फरिन बानू
हो ! बुढा भएका छौं अब हामी
तिमीहरूलाई हुर्काउँदै गर्दा
पाउ धर्तीमा थिएन हाम्रो त्यो दिन
तिमीले पहिलो पल्ट आफ्नो पाइला सार्दा ।
तिम्रो हरेक खुसीमा रमाउने र हरेक
दुःखमा आँसु झार्ने तिम्री आमा
हरेक दिन काँधमा बोकेर संसार
डुलाउने तिम्रा बुबा
आज तिमीलाई उनीहरूसँग एकछिन
अनौठो लाग्छ छोरा, तिमीलाई पहिलो पल्ट
स्कुल छोड्न जाँदा
काम्ने यी हातहरू
तिमीले वृद्धाश्रम अगाडि आएर
कति सजिलै छोडिदियौ ।
आफ्ना खुसीलाई त्यागेर तिमीलाई
रामराज्य जीवन दिलाउन
खोज्यौँ हामीले
तिमीले भने हाम्रो साथ दिन पनि
जरुरी सम्झेनौ अहिले ।
हो साँच्चै बुढो भएको महसुस
हुँदैछ छोरा !
बसमा सिट माग्दा पनि बाटोमा
भिख मागेजस्तो महसुस
हुँदैछ छोरा !
तिम्रो पहिलो कदम उठाउन मद्दत गर्ने
यी आमाबुबाको
अन्तिम कदम उठाउन सहारा
पनि दिन सकेनौ छोरा !
दुःख लाग्छ ,
तिम्रो खुसीका लागि
कैयौँ खर्च गरेको हामीले
आज हाम्रो कोठामा उज्यालोको
एउटा टुकी बलिदिन पनि
कन्जुस्याइँ गरेको देखेर ।
थाकिसकेँ म छोरा ! सबै वृद्धहरूले
आफ्नै छोराछोरीको अगाडि
हात फैलाएको देखेर ।
छोरा अहिले निकै जरुरी छ मेरो
लागि तिम्रो साथ ।
तर भन्न सक्दिन तिमीलाई तिम्रो
व्यस्त जीवन देखेर।
मन लाग्छ सुखदुःखका कुरा गर्न
तिमीसँग रमाई तिम्रो हात।
तर कसरी भनूँ तिम्रो त्यो भर्केको
स्वर सुनेर
कति मन रुन्छ भनेर।
अँध्यारो छ चारैतिर,
एक्लै कोसँग बोलूँ म
पीडा त धेरै छन् मनमा
तर कसको अगाडि पोखूँ म ।
यस चार भित्ताले घेरिएको कोठामा मात्र
विगतका केही खुसीका यादसँग
बाँचिरहेको छु म।
स्वास्थ्य अलि कमजोर भएको छ हाम्रो
हिँड्दै गर्दा बाटो काट्न पनि
अरूको सहारा माग्न
कैयौँ हेला र तिरस्कार भोग्नुपर्छ हामीलाई।
बुढो भए पनि खुलेर रमाउने इच्छा
धेरै हुन्छ हाम्रो ।
तर समाजले के भन्लान् भन्ने डरले
कोठाभित्रै गुम्सिएर बस्न
विवश भएका छौं हामी।
बच्चा हुँदा सगैँ संसार डुलेको ती बुबासँग
आज बाहिर निस्कँदा समाजले
जिस्काउँछन् होला।
दोष तिम्रो मात्र होइन छोरा !
ती सबको हो जसले वृद्धहरूलाई
आगो बालिसकेपछि काम नलाग्ने
त्यो सलाईको काँटी समान
सम्झन्छन् ।
अहिले अलि चाउरीपन आयो होला
हाम्रो मुहारमा।
तर देशको नागरिक त
हामी पनि हौ।
अधिकार हामीले पनि पाउनुपर्छ
आखिर देश निर्माणमा
जुटेका हामी पनि थियौँ।