पाठ्यक्रम निर्माण गर्ने भन्ने लेखकको विचारमा असहमतिका साथ अन्तर्राष्ट्रिय मान्यता कायम हुने गरी तथा सरलताका नाममा फितलो नहुने गरी सामञ्जस्यपूर्ण पाठ्यक्रम निर्माण र लागु गर्नु पर्ने विचार डा. पोख्रेलबाट अभिव्यक्त भएको थियो । उक्त सत्रको अध्यक्षता गणित विभागका प्रमुख प्रा.डा. कृष्णकान्त पराजुलीद्वारा गरिएको थियो  ।

प्राध्यापक जगत्‌प्रसाद उपाध्यायको अध्यतामा जेठ १३ गते द्वितीय दिवसको कार्यपत्र प्रस्तुतिसत्रमा प्रा. डा. नारायणप्रसाद चालिसेद्वारा ‘संस्कृत शिक्षणका पुस्तागत भिन्नता : सम्भावना र चुनौती’ शीर्षकीय कार्यपत्र प्रस्तुत भयो । सो कार्यपत्रले संस्कृत शिक्षामा युवापुस्ता किन आकर्षित हुन सकेन भन्ने विषयमा विश्वविद्यालयले कार्यदल बनाएर विस्तृत प्रतिवेदन पेस गर्नु पर्नेतर्फ दिशानिर्देश गरेको सङ्केत गर्दै विद्यार्थीको आकर्षण वृद्धिका लागि विद्यार्थीको रूचि र चाहना बमोजिम नयाँ पाठ्यक्रम निर्माण गर्नु पर्नेमा जोड दिइएको थियो ।  

त्यसैगरी डा. रेग्मीद्वारा संस्कृत विश्वविद्यालयका प्राध्यापकले आफू अपहेलित भएर पनि आर्थिक प्रलोभनले गर्दा पुरोहित्याइँलाई अँगाल्नाले विश्वविद्यालयको काम नै पुरोहित उत्पादन गर्नु हो कि भन्ने अवधारणा विकसित भएको विचारसमेत अभिव्यक्त भएको थियो । कार्यपत्र प्रस्तुतिसत्रका अध्यक्ष प्राध्यापक जगत्‌प्रसाद उपाध्यायद्वारा सिक्ने र पढ्ने काम जीवनमा कहिल्यै समापन नहुने, ‘स्वाध्याय प्रवचनाभ्यां न प्रमदितव्यम्’ (तैत्तिरीयोपनिषद्) भन्ने वेद‌वाक्यले पनि हामीलाई पढ्ने र पढाउने काममा कहिल्यै आलस्य गर्न नहुने सन्देश दिने, कार्यपत्र नीतिपत्र हुने र त्यसलाई आयोजक संस्थाले नीतिनिर्माण तथा कार्ययोजनामा लागु गर्नु पर्नेजस्ता महत्त्वपूर्ण विचार प्रस्तुत गर्दै द्वितीयदिवसीय प्रथम कार्यपत्र प्रस्तुतिको समापन गरिएको थियो ।

जेठ १३ गतेकै द्वितीय दिवसको द्वितीय कार्यपत्र प्रस्तुतिसत्रको अध्यक्षता वाल्मीकि विद्यापीठका धर्मशास्त्रविभागका विभागाध्यक्ष प्रा.डा. देवमणि भट्टराईद्वारा गरिएको थियो भने उक्त सत्रमा वाल्मीकि विद्यापीठ वेदान्त विभागका अध्यक्ष प्रा.डा. सुमोधवर्धन कौण्डिन्न्यायनद्वारा ‘संस्कृत शिक्षामा नयाँ  पुस्ताको अभिरूचि’ शीर्षक अनुसन्धानमूलक, प्रामाणिक, प्रविधिमैत्री कार्यपत्र प्रस्तुत गरिएको थियो ।  

