आमाका मौन प्रश्नहरू
२७ असार २०८३
•
७ मिनेट पाठ
आमाका मौन प्रश्नहरू
आमा...‘बोल्न सकिनन् तर आमाका आँखाले प्रश्न सोधिरहे– मेरो उमेर बढ्यो भनेर उपचार गर्ने अधिकार पनि सकियो र ?’




आज मेरो मन अत्यन्तै भारी भइरहेको छ। धेरै कुरा गरेर मन हल्का बनाउन खोजेँ तर घुमिफिरी अन्तरमनलाई दिउँसोको दृश्यले यति गहिरोसँग छोएको रहेछ कि कार्यालय आएपछि पनि मन शान्त हुन सकेन।

मैले आमा गुमाएको पनि धेरै वर्ष भइसक्यो अनि म आफैं आमा भएको पनि त धेरै वर्ष भइसक्यो। आफूसँग आमा नहुँदाको त्यो पीडा, त्यो छटपटाहट मैले अनुभूत गरेको छु। आमाको माया, विश्वास, न्यानो काख अनि साथ एकचोटि गुमाइसकेपछि न धर्ती फोडेर ल्याउन सकिन्छ, न आकाश चिरेर नै पाउन सकिन्छ। त्यसैले सबैकी आमा बिरामी हुँदा म साह्रै छटपटिन्छु।

आमा केवल जन्म दिने व्यक्ति होइनन्, उनी त हाम्रो अस्तित्वको पहिलो पाइला, जीवनको पहिलो दर्शन र प्रेमको सबैभन्दा शुद्ध परिभाषा हुन्। संसारका सबै सम्बन्ध समयसँगै बदलिन सक्छन् तर आमाको माया कहिल्यै परिवर्तन हुँदैन। आमा रहँदासम्म हामीले उनको उपस्थितिलाई सामान्य ठान्न सक्छौं तर उनको अभावले मात्र थाहा हुन्छ– घरको एउटा कुनो होइन, पूरै जीवन नै रित्तिएको रहेछ। मृत्युले मानिसको शरीर मात्र लैजान्छ तर आमासँगै हाम्रो बालापनको निश्चिन्तता, निःस्वार्थ विश्वास र निःसर्त ममताको एउटा युग पनि समाप्त हुन्छ। त्यसपछि संसारमा जति धेरै मानिसको साथ पाए पनि आमाको न्यानो काखजस्तो आश्रय, आमाको हातजस्तो सुरक्षा र आमाको आँखाभित्र लुकेको निःस्वार्थ आशीर्वाद कतै भेटिँदैन। त्यसैले आमा जीवित हुनु भनेको केवल एउटा व्यक्तिको उपस्थिति मात्र होइन, जीवनमा अझै पनि एउटा यस्तो आकाश बाँकी हुनु हो, जहाँ थाकेका हरेक क्षणमा निःसर्त प्रेमको छहारी पाइन्छ।

आज मेरो मन शान्त छैन। बारम्बार एउटै अनुहार, एउटै दृश्य र एउटै प्रश्नले सताइरहेको छ। यो केवल एउटा वृद्ध आमाको कथा होइन, यो हाम्रो समाज, हाम्रो संस्कार, हाम्रो जिम्मेवारी, हाम्रो मावनता अनि आधुनिक सोचको कथा हो।  

आज संयोग मेरी आमाको झल्को मेटाउने एक वृद्ध आमासँग भयो। उहाँको घरमा पुगेँ, मेरा आँखाले ओछ्यानमा सुतिरहेकी मायालु वृद्ध आमालाई नै खोजिरहेका थिए। उहाँको शरीर एकदमै कमजोर भइसकेको थियो। उहाँ बोल्न सक्नुहुन्नथ्यो। धेरै झकझकाएपछि बल्ल आँखा खोलेर हेर्नुहुन्थ्यो अनि फेरि चिम्लिएका आँखा धेरै कष्टसाथ अलिकति मात्र उघार्नुहुन्थ्यो।

मैले हेरिराखेँ उहाँलाई, केही बेरसम्म मेरो मन असाध्यै बेचैन भयो। बिस्तारै उहाँको हात समाएँ, मेरा औंला च्याप्प समाउनुभयो तर आँखा उर्घानुभएन। यो दृश्यले मलाई भित्रैदेखि हल्लाइदियो। केही दिनदेखि ओछ्यानमै थला पर्नुभएको रहेछ, खानपिन पनि कम भएको रहेछ। मेरो पीडा झन् गहिरो भयो किनभने उहाँलाई मैले पहिलो पटक देखेको होइन, केही महिना अघि जब म त्यही घर पुगेकी थिएँ, उहाँ पूर्ण रूपमा फरक हुनुहुन्थ्यो। म जतिबेला पनि उहाँलाई भेट्न जान्थेँ, सधैं मुस्कानसहित ‘छोरी ! नानु !’ भनेर स्वागत गर्नुहुन्थ्यो। छोरी आइस् भन्दै आफ्नै छोरीलाई झैं माया अनि आफ्नै हातले खाना खुवाउन खोज्नुहुन्थ्यो। कहिले चुरा, कहिले टीका, कहिले घरमै बनाएको सेलरोटी। उहाँको अनुहारमा सधैं माया, स्नेह, अपनत्व, सम्मान हुन्थ्यो। उहाँ केवल आफ्नो सन्तानको मात्र आमा होइन, घरमा आउने हरेक पाहुनालाई आफ्नै परिवार सम्झिने एक महान् नेपालआमा हुनुहुन्थ्यो।

आज उहाँ बोल्न सक्ने अवस्थामा हुनुहुन्न। उहाँका ओठ बन्द थिए तर मलाई लाग्यो– उहाँको मौनताले हजारौं प्रश्न गरिरहेको छ। अनि मैले प्रश्न गरेँ– कति दिन भयो ओछ्यानमा ? अस्पताल किन नलगेको ? केही त्यस्तो रोग देखियो ? उत्तरको प्रतीक्षामा परिवारको आँखा हेरेँ अनि उत्तर आयो– ‘दश–बाह्र दिन, एक महिनाअगाडिसम्म तलमाथि गर्नुहुन्थ्यो। रोग केही छैन, बुढेसकाल हो, किन सुई घोपेर दुःख दिने भनेर हो।’

त्यो उत्तर सुनेपछि मेरो मनमा आँधी चल्न थाल्यो। के नब्बे वर्ष पुगेपछि उपचार गर्ने आवश्यकता समाप्त हुन्छ ? के बुढ्यौली भनेको चिकित्सकको सुझाव सल्लाह नलिने समय हो ? एकजना आमा बोल्न सकिरहनुभएको छैन, शरीर दिन प्रतिदिन कमजोर हुँदै गएको छ भने चिकित्सकलाई देखाएर सायद अस्पतालमै भर्ना गर्नुपर्नेजस्तो लाग्यो। आमालाई हेरेँ, केही बोलिनँ। परिवार पनि चिन्तित देखिएका थिए। म चिकित्सक पनि होइनँ, उहाँको रोग के थियो भन्ने पनि मलाई थाहा थिएन। त्यसैले कसैमाथि आरोप लगाउने मेरो उद्देश्य पनि होइन तर एउटा नागरिक, एउटी छोरी र मावनताको हैसियतले मेरो मनले एउटै कुरा भनिरहेको थियो।

बिरामी वृद्ध आमाको उपचार गर्नु केवल रोग निको पार्ने प्रयास होइन, त्यो त उहाँले जीवनभर निःस्वार्थ रूपमा बगाउनुभएको माया, त्याग र तपस्याप्रति सन्तानले अर्पण गर्ने कृतज्ञताको सबैभन्दा जीवित अभिव्यक्ति हो। हामी कसैलाई मृत्युबाट जोगाउने सामथ्र्य राख्दैनौं तर उपचारको अवसरबाट वञ्चित गर्ने अधिकार पनि हामीसँग छैन। वृद्ध शरीर समयको नियमअनुसार कमजोर बन्छ तर आमाको जीवनको मूल्य उमेरसँगै कहिल्यै घट्दैन। जसरी उहाँले हाम्रो सामान्य ज्वरोमा पनि रातभर निद्रा त्यागेर निधार छाम्नुभएको थियो, त्यसरी नै उहाँको पीडाको प्रत्येक सासमा हाम्रो कर्तव्य, हाम्रो संवेदना र हाम्रो मानवता जाग्नुपर्छ। उपचारले सधैं जीवन लम्ब्याउँछ भन्ने निश्चित छैन तर यसले एउटा अमूल्य सत्य प्रमाणित गर्छ– आमा अन्तिम क्षणसम्म पनि हाम्रो माया, सम्मान र जिम्मेवारीको केन्द्र हुनुहुन्छ। अन्तिम परिणाम जे भए पनि उपचारले सन्तानको मनमा पछुतोभन्दा कर्तव्य पूरा गरेको शान्ति छोड्छ र बिरामी आमाको मौन आँखामा पनि एउटा सन्तोष झल्किन्छ, आफूले जीवनभर जोगाएको सन्तानले अन्तिम समयसम्म पनि मलाई छोडेन भन्ने आभास हुन्छ।

यस्तो अवस्थामा कम्तीमा विशेषज्ञ चिकित्सकको सल्लाह त लिनैपथ्र्यो। अस्पतालले सबै बिरामीलाई बचाउन सक्छ भन्ने होइन तर अस्पतालले कारण पत्ता लगाउँछ, पीडा कम गर्छ, शरीरमा आवश्यक पानी र पोषण दिन्छ, थप संक्रमण हुन सक्दैन। बिरामीको अन्तिम समय नै आएको हो भने पनि सम्मानजनक हेरचाह सुनिश्चित गर्छ।

त्यस घरमा छोरा, बुहारी, नाति, नातिनी सबै थिए। सधैं आफन्त तथा परिवारको भिडभाड हुन्थ्यो। मेरो मनमा एउटै प्रश्न बारम्बार आइरहन्थ्यो– हामी आधुनिक समाजमा बाँचिरहेका छौं कि आफ्नै जिम्मेवारी बिर्सिरहेका छौं ? विज्ञान, प्रविधि र चिकित्सा क्षेत्रमा यति ठुलो विकास भइसकेको समयमा पनि आफ्नै आमा, बुबाका लागि आवश्यक पर्दा चिकित्सा क्षेत्रलाई प्रयोगमा ल्याउँदैनौं भने त्यो विकास केका लागि अर्थात् त्यसको अर्थ के रहन्छ ?

आज संसार कृत्रिम बुद्धिमत्ता, रोबोटिक्स र अत्याधुनिक चिकित्सा प्रविधिको युगमा पुगेको छ। नेपालमै चिकित्सक विशेषज्ञ, आधुनिक अस्पताल र उपचारका नयाँ सम्भावना उपलब्ध छन् तर सबैभन्दा ठुलो प्रश्न प्रविधिको होइन, हाम्रो सोचको हो। के हामीले बुढ्यौलीलाई उपचारको अन्त्य ठान्न थालेका छौं ? के हामीले उमेर भयो भन्ने एउटा वाक्यले आफ्नो कर्तव्य समाप्त भएको सम्झिरहेका छौं ? यो कथा कुनै एक परिवारको आलोचना गर्न लेखिएको होइन। उनीहरूको आफ्नै परिस्थिति, पारिवारिक निर्णय वा हामीलाई थाहा नभएको कारण पनि हुन सक्छ।

आजको आधुनिक व्यस्त समाजमा यस्ता घटना धेरै घटेका छन्। तर मैले जे देखेँ, जे सुनेँ, त्यस्तै एउटा गम्भीर सामाजिक प्रश्न भने उठाएको हो। हामी सबैले आफ्ना वृद्ध आमाबाबुप्रति कति जिम्मेवारी महसुस गरेका छौं ? उहाँहरूले जीवनभर हाम्रा लागि आफ्नो निन्द्रा, आफ्नो स्वास्थ्य, आफ्नो समय साथै आफ्नो सपना त्यागेका छन्। आज उहाँहरू कमजोर हुँदा हाम्रो कर्तव्य केवल उहाँहरूको वरिपरि बस्ने मात्र होइन अनि उहाँहरूको अन्तिम सास कुर्नु पनि होइन। हाम्रो कर्तव्य उहाँहरूलाई सम्मान दिनु, अन्तिम क्षणसम्म सम्भव भए उपचारको अवसर उपलब्ध गराउनु हो। आमा, जसले हामीलाई नौ महिनासम्म कोखमा हुर्काउनुहुन्छ, जीवन आरोह–अवराहमा कति पनि बिचलित नभई अघि बढ्न सिकाउनुभएको छ। समग्रमा भन्दा जुन देवीदेवतालाई मान्छौं, त्यसको साक्षात रूप हुन् आमा।

हामी कसैलाई अमर बनाउन सक्दैनौं। मृत्यु रोक्न पनि सक्दैनौं तर उपचारको अवसर दिन सक्छौं, पीडा कम गर्ने प्रयास गर्न सक्छौं। अन्तिम समयमा उहाँहरूको हात समाउन सक्छौं, त्यो हाम्रो कानुनी मात्र होइन, नैतिक र मानवीय जिम्मेवारी पनि हो। सभ्य समाजको वास्तविक परिचय केवल अग्ला भवन, आर्थिक वृद्धि वा आधुनिक प्रविधि हुँदैन। सभ्य समाजको वास्तविक परिचय त त्यहाँका सन्तानले आफ्ना वृद्ध आमाबुबालाई कति सम्मान, माया र जिम्मेवारीपूर्ण तरिकाले अन्तिम समयसम्म साथ दिन्छन् भन्ने कुराले निर्धारण गर्छ।

यो कथा लेख्दै गर्दा धेरै आमाहरूको वेदना सम्झेर आँसु झरिरह्यो। गीत टाढा कतैबाट बजिरहेको थियो– सब कुछ मिल जाता है, लेकिन माँ नहीं मिलती।

आमा त्याग, तपस्या, बलिदान अनि स्नेहको खानी हुन्। यस आधुनिक व्यस्त समाजमा आमाको कोख, माया अनि त्याग झनै मूल्यवान् हुन्छ। त्यसैले आमाप्रति सम्मान गर्न हामी कहिल्यै नचुकौं।
अर्को समाचार
गीतकार पुरस्कार सागर उदासलाई
२३ घण्टा अघि
•
१ मिनेट पाठ
गीतकार पुरस्कार सागर उदासलाई
गीतकार प्रतिष्ठान, नेपालले हरेक वर्ष प्रदान गर्दै आएको गीतकार पुरस्कार २०८३ गीतकार सागर उदासलाई प्रदान गर्ने भएको छ।




नगद ११ हजार १११ रुपियाँ, दोसल्ला र सम्मानपत्रसहितको पुरस्कार प्रतिष्ठानले आफ्नो छैटौँ वार्षिक साधारण सभाको अवसर पारेर आगामी मङ्सिर १९ गते शनिवार पोखरामा प्रदान गर्ने अध्यक्ष अनुराग अधिकारीले जानकारी दिए। यसअगि ५ हजार ५५५ रुपियाँ दिइँदै आएकामा यस वर्षदेखि पुरस्कारको राशि ११ हजार १११ रुपियाँ पुर्‍याइएको अध्यक्ष अधिकारीले जनाए।

तनहुँको दमौलीमा रहेर करिब ४ दशकदेखि गीत लेखनमा क्रियाशील सागर उदासको पहिलो गीत ‘हिँडेको छु छातीभरि व्यथाहरू बोकी...’ बोलमा रेडियो नेपालमा २०५१ सालमा रेकर्ड भएको थियो। उनका सागरभित्रका कर्णहरू (२०५२), सागर सुसेली (२०७९) र फैलिन्छ कि माया (२०७९) गरी ३ गीतसङ्ग्रह प्रकाशन भएका छन् भने आभार (२०६०) र रवि (२०७०) गरी २ गीतिएल्बम सार्वजनिक भएका छन्।

उनका जिउँदाको जन्ती..., फुल्यो गुराँस तारे भिरैमा..., घाम पनि माग्छु‍..., छैन है रहर... लगायत गीत चर्चित छन्। गण्डकी वाङ्मय प्रतिष्ठानका पूर्वअध्यक्षसमेत रहेका उनले २ दर्जनभन्दा बढी सम्मान र पुरस्कार प्राप्त गरेका छन्।

प्रतिष्ठानका पूर्वअध्यक्ष शीतल गिरीको संयोजकत्वमा यसअगि सम्मानित प्रतिभा सरस्वती श्रेष्ठ ‘सरू’ र सङ्गम सांस्कृतिक मञ्चका अध्यक्ष काजी गाउँले सदस्य तथा अध्यक्ष अनुराग अधिकारी र सचिव रुपिन्द्र प्रभावी पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसलाई अनुमोदन गर्दै उदासलाई पुरस्कार प्रदान गर्ने निर्णय प्रतिष्ठानले गरेको हो।

उक्त पुरस्कारबाट यसअगि गीतकार प्रकट पगेनी ‘शिव’, सरस्वती श्रेष्ठ ‘सरू’, शीतल कादम्बिनी र आरजु विष्ट ‘सल्यानी’ पुरस्कृत भइसकेका छन्।
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३४ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस