स्वच्छ छविका नागरिक अगुवा
१६ साउन २०८३
•
८ मिनेट पाठ
स्वच्छ छविका नागरिक अगुवा
अर्थसचिव हुँदै अर्थमन्त्रीसमेत बन्नुभएको अवस्थामा आर्थिक लाभ त पक्कै लिनुभएको थियो होला नि डा. साब ? यो प्रश्नको सरल जवाफ दिँदै डा. देवेन्द्रराज पाण्डेले हाँस्दै दिनुभयो, ‘भ्रष्टाचार गर्न र केही आर्थिक लाभ लिनका लागि अर्थ मन्त्रालय नै चाहिँदैन, आर्थिक लाभ गर्ने चेष्टा भएकाहरूका लागि नेपाल सरकारका हरेक निकाय प्रशस्त छन्।’




२०६२ सालको मंसिरको अन्त्यतिर सिन्धुली जिल्लाको खम्बेचौरमा आयोजित ‘नागरिक सचेतना र शान्ति’ नामक कार्यक्रममा जिल्लाका नागरिक अगुवाहरूको निम्तोमा गाडीमा हामी राजधानीबाट सिमभन्ज्याङको सडक भएर उकालो चढ्दै थियौं । गाडीको अगाडिको भागमा देवेन्द्रराज पाण्डे, कृष्ण पहाडी र पछाडिको भागमा कवि अर्जुन पराजुली, विमल अर्याल र म बसेका थियौं । काठमाडौंदेखि सिन्धुलीको खम्बेचौरसम्मको सबै खर्च मोहन बराललगायतका नागरिक टोलीले गरेका थिए।

उज्यालो अनुहार, पावरवाला चस्मा लगाएका, मिजासिला र ठट्यौली स्वभावका पाण्डेसँग त्यसबेलाको हामीबाट सुरु गरिएको प्रतिगमनविरुद्धको नागरिक आन्दोलन सफल हुन्छ कि बिचैमा तुहिन्छ भन्ने विषयका तमाम जिज्ञासा हामीले यात्रा अवधिभर राख्यौं। जिज्ञासाको जवाफमा कृष्ण पहाडीले भन्नुहुन्थ्यो, ‘डा. साहेबले साथ दिएसम्म हाम्रो अभियान सफल हुन्छ, यसमा तपाईंहरू ढुक्क हुनुहोस् तर जिन्दगीमा जोखिम भने धेरै बोक्नुपर्ने देखिन्छ।’

सिन्धुली पुग्न नसकेर राति महोत्तरीको बर्दिबासमा बास बस्यौं। भोलिपल्ट हामीलाई सिन्धुलीका नागरिक अभियानका साथीहरूले बर्दिबासबाट लिएर जानुभयो । बिचमा नेपाली सेनाले सोधपुछ गरिरह्यो। जसको सरल जवाफ पाण्डेले मिजासिलो तवरले दिइरहनुभएको थियो। कार्यक्रमस्थलमा हजारौं मानिसको उपस्थिति थियो । ऐतिहासिक जिल्ला सिन्धुलीको गढीमा कार्यक्रम तय गरिएको भए मानिसहरूको उपस्थिति अझ बढी हुन्थ्यो होला भन्ने स्थानीयहरू बताइरहेका थिए ।

चारैतिर सुरक्षाकर्मीको बाक्लो उपस्थिति र जम्मा भएका मानिसको अनुहारमा एक किसिमको त्रास देखिन्थ्यो । कार्यक्रम गहिरो ठाउँमा आयोजना गरिएको थियो तर खुला चौरमा थियो । चौरमा जुनार बिक्री गर्नेहरू पनि धेरै देखिन्थे। दयालु मनका व्यापारीहरूले सित्तैमा खान पनि दिए। यो जिल्ला जुनारका लागि प्रख्यात छ । मिठो र रसिलो जुनारको स्वाद चाखेपछि देवेन्द्रराज पाण्डेले भन्नुभयो, ‘लोकतन्त्रको बहालीपछि नागरिकले पाउने स्वतन्त्रता पनि यत्तिकै स्वादिलो हुन्छ ।’

कार्यक्रममा अर्जुन पराजुलीले व्यंग्ययवाणका कविता सुनाउँदा तालीको पर्रा छुट्यो। त्यसपछि पंक्तिकारको पालो आयो । कार्यक्रममा पुगेपछि स्थानीय कलाकार वाद्यवादकसँग मिलेर मादल, खैंजडी र हार्मोनियममा देउडा गीतको माधुर्यलाई मिलाइसकेको थिएँ । साथै कलाकार कृष्णविक्रम थापाबाट जिल्लाको ऐतिहासिकताबारे टिपोट पनि गरेको थिएँ । त्यो टिपोट पाण्डे र पहाडीलाई देखाएर अनुमोदन गराएको थिएँ । हामीले बोल्ने भाषा, गाउने गीत र वाचन गर्ने कविता शालीन तर व्यंग्यपूर्ण हुनुपर्छ भन्ने अगुवाद्वयको सल्लाह हुन्थ्यो।

सिन्धुलीवासीका लागि देउडा गीत नितान्त नौलो थियो । गीतले श्रोता–दर्शकमाझ उफार्ने रोमाञ्चक वातावरण सिर्जना गरिरहेको थियो, ‘झ्याम्म... झ्याम्म... ।’

जब गीतको मर्मअनुसार प्रस्तुत गर्दै गएँ, खम्बेचौरमा जम्मा भएका सबैजनाले ‘झ्याम्म... झ्याम्म...’ मा पूरा साथ दिए। रनवन, पसलका व्यापारी र सुरक्षाकर्मीसमेत धेरै नै रोमाञ्चित भए । कृष्ण पहाडी मुसुमुसु मुस्कुराइरहनुभएको थियो भने देवेन्द्रराज पाण्डे खुसीले गदगद हुँदै उठेर ताली र गीतको लय मिलाइरहनुभएको थियो ।

कृष्ण पहाडीको दमदार मन्तव्य र देवेन्द्रराज पाण्डेले त्यसबेलाको देशको राजनीतिलाई अक्षर अक्षरमा बुझाउँदै भोलिको राजनीति कस्तो हुने भन्नेबारे छर्लंग पार्नुभएको थियो । अर्थविद् देवेन्द्रराज पाण्डेको देशको आर्थिक अवस्थाबारेको जानकारीमूलक विश्लेषण सुनेर होला, हजारौं मानिसहरू हेरेको हेरै भए तर त्यसबेलाका अर्का आन्दोलनकारी व्यक्तित्व श्याम श्रेष्ठको उपस्थिति भने खड्केको थियो। कार्यक्रम समापन गरेर फर्कंदा स्थानीयले हामीलाई एक बोरा जुनार सित्तैमा दिए । फर्कंदा डोटी घर भएका एकजना भाइ सेनामा त्यहाँ सेवारत रहेछन्। उनले सुटुक्क पंक्तिकारसँग संक्षिप्त रूपमा भलाकुसारी गरे । अलि पर पुगेपछि सेनाले हामीसँग स्पष्टीकरण माग्यो । हामी कोही बोलेनौं, पाण्डेबाहेक। कुनै पनि व्यक्तिसँग संवाद गर्दा पाण्डेको शैली गज्जबको हुन्थ्यो । उहाँको बेलाअनुसारको बोलीमा मन पग्लिने मिठास हुन्थ्यो । त्यहाँबाट हेटौंडासम्म तत्कालीन प्रशासनले हाम्राबारे निगरानी बढाइरहेको देखिन्थ्यो। ‘तपाईंहरू ढुक्क भएर बस्नुहोस्’ भनी हामीलाई ढाडस दिनुहुन्थ्यो।

२०६२/६३ को जनआन्दोलन सफल पार्ने नागरिक आन्दोलनका अगुवा नै थिए । जसका मुख्य पात्र तथा योजनाकार थिए देवेन्द्रराज पाण्डे । सहायक पात्रमा कृष्ण पहाडी थिए । हामीहरू उहाँहरूको पदचाप पछ्याइरहेका इमानदार आन्दोलनकारी पात्र मात्र थियौं  तर आन्दोलन सफल नहुँदासम्म जोखिम भने बोकिरह्यौं । रातभर निद्रा लाग्दैनथ्यो, आफ्नो जिन्दगी राज्यपक्षबाट असुरक्षित देखेर ।

हामीमा आत्मविश्वास भने दिन प्रतिदिन बढिरहेको थियो । हजारौं मानिसको उपस्थितिमा हामीले आफ्ना प्रस्तुति देखाउँथ्यौं । मानिसहरूले हामीलाई अपार माया दिन्थे । तत्कालीन अवस्थामा नेपाली कांग्रेसका पार्टी सभापति गिरिजाप्रसाद कोइराला, एमाले महासचिव माधवकुमार नेपाल, नेपाली कांग्रेस (प्रजातान्त्रिक) का सभापति शेरबहादुर देउवालगायतका नेताप्रति जनताको भरोसा थिएन ।

सबै पार्टीका नेता–कार्यकर्ता, बुद्धिजीवी, पत्रकार र कलाकारहरू नागरिक आन्दोलनद्वारा तय गरिएको कार्यक्रममा एक घण्टाअगाडिदेखि जम्मा हुन्थे। बस्नलाई ठाउँको अभाव हुन्थ्यो। सत्तरी वर्ष पुग्नै लाग्नुभएका विद्वान् र वृद्ध व्यक्तित्व देवेन्द्रराज पाण्डे सबैसँग हात मिलाउन र कुरा गर्न पनि भ्याउनुहुन्थ्यो । हजारौं प्रशंसकहरूले उहाँको ओजपूर्ण र वस्तुपरक मन्तव्यको प्रशंसा गर्थे।

उहाँसँग कार्यक्रम गर्दाका धेरै अनुभव छन्। थोरै खाने, सँगैका साथीलाई गोजीबाट दाम झिकेर पनि खुवाउने, सबैसँग समभाव राख्ने स्वभावका उहाँ त्यसबेला एक किसिमले अजातशत्रुझैं हुनुहुन्थ्यो । चितवन, मकवानपुर, पोखरा, लमजुङ, बागलुङ, गोरखा, तनहुँ, म्याग्दी, स्याङ्जा, बुटवल आदि जिल्ला तथा सदरमुकाम पुगेर प्रतिगमनकारी कदमविरुद्ध उहाँको नेतृत्वमा कृष्ण पहाडी, पुरुषोत्तम दाहाल, श्याम श्रेष्ठ, प्रा. कृष्ण खनाल आदिजस्ता व्यक्तिसँग मिलेर आमनागरिकलाई लोकतन्त्रका पक्षमा उभिन आग्रह गरेका थियौं।

२०६१ माघ १९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सरकार पदच्युत गरेपछि तत्कालीन राजा ज्ञानेन्द्रले सम्पूर्ण सत्ता आफ्नो हातमा लिए। डा. तुलसी गिरी र कीर्तिनिधि विष्टलाई कार्यकारी उपाध्यक्ष तथा आफू स्वयं अध्यक्ष बनेर शासनसत्ता चलाएपछि अब कसरी अगाडि बढ्ने भन्नेबारे राजधानीमा धेरै पटक छलफल गरेका थियौं । आन्दोलनका सभाहरूमा प्रमुख वक्ताका रूपमा देवेन्द्रराज पाण्डेले ‘अब राजाका शासन गर्ने दिन गए, सम्झनुहोस्, देशमा लोकतन्त्रको बहाली हुन्छ तर ढिलो हुन्छ ।

हामीले संघर्षका खुट्टा कमाउनु हुँदैन’ भन्नुभएको कुरा हिजोजस्तै लाग्छ । उहाँले भनेजस्तै भयो आन्दोलन पनि । आन्दोलन सफल भयो । तत्कालीन विद्रोही माओवादीसँग वार्ता गरी शान्तिपूर्ण तरिकाले सरकारमा समावेश गराउने सूत्रधारको गृहकार्य उहाँ र पद्मरत्न तुलाधरले गर्नुभएको थियो।

पछिल्लो अवस्थामा अर्का नागरिक अगुवा पूर्वसभामुख दमननाथ ढुंगाना र सुन्दरमणि दीक्षित पनि थिए । अवस्था अत्यन्त भयावह थियो । जंगल, गाउँघरमा माओवादी विद्रोहको त्रास थियो, सहरमा प्रतिगमनकारी राजाको हुकुमी शासन थियो, जनता चेपुवामा थिए। निकास आवश्यक थियो। सामाजिक सोच र राजनीतिक चेतना भएका पाण्डेले राष्ट्रलाई निकास दिनका लागि शान्तिपूर्ण तर विरोधका कार्यक्रमका खाका तयार पार्नुभएको थियो । जुन योजनामा लेखक खगेन्द्र संग्रौला, श्याम श्रेष्ठ र प्रा. कपिल श्रेष्ठले सुरुमै समर्थन जनाउनुभएको थियो । पछि शम्भु थापा र मथुरा श्रेष्ठले पनि स्वीकार गर्नुभएको थियो ।

२०६३ वैशाख ११ गते राति आन्दोलन सफल भयो । प्रतिनिधिसभा पुनःस्थापना भयो । गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा नयाँ सरकार गठन भयो। देशमा नयाँ सरकार गठन भएपछि निरन्तरको वार्तापश्चात् २०६३ मंसिर ५ गते सरकार र विद्रोही पक्षबिच बृहत् शान्ति सम्झौता भयो । संसद्मा तत्कालीन नेकपा (एमाले) का सांसद बराबर ८३ जना सांसद संख्या रहने गरी तत्कालीन विद्रोही माओवादीका तर्फबाट संसद् भवनमा प्रवेश गर्ने सहमति बनेसँगै सरकारमा समेत सहभागी बन्ने मौका पाए । बृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएपछिको राजनीतिक तरंग शान्तिपूर्ण नै देखापर्‍यो।

२०६४ सालमा २००७ सालदेखिको राजनीतिक अजेन्डा संविधानसभाको प्रथम निर्वाचन सम्पन्न भयो । माओवादी विद्रोहको नेतृत्व गरेका प्रचण्ड र बाबुराम भट्टराई तथा एमालेका माधवकुमार नेपाल र झलनाथ खनालसहित चार जना वामपन्थी नेताहरूको नेतृत्वमा सरकार बने । तर संविधान लेख्ने काम सम्पन्न भएन । यसबारे पाण्डेले पहिला नै माओवादीको एकल बहुमतमा संविधान निर्माण हुनु असम्भव छ भनेका थिए। आखिरमा त्यही भयो। सामाजिक प्रतिष्ठाका नमुना व्यक्तित्व भए तापनि पाण्डे वास्तवमा अर्थशास्त्रका विज्ञ मात्र नभई राजनीतिक विश्लेषक पनि थिए।

गत साउन १ गते ८७ वर्षको उमेरमा क्यान्सर रोगका कारण देवेन्द्रराज पाण्डेको आफ्नै निवास विशालनगरमा निधन भयो । उहाँले चुपचाप मृत्यु स्विकार्नुभयो । त्यसअघि नेपाली जनतालाई राजनीतिक चेतना दिलाउनुभयो। उहाँको अन्त्येष्टि सरकारी तवरबाट सम्मानजनक रूपमा गरिनुपथ्र्यो, भएन। अलबिदा, अविचलित लोकतान्त्रिक पथका अगुवा देवेन्द्रराज पाण्डे !
अर्को समाचार
गीतकार पुरस्कार सागर उदासलाई
२० घण्टा अघि
•
१ मिनेट पाठ
गीतकार पुरस्कार सागर उदासलाई
गीतकार प्रतिष्ठान, नेपालले हरेक वर्ष प्रदान गर्दै आएको गीतकार पुरस्कार २०८३ गीतकार सागर उदासलाई प्रदान गर्ने भएको छ।




नगद ११ हजार १११ रुपियाँ, दोसल्ला र सम्मानपत्रसहितको पुरस्कार प्रतिष्ठानले आफ्नो छैटौँ वार्षिक साधारण सभाको अवसर पारेर आगामी मङ्सिर १९ गते शनिवार पोखरामा प्रदान गर्ने अध्यक्ष अनुराग अधिकारीले जानकारी दिए। यसअगि ५ हजार ५५५ रुपियाँ दिइँदै आएकामा यस वर्षदेखि पुरस्कारको राशि ११ हजार १११ रुपियाँ पुर्‍याइएको अध्यक्ष अधिकारीले जनाए।

तनहुँको दमौलीमा रहेर करिब ४ दशकदेखि गीत लेखनमा क्रियाशील सागर उदासको पहिलो गीत ‘हिँडेको छु छातीभरि व्यथाहरू बोकी...’ बोलमा रेडियो नेपालमा २०५१ सालमा रेकर्ड भएको थियो। उनका सागरभित्रका कर्णहरू (२०५२), सागर सुसेली (२०७९) र फैलिन्छ कि माया (२०७९) गरी ३ गीतसङ्ग्रह प्रकाशन भएका छन् भने आभार (२०६०) र रवि (२०७०) गरी २ गीतिएल्बम सार्वजनिक भएका छन्।

उनका जिउँदाको जन्ती..., फुल्यो गुराँस तारे भिरैमा..., घाम पनि माग्छु‍..., छैन है रहर... लगायत गीत चर्चित छन्। गण्डकी वाङ्मय प्रतिष्ठानका पूर्वअध्यक्षसमेत रहेका उनले २ दर्जनभन्दा बढी सम्मान र पुरस्कार प्राप्त गरेका छन्।

प्रतिष्ठानका पूर्वअध्यक्ष शीतल गिरीको संयोजकत्वमा यसअगि सम्मानित प्रतिभा सरस्वती श्रेष्ठ ‘सरू’ र सङ्गम सांस्कृतिक मञ्चका अध्यक्ष काजी गाउँले सदस्य तथा अध्यक्ष अनुराग अधिकारी र सचिव रुपिन्द्र प्रभावी पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसलाई अनुमोदन गर्दै उदासलाई पुरस्कार प्रदान गर्ने निर्णय प्रतिष्ठानले गरेको हो।

उक्त पुरस्कारबाट यसअगि गीतकार प्रकट पगेनी ‘शिव’, सरस्वती श्रेष्ठ ‘सरू’, शीतल कादम्बिनी र आरजु विष्ट ‘सल्यानी’ पुरस्कृत भइसकेका छन्।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस