कवि शङ्कर लामिछानेको एउटा कविता ‘नजन्मेको छोरालाई’ पढेपछि मैले कविता रेकर्ड गर्ने तयारी गरेँ। उनलाई कविका रूपमा मैले धेरै पछि चिनेँ। र, यो कवितासितको मेरो सान्निध्य ‘शङ्कर लामिछाने निबन्ध कोश’ स्थापना गरेकै समयदेखि सुरु भएको हो। यो कविता मैले म्युजिक नेपालबाट प्रकाशित नेपाली कविताको सिडी ‘अञ्जली’मा संगृहीत छ। यस्तै शीर्षकमा पछि पारिजातको कथा पनि प्रकाशित छ।
पारिजात, भूपी शेरचन र शङ्कर लामिछानेको समयमा भीमदर्शन रोका शक्तिशाली कवि थिए र उनी भूपीका पनि गाइड–कवि बने। शङ्कर गीतकार पनि थिए, रेडियो नेपालका प्रथम गीतकार। उनको गीत नातिकाजीको सङ्गीत–रचनामा हरिप्रसाद रिमाल, समरबहादुर मल्ल, केदार ठाकुर र साथीहरूले समेतको स्वरमा गाए। रिमालसित गरिएको विषयपरक र विनयपरक कुराकानीमा मैले धेरै पटक यो गीतको चर्चा गरेको छु। गीतको पूरै पाण्डलिपि उहाँसित सुरक्षित थियो। उहाँ बितेपछि यो गीतको चर्चा मैले कतै सुनिनँ।
‘मेरो मुटु तिम्रो आँखाबाट आँसु भएर बहनेछ’
रेडियो नेपालबाट पहिलो लाइभ गाइएको यस गीतका गीतकार शङ्कर लाछिाने र गायक हरिप्रसाद रिमाल नाताले मामाचेला फुपूचेला थिए। शङ्करको निकटता अझै बढी कवि गोपालप्रसाद रिमालसित थियो। कवि रिमालसितको सङ्गतले नै शङ्करले एकपटक गौरी–शङ्कर नाट्य समुदायमा गएर ‘म उनी गएपछि’ भन्ने नाटकमा अभिनय गर्न गएका थिए।
अभिनयमा उनको रुचिले पछि उनलाई सिनेमासित पनि जोड्यो, डिमात्रीको अंग्रेजी फिल्म ‘द माउन्टेन इज यङ’ मा लियाजन अफिसर भएर उनी एक्काइस सालको पोखरा पुगे, डकोटा चढेर। पोखरामा छायाङ्कन हुने भनिएको ‘द माउन्टेन इज यङ’ क्यानेडियन–चाइनिज लेखिका ह्वेन साङको नेपाल अनुभव गाथा थियो। यो उपन्यास साङले विशालनगरको वसन्त शमशेरको दरबारमा बसेर लेखेकी थिइन् भनेर उनकी छोरी नीरा राणा रोय बेला बेला सुनाउँछिन्। ह्वेन साङको यो कृतिमा फिल्म नबने पनि शङ्करले ‘स्टार्ट साउन्ड, एक्सन’ भन्न यहींबाट सिके, जुन उनले ‘विम्ब प्रतिविम्ब’मा लेखेका पनि छन्।
कालान्तरमा शङ्करलाई यही सिनेमाले गर्दा काठमाडौंको दोस्रो सिनेमा हल ‘जनसेवा’ को म्यानेजर पनि बनायो। आफ्ना घनिष्ट मित्र दयारामभक्त माथेमा र उनका भान्जाभाइ भुवनेश्वर अमात्यसित उनले जनसेवा हलमा आगो नलागुन्जेल काम गरे। यो हलको अग्निकाण्डपछि शङ्कर भुवनेश्वर अमात्यको क्युरिओ सपमा आबद्ध भए।
