बाँके। शरद ऋतुको घमाइलो बिहानी। गुल्मीको पुरानो कोतको आँगनमा बिहानैदेखि मानिसको चहलपहल। पन्चेबाजाको घन्काइले कोतसँगै सिगो गाउँ गुञ्जायमान। २२ वर्षका आरभ काठमाडौंको व्यस्त सहरिया जीवन छाडेर लामो समयपछि दसैंतिहार मनाउन आफ्नो पुख्र्यौली थलो फर्किएका थिए। उनलाई आफ्नो प्रदेश लुम्बिनीको मौलिक संस्कृतिलाई नजिकबाट नियाल्ने र दस्ताबेजीकरण गर्ने रहर जागेको थियो।
कोतको प्रांगणमा युवादेखि बुढापाकासम्म हातमा खुँडा, तरबार, खुकुरी र ढाल लिएर गोलो घेरामा उभिएका थिए। बाजाको ताल तीव्र भएसँगै सुरु भयो ‘सराय नाच’। ‘वाक्खै... वाक्खै...’ को वीर रसले भरिएको आवाज निकाल्दै हतियार नचाइरहेका गाउँलेहरूलाई देखेर आरभको शरीरमा काँडा उम्रियो। छेउमै उभिएका गाउँका ज्येष्ठ नागरिक ८० वर्षीय पण्डित हरिप्रसाद जैसीले अर्थ बुझाउँदै भने, ‘बाबु, सराय नाच मनोरञ्जन होइन। असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजय भएको खुसीयालीमा मल्लकालीन समयदेखि शक्तिपीठ र कोतघरहरूमा नाचिँदै आएको वीरताको उत्सव हो। विजयादशमीको भोलिपल्टदेखि कोजाग्रत पूर्णिमासम्म गुल्मी, अर्घाखाँची र पाल्पामा नाचिने यो नाचले पुर्खाको साहस र एकतालाई जीवित राखेको छ।’
गुल्मीको यात्रापछि आरभ पाल्पाको तानसेन हुँदै मगर बस्तीतिर लागे। तिहारको झिलिमिली सुरु भइसकेको थियो। साँझको समयमा देउसीभैलोको रौनकसँगै आँगनमा मादल र खैंजडीको मिठो धुन सुनिन थाल्यो। त्यहाँ महिलाका गुन्यूचोली, पटुकी र गहनामा सजिएका पुरुष कलाकारहरू लयबद्ध रूपमा नाचिरहेका थिए।
नाचका मूल गुरु (मादलवादक) धनबहादुर मगरले थकाइ मार्दै आरभलाई सोरठी र मारुनीको मर्म बुझाए, ‘हेर्नुस् भाइ, सोरठी र मारुनी पहाडी समाजका प्राण हुन्। सोरठीमा हामी राजा जयसिंहको पौराणिक कथा गीति लयमा गाउँछौं अनि मारुनीमा पुरुष नै महिलाको भेषमा सजिएर नाच्नुका पछाडि देवी सरस्वती र शक्तिको आराधना गर्ने धार्मिक विश्वास लुकेको छ। सँगै नाचिने कौरा र झ्याउरेले त झन् युवायुवतीको प्रेम, सुखदु:ख र पहाडी जीवनशैलीलाई खैंजडीको तालमा उतार्छन्।’
तिहार मनाउन रुकुम पूर्वस्थित मैकोट फर्किएका जितमान बुढा पनि आफ्नै लोक संस्कृतिसँगै झुमे। रुकुम पूर्व र रोल्पामा खाम मगर बस्तीहरू प्रशस्त छन्। त्यहाँ पुग्दा उनले प्रकृतिको पूजा गर्ने अनौठो र सुन्दर संस्कृति देखे। पछाडि मयूरको प्वाँखको ठुलो भारी बाँधेर, पन्चेबाजाको तालमा ठ्याक्कै मयूरले प्वाँख फिँजाएर नाचेजस्तै हाउभाउ देखाइरहेका कलाकारहरूको कला अद्भुत थियो।
प्रसिद्ध ‘मयूर नाच’ (गरुवा नाच) का अगुवा कलाकार रत्नबहादुर पुनले भने, ‘हामी खाम मगरहरू प्रकृतिका पुजारी हौं। मयूर नाचमा पन्चेबाजाको बाइस तालसँगै मयूरको चाल र हाउभाउ नक्कल गरिन्छ, जसले वनजंगल र पशुपन्छीप्रतिको हाम्रो प्रेम देखाउँछ। त्यस्तै असारको सुरुआतमा हामी भूमे नाच नाच्छौं। भूमि अर्थात् धर्ती माता खुसी भए बाढीपहिरो नजाने र अन्नबाली सप्रिने जनविश्वासका साथ गोलो घेरा बनाएर यो नाच नाचिन्छ। सिँगारु नाचले पनि हाम्रो यही मौलिकता बोकेको छ।’
पहाडको चिसो हावा र उकालीओरालीको यात्रा गर्दै सल्यानबाट धनञ्जय खत्री तराई भेगतिर झरे। पहाडी वेशभूषा र कला संस्कृतिभन्दा फरकपन उनले तराईमा भेटे। दाङ उपत्यका हुँदै बाँकेको समथर फाँटमा पुग्दा उनलाई भाषा, वेशभूषा र संस्कृतिमा नयाँ रङ लाग्यो। साँझको बेला दाङको एउटा थारू गाउँको खुला चौरमा सेतो लेहंगा, रातो चोलो र परम्परागत चाँदीका गहनामा सजिएका युवतीहरू गोलो घेरामा हातमा मन्जिरा बजाउँदै नाचिरहेका थिए। बिचमा रहेका पुरुषहरूले मादल बजाउँदै नाचलाई गति दिइरहेका थिए।
गाउँका महतवा (मुखिया) तथा थारू संस्कृतिकर्मी रामचरण चौधरीले गर्वका साथ भने, ‘यो हाम्रो प्रसिद्ध सखिया नाच हो बाबु। दसैंका बेला कृष्णलीलाका गीत गाउँदै सखीहरू (साथीहरू) मिलेर नाच्ने भएकाले यसलाई सखिया भनिएको हो। हाम्रो थारू समुदायमा हरेक पर्वको आफ्नै नाच छ।’
उनका अनुसार माघी पर्वमा नाचिने ‘मघौटा’ र हातमा लाठी जुधाउँदै नाचिने ‘लठ्ठहवा नाच’ले आत्मरक्षा र सामूहिक एकताको सन्देश दिन्छन्। ‘त्यस्तै महाभारतको कथा बोकेको ‘बड्का नाच’, विवाहमा नाचिने ‘झुमरा’ र ‘छोक्रा नाच’ले हाम्रो इतिहास र परम्परालाई पुस्तान्तरण गरिरहेका छन्,’ उनले भने। दाङ, बाँके, बर्दियामा थारू समुदायको बाक्लो बस्ती छ।
बाँके र कपिलवस्तुका अवधि तथा मधेसी बस्तीहरूमा स्थानीय कलाकारहरूले ढोलक, झ्याली र हार्मोनियमको तालमा जोसिलो ‘फगुवा’ (होरी) नाच प्रस्तुत गर्छन्। अवधि लोकसंस्कृतिका जानकार पण्डित शिवशंकर शुक्लाले भने, ‘फगुवा रङ खेल्ने पर्व मात्र होइन, यो त वसन्त ऋतुको स्वागत र आपसी वैमनस्य बिर्सेर सद्भाव साट्ने उत्सव हो। ढोलकको तालमा गाइने फगुवा गीतले समाजमा प्रेम छर्छ।’
यसबाहेक थारू समुदायमा शुभ कार्य र विवाहमा मनोरञ्जनका लागि ‘कहरवा’ र ‘धोबिया नाच’ नाचिने पनि उनले जानकारी दिए। दसैंको नवरात्रिमा महिलाहरूले टाउकोमा प्वाल पारिएको माटोको घैंटोमा दियो बालेर नाच्ने ‘झिझिया नाच’ले त दुष्ट शक्ति र अन्धकारमाथि देवी दुर्गाको विजयको आध्यात्मिक सन्देश दिने गरेको उनको भनाइ छ।
उत्तरमा हिमालको काखमा रहेका रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि दक्षिणको तराईको थारू समुदायमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बिनीका कला र संस्कृति हुन्।
लुम्बिनी प्रदेश गौतम बुद्धको जन्मस्थल मात्र होइन, दर्जनौं जातजाति, भाषा र संस्कृतिको एउटा विशाल फूलबारी हो। फरक भूगोल र फरक ताल भए पनि यी सबै नाचको मूल सन्देश एउटै हो, ‘सद्भाव, प्रकृतिप्रेम र आफ्नो पहिचानप्रतिको अगाध सम्मान।’
१७ मिनेट अघि
•
१ मिनेट पाठ