सिर्जना जबेगु
लाहुरेको जिन्दगी, राइफल सिरानी,
बाँचे घर फर्कन्छु , मरे खरानी ।
यहीबाट सुरु हुन्छ लाहुरे दाइको जीवन कथा...। बिचरा लाहुरे दाइको बुढी आमा परदेशी छोरो आउने आसै आशामा दिन अनि रात गनेर औंला भाँचीभाँची परदेशी छोराको बाटो कुरेर पिँढीमा बसिरहन्छिन्। हुन त आफ्नो कलेजोको टुक्रा परदेशमा अनि बुढी आमा घरमा पक्कै पनि खुशी हुने त कुरै हुँदैन। न त कुनै चाड न त कुनै तिहार परदेशीको यादमा छटपटिएको आमाको मन सारा संसारको आफूजस्तै अन्य आमाहरूलाई सम्झएर मन अलिकति बुझाउने प्रयास गर्छिन्।
परदेशी छोराको यादमा अनि झझल्को र सम्झनाले सताउँदा अनायसै झरेका ती नयन तारा ( आँसु ) हरू कत्ति अमूल्य छन्। चाहेर पनि म अभागी लाहुरे छोरो तिम्रा ती अनमोल मोती दाना टिप्न सक्दिनँ आमा। तिम्रो बुढेसकालको सहारा यो अभागी लाहुरे छोरोलाई माफ गरिदेऊ है आमा। म तिम्रो ज्योति हराएको आँखाको चस्मा किन्न सक्छु । विडम्बना जब तिमीलाई सहारा अनि मेरो हातको जरुरत पर्न सक्छ त्यत्तिखेर यो दुखी लाहुरेलाई तिम्रोसामु उभिनु नसकूँला। आमा त्यत्तिखेर मलाई माफ गरिदेऊ है ल।
जबजब तिम्रा ती कोमल पाइला लरखराउन खोज्छन् तबतब म तिम्रो लाठी बन्न नसकूँला। आमा त्यत्तिखेर फेरि पनि मलाई माफ गरिदेऊ है ल। आमा किनकि मैले यो देशको अनि यो धर्ती माताको रक्षा गर्ने प्रण लिएको छु। जे भए पनि आमा त एउटै हुन्छ नि हैन र ? चाहे त्यो जन्म दिने होस् या त कर्मभूमि। आमा तिम्रो कल्पना मा त यो सारा संसार भराउन पनि सक्छु तर के गर्नु समयको अभाव अनि आफ्नो कर्तव्यको कारण लाहुरे दाइको कथामा तिमीलाई यत्ति मात्रै समेट्न सकें।
उहीँ तिम्रो अभागी लाहुरे छोरो अनि सबैको प्यारो लाहुरे दाइ, धन्यवाद !