उक्त कार्यपत्रको प्रस्तुतिका क्रममा प्रा.डा. कौण्डिन्न्यायनबाट संस्कृतभाषा विश्वकै प्राचीन, समृद्ध र वैज्ञानिक भाषा भएको, संस्कृत केवल भाषामात्र नभएर सभ्यता, संस्कृति, दर्शन र जीवनपद्धतिको आधारशिला रहेको, वर्तमान समाजमा नैतिकता र शान्ति, शारीरिक र मानसिक स्वस्थता आदिका लागि संस्कृतको सान्दर्भिकता थप बढ्दै गएको, नेपालको संस्कृतशिक्षामा गुरुकुलीय परम्पराको सकारात्मक र नेपाल राज्यको नकारात्मक भूमिका रहेको, संस्कृतकै धुरन्धर विद्वानले नै संस्कृत शिक्षाको विस्थापनका लागि ज्ञात होस् अज्ञातमै हस्ताक्षर गरेको तीतो ऐतिहासिक यथार्थलाई प्रस्तुत गर्दै विश्वविद्यालयका नेतृत्व तथा सम्बन्धित निकायले यसबाट सर्वदैव पाठ सिक्नु अपरिहार्य रहेको विचार अभिव्यक्त भएको थियो ।

प्रा.डा. कौण्डिन्न्यायनको कार्यपत्रमाथि सहप्रा. गोविन्द पौडेल र पूर्वप्राचार्य प्रा.डा. भागवत ढकालद्वारा समीक्षात्मक टिप्पणी गरिएको थियो । टिप्पणीका क्रममा पौडेलद्वारा ‘संस्कृत शिक्षामा नयाँ पुस्ताको अभिरूचि’ बढाउन आयुर्वेद, वास्तु-इन्जिनियरिङ, योगशास्त्र आदि विषयमा पाठ्यक्रम निर्माण गरी पठनपाठनको व्यवस्था विश्वविद्यालयले मिलाउनु पर्ने आवश्यकतामाथि जोड दिइएको थियो । त्यस्तै अर्का समीक्षक प्रा.डा.भागवत ढकालद्वारा संस्कृतमा नवपुस्ताको अभिरूचि वृद्धि गर्न नीतिनिर्माणको तह‌मै पुगेर राज्यलाई सचेत गराउँदै संस्कृतको प्रवर्धनका लागि योज‌ना बनाउनु पर्ने, समाजको रूचि र आवश्यकतालाई सम्बोधन गर्ने पाठ्यक्रम निर्माण गरी कक्षामा प्रविधिमैत्री पठनपाठन गर्नु पर्ने, विश्वविद्यालय स्थापनाको उद्देश्य र लक्ष्य परिपूर्तिका लागि अहिलेको पाठ्‌यक्रमले काम गरेको छ कि छैन समीक्षा गर्दै पाठ्यक्रम विश्वविद्यालयको उद्देश्य र लक्ष्यानुरूप समयानुकूल बनाउनु पर्ने, गुरुकुलीय विद्यार्थी र भाषाप्रशिक्षणबाट प्रवेश गरेका विद्यार्थीहरूको उद्देश्य पृथक् भएकाले शास्त्रीय र साधारण संस्कृतको पाठ्यक्रम निर्माण गरी लागु गर्नु पर्ने र कक्षालाई बिहानी सत्र, दिवासत्र र रात्रिसत्र गरी पढाउन सकिनेतर्फ जोड दिइएको थियो ।

गोष्ठीको तृतीय दिवस‌मा कार्यपत्र प्रस्तु‌तिको सत्राध्यक्षता पूर्व प्राचार्य प्रा.डा.भागवत ढकालद्वारा गरिएको थियो र प्रा.डा. शान्तिकृष्ण अधिकारीद्वारा ‘संस्कृत शिक्षणमा प्रविधिको प्रयोग’ शीर्षक कार्यपत्र प्रस्तुत गरिएको थियो । प्रस्तुतिका क्रममा डा.अधिकारीबाट कोरोना महामारीपश्चात् विश्वविद्यालयीय शिक्षामा डिजिटल प्रविधिको प्रयोग विश्वव्यापीरूपमै तीव्र विस्तार भएको, अनलाइन शिक्षणले औपचारिकता पाएको, परम्परागत शिक्षणशैलीबाट आधुनिक प्रविधिमैत्री शिक्षणतर्फ उन्मुख भएको, पाणिनीय व्याकरणको वैज्ञानिकता, ध्वन्यात्मक स्पष्टता, व्याकरणिक शुद्धता, कम्प्युटेशनल लिङ्गिस्टिक्स उपयुक्तता आदिका कारणले संस्कृत भाषा प्रविधिमैत्री रहेको, यान्त्रिक अनुवाद, वाक्पहिचान, ज्ञान प्रतिनिधित्व, अर्थगत विश्लेषण, कृत्रिम बुद्धिमत्ता आदि क्षेत्रमा संस्कृत भाषाको प्रयोग बढी प्रभावकारी हुने, शिक्षक कर्मचारी तथा विद्यार्थीको नै उपयोग गरी वाल्मीकि, पिण्डेश्वर, यालना मटिहानीजस्ता विद्यापीठ अन्तर्गतका पुस्तकालयका प्राचीन ग्रन्थहरूको डिजिटाइलेसन गर्नुपर्ने, विद्यार्थीलाई युटुव निर्माणको तालिम दिई आय-आर्जनको मार्ग खोलिदिने, वाल्मीकिको वेधशालालाई आधुनिकीकरण गरी कम्प्युटर र प्रविधिसँग जोडेर आकाशीय ग्रहहरूको अध्ययन गर्नु पर्ने, यज्ञबाट निस्केको धुवाँले वर्षा हुनमा के कति प्रभाव पार्छ त्यसको मापन यन्त्रमार्फत गर्नु पर्नेजस्ता महत्त्वपूर्ण सुझाव प्रस्तुत भएको थियो ।

डा. अधिकारीको प्रस्तुत कार्यपत्रमाथि प्रा.डा. लेखप्रसाद निरौलाद्वारा परिपूरक टिप्पणी गरिएको थियो । डा. निरौलाबाट टिप्पणीका क्रममा कार्यपत्रलाई वेद-उपनिषद्-कोष-निरुक्त-स्मृतिग्रन्थसँग जोड्नुपर्ने, आजसम्म भएका संस्कृत क्षेत्रका रिसर्चलाई अध्ययन र प्रयोग गर्दै कमी देखिएमा सुधारका लागि प्रयास गर्नु पर्ने, व्याकरण र भाषाविज्ञानमा प्रविधिलाई प्रयोग गर्नु पर्ने, ज्योतिष, आयुर्वेद, योग, तन्त्र, छन्द-लय र सङ्गीतका क्षेत्रमा भइसकेका व्यापक अध्ययन-अनुसन्धानको प्रयोग गर्नु‌पर्ने, पाण्डुलिपि ग्रन्थहरूको स्क्यान गर्नु पर्ने, मन्त्रध्वनिको अनुसन्धान गर्नु पर्नेतर्फ जोड दिइएको थियो । अधिकारीको प्रस्तुत कार्यपत्रमाथि अर्का समीक्षक प्रा.डा. ध्रुवप्रसाद भट्टराईद्वारा टिप्पणीका क्रममा यस कार्यपत्रले संस्कृत शिक्षामा प्रयोग हुने विधि तथा प्रविधिका बारेमा प्रकाश पारेको, संस्कृत प्रविधिमैत्री भाषा भनेर नासाले समेत स्वीकार गरेको तथ्यलाई उजागर गरेको र विश्वविद्यालयको नवनेतृत्वलाई दिशा-निर्देश गर्ने महत्त्वपूर्ण काम गरेको, विचार, प्रयोजन र पद्धति तीनै पक्ष समेटिएकाले  प्राज्ञिक कार्यपत्र बनेको मूल्याङ्कन गर्दै संस्कृत शिक्षणमा प्रविधिको प्रयोग अनिवार्य हुँदै गएको तर प्रविधिले दिने सूचनाको आधिकारिकतामाथि भने पुनः परीक्षण गर्नु पर्ने, विद्यापीठहरूमा शैक्षणिक कृयाकलापमा आवश्यकमात्रामा प्रविधिको प्रयोग गर्नु आवश्यक रहेको तर्फ जोड दिइ‌एको थियो । प्रस्तुत कार्यपत्र प्रस्तुतिसत्रका अध्यक्ष प्रा.डा. भागवत ढकालद्वारा नयाँपुस्ताले गरेको अपेक्षा अनुरूप पाठ्यक्रम निर्माण गरी लागु गर्नु आजको आवश्यकता रहेको तर्फ जोड दिदैँ कार्यपत्र प्रस्तोता तथा टिप्पणीकारद्वय र सक्रिय सहभागी सबैलाई धन्यवादपूर्वक कार्यपत्र प्रस्तुतिसत्रको समापन गरिएको थियो ।

अनुसन्धान व्यवस्थापन एकाइ (RMC) का संयोजक डा. गणेशप्रसाद घिमिरेको अध्यक्षता तथा ने.सं.वि. परीक्षानियन्त्रक सहप्रा. मुरलीधर दाहालको प्रमुखातिथ्य, ने.सं.वि. केन्द्रीय प्राध्यापक संघका महासचिव डा. नारायण बराल, वाल्मीकि विद्यापीठ, प्राध्यापक संघका सभापति प्राध्यापक घनश्याम भण्डारी, पूर्वप्राचार्य प्राध्यापक ध्रुवप्रसाद ज्ञवाली, पूर्वप्राचार्य प्रा.डा. भागवत ढकाल, ने.सं.वि. प्राध्यापक संघका पूर्वसभापति प्रा.डा. शान्तिकृष्ण अधिकारी, त्रिचन्द्र कलेज नेपाली विभागका प्रमुख डा. अङ्गदमणि गौतमलगायतको विशेष आतिथ्यमा सम्पन्न समापन सत्रको सहजीकरण RMC का सचिव खगेन्द्र नेपाल (ज्ञानु विद्रोही) द्वारा गरिएको थियो । गोष्ठीमा तीनै दिन सहभागीका तर्फबाट विद्यार्थी जुनू मल्लिक, उपप्राध्यापक रेखा शर्मा, विद्यार्थी जगन्नाथ भट्टराई, वृद्धविद्यार्थी चुडामणि लम्साल, डा. विमला शर्मा लगायतको गोष्ठीले पारेको प्रभावका बारेमा प्रतिक्रिया लिइएको थियो ।  

प्रमुख अतिथि मुरलीधर दाहाल र RMC का संयोजक डा. गणेशप्रसाद घिमिरेका हातबाट सहभागी सबैलाई प्रमाणपत्र वितरण गरिएको थियो । प्रमुख अतिथि तथा परीक्षानियन्त्रक मुरलीधर दाहालद्वारा विश्वविद्यालयका सबै विद्यापीठमा प्रविधिमैत्री पठनपाठनको अपरिहार्यता रहेको, आर्ष- ज्ञानसम्पदाको उत्खनन गर्दै जीवनमा उतार्नु पर्ने, यस गोष्ठीले सबै सहभागीमा सकारात्मक ऊर्जा भरेको, प्राज्ञिक गोष्ठी आयोजना गरी विश्वविद्यालयीय नेतृत्वलाई दिशानिर्देश गर्न सफल भएकोमा RMC, वाल्मीकि परिवार धन्यवाद तथा बधाइको पात्र बनेको मन्तव्य राखिएको थियो ।

समारोहमा RMC वाल्मीकिका सदस्य उपप्रा. हरिनारायण पाण्डेद्वारा गोष्ठीलाई सफल बनाउन सहयोग पुर्‍याउने सहभागी प्राध्यापक, विद्यार्थी, कर्मचारी सबैप्रति आभार प्रकट गरिएको थियो । अन्तमा समापन सत्रका सभाध्यक्ष तथा RMC का संयोजक डा. गणेशप्रसाद घिमिरेबाट त्रिदिवसीय गोष्ठीमा कार्यपत्र लेख्ने र कार्यपत्रहरुमाथि समीक्षात्मक टिप्पणी गर्ने विद्वज्जनप्रति, सहभागी प्रशिक्षार्थी प्रति, RMC का सक्रिय ऊर्जाशील समितिप्रति, आर्थिक सहयोग उपलब्ध गराउने युजिसी (विश्वविद्यालय अनुदान आयोग) प्रति, वाल्मीकि विद्यापीठ र नेपाल संस्कृत विश्वविद्यालयप्रति विशेष आभार तथा धन्यवाद अर्पण गर्दै आ-आफ्ना विषयमा उच्चशिक्षा ग्रहण गर्दै विभिन्न सरकारी सेवाबाट निवृत्तिपश्चात् संस्कृत विषय‌को ज्ञानार्जनका लागि संस्कृत विश्वविद्यालय प्रवेश गरेका पूर्व सचिव डा. श्रीराम घिमिरे (६५वर्ष) चूडामणि लम्साल (८३ वर्ष) जगन्नाथ भट्टराई (६७ वर्ष), डा. दामोदर कोइराला (६३), पूर्वशिक्षक- दामोदर चालिसे, पूर्वसचिव सूर्य आचार्य(६९ वर्ष) जस्ता वृद्ध जिज्ञासु विद्यार्थीहरूलाई मध्यनजर गर्दै विश्वविद्यालयले छुट्टै विशिष्ट प्रकृतिको शास्त्रीयज्ञानमूलक पाठ्यक्रम निर्माण गरी लागू गर्न ढिला गर्न नहुने तर्फ विशेष जोड दिइ‌एको थियो ।

समग्रमा अनुसन्धान व्यवस्थापन एकाइ (RMC) वाल्मीकिद्वारा आयोजना गरिएको त्रिदिवसीय 'संस्कृत शिक्षामा पुस्तागत भिन्नता' विषयक त्रिदिवसीय कार्यशाला गोष्ठी अत्यन्त भव्य, सभ्य, ज्ञानवर्धक तथा संस्कृत विश्वविद्यालयलाई नै मार्गदर्शक बन्न सफल रहेको मूल्याङ्कन गर्न सकिन्छ । उक्त गोष्‍ठीमा संस्कृत विश्वविद्यालयका विशिष्ट अनुभवी प्राध्यापकद्वारा प्रस्तुत गरिएका र विद्वान् समीक्षकद्वारा सुधारात्मक टिप्पणी गरिएका अनि सक्रिय सहभागीद्वारा महत्त्वपूर्ण सुझावसहित पृष्ठपोषण गरिएका सबै कार्यपत्रहरू संस्कृत विश्वविद्यालयका लागि अमूल्य ज्ञाननिधि एवम् पथप्रदर्शक नीतिपत्र बनेका छन् ।  

तीन दिनसम्म सरोकारवाला संस्कृत विश्वविद्यालयका प्राध्यापक, विद्यार्थीहरुका ऊहापोह विचार- मन्थनपूर्वक निकालिएको घृतरूपी ज्ञानराशिलाई विश्वविद्यालयले सदुपयोग गर्न सक्नुपर्छ । गोष्ठी तथा कार्यपत्रहरूले प्रदान गरेका महत्त्वपूर्ण सुझावलाई ग्रहण गरी विश्वविद्यालयले कार्यान्वयनको दिशामा लैजान सके तथा विश्वविद्यालयको नीतिनिर्माण तथा योजना विस्तारमा सदुपयोग गर्न सकेमात्र यस्ता गोष्ठी सार्थक प्रयोजनपूर्ण एवम् उपलब्धिमूलक बन्न सक्छन् ; तसर्थ कार्यपत्रले दिएका सबै सकारात्मक सुझावलाई संस्कृत विश्वविद्यालय तथा सम्बन्धित निकायले व्यवहारमा लागु गर्न सकोस् ! यही नै शुभकामना र सहभागीका तर्फबाट आयोजक संस्था अनुसन्धान व्यवस्थापन एकाइ (RMC)लाई आभार सहित धन्यवाद ! जयतु संस्कृतम् !
अर्को समाचार
नेपाली कांग्रेस : पुनर्जागृत हुने कि स्खलित ?
०९ मंसिर २०८३
•
७ मिनेट पाठ
नेपाली कांग्रेस : पुनर्जागृत हुने कि स्खलित ?
नेपालमा प्रजातन्त्र स्थापना गर्ने देखी सबै खाले राजनैतिक आन्दोलनहरूमा आफ्नो दर्बिलो उपस्थिति देखाउँदै यस देशको विकास क्रममा नेपाली कांग्रेस कहिले खुम्चिएर त कहिले आम जनताको अभुतपूर्ण समर्थनमा करिब आठ दशकदेखि नेपालको राजनीतिको अग्रमोर्चामा छ।




पहिलो पटक जनताले आफ्नो प्रतिनिधि आफैँ चुन्न पाउनेदेखि, मौलिक हकहरू, समावेशिता, विकास(?)का अनेक पूर्वाधार निर्माणका सवालमा कांग्रेसले महत्त्वपूर्ण योगदान गरेको कुरा अकाट्य छ। नेपालमा बहुदलीय प्रतिस्पर्धात्मक राजनैतिक व्यवस्था , शान्ति प्रक्रिया हुँदै नेपाललाई संघिय लोकतान्त्रिक गणतन्त्रात्मक देशको रूपमा संविधानमै सुनिश्चित गराउने सम्मका काममा नेपाली कांग्रेस सदैव नेतृत्वदायी भूमिकामा रह्यो। 

तर कांग्रेसबाट जनताको अपेक्षा यतिमा मात्रमा सीमित थिएन। हिजोको जहानिया राणाशासन , पञ्चायती व्यवस्थाको विषम परिस्थितिमा समेत डटेर लडेको कांग्रेस आजको यत्तिको अवसरका बिचमा किन लरखराएको छ ? यो नै आम चिन्ताको विषय बनेको छ।

संविधानको कार्यान्वयन , सरकारको पारदर्शिता , भ्रष्टाचार , महँगी , बढ्दो बेरोजगारी , युवा पलायन लगायतका अनकन विषयहरूमा कांग्रेस र यहाँका मुख्य दलहरूमाथि जनताको जबरजस्त अविश्वास पैदा भयो। यही अविश्वासको जगमा समाजमा आक्रोश पैदा गराई देशका महत्त्वपूर्ण धरोहरहरू ; संसद् भवन , राष्ट्रपति कार्यालय ,सिंहदरबार लगायत थुप्रा नेताका घरहरू , व्यावसायिक स्थलहरू , छापाखाना क्षणभरमै खरानी बनाइए। 

नेपाली कांग्रेसको समर्थनमा रहेको तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार शान्ति सुरक्षाको मामिलामा निरीह मात्र रहेन सत्तासीन मन्त्री र सांसदहरूलाई ज्यान जोगाउनै धौधौ पर्‍यो। अझै पूर्वप्रधानमन्त्री समेत बनिसकेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा आफ्नो धर्मपत्नीकै साथ कुटाइ खानुपर्‍यो। अहिले उनको पछिल्लो अभिव्यक्ति अनुसार आफूलाई मार्ने षड्यन्त्रमा आफ्नै पार्टीका तत्कालीन महामन्त्री गगन थापाले व्यक्तिहरू परिचालन गरेको गम्भीर आरोपसमेत आएको छ। समयले थप सत्यहरू उजागर गर्दै पनि जाला।

तर राजनीतिका यी अनकन फोहोरी हर्कतभन्दा माथि आजको मुख्य सवाल नेपाली कांग्रेसको वैचारिक धरातलको हो। नेपालको राजनीतिमा आफूलाई जेठो पार्टी दाबी गरेर मात्रै वा हिजोका अग्रजहरूको योगदानको ब्याज खाएर मात्रै कांग्रेसले भोलिको समयमा आफ्नो औचित्य पुष्टि गरिरहन सक्दैन। 

स्थापनाको समयदेखि अहिलेसम्ममा सायदै काँग्रेस सबैभन्दा बढी विचार शून्य अवस्थामा छ र केवल पद प्राप्तिको लडाइँमा मात्र सीमित देखिन्छ। विशेष र नियमित महाधिवेशनको नाममा कांग्रेस अब प्राविधिक रूपमा मात्र विभाजित हुन बाँकी रहेको छ। तर यो विभाजन कुनै वैचारिक जगमा उभिएको विभाजन भने पटक्कै होइन। यो केवल राजनीतिलाई सतरन्जको खेल सम्झिनेहरूको परिणामहीन कुकृत्य मात्र हो। यसलाई पुष्टि गर्ने केही आधारहरू छन्। 

गत वर्षको भाद्रमा जेनजीआन्दोलनको भावना/मर्मको नाममा भाद्र २२ गतेसम्म भागबन्डामा मग्न नेताहरू भाद्र २५ देखि नेतृत्व हत्याउने हतारमा देखिन पुगे। भातृ संगठनको जगमा पार्टीको महामन्त्रीजस्तो जिम्मेवार पदमा आसीन नेताहरू आफ्नो पूरा कार्यकालभरि कुनै भातृ संगठनको अधिवेशनको पक्षमा न कतै बोले न त कुनै पहलकदमी देखाए। 

अझै भद्दा नेविसंघ र तरुण दलमा आफ्ना मान्छेहरू भन्दै भागबन्डाको बार्गेनिङमा यिनलाई निकम्मा बनाउन लागिपरे , त्यसकै फलस्वरूप युवाहरूको असङ्गठित आवाजले जेनजी आन्दोलनको नाममा विनाशको रूप लियो। फेरि उल्टै सारा दोष अरूमाथि पन्छाएर आफू पानीमाथिको ओभानो देखिन रत्तीभर लाज मानेनन्,हिचकिचाएनन्।

अब प्रश्नहरू आउँछन् , नेपाली कांग्रेसको मुख्य समस्या नीति हो वा नेतृत्व ? शेरबहादुर देउवाको अनुहार फालेर गगन थापा वा कसैको अनुहार देखाउँदैमा पार्टी मजबुत भइहाल्ने भए हालै सम्पन्न निर्वाचनको परिणाममा कांग्रेसको नयाँ सभापति बनेर आएँ भनेकै व्यक्तिको र पार्टीका सबैजसो उम्मेदवारहरूको निर्वाचनमा लज्जास्पद पराजय कसरी हुन पुग्यो ?

महाधिवेशन भनेको सभापति वा पदाधिकारी फेर्ने अभ्यास मात्र हो वा वैचारिक मन्थनको प्रक्रिया पनि हो ?

नेपालको शासन व्यवस्थामाथि जनताको जबरजस्त अविश्वास पैदा भयो , किन? त्यो अविश्वास पैदा हुनुमा तत्कालीन माओवादसहित सबै दल जिम्मेवार छन्। तर कांग्रेस किन र कुन अर्थमा के के कारण बढी जिम्मेवार छ? त्यसको रिफ्लेक्सन कांग्रेसको अन्तर पार्टी संघर्षमा देखिन्छ , कसरी?

अहिलेको कांग्रेसको आन्तरिक अवस्थाले देशको सकारात्मक रूपान्तरणमा सिर्जना हुन सक्ने अवरोधहरू कस्ता छन्? ती अवरोधहरू सिर्जना हुनुमा कांग्रेसको आन्तरिक शक्तिसङ्घर्ष किन र कसरी जिम्मेवार छ?

अहिले जसरी विशेष महाधिवेशन जसलाई ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेको भनिएको छ , त्यो समूहलाई आवश्यक लाग्यो भन्ने बित्तिकै अर्को पक्षलाई निषेध गरेर आफ्नै पार्टी पङ्क्तिलाई दास र लासको संज्ञा दिने हर्कतले कांग्रेसको भलो हुन्छ ?  

हिजो स्थापना कालदेखि कांग्रेसमा बिपी सुवर्णको बिचमा होस् वा केही समय अघिसम्म शेरबहादुर देउवा र कोइराला परिवारको अन्तर सङ्घर्षको बिचमा ! सबै समयमा नेताहरूले संवाद र सहमतिकै बाटो रोजेर पार्टी एक राखेका हुन् भने अहिले विशेष महाधिवेशनको गलत प्रयोग (लुप होल)को सहारा लिएर पार्टी विभाजन गर्नुको प्रयोजन के हो ?

यावत् प्रश्नहरू इतिहासले सोध्ने नै छ।

आज जे सतहमा देखिएको छ यो सरासर वैचारिक स्खलनको दिशातर्फ उन्मुख हर्कतहरु हुन् । तर , सङ्कटले आविष्कारको अवसर पनि दिएकै हुन्छ। अबको कांग्रेस फेरिपनी तब मात्र जनताको अघि सार्थक साबित हुनसक्छ जब कांग्रेस आफ्नो वैचारिक स्खलनको बाटोबाट वैचारिक पुनर्ताजगीको बाटोमा आइपुग्नेछ।

वैचारिक पुनर्ताजगी के हो ? बिपी कोइरालाले समाजवादको सन्दर्भमा भन्नुभएको एक हरफको मद्दत लिन चाहन्छु , "हाम्रो मुलुक गरिब छ , हाम्रो मुलुक किसान छ , जुन नीति र कार्यक्रमबाट गाउँमा बस्ने किसानहरूको भलाई हुन्छ त्यही अवधारणा नै नेपालको समाजवादी अवधारणा हो।" तर आजको दिनमा उत्पादनको साधन बदलिएको छ। 

हिजो बिपीको समयको हलो,कोदालो वा दुहुनो गाईलाई हामी बिम्बात्मक रुममा मनन गर्दै आजको प्रविधियुक्त विश्वमा नेपालका जनतालाई कसरी समृद्धितर्फ उन्मुख गर्न सकिन्छ भन्नेमा मुख्य ध्यान दिनु आवश्यक छ। भूमण्डलीकरण वा पुजीवादबाट समाजको बढ्दो उचनीचको खाडललाई कसरी भर्न सकिन्छ भन्नेमा अबको चासो देखिनु आवश्यक छ। 

शिक्षा , स्वास्थ्य लगायतका मुख्य विषयमा सबैलाई कसरी समान अवसर प्रदान गर्न सकिन्छ भनेर राज्यले र राजनैतिक दलहरूले सोच्न जरुरी छ। जाति, पेसा, भाषा, वर्ण, लिङ्ग, भूगोलको आधारमा हुने विभेदलाई हटाई नेपाललाई अनेकतामा एकता भएको देशको रूपमा सिद्ध गर्न गरिनुपर्ने कार्यक्रमहरूको चर्चा हुनु जरुरी छ।  

बदलिँदो विश्व राजनीति र यसको प्रभावको सन्दर्भमा हाम्रो मुलुकको साझा लक्ष र चुनौतीहरूको बिस्तारमा  छलफल हुनु आवश्यक छ। यी सबै उत्तरदायित्व नेपालको राजनीतिमा अझैसम्म पनि नेपाली कांग्रेसकै हो। अन्तरपार्टी संघर्षमा अनकन बिचारहरूको साझा प्रतिनिधित्व खोज्दै , राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा एकताको मध्य बिन्दु खोज्न सक्ने क्षमता कांग्रेसमा छ र सबै विषयहरूलाई निष्कर्षमा पुर्‍याउनुपर्ने अभिभारा समेत अझैसम्म पनी कांग्रेसको काँधमा छ। तर कांग्रेस बरालिएको देखिएको छ। 

'मियो बिनाको दाइँ ' भनेझैँ वा ' कुहिरोको काग ' भनेझैँ कांग्रेसले अहिले आफ्नो गति, दिशा र लक्ष पहिल्याउन सकिरहेको छैन। लामो वादविवादबाट सही बिचार ठम्याउन सक्नुपर्ने अवस्थामा अहिले तर्कभन्दा बढी कुतर्क , एकतामा भन्दा बढी आपसमा अनावश्यक पौठेजोरी खोज्नमा कांग्रेस मग्न देखिन्छ। अब सारा समस्याको एक मात्र हल भनेको पानी धमिल्याएर माछा मार्ने पदलोलुप , महत्वाकांक्षी र अवसरका भोगिहरुविरुद्ध कांग्रेसका सम्पूर्ण युवा , तरुण र अग्रजहरू एक ढिक्का भई तिनको सही पहिचान गरी तिनलाई परास्त गर्नुमा नै छ। 

भोलिको दिनमा कांग्रेसको वैचारिक धरातलको जग नै यहाँको लोकतन्त्र र देशको भविष्यसँग जोडिएको छ। यसरी आदर्श र बिचारलाई तिलाञ्जली दिँदै फगत चिन्हको लडाइँमा कांग्रेस मग्न रहने हो भने यो कांग्रेसजनका लागि मात्र होइन समग्र देश र यहाँको समग्र लोकतान्त्रिक व्यवस्थाकै लागि अभिशाप सिद्ध हुने निश्चित देखिन्छ। 

जनताको ठुलो त्याग , तपस्या र साहदत्तपश्चात् प्राप्त यो व्यवस्थाको जगमा अझै थुप्रा उपलब्धिहरू हासिल गर्नतर्फ उद्धत हुनुपर्ने कांग्रेस अहिलेको निर्णायक समयमा पतन (स्खलन)को  बाटो नरोजोस् , एउटा उन्नत र परिष्कृत बिचारको साथ जनताको मनमा हाजिर बनोस्। 

केन्द्रमा जुँघाको लडाइँमा मग्न बन्दै जाँदा कसैको आफ्नो व्यक्तिगत अभीष्ट त पूरा होला तर वडा,पालिका तहमा निस्वार्थ भावनाले पार्टीमा आबद्ध लाखौँ सदस्यहरूको मनमा ठेस पुग्नेछ। यसरी शिथिल अवस्थामा आसन्न निर्वाचनमा होमिँदै गर्दा पार्टीको कुन हबिगत रहने हो भन्नेमा पार्टीका जिम्मेवार नेतृत्व पंक्ति बेलैमा होसियार हुनु आवश्यक छ। समयमै कुवा खने पछि सहज होला , घरमा आगो लागिसकेपछि कुवा खन्न हिँड्नुको कुनै तुक हुनेछैन । (नेपाल कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन्।)
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस