पुर्ख्याैली संस्कृति खोज्दै म्हपूजा गर्न नेपाल आउने युवाको कथा
०६ कार्तिक २०७८
•
६ मिनेट पाठ
पुर्ख्याैली संस्कृति खोज्दै म्हपूजा गर्न नेपाल आउने युवाको कथा
‘अब इतिहासको अन्त्य भयो।’ बर्लिन पर्खाल ढलेसँगै अमेरिकी राजनीतिशास्त्री फ्रान्सिस फुकुयामाले गरेको उद्घोष हो यो। यही उद्घोष वाक्यबाट ‘सेप्टेम्बर १७’ उपन्यासको सुरुवात हुन्छ। यही वाक्यको सत्यता जाँच्न उपन्यासको कथाले अमेरिकाका सहर चहार्छ, युद्धग्रस्त इराक पुग्छ, भक्तपुरका गल्ली र गाउँ डुल्छ।




विश्व परिवेशको उपन्यास

विश्वेश्वरप्रसाद कोइरालाको उपन्यास ‘हिटलर र यहुदी’मा विश्व राजनीतिको सजीव चित्रण गरिएको छ। नेपाली उपन्यास विधा बढीजसो समसामयिक विषयकै वरिपरि घुमेको पाइन्छ। पौराणिक कथा र इतिहासका प्रसंगलाई लिएर पनि थुप्रै उपन्यास लेखिएका छन्।

हिजोआज, बहिष्करणमा परेका भुइँमान्छेको कथा पनि लोकप्रिय विषयवस्तु भएका छन्। योसँगै जसरी अहिले नेपालीहरू विश्वका अनेकौं मुलुकमा फैलिरहेका छन्, त्यसअनुरूप हाम्रो उपन्यासको विषयवस्तु भने विश्व सामाजिक–राजनीतिक परिवेशमा फैलिन नसकेकै हो। यसैको अभावपूर्ति ‘सेप्टेम्बर १७’ उपन्यासले गरेको छ, भलै यो नेपालभाषामा होस्।

पहिचानको रिक्तताबोध

यस उपन्यासको मुख्य पात्र हो, रोमुलस। लेखकले यो नाम युरोपेली मिथकीय पात्रबाट जुराएका छन्। आमा–बुबाको पत्तो नभएको, जंगलमा फेला परेको ई. पू. आठौं शताब्दीको मिथकीय पात्र हो, रोमुलस। ऊ पछि सैनिक भई प्रगति गर्दै गर्दै राजा बनेको थियो। भनिन्छ, रोम सहर उसकै नामबाट बसाइएको हो।

‘सेप्टेम्बर १७’ उपन्यासको मुख्य पात्रको पनि आमा–बुबाको पत्तो हुँदैन। ऊ अमेरिकाको अस्पतालमा जन्मिन्छ, जहाँ ऊ जन्मेको केही समयपछि नै आमाको मृत्यु हुन्छ। बुबा अगाडि देखापर्दैन। रोमुलससित जन्मदाताको चिनोको रूपमा मात्र आमाको नागरिकताको प्रमाणपत्र हुन्छ, तर नेपालीमा लेखिएकाले उसले त्यो के हो भनेर ठम्याउन सक्दैन।

ऊ अनाथालयमा हुर्किन्छ र युवा भएपछि अमेरिकी सेनामा भर्ती हुन्छ। इराक युद्धउप्रान्त लुकेर बसेका सद्दाम हुसेनलाई खोज्ने अमेरिकी योजना ‘अपरेसन रेड डन’ को एउटा सदस्य हुन जान्छ। योजना सफल पनि हुन्छ।

रोमुलससित जीवनमा सबै थोक हुन्छ, भौतिकताका हिसाबले। उसलाई राष्ट्रपतिबाट पाउने सम्मान र पदकले कुरिरहेको हुन्छ। तर, सफलताबीच पनि ऊ आफूलाई खालीखाली महसुस गर्छ। यसको कारण हो, ऊसित पहिचान छैन। उसलाई थाहा छैन, ऊ को हो, ऊ के हो? आफ्नो संस्कृति के हो, इतिहास के हो?

अमेरिकी सेनाभित्र पनि हरेकको आ–आफ्नो सांस्कृतिक ऐतिहासिक पहिचान हुन्छ- कोही ब्राजिलियन मूलका, कोही मेक्सिकन, कोही स्कटिस मूलका। सद्दाम हुसेनलाई पक्रने आफ्नो योजना सफल भएको उपलक्ष्यमा राखिएको समारोहमा हरेकले आ–आफ्ना पुख्र्यौली पहिचानसित जोडिएका गीत, नाच प्रस्तुत गर्छन्।

त्यतिन्जेल रोमुलसले पनि आफ्नी आमा नेपाली भएको तथ्य थाहा पाइसकेको हुन्छ, तर सेनाको तालिम र युद्धमा जानुपर्ने अनिवार्यताले ऊ नेपालसित परिचित हुन पाइरहेको हुँदैन। उसलाई आफ्नो पुर्खाको पहिचान प्रस्तुत गर्ने इच्छा हुन्छ, तर ऊ लाचार भइदिन्छ।

यसैले उसले पहिचानको रिक्तता अनुभव गरिरहेको हुन्छ। साथै, यसले गहिरो मनोवैज्ञानिक असर पनि पारिरहेको हुन्छ। यसैको कारण उसमा निको हुन नसक्ने रोग पलाउँछ र अमेरिकाको अस्पतालले उसको जीवनको अन्तिम मिति तोक्छ- सेप्टेम्बर १७। लेखकले यसै मितिबाट उपन्यासको नाम जुराएका छन्।

पहिचानको खोजमा रोमुलस

डाक्टरबाट मृत्युको मिति घोषणापछि रोमुलस आफ्नो आमाको घर खोज्न हिँड्छ। उसले अमेरिकामा पढिरहेकी नेपाली विद्यार्थीलाई आमाको नागरिकता देखाएर आमाको नाम, ठेगाना पत्ता लगाइसकेको हुन्छ। नागरिकता अनुसार उसकी आमा भक्तपुरको बनमाला परिवारकी छोरी हुन्।

इन्टरनेट सर्चबाट उसले थाहा पाइसकेको हुन्छ, आफू काठमाडौं उपत्यकाको आदिवासी आमाकी छोरा रहेछ! काठमाडौं घुमेर फर्केका व्यक्तिबाट काठमाडौं र भक्तपुरको सांस्कृतिक उत्कृष्टताको बारेमा सुनिसकेको हुन्छ। शोधपत्रहरू पढेर थाहा पाइसकेको हुन्छ कि बनमाला भनेको भक्तपुरको नवदुर्गासित सम्बन्धित परिवार हो।

नवदुर्गाका मुखौटाको चित्रमा उसले आफ्ना दाजुभाइ र मामाहरू देख्छ। तर समय नमिलेर आफ्नो मावली जाने इच्छा पूरा भइरहेको हुँदैन। जब मृत्युको मिति नै तोकिसकेको हुन्छ, ऊ जीवनको एउटै इच्छा पूरा गर्न मावली खोज्दै भक्तपुरका गल्ली र गाउँहरू चहार्न नेपाल आइपुग्छ। यही नै ‘सेप्टेम्बर १७’ को रोचकताले भरिपूर्ण कथा हो।

व्यापकता नै विशेषता

यो उपन्यास उल्लिखित कथामा मात्र सीमित हुँदैन। कथावस्तुको विश्व व्यापकता यसको उल्लेख्य विशेषता हो। यसैले कृतिलाई अहिले प्रकाशित भइरहेका उपन्यासको भीडमा भिन्न र विशिष्ट बनाइदिएको छ। उपन्यासको सुरुवात अमेरिकाको सिकागोबाट हुन्छ।

लेखकले रोमुलसको दीक्षान्त समारोहको बहानामा प्रिन्सटन विश्वविद्यालयको नायस सभाकक्षको भव्यताभित्र पाठकलाई पुर्‍याउँछन्। साथै, प्रिन्सटन सहर अमेरिकी स्वाधीनता संग्रामको एउटा विशिष्ट केन्द्र रहेको र त्यहाँ स्वतन्त्रताका लागि धेरै सहिदको रगत पोखिएको पनि उल्लेख गर्न चुक्दैनन्।

फेब्रुअरी १५, २००३ मा इराक युद्धको विरोधमा न्युयोर्कका सडकमा उर्लेकोे जनसागरको प्रदर्शनको वर्णन भएको परिच्छेद अत्यन्त रोचक र आकर्षक छ। यसैमा आर्क बिसप डेसमन्ड टुटुको ऐतिहासिक भाषण पनि रहेको छ। यसको वर्णन यति जीवन्त छ कि पाठकलाई आफैं पनि प्रदर्शन स्थलमै उपस्थित भएको अनुभूति दिलाउँछ।

वर्णन सीप नै यस उपन्यासको आकर्षण हो, उपन्यासकारको बलियो पक्ष हो। तर जति बाहिरी घटनाको वर्णनमा लेखकको खुबी झल्केको छ, त्यसको ठिक विपरीत पात्रको आन्तरिक मनोविज्ञानको चित्रण कमजोर छ। उपन्यासमा सजीव मनोवाद र चामत्कारिक संवादको कमी धेरथोर खट्किन्छ।

सद्दाम हुसेनको खोजीका लागि ‘अपरेसन रेड डन’मा रोमुलस सहभागी भएसँगै कथाले इराक प्रवेश गर्छ। यही बहानामा इराकको ऐतिहासिक मेसोपोटामिया सभ्यता र बेबिलोन सहरको गौरव उपन्यासको पात्रमार्फत पाठकसम्म पुर्‍याउन लेखक चुक्दैनन्। ‘इराक एक बकपत्र’ र ‘सद्दाम हुसेनको इजलास’ यी दुई परिच्छेदले उपन्यासलाई गम्भीर राजनीतिक चेतनाले भरिपूर्ण बनाइदिएको छ।

इतिहासको पुनर्प्राप्ति र भविष्य

उपन्यासको आखिरी अंश भक्तपुरका गल्ली र गाउँमा आएर टुंगिन्छ। रोमुलस आफ्नो पुख्र्यौली ठाउँसित जोडिन्छ, उसले यहाँको संस्कृति सिक्छ, भाषा सिक्छ। उसले आफूलाई चिन्छ। अनि, म्हपूजामा सरिक हुन्छ। उसकी हजुरआमाले म्हपूजा विधिको मिहीन र गहन विश्लेषण प्रस्तुत गरिरहेकी हुन्छिन्।

‘अब इतिहासको अन्त्य भयो’ भन्ने फुकुयामाको दम्भपूर्ण वाक्यबाट सुरु भएको उपन्यास सो उद्घोषलाई दरो चुनौती दिँदै इतिहासको अन्त्य नभएको र हुन पनि नसक्ने स्पष्ट पार्छ। समग्रमा उपन्यास ठूला शक्तिले बलजफ्ती गर्न खोज्ने सम्मिलीकरण (एसिमिलेसन)को सशक्त विरोध गर्न सफल भएको छ।

अझ नायकलाई आमातिरको संस्कृतिलाई पुख्र्यौली संस्कृतिको रूपमा पछ्याउन लगाउन समर्थ भएबाट उपन्यासलाई प्रगतिशील छलाङ प्रदान गर्न लेखक सफल भएको छ। यो कार्य कुनै अधिकारवादी प्रस्तुतिबिना सहज र स्वाभाविक रूपमा सम्पन्न गर्न सक्नु लेखकको कलात्मक खुबी हो।

निश्चय पनि बच्चाको लागि आमा नै प्रथम हो। भोलि योजनापूर्वक वा दुर्घटनावश बाबुको पहिचान नभएका जन्मिने बालबालिका धेरै हुन सक्नेछन्। तिनीहरूका लागि आमा नै पुर्खा हुने छन् र आमाको इतिहास नै आफ्नो इतिहास हुनेछ। आज जसरी नेपाली विश्वमा फैलिने क्रम जारी छ, त्यसरी नै भोलि ‘रोमुलस’हरू आफ्नो पुख्र्यौली पहिचान खोज्दै नेपाल आउने क्रम पनि बढ्नेछ। त्यसैले यो उपन्यास नेपालीको निकट भविष्यको कथा हो।
अर्को समाचार
जीवनलयमा लहरिएका गीतकार
८ मिनेट अघि
•
१ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
 काठमाडाैं, धेरै क्षेत्रमा, धेरै विषयवस्तुमा विश्वभर धेरै किसिमका कीर्तिमान कायम गरिएका छन्।  नेपालको सन्दर्भमा पनि किसिम–किसिमका कीर्तिमान स्थापित भएका छन्।  जस्तो कि– नेपाली चलचित्रको क्षेत्रमा पनि विभिन्न कीर्तिमान खडा गर्ने क्रममा एउटा विशेष कीर्तिमान यहाँ प्रासङ्गिक छ।




हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला ? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ? त्यसको पनि तथ्याङ्क पाउन सकिएला तर सबैभन्दा बढी गीत लेख्ने गीतकार को हो भनेर खोजियो भने अनुमान गर्न सकिन्छ, ती गीतकार किरण खरेलको अलावा अर्को कोही हुनै सक्तैनन्।  यहींनिर जोडिएर आउँछ एउटा अर्को तथ्य, चलचित्रमा धेरै गीत लेख्ने किरण खरेल भए पनि चलचित्रको सङ्ख्याको आधारमा सबैभन्दा बढी चलचित्रमा गीत लेख्ने व्यक्ति अर्कै हुन्।  
धेरै चलचित्रमा गीत लेखेर कीर्तिमान बनाउने गीतकार हुन्– प्रमोद ढुंगाना।  सुन्दा पनि आश्चर्य लाग्न सक्छ, थोरै मात्र चलचित्र निर्माण हुने गरेका यति सानो देशमा पनि हालसम्म उनले ११५ वटा चलचित्रमा गीत लेखिसकेका छन्।  त्यसो त, सानो पर्दाका लागि पनि कैयौं गीतहरू लेखेका छन्। 
उनका गीतमा प्रयुक्त भावनाहरू हेर्दा लाग्छ, उनी केवल एउटै खालका भावमा सीमित छैनन्।  मूलतः राष्ट्रभाव पोखिएका उनका गीतका शब्दहरू निकै प्रभावशाली छन्:
‘यो देशको झन्डाले एउटै आवाज बोल्छ
यो माटोको टीका लगाऊ, 
यो देशको माटो बोल्छ...’
देशभन्दा ठुलो र महान् अर्को कुनै विषय छैन।  प्रत्येक नेपालीलाई थाहा छ, जुन देशको झन्डामा चन्द्र–सूर्य मुस्कुराइरहेछन्, त्यो देशको माटो अझ गौरवशाली छ।  त्यही गौरव बोकेको झन्डाको उनले प्रशस्ति गाएका छन् यो गीतमा।  २०५५ सालमा निर्माण भएको चलचित्र ‘माटो बोल्छ’मा समाविष्ट यो गीतको मूल बोलमा नै उनले ‘सबैलाई एकतामा बाँध्ने शक्ति नै देशको माटो हो’ भन्ने चिन्तन व्यक्त गरेका छन्।  
राष्ट्रियताले ओतप्रोत यस्ता उनका धेरै गीत अन्य चलचित्रका लागि पनि लेखेका छन्।  यो अलग्गै कुरो हो कि ती गीतहरूमाथि कसैले समीक्षा गरेको पाइन्न।  हुन त बनिबनावट चर्चा–परिचर्चा गराइने आजको विसङ्गतपूर्ण साहित्यिक–साङ्गीतिक क्षेत्रमा यस्तो हुनु अस्वाभाविक पनि होइन।  तर, यहाँनिर यसो भन्न सकिन्छ– अक्षर कसैको मानमर्दनका कारण त्यत्तिकै विलीन हुँदैनन्, कहीं न कहींबाट तिनले चियाइरहेकै हुन्छन्।  अक्षरको सुन्दरता नै यही हो। 
सुन्दर अक्षरहरूलाई बास्ना थप्ने काममा लागिपरेका प्रमोद ढुंगानाको व्यक्तित्व के हो, कस्तो हो, त्यसको विश्लेषण गर्न आवश्यक नहोला।  तर, यतिचाहिँ पक्कै भन्न सकिन्छ कि उनी गीत लेख्नकै लागि जन्मिएका हुन्। 
‘फूल भए जिन्दगी देउतालाई चढाइदिन्थेँ
कागज भए जिन्दगी यो सलाई कोरी जलाइदिन्थेँ...। ’

भूपेन्द्र रायमाझीले सङ्गीतबद्ध गरेर कुमार सानुको स्वरमा रहेको चलचित्र ‘अर्पण’ (२०४९) को गीत हो यो।  सिङ्गो जीवनको सन्दर्भका शब्दहरूलाई नै गीतमा ढाल्न निपुण छन् उनी।  यी शब्दहरूलाई विश्लेषण गरेर हेर्दा के कुरा प्रस्ट देखिन्छ भने मान्छेलाई जीवनप्रतिको विमोह यतिसम्म पनि हुन सक्दो रहेछ।  पक्कै हो, प्रेममा वियोग भोगेका व्यक्तिले निरास भाव व्यक्त गर्नु स्वाभाविक हो।  तर, त्यस्तो भोगाइलाई कवितात्मक पाराले प्रस्तुत गरेका छन् ढुंगानाले।  जीवनबाट निरास भएका मान्छेले सामान्यतः सिधै– ‘म मरिदिन्छु’ भन्थे होलान् तर त्यस्तो दुःखान्त विषयलाई पनि उनले भने निकै मनमोहक पाराले भनेका छन्, यसरी भन्न सक्ने क्षमता सामान्य मान्छेसँग पक्कै हुँदैन तर गीतकारले गीतिरचनामा संयोजन गर्न सक्नु, यो उनको ठुलो खुबी हो। 
गीतैमा बडो अकल्पनीय संसारको कल्पना गर्छन्।  त्यस्तो संसार जहाँ कुनै दुःख नहोस्, कुनै पीडा नहोस्, सांसारिक जीवनभन्दा धेरै पर।  
‘यो मन ढुङ्गा भए कति जाती हुन्थ्यो 
न त चोट हुन्थ्यो न त हुन्थ्यो माया...। ’

यथार्थमा जीवनलाई आशाको नजरले हेर्न सक्ने शब्दशिल्पीसमेत उनका गीतिरचनामा देख्न पाइन्छ।  जीवन भनेको दुःखको पुलिन्दा मात्रै होइन, खुसीको सम्भावना पनि हो।  बजाउन नजाने जीवन विरहको धुन हो भने बजाउन जाने मालश्री धुन।  जीवन बाँच्न पनि ढङ्ग हुनुपर्छ।  दुःख पर्दैमा रोएरै बाँच्नुपर्छ भन्ने के छ र ! हुन त जीवन बाँच्ने आआफ्नो शैली हुन्छ।  कोही धन कमाउनै लालायित हुन्छन्, कोही पद–प्राप्ति वा पुरस्कार–सम्मानका लागि लागिपरिरहेका हुन्छन्।  कोही दुष्टता र धुर्ततालाई नै आफ्नो दैनिकी बनाएर बाँचिरहेका हुन्छन्।  
मानव समाजमा आज मान्छेको चरित्र नै सम्पूर्ण पथभ्रष्ट भएर गइरहेको देखिन्छ।  सिधा बाटो कोही हिँडेका देखिन्नन्, सबका सब बाङ्गोटिङ्गो हिँडिरहेछन्।  एउटा मनले अर्को मनलाई कसैले स्विकार्दैनन्, सबैले व्यक्तिवादी संस्कारलाई अपनाइरहेका छन्।  वास्तविक जीवनको अर्थ भुलेर कृत्रिमताको अनुसरण गरिरहेछन्।  यहाँ गीतकार ढुङ्गाना जीवनलाई खास अर्थमा परिभाषित गर्छन्;
जीवनको अस्तित्व एउटै हुन्छ– जिउनु।  जिउनु नै जीवन हो।  जिउन सकिएन या जिउन जानिएन भने जीवनलाई सार्थक बनाउन सकिन्न, बाँचिरहेकै भए पनि त्यस्तो जीवन प्राणबिनाको शरीरजस्तो हुन्छ।  त्यसैले, सकारात्मकताको बाटो लिएर बाँच्न सक्नुमा जीवनको अर्थ खुल्छ र त्यो बाटो अपनाउँदा धेरै किसिमका विकल्पहरू उपलब्ध हुन सक्छन्।  कसरी, कुन रूपले बाँच्ने ? गीतकारका शब्दमा भन्ने हो भने जीवनलाई कविताका हरफहरूमा शब्दहरू बाँचेजस्तै बाँच्न सकिन्छ, कुनै मनमोहक गीतको लयजस्तै बाँच्न सकिन्छ।  समग्रमा, गीतकार आफ्नो गीतमार्फत यही सन्देश दिन्छन् :
‘आऊ गाऊँ जीवनको गीत, जीवन एउटा गीत हो
मोती सम्झे मोती हुन्छ यो, शीत सम्झे शीत हो...’
सम्भवतः जीवनको जति व्याख्या–विश्लेषण दुनियाँमा अन्य केही–कसैको भएकै छैन, विभिन्न कोणबाट, अनेकौं माध्यमले भएका छन्।  कसैले तथ्यमा आधारित भएर विश्लेषण गरेका छन् भने कसैले केवल कल्पनमा बगेर पनि गरेका छन्।  आजसम्म के–कति गरिएका होलान्, त्यसको लेखाजोखा कसले गर्न सक्छ र ! 
प्रमोद ढुङ्गानाले जीवनलाई जसरी बुझे, त्यसलाई गीतिशब्दमार्फत बुझाउन खोजे।  खास गरेर नैपाली गीत–सङ्गीतको क्षेत्रमा यो निकै महत्त्वपूर्ण उपलब्धि हो।  अलिक फरक ढङ्गले उनको गीतिकारितालाई हेर्ने हो भने एउटा प्रस्ट तथ्य देख्न सकिन्छ।  त्यो तथ्यलाई खुलाएर भन्ने हो भने यसो भन्न सकिन्छ– सामान्य कल्पना गरेर गीतको शैलीमा तुकबन्दी मिलाएर गीत लेख्ने कथित गीतकारहरूका लागि प्रमोद ढुंगाना एउटा चुनौती हुन् किनकि गीत लेख्न जति सजिलो मानिन्छ, वास्तवमा त्यति सजिलो हुँदैन।  त्यसमाथि चलचित्रको गीत लेख्न त झनै कठिन हुन्छ।  कथावस्तुमा आधारित भएर लेखिने हुनाले अन्य गीतमा झैं चलचित्रका गीत लेख्दा कल्पनामा बहकिन पाइँदैन।  उदाहरणका लागि वास्तविकतामा धरातलमा रहेर २०५५ सालमा उनीद्वारा लिखित चलचित्र ‘कैदी’का लागि गायक कुमार कान्छाले गाएको यो गीत कति सटिक छ !
‘कहिले आगो कहिले पानी, यही रहेछ जिन्दगानी
कहिले लाग्छ रात हो यो, कहिले लाग्छ हो बिहानी’
चार दशकसम्मको अविरल गीतियात्राअन्तर्गत उत्कृष्ट गीतिकारिताको कदर गर्दै नारायणगोपाल स्मृति कोषले गीतकार प्रमोद ढुंगानालाई यसपटक ‘नारायणगोपाल स्मृति सम्मान तथा पुरस्कार–२०८३’ समर्पण गरेको छ।  
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४६ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस