कमला घिमिरे
१)
सबैभन्दा ठुलो लाग्ने परिवार र बच्चाहरूसर्वस्व नै सुम्पिइने मनभित्रका सच्चाहरू।
शिक्षित– दीक्षित, जान्ने–बुझ्ने, गन्ने–मान्ने भए पनि,
अभिभावकले सोच्ने सधैं बालक नै छन् बच्चाहरू।
२)
ठुलो भयो जान्ने, बुझ्ने आफैँ भएँ सोच्न थाल्यो,भौतिक सुख र विलासी जीवन मनमनै रच्न थाल्यो।
बा–आमाका फाटेका लुगा घृणा गर्न थाल्यो अब,
गरिबीलाई खिल्ली उडाउँदै उनैलाई घोच्न थाल्यो ।
३)
सन्तानका वचन बाणले भित्रभित्रै रोए होलान्,बाहिरबाहिर मुस्कुराई आँसुले मुख धोए होलान् ।
ठुलो होला सुख देला कल्पनामा बुने सधैं,
परिवर्तित वास्तविकतामा मन, मुटुलाई छोए होलान् ।
४)
दिन–रात, घाम–छाँया कुमालेको चर्खाजस्तै,टन्टलापुर घामपछि मुसलधारे वर्षाजस्तै ।
सोच्दा–सोच्दै, गन्दा–गन्दै दिनहरू बितिरहन्छन् ,
सन्तानका प्रगतिमा देखिने निस्वार्थ हर्षजस्तै ।
५)
निर्जीव ढुङ्गा, भगवान् मानी त्यसको पुजा गरिरहँदा,आफ्ना घरका जीवित भगवान् भोकप्यासले मरिरहँदा ।
कसरी आत्मा शान्ति र प्रगति होला तिनको,
आफ्ना बुज्रुकहरूको आँखाबाट आँसु झरिरहँदा ।