विज्ञान, प्रकृति र धर्मलाई पृथ्वी र चराचर जगतको निकै चिन्ता लागेछ। उनीहरू एउटा रूखमुनि बसेर चिन्तन गरिरहेका थिए। अचानक धर्मले विज्ञानलाई आक्षेप लगायो, ‘तेरो कारणले हो नि, मान्छेले आज योग र आध्यात्म बिर्सिदै गएको छ। प्राणीमध्ये श्रेष्ठ मानवबाट पृथ्वी सुन्दर बन्नेछ भन्ने आशा थियो। ऊ नै अशान्त, भय र विवशतामा बाँचिरहेको छ।’
प्रकृतिले सही थाप्दै भनिन्, ‘हो नि, मानव जीवन मात्र हो र? यिनीहरूले त हामी प्रकृतिमाथि पनि समस्या थोपरेका छन्। हावा, पानी, माटो एकैसाथ प्रदूषित भएका छौँ।’
दुवैका कुराले विज्ञान रुष्ट भयो र भन्यो, ‘यसमा मेरो के दोष? मलाई प्रयोग गर्ने मानव चेतनालाई भन न! म त ज्ञान र विवेकले सही प्रयोग गरे वरदान हुन्छु, गलत प्रयोग गरे श्राप!’
प्रकृतिले असन्तोष जाहेर गर्याे, ‘मैले जीवनलाई चाहिने सम्पूर्ण कुरा त दिएकै थिए। यी मानिहरूलाई ठूलो हुने र भौतिक सुविधा भोग्ने प्रतिस्पर्धा बढ्यो। उनीहरूको आफ्नै कारणले त हो, सृष्टिका अन्य प्राणीको तुलनामा सुख शान्ति गुमाउनुपरेको छ।’
विज्ञानले प्रकृतिलाई लोपार्दै भन्यो, ‘ईस्! मेरा वरदानबाट पृथ्वीमा कति सभ्यता र विकास भएको छ, ध्यान दिएको छस्?’
धर्मले घमण्ड गर्याे, ‘तिमीहरूले जति फुर्ति गरे पनि आपत विपत पर्दा मान्छेले हे भगवान! भनेको सुनेका छैनौ?’
अलि पर बसेर उनीहरूका कुरा सुनिरहेको मानिसले सोच्यो, ‘त्रिशक्ति मिलेर राम्रो विषयको उठान गरे भनेर कान थापेको त! थुइक्क, यिनीहरू पनि अन्त्यमा हाम्रा नेता जस्तै झगडा पो गर्न थाले।’
२) आतङ्क
‘लु जा! बल्ल भाउ भेटे, बज्याहरूले!’ ठूलै युद्ध जितेको हाउभाउमा उनी बोलिन्।
श्रीमान् उनलाई हेरेर हाँस्न थाले। उनी झन थप्न थालिन्, ‘कम्ता उपद्रो गरेका थिए त? छोराछोरीको नयाँ लुगा, नयाँ किताब बिगारेर उधुम मचाउनेहरूलाई उपचार गरेरै छाडियो।’
श्रीमानले खित्का छाड्दै भने, ‘हाम्रा घरमा मात्र हो र? जहाजमा पसेर उडान स्थगित गर्ने, उडिरहेका जहाजलाई आकस्मिक अवतरण गर्न बाध्य पार्ने यी उपद्रियाहरू पो हुन् त!’
उनी अलि गम्भीर भइन् र भनिन्, उता पाकिस्तानको संसद भवनमा छिरेर पोहोर निकै आतङ्क मच्चाएका थिए रे!’
उनी एक्कासी कराए, ‘एउटा जेमराज यहाँ नै आएर ढल्यो। ऊ अर्को पनि!’
उनले चिन्ता व्यक्त गरिन्, ‘बिष परेर भटाभट मर्न थालेका यी सिनोलाई अब कता पो थन्क्याउनु?´
उनी जुरुक्क उठे र भने, ‘कोदालो झिक त! बारीको एक ठाउँमा पुर्नुपर्छ नत्र रोग फैलाउन यी झन् माहिर छन् नि!’
शत्रु नाश गरेकोले उनी दङ्ग परिन्। श्रीमान भने एकोहोरो भए। विषले असर गरेको हो कि? भनेर उनी आत्तिदै घच्घच्याउन थालिन्।
बौरिएझैँ गरेर उनले भने, ‘घरका चारखुट्टे, अज्ञानी मुसालाई त तह लाइयो तर राज्यका दुईखुट्टे मुसाहरूलाई के गर्ने? भनेर चिन्तन पो गरिराको त!’
लघुकथाकार लता केसी३) भय
‘जन्म र मृत्यु भनेका शाश्वत कुरा हुन्। जन्मेपछि मर्नै पर्छ भन्ने बुझेर पनि किन कतिपय मानिसलाई मृत्यभय भएको होला?’ एक वृद्धले प्रश्न राखेँ।
सत्सग चलिरहेको थियो। प्रकाण्ड विद्वान जीवन दर्शनबारे लगातार ज्ञान प्रवाह गरिरहेका थिए। प्रश्न आउनासाथ उत्तर दिन उनको ध्यान केन्द्रित भयो।
उनले भने, ‘कर्मको आधारमा मान्छे सज्जन र दुर्जन हुन्छ। पापकर्म गर्ने दुर्जनहरू दु:ख पाएर मर्छु कि भनेर ससंकित हुन्छन् र मनमा मृत्यभय पाल्छन्। सज्जनहरू कहिले पनि मृत्यलाई भय ठान्दैनन्।’
एकाएक सभाहलमा खुसुरफुसुर चल्यो। छेउमा बसेकाहरू एकापसमा टिप्पणी र चर्चा गर्न थाले।
वृद्धले छेउमा बसेको आफ्नै दौँतेरीलाई उनले भने, ‘मैले जागिरे जीवन हुँदा कति दुश्कर्म गरेँ। म भगवान मान्दिनँ। म नास्तिक हुँ, दुर्जन हुँ तर पनि म मृत्युसग डराउँदिनँ।’
साथीले भन्यो, ‘मर्ने बेलामा रोगले सताएर, दुर्घटनामा परेर अशक्त भएर दुख पाइन्छ कि? भन्ने त्रास सबैलाई हुनु स्वभाविक हो।’
दुई जनाको बीचमा मृत्युभय `हुन्छ र हुँदैन´ भनेर तर्कवितर्क चल्यो। लामै समयसम्म चर्काचर्की परेपछि प्रवचन दिने विद्वानले दुवै जनालाई आफु नजिक बोलाए र सोधे, ‘तिमीहरू दुवै डाँडापारिका जून भैसक्यौ। भन त, तिमीहरूको अन्तिम इच्छा के छ?’
साथी बोल्न नपाउँदै वृद्धले प्रभुलाई सम्झेर भने, ‘हे प्रभु! म सहज मृत्यु वरण गर्न पाऊँ।’
काठमाडाैं, धेरै क्षेत्रमा, धेरै विषयवस्तुमा विश्वभर धेरै किसिमका कीर्तिमान कायम गरिएका छन्। नेपालको सन्दर्भमा पनि किसिम–किसिमका कीर्तिमान स्थापित भएका छन्। जस्तो कि– नेपाली चलचित्रको क्षेत्रमा पनि विभिन्न कीर्तिमान खडा गर्ने क्रममा एउटा विशेष कीर्तिमान यहाँ प्रासङ्गिक छ।
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला ? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ। तिनै चलचित्रका लागि कति गीत लेखियो होला ? त्यसको पनि तथ्याङ्क पाउन सकिएला तर सबैभन्दा बढी गीत लेख्ने गीतकार को हो भनेर खोजियो भने अनुमान गर्न सकिन्छ, ती गीतकार किरण खरेलको अलावा अर्को कोही हुनै सक्तैनन्। यहींनिर जोडिएर आउँछ एउटा अर्को तथ्य, चलचित्रमा धेरै गीत लेख्ने किरण खरेल भए पनि चलचित्रको सङ्ख्याको आधारमा सबैभन्दा बढी चलचित्रमा गीत लेख्ने व्यक्ति अर्कै हुन्। धेरै चलचित्रमा गीत लेखेर कीर्तिमान बनाउने गीतकार हुन्– प्रमोद ढुंगाना। सुन्दा पनि आश्चर्य लाग्न सक्छ, थोरै मात्र चलचित्र निर्माण हुने गरेका यति सानो देशमा पनि हालसम्म उनले ११५ वटा चलचित्रमा गीत लेखिसकेका छन्। त्यसो त, सानो पर्दाका लागि पनि कैयौं गीतहरू लेखेका छन्। उनका गीतमा प्रयुक्त भावनाहरू हेर्दा लाग्छ, उनी केवल एउटै खालका भावमा सीमित छैनन्। मूलतः राष्ट्रभाव पोखिएका उनका गीतका शब्दहरू निकै प्रभावशाली छन्: ‘यो देशको झन्डाले एउटै आवाज बोल्छ यो माटोको टीका लगाऊ, यो देशको माटो बोल्छ...’ देशभन्दा ठुलो र महान् अर्को कुनै विषय छैन। प्रत्येक नेपालीलाई थाहा छ, जुन देशको झन्डामा चन्द्र–सूर्य मुस्कुराइरहेछन्, त्यो देशको माटो अझ गौरवशाली छ। त्यही गौरव बोकेको झन्डाको उनले प्रशस्ति गाएका छन् यो गीतमा। २०५५ सालमा निर्माण भएको चलचित्र ‘माटो बोल्छ’मा समाविष्ट यो गीतको मूल बोलमा नै उनले ‘सबैलाई एकतामा बाँध्ने शक्ति नै देशको माटो हो’ भन्ने चिन्तन व्यक्त गरेका छन्। राष्ट्रियताले ओतप्रोत यस्ता उनका धेरै गीत अन्य चलचित्रका लागि पनि लेखेका छन्। यो अलग्गै कुरो हो कि ती गीतहरूमाथि कसैले समीक्षा गरेको पाइन्न। हुन त बनिबनावट चर्चा–परिचर्चा गराइने आजको विसङ्गतपूर्ण साहित्यिक–साङ्गीतिक क्षेत्रमा यस्तो हुनु अस्वाभाविक पनि होइन। तर, यहाँनिर यसो भन्न सकिन्छ– अक्षर कसैको मानमर्दनका कारण त्यत्तिकै विलीन हुँदैनन्, कहीं न कहींबाट तिनले चियाइरहेकै हुन्छन्। अक्षरको सुन्दरता नै यही हो। सुन्दर अक्षरहरूलाई बास्ना थप्ने काममा लागिपरेका प्रमोद ढुंगानाको व्यक्तित्व के हो, कस्तो हो, त्यसको विश्लेषण गर्न आवश्यक नहोला। तर, यतिचाहिँ पक्कै भन्न सकिन्छ कि उनी गीत लेख्नकै लागि जन्मिएका हुन्। ‘फूल भए जिन्दगी देउतालाई चढाइदिन्थेँ कागज भए जिन्दगी यो सलाई कोरी जलाइदिन्थेँ...। ’
भूपेन्द्र रायमाझीले सङ्गीतबद्ध गरेर कुमार सानुको स्वरमा रहेको चलचित्र ‘अर्पण’ (२०४९) को गीत हो यो। सिङ्गो जीवनको सन्दर्भका शब्दहरूलाई नै गीतमा ढाल्न निपुण छन् उनी। यी शब्दहरूलाई विश्लेषण गरेर हेर्दा के कुरा प्रस्ट देखिन्छ भने मान्छेलाई जीवनप्रतिको विमोह यतिसम्म पनि हुन सक्दो रहेछ। पक्कै हो, प्रेममा वियोग भोगेका व्यक्तिले निरास भाव व्यक्त गर्नु स्वाभाविक हो। तर, त्यस्तो भोगाइलाई कवितात्मक पाराले प्रस्तुत गरेका छन् ढुंगानाले। जीवनबाट निरास भएका मान्छेले सामान्यतः सिधै– ‘म मरिदिन्छु’ भन्थे होलान् तर त्यस्तो दुःखान्त विषयलाई पनि उनले भने निकै मनमोहक पाराले भनेका छन्, यसरी भन्न सक्ने क्षमता सामान्य मान्छेसँग पक्कै हुँदैन तर गीतकारले गीतिरचनामा संयोजन गर्न सक्नु, यो उनको ठुलो खुबी हो। गीतैमा बडो अकल्पनीय संसारको कल्पना गर्छन्। त्यस्तो संसार जहाँ कुनै दुःख नहोस्, कुनै पीडा नहोस्, सांसारिक जीवनभन्दा धेरै पर। ‘यो मन ढुङ्गा भए कति जाती हुन्थ्यो न त चोट हुन्थ्यो न त हुन्थ्यो माया...। ’
यथार्थमा जीवनलाई आशाको नजरले हेर्न सक्ने शब्दशिल्पीसमेत उनका गीतिरचनामा देख्न पाइन्छ। जीवन भनेको दुःखको पुलिन्दा मात्रै होइन, खुसीको सम्भावना पनि हो। बजाउन नजाने जीवन विरहको धुन हो भने बजाउन जाने मालश्री धुन। जीवन बाँच्न पनि ढङ्ग हुनुपर्छ। दुःख पर्दैमा रोएरै बाँच्नुपर्छ भन्ने के छ र ! हुन त जीवन बाँच्ने आआफ्नो शैली हुन्छ। कोही धन कमाउनै लालायित हुन्छन्, कोही पद–प्राप्ति वा पुरस्कार–सम्मानका लागि लागिपरिरहेका हुन्छन्। कोही दुष्टता र धुर्ततालाई नै आफ्नो दैनिकी बनाएर बाँचिरहेका हुन्छन्। मानव समाजमा आज मान्छेको चरित्र नै सम्पूर्ण पथभ्रष्ट भएर गइरहेको देखिन्छ। सिधा बाटो कोही हिँडेका देखिन्नन्, सबका सब बाङ्गोटिङ्गो हिँडिरहेछन्। एउटा मनले अर्को मनलाई कसैले स्विकार्दैनन्, सबैले व्यक्तिवादी संस्कारलाई अपनाइरहेका छन्। वास्तविक जीवनको अर्थ भुलेर कृत्रिमताको अनुसरण गरिरहेछन्। यहाँ गीतकार ढुङ्गाना जीवनलाई खास अर्थमा परिभाषित गर्छन्; जीवनको अस्तित्व एउटै हुन्छ– जिउनु। जिउनु नै जीवन हो। जिउन सकिएन या जिउन जानिएन भने जीवनलाई सार्थक बनाउन सकिन्न, बाँचिरहेकै भए पनि त्यस्तो जीवन प्राणबिनाको शरीरजस्तो हुन्छ। त्यसैले, सकारात्मकताको बाटो लिएर बाँच्न सक्नुमा जीवनको अर्थ खुल्छ र त्यो बाटो अपनाउँदा धेरै किसिमका विकल्पहरू उपलब्ध हुन सक्छन्। कसरी, कुन रूपले बाँच्ने ? गीतकारका शब्दमा भन्ने हो भने जीवनलाई कविताका हरफहरूमा शब्दहरू बाँचेजस्तै बाँच्न सकिन्छ, कुनै मनमोहक गीतको लयजस्तै बाँच्न सकिन्छ। समग्रमा, गीतकार आफ्नो गीतमार्फत यही सन्देश दिन्छन् : ‘आऊ गाऊँ जीवनको गीत, जीवन एउटा गीत हो मोती सम्झे मोती हुन्छ यो, शीत सम्झे शीत हो...’ सम्भवतः जीवनको जति व्याख्या–विश्लेषण दुनियाँमा अन्य केही–कसैको भएकै छैन, विभिन्न कोणबाट, अनेकौं माध्यमले भएका छन्। कसैले तथ्यमा आधारित भएर विश्लेषण गरेका छन् भने कसैले केवल कल्पनमा बगेर पनि गरेका छन्। आजसम्म के–कति गरिएका होलान्, त्यसको लेखाजोखा कसले गर्न सक्छ र ! प्रमोद ढुङ्गानाले जीवनलाई जसरी बुझे, त्यसलाई गीतिशब्दमार्फत बुझाउन खोजे। खास गरेर नैपाली गीत–सङ्गीतको क्षेत्रमा यो निकै महत्त्वपूर्ण उपलब्धि हो। अलिक फरक ढङ्गले उनको गीतिकारितालाई हेर्ने हो भने एउटा प्रस्ट तथ्य देख्न सकिन्छ। त्यो तथ्यलाई खुलाएर भन्ने हो भने यसो भन्न सकिन्छ– सामान्य कल्पना गरेर गीतको शैलीमा तुकबन्दी मिलाएर गीत लेख्ने कथित गीतकारहरूका लागि प्रमोद ढुंगाना एउटा चुनौती हुन् किनकि गीत लेख्न जति सजिलो मानिन्छ, वास्तवमा त्यति सजिलो हुँदैन। त्यसमाथि चलचित्रको गीत लेख्न त झनै कठिन हुन्छ। कथावस्तुमा आधारित भएर लेखिने हुनाले अन्य गीतमा झैं चलचित्रका गीत लेख्दा कल्पनामा बहकिन पाइँदैन। उदाहरणका लागि वास्तविकतामा धरातलमा रहेर २०५५ सालमा उनीद्वारा लिखित चलचित्र ‘कैदी’का लागि गायक कुमार कान्छाले गाएको यो गीत कति सटिक छ ! ‘कहिले आगो कहिले पानी, यही रहेछ जिन्दगानी कहिले लाग्छ रात हो यो, कहिले लाग्छ हो बिहानी’ चार दशकसम्मको अविरल गीतियात्राअन्तर्गत उत्कृष्ट गीतिकारिताको कदर गर्दै नारायणगोपाल स्मृति कोषले गीतकार प्रमोद ढुंगानालाई यसपटक ‘नारायणगोपाल स्मृति सम्मान तथा पुरस्कार–२०८३’ समर्पण गरेको छ।
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...