अमात्यका छोरा गायक योगेश्वर अमात्य बेला बेला यो घटना वा कथा सम्झिरहन्छन्। संयोगले योगेश्वर भीमदर्शन रोकासित इंग्लिस ट्युसन पढ्थे भने शङ्करका छोरा दीप लामिछाने र छोरी शिखासित उनको मित्रवत् निकटता कायमै रह्यो।
अभिनय, कविता, गीत हुँदै शङ्करले उपन्यास लेखनमा पनि पाइला चाले, अक्षराम्भ। उनको उपन्यासको नामकरण भइसकेको थियो तर एक परिचित मित्रले धोका दिएको कारण त्यो उपन्यास छापिएन।
कथा र निबन्धमा त शङ्करको तुलना र चर्चा सधैं भइरहन्छ। बजारमा किताब नभएपछि र पाठकले नपाएपछि उनको किताब तिस वर्षपछि सम्पूर्ण अधिकारका साथ छाप्ने काम ‘भावक अभियान नेपाल’ ले गरेको थियो। भावक अभियान नेपालले ‘एब्स्ट्य्राक्ट चिन्तन प्याज’, ‘गोधूली संसार’ र ‘गौंथली गुँड’ प्रकाशन गरेर सार्वजनिकीकरण गरेको घटना नेपाली साहित्यमा एक इतिहास बन्यो। यसलाई पछिसम्म नेपाली समाजले सम्झिरह्यो, सम्झिरहनेछ। ‘भावक अभियान नेपाल’ले पछि शङ्करकै ‘विम्ब–प्रतिविम्ब’ पनि प्रकाशन गर्यो। साहित्यकार लैनसिंह वाङ्देलले यसलाई ‘स्पाइनी बाइबलर’मा विमोचन गरेका थिए, २०५८ सालमा।
‘विम्ब–प्रतिविम्ब’मा उनले महाकवि देवकोटा, कवि शिरोमणि लेखनाथ पौड्याल, बालकृष्ण सम, बालचन्द्र शर्मा, अम्बर गुरुङ, भूपी शेरचन, पारिजात, हृदयचन्द्रसिंह प्रधान, भीमदर्शन रोका, तुलसीनाथ ढुङ्गेल र शंकर लामिछानेबारे नै लेखेका थिए, व्यक्तिविम्ब। पछि ‘भावक अभियान नेपाल’ले छापेको किताब बजारमा आउँदा अगमसिंह गिरी र रमोलादेवी शाह छिन्नलताको पोट्रेट थपियो।
समय र सन्दर्भ कस्तो फरक भयो भने यी किताब छापिएपछि वा छापिएर बिक्री हुन थालेपछि शङ्कर लामिछानेका किताब छाप्न नचाहने साझा प्रकाशनदेखि अन्य सबै प्रकाशन उनका पुस्तक प्रकाशन गर्न शङ्कर लामिछाने निबन्ध कोश धाउन थाले।
साझाका तत्कालीन जिएमदेखि साझाका सञ्चालक समितिका सदस्यहरूले समेत सबैतिरबाट तागत लगाउन थाले। यसरी उनका किताब सबै व्यापारमुखी संघसंस्थाले छाप्न थाले। यसै क्रममा उनको संस्मरणमा लेखिएको ‘शंकर स्मृति’ पनि नयाँ खण्ड छापिएर आयो।
शङ्कर यति लामो वर्ष हराउनुका पछाडि कसको कस्तो भूमिका थियो? परिवार नै किन यसका पछाडि मौन रहे? शङ्करकी कान्छी पत्नी सुवर्ण श्रेष्ठ र उनका दुई छोरा प्रकाश लामिछाने र प्रवास लामिछाने दृश्यमा कता हराए?
शङ्करका किताब छापिएपछि ती सबै प्रकटमा आए। त्यसपछि शङ्कर लामिछाने निबन्ध कोशमा अध्यक्षका रूपमा अम्बर गुरुङ, उपाध्यक्षका रूपमा उनकी रत्ना लामिछाने र प्रकाश सायमीसहित नगेन्द्र शर्मा, सविता ढुङ्गाना, मिङ्मा शेर्पा आदि बसे।
केही समयपछि यो कोश (नगेन्द्र शर्मा आबद्ध सहकारीमा राखेको रकम लुप्त भएपछि) बन्द भयो। यसरी एसएलएनटी अर्थात् शंकर लामिछाने निबन्ध ट्रस्ट थन्कियो।
शंकर लामिछानेको लेखनमा अङ्ग्रेजी र हिन्दी साहित्यको प्रभाव धेरै थियो। कारण उनका धेरै साथी भारतीय मूलकै थिए। उनले केही समय नेपाल–भारत पुस्तकालयमा लाइब्रेरियन भएर काम गरे। यसले पनि उनलाई हिन्दी भाषा पढ्न र लेख्न सहज बनायो। त्यसमाथि काठमाडौंस्थित भारतीय राजदूतावासमा सांस्कृतिक सहचारी भएर आएका कवि शिवमङ्गल सिंह सुमनसितको सम्बन्ध र स्नेहले उनी झन् अन्य भारतीय कविहरूसित आकर्षित भए।
कवि शिवमङ्गलसिंह सुमन
कवि सुमन उनका अफिसियल फ्रेन्ड मात्र रहेनन्, फ्यामिली फ्रेन्ड नै बने। शङ्करका कैयन् कविता शिवमङ्गल सिंह सुमनले नेपालीबाट हिन्दीमा अनुवाद गर्ने, छाप्ने कामसमेत गरेका थिए भन्ने बुझिन्छ।
शङ्करलाई लेख्न प्रेरित गर्ने सुमनले नै शङ्करलाई बच्चनसित चिनाए, बच्चन जो त्यतिबेला हिन्दी साहित्यमा ‘मधुशाला’ र ‘निशा निमन्त्रण’का कारण खुब चर्चामा थिए।
शङ्करले सुमनसित अर्को कुरा पनि सिके, बिहानको पूजा पाठ। सुमन बिहान दुई घण्टा पुजा गर्थे। उनी पूजा घण्टी बजाएर, धुप बालेर होइन, छेउमा चिया वा कफी राखेर पुस्तक पढ्थे। यसलाई उनी बिहानको पूजा भन्थे।
सुमनको यो अटुट चल्ने पूजा शङ्करले पनि देखेका थिए। शङ्करले यसबारे एउटा निबन्ध नै लेखेका छन्।
अघि नै भनियो, शंकर निबन्ध र कथाका निम्ति चर्चित थिए। निबन्ध कृतिमा त उनले मदन पुरस्कार नै पाए, २०२४ सालमा। निबन्ध कृतिमा मदन पुरस्कार दिइएको यो धेरै अघि धेरैपछिको एउटा यादगार घटना नै ठहरियो।
शङ्करले निबन्ध कृतिबाहेक पारिजातको उपन्यास ‘शिरीषको फूल’ र पिटर जे कार्थकको उपन्यास ‘प्रत्येक ठाउँ प्रत्येक मान्छे’मा लेखेको भूमिका सदैव चर्चामा रह्यो। पिटरको किताबमा लेखेको भूमिका नै उनको अन्तिम लेखनी थियो। यसपछि उनले आफ्नो डायरीमा लेखेको अभूमिका उनकी कान्छी पत्नी सुर्वणसित सुरक्षित थियो र पछि ‘एब्स्ट्य्राक्ट चिन्तन प्याज’ मा थपियो।
१९८४ चैत्र ५ मा काठमाडौंमा जन्मेका शङ्कर लामिछानेको २०३२ माघ १० मा वीर अस्पतालमा निधन भयो। निधनपछि उनको साहित्यिक योगदानलाई सबैभन्दा बढी चर्चामा ल्याउने तीन व्यक्तिमा कमल दीक्षित, पिटर जे कार्थक र अम्बर गुरुङ नै हुन्। ती सबैप्रति यो लेख समर्पित छ। तिनै स्रष्टाहरूका कारण शङ्कर लामिछाने पुनर्जीवित भए।
काठमाडाैं, धेरै क्षेत्रमा, धेरै विषयवस्तुमा विश्वभर धेरै किसिमका कीर्तिमान कायम गरिएका छन्। नेपालको सन्दर्भमा पनि किसिम–किसिमका कीर्तिमान स्थापित भएका छन्। जस्तो कि– नेपाली चलचित्रको क्षेत्रमा पनि विभिन्न कीर्तिमान खडा गर्ने क्रममा एउटा विशेष कीर्तिमान यहाँ प्रासङ्गिक छ।
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला ? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ। तिनै चलचित्रका लागि कति गीत लेखियो होला ? त्यसको पनि तथ्याङ्क पाउन सकिएला तर सबैभन्दा बढी गीत लेख्ने गीतकार को हो भनेर खोजियो भने अनुमान गर्न सकिन्छ, ती गीतकार किरण खरेलको अलावा अर्को कोही हुनै सक्तैनन्। यहींनिर जोडिएर आउँछ एउटा अर्को तथ्य, चलचित्रमा धेरै गीत लेख्ने किरण खरेल भए पनि चलचित्रको सङ्ख्याको आधारमा सबैभन्दा बढी चलचित्रमा गीत लेख्ने व्यक्ति अर्कै हुन्। धेरै चलचित्रमा गीत लेखेर कीर्तिमान बनाउने गीतकार हुन्– प्रमोद ढुंगाना। सुन्दा पनि आश्चर्य लाग्न सक्छ, थोरै मात्र चलचित्र निर्माण हुने गरेका यति सानो देशमा पनि हालसम्म उनले ११५ वटा चलचित्रमा गीत लेखिसकेका छन्। त्यसो त, सानो पर्दाका लागि पनि कैयौं गीतहरू लेखेका छन्। उनका गीतमा प्रयुक्त भावनाहरू हेर्दा लाग्छ, उनी केवल एउटै खालका भावमा सीमित छैनन्। मूलतः राष्ट्रभाव पोखिएका उनका गीतका शब्दहरू निकै प्रभावशाली छन्: ‘यो देशको झन्डाले एउटै आवाज बोल्छ यो माटोको टीका लगाऊ, यो देशको माटो बोल्छ...’ देशभन्दा ठुलो र महान् अर्को कुनै विषय छैन। प्रत्येक नेपालीलाई थाहा छ, जुन देशको झन्डामा चन्द्र–सूर्य मुस्कुराइरहेछन्, त्यो देशको माटो अझ गौरवशाली छ। त्यही गौरव बोकेको झन्डाको उनले प्रशस्ति गाएका छन् यो गीतमा। २०५५ सालमा निर्माण भएको चलचित्र ‘माटो बोल्छ’मा समाविष्ट यो गीतको मूल बोलमा नै उनले ‘सबैलाई एकतामा बाँध्ने शक्ति नै देशको माटो हो’ भन्ने चिन्तन व्यक्त गरेका छन्। राष्ट्रियताले ओतप्रोत यस्ता उनका धेरै गीत अन्य चलचित्रका लागि पनि लेखेका छन्। यो अलग्गै कुरो हो कि ती गीतहरूमाथि कसैले समीक्षा गरेको पाइन्न। हुन त बनिबनावट चर्चा–परिचर्चा गराइने आजको विसङ्गतपूर्ण साहित्यिक–साङ्गीतिक क्षेत्रमा यस्तो हुनु अस्वाभाविक पनि होइन। तर, यहाँनिर यसो भन्न सकिन्छ– अक्षर कसैको मानमर्दनका कारण त्यत्तिकै विलीन हुँदैनन्, कहीं न कहींबाट तिनले चियाइरहेकै हुन्छन्। अक्षरको सुन्दरता नै यही हो। सुन्दर अक्षरहरूलाई बास्ना थप्ने काममा लागिपरेका प्रमोद ढुंगानाको व्यक्तित्व के हो, कस्तो हो, त्यसको विश्लेषण गर्न आवश्यक नहोला। तर, यतिचाहिँ पक्कै भन्न सकिन्छ कि उनी गीत लेख्नकै लागि जन्मिएका हुन्। ‘फूल भए जिन्दगी देउतालाई चढाइदिन्थेँ कागज भए जिन्दगी यो सलाई कोरी जलाइदिन्थेँ...। ’
भूपेन्द्र रायमाझीले सङ्गीतबद्ध गरेर कुमार सानुको स्वरमा रहेको चलचित्र ‘अर्पण’ (२०४९) को गीत हो यो। सिङ्गो जीवनको सन्दर्भका शब्दहरूलाई नै गीतमा ढाल्न निपुण छन् उनी। यी शब्दहरूलाई विश्लेषण गरेर हेर्दा के कुरा प्रस्ट देखिन्छ भने मान्छेलाई जीवनप्रतिको विमोह यतिसम्म पनि हुन सक्दो रहेछ। पक्कै हो, प्रेममा वियोग भोगेका व्यक्तिले निरास भाव व्यक्त गर्नु स्वाभाविक हो। तर, त्यस्तो भोगाइलाई कवितात्मक पाराले प्रस्तुत गरेका छन् ढुंगानाले। जीवनबाट निरास भएका मान्छेले सामान्यतः सिधै– ‘म मरिदिन्छु’ भन्थे होलान् तर त्यस्तो दुःखान्त विषयलाई पनि उनले भने निकै मनमोहक पाराले भनेका छन्, यसरी भन्न सक्ने क्षमता सामान्य मान्छेसँग पक्कै हुँदैन तर गीतकारले गीतिरचनामा संयोजन गर्न सक्नु, यो उनको ठुलो खुबी हो। गीतैमा बडो अकल्पनीय संसारको कल्पना गर्छन्। त्यस्तो संसार जहाँ कुनै दुःख नहोस्, कुनै पीडा नहोस्, सांसारिक जीवनभन्दा धेरै पर। ‘यो मन ढुङ्गा भए कति जाती हुन्थ्यो न त चोट हुन्थ्यो न त हुन्थ्यो माया...। ’
यथार्थमा जीवनलाई आशाको नजरले हेर्न सक्ने शब्दशिल्पीसमेत उनका गीतिरचनामा देख्न पाइन्छ। जीवन भनेको दुःखको पुलिन्दा मात्रै होइन, खुसीको सम्भावना पनि हो। बजाउन नजाने जीवन विरहको धुन हो भने बजाउन जाने मालश्री धुन। जीवन बाँच्न पनि ढङ्ग हुनुपर्छ। दुःख पर्दैमा रोएरै बाँच्नुपर्छ भन्ने के छ र ! हुन त जीवन बाँच्ने आआफ्नो शैली हुन्छ। कोही धन कमाउनै लालायित हुन्छन्, कोही पद–प्राप्ति वा पुरस्कार–सम्मानका लागि लागिपरिरहेका हुन्छन्। कोही दुष्टता र धुर्ततालाई नै आफ्नो दैनिकी बनाएर बाँचिरहेका हुन्छन्। मानव समाजमा आज मान्छेको चरित्र नै सम्पूर्ण पथभ्रष्ट भएर गइरहेको देखिन्छ। सिधा बाटो कोही हिँडेका देखिन्नन्, सबका सब बाङ्गोटिङ्गो हिँडिरहेछन्। एउटा मनले अर्को मनलाई कसैले स्विकार्दैनन्, सबैले व्यक्तिवादी संस्कारलाई अपनाइरहेका छन्। वास्तविक जीवनको अर्थ भुलेर कृत्रिमताको अनुसरण गरिरहेछन्। यहाँ गीतकार ढुङ्गाना जीवनलाई खास अर्थमा परिभाषित गर्छन्; जीवनको अस्तित्व एउटै हुन्छ– जिउनु। जिउनु नै जीवन हो। जिउन सकिएन या जिउन जानिएन भने जीवनलाई सार्थक बनाउन सकिन्न, बाँचिरहेकै भए पनि त्यस्तो जीवन प्राणबिनाको शरीरजस्तो हुन्छ। त्यसैले, सकारात्मकताको बाटो लिएर बाँच्न सक्नुमा जीवनको अर्थ खुल्छ र त्यो बाटो अपनाउँदा धेरै किसिमका विकल्पहरू उपलब्ध हुन सक्छन्। कसरी, कुन रूपले बाँच्ने ? गीतकारका शब्दमा भन्ने हो भने जीवनलाई कविताका हरफहरूमा शब्दहरू बाँचेजस्तै बाँच्न सकिन्छ, कुनै मनमोहक गीतको लयजस्तै बाँच्न सकिन्छ। समग्रमा, गीतकार आफ्नो गीतमार्फत यही सन्देश दिन्छन् : ‘आऊ गाऊँ जीवनको गीत, जीवन एउटा गीत हो मोती सम्झे मोती हुन्छ यो, शीत सम्झे शीत हो...’ सम्भवतः जीवनको जति व्याख्या–विश्लेषण दुनियाँमा अन्य केही–कसैको भएकै छैन, विभिन्न कोणबाट, अनेकौं माध्यमले भएका छन्। कसैले तथ्यमा आधारित भएर विश्लेषण गरेका छन् भने कसैले केवल कल्पनमा बगेर पनि गरेका छन्। आजसम्म के–कति गरिएका होलान्, त्यसको लेखाजोखा कसले गर्न सक्छ र ! प्रमोद ढुङ्गानाले जीवनलाई जसरी बुझे, त्यसलाई गीतिशब्दमार्फत बुझाउन खोजे। खास गरेर नैपाली गीत–सङ्गीतको क्षेत्रमा यो निकै महत्त्वपूर्ण उपलब्धि हो। अलिक फरक ढङ्गले उनको गीतिकारितालाई हेर्ने हो भने एउटा प्रस्ट तथ्य देख्न सकिन्छ। त्यो तथ्यलाई खुलाएर भन्ने हो भने यसो भन्न सकिन्छ– सामान्य कल्पना गरेर गीतको शैलीमा तुकबन्दी मिलाएर गीत लेख्ने कथित गीतकारहरूका लागि प्रमोद ढुंगाना एउटा चुनौती हुन् किनकि गीत लेख्न जति सजिलो मानिन्छ, वास्तवमा त्यति सजिलो हुँदैन। त्यसमाथि चलचित्रको गीत लेख्न त झनै कठिन हुन्छ। कथावस्तुमा आधारित भएर लेखिने हुनाले अन्य गीतमा झैं चलचित्रका गीत लेख्दा कल्पनामा बहकिन पाइँदैन। उदाहरणका लागि वास्तविकतामा धरातलमा रहेर २०५५ सालमा उनीद्वारा लिखित चलचित्र ‘कैदी’का लागि गायक कुमार कान्छाले गाएको यो गीत कति सटिक छ ! ‘कहिले आगो कहिले पानी, यही रहेछ जिन्दगानी कहिले लाग्छ रात हो यो, कहिले लाग्छ हो बिहानी’ चार दशकसम्मको अविरल गीतियात्राअन्तर्गत उत्कृष्ट गीतिकारिताको कदर गर्दै नारायणगोपाल स्मृति कोषले गीतकार प्रमोद ढुंगानालाई यसपटक ‘नारायणगोपाल स्मृति सम्मान तथा पुरस्कार–२०८३’ समर्पण गरेको छ।
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...