इ-रिडिङ
१७ असोज २०६६
•
१८ मिनेट पाठ
इ-रिडिङ
प्रहरी वरिष्ठ उपरिक्षक तथा प्रहरी प्रधान कार्यालय कम्प्यूटर महाशाखा प्रमुख महेशसिंह कठायतले इन्टरनेटबाट प्राध्यापक सोलोमनको 'जापान इन अ नटसेल' डाउनलोड गर्दैछन्। एक सय ५१ पृष्ठको यो पुस्तकले परम्परागत र वास्तविक जापानबारे यथेष्ट जानकारी प्रदान गर्दछ।




'ल हेर्नोस्, जमाना कति छिटो भैसक्यो,' पुस्तकको पृष्ठहरू माउसले क्लिक गर्दै कठायत भन्छन्, 'पुस्तक खोज्दै पसल चहार्नु परेन, तीन मिनेटमा पुस्तक आफ्नो पनि भयो।'

पुस्तक पढ्ने मात्र होइन कठायत अहिले आफ्नो कार्यालयमा आदेश दिने र सूचना लिने दुवै काम इन्टरनेट मार्फत नै गर्छन्। उनी आफ्नो सहकर्मीहरूलाई भन्छन्, 'फाइल बोकेर मेरो कक्षसम्म आउँनु पर्दैन। जे छ इमेल गर, आवश्यक जवाफ मेलबाटै दिन्छु।'

कठायत राष्ट्रसंघका २२ परीक्षामा अनलाइन सहभागी बनेका छन्। प्रमाणपत्र पनि उनले अनलाइनबाटै प्राप्त गरे। राष्ट्रसँग बाट प्राप्त प्रमाणपत्र हातमा देखाउँदै उनले भने, 'यि सबै प्रमाणपत्र पाउन मैले पसल गएर पुस्तक किनिन। आवश्यक पाठ्य सामाग्री सबै नेटबाट नै जोहो गरेको हो।'

कठायतको कम्प्यूटरको डेढसय एमबी भन्दा बढि स्पेस डाउनलोड गरिएका पुस्तकले भरिएको छ। ६० वटा भन्दा बढि त ठूला पुस्तक नै छन्। साना रिपोर्ट त कति डाउनलोड गरे उनलाई हेक्का छैन। उनी प्रत्येक आधाघण्टामा वेबसाइट रिफ्रेस गर्छन्, नयाँ सूचना केही थपियो कि भनेर।

कठायत मात्र होइन अहिले धेरै नेपाली अनलाइन संसारमा हराउन थालेका छन्। कम्प्यूटर र इन्टरनेटमा सर्वसाधारणको पहुँचसँगै नेपालमा इ-रिडिङ संस्कार बढेको हो।

तर नेपालमा कति छन् त इ-रिडर ?

राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक सुवर्ण शाक्य भन्छन्, 'अध्ययनै हुँन सकेको छैन। तर इ-रिडरको संख्या बढ्दो क्रममा पक्कै छ। खासगरी युवापुस्ता आइटी फ्रेन्ड्ली भैसकेको छ।'

नेपालमा इ-रिडर बढ्नुको पछाडि धेरै कारण छन्। पहिलो, कार्यलयहरूमा इन्टरनेटको प्रवेश। कम्प्यूटर एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष विप्लवमान सिंह भन्छन्, 'अहिले प्रायः सरकारी मन्त्रालय, कार्यलय तथा विभागमा कम्प्यूटर र इन्टरनेटले प्रवेश पाइसकेको छ। नीजि संघसंस्था तथा कम्पनीमा त अझ अगाडि नै इन्टरनेटले प्रवेश पाएको हो।' त्यसले गर्दा पनि कार्यालयमा इन्टरनेट चलाउने प्रचलन बढ्दो छ। सिंह भन्छन्, 'कार्यालयको कामसँगै इन्टरनेटमै अध्ययन गर्ने बानी पनि कर्मचारीहरूमा बढ्दै गएको छ।'

दोस्रो, वेबसाइटहरूको वृद्धि। अहिले सरकारी तथा गैर सरकारी संस्था सबैले आफ्ना संस्थाबारे जानकारी वेबसाइटमा राख्न थालेका छन्। फलस्वरुप ती संस्थाबारे जानकारी कार्यलयमा नगइकन इन्टरनेटबाट घरमा बसिबसि प्राप्त गर्न सकिने भएको छ। यसले गर्दा पनि सर्वसाधारणको इन्टरनेटमा निर्भरता बढेको छ र कम्युटरमा पढ्ने बानी विकास भएको छ।

तेस्रो, निशुल्क पठन। इन्टरनेटमा पुस्तक, पत्रपत्रिकादेखि थुप्रै साम्रगीहरू राखिएका हुन्छन्। तिनलाई माउसको क्लिकको भरमा पढ्न पाइन्छ। त्यसमाथि कुनै शुल्क पनि तिर्न पर्दैन। त्यसले पनि अनलाइन रिडिङको आकर्षण बढेको छ।

चौथो, ब्लग, च्याट, फेसबुक, टुइटरको लोकप्रियता। ब्लग लेख्ने र पढ्ने, च्याट गर्ने, फेसबुक र ट्युटरमा स्टाटस लेख्ने, लेख रचना पोस्ट गर्ने, लिंक राख्ने प्रचलन बढ्दो छ, जसले इरिडिङको लत बसालेको छ।

इन्टरनेट वर्ल्ड स्टेट्सको तथ्यांक हेर्ने हो भने नेपालमा अहिले ३ लाख ९७ हजार ५ सय इन्टरनेट प्रयोगकर्ता छन्। अर्थात नेपाली जनसंख्याको १ दशमलव ४ प्रतिशत जनताको पहुँचमा इन्टरनेट रहेको छ।

सन् २००० मा नेपालमा इन्टरनेट प्रयोगकर्ता ५० हजार मात्र थिए। सन् २००० देखि २००९ सम्म इन्टरनेट प्रयोग गर्ने नेपालीको संख्या ६ सय ९५ प्रतिशतले बढेको छ। यसले नेपालमा इ-रिडर बढ्दै छन् भन्ने देखाउँछ।

इन्टरनेट वर्ल्ड स्टेट्सका अनुसार हाल विश्वमा १ अर्ब ६६ करोड इन्टरनेट प्रयोगकर्ता छन्। अर्थात विश्वका २४ दशमलव ७ प्रतिशत मानिसको पहुँच छ इन्टरनेटमा। सन् २००० देखि २००९ हालसम्मको तथ्यांक हेर्ने हो भने विश्वमा ३ सय ६२ प्रतिशतले इन्टरनेट प्रयोगकर्ता बढिरहेका छन्। यसले इरिडिङलाई बढाएको छ।

इ-रिडिङका कारण अखबार र पुस्तकको बिक्री पश्चिमी देशमा घट्दो छ। यसको ज्वलन्त उदाहरण बनेको छ अमेरिकी प्रसिद्ध दैनिक अखबार यूएसए टुडे। यूएसए टुडेको हार्ड कपि ग्राहक २१ लाखको हाराहारीमा छन् भने यसको सशुल्क अनलाइन रिडर १० लाखको हाराहारीमा पुगिसकेका छन्। यो त एउटा उदाहरण मात्र हो। वर्ल्ड न्यूजपेपर एसोसिएसनको तथ्यांकले पनि विकसित देशमा इन्टरनेटका कारण वर्षेनी डेढ देखि तीन प्रतिशत सम्म अखबारका पाठक घटेको देखाएको छ। प्रसिद्ध ‘इकोनोमिस्ट' पत्रिकाले सन् २०४१ पछि त अमेरिकामा एउटा पनि अखबार प्रकाशित नहुँने भविष्यवाणी समेत गरिसकेको छ।

इन्टरनेट र डिजीटल कन्टेन्टप्रति मानिसको बढ्दो आकर्षण देखेर अहिले 'इ-बुक रिडर' उपकरण निर्माण भएको छ। अम्याजनको 'किन्डल' र सोनीको 'पिआरएस-फाइब हन्ड्रेड' सबैभन्दा प्रयोगमा आएका उपकरण हुँन्। यी उपकरणमा इ-बुक सहज रूपमा पढ्न सकिन्छ, प्रिन्ट पुस्तक हातमा लिएर पढेझै। किन्डलको २ जिबी मेमोरीमा १ हजार ५ सय पुस्तक संग्रह गर्न सकिन्छ भने सोनीको ५ सय १२ एमबीको इ-रिडरमा ३ सय ५० पुस्तक। गुगलका पाँच लाख इ-बुक सोनीका इ-रिडरले पढ्न सक्नेछन्। यस्तै किन्डलले ३ लाख ५० हजार पुस्तक प्रयोगकर्ताको पहुँचमा राखेको छ। सन् २००८ सम्म किन्डल र सोनीको इ-रिडर १० लाख प्रति बिक्री भैसकेका छन् भने यस वर्ष यी उपकरण दोब्बर बिक्री हुँने अनुमान गरिएको छ।

अहिले प्रकाशक देखि वेब कम्पनीहरू इ-रिडरलाई लक्षित गर्दै धमाधम पाठ्य सामाग्रीलाई डिजिटल स्वरूप दिँदैछन्। एसोसिएसन अफ अमेरिकन पब्लिसर्सको तथ्यांकले यही देखाउँछ। एसोसिएसनका अनुसार अघिल्लो वर्षको तुलनामा सन् २००९ को अप्रिल अन्तसम्म इ-बुकको बिक्री १ सय ५४ दशमलब ८ प्रतिशतले बृद्धि भएको छ। जबकी यो अवधिमा समग्र पुस्तक बिक्रीमा ४ दशमलब १ प्रतिशतले घटेको छ।

एसोसिएसनका अनुसार सन् २००८ मा १२ करोड डलरको इ-बुक कारोबार भएको थियो। २००९ को पहिलो त्रैमासिक अवधिमा कुल पुस्तक बिक्रीको १ दशमलव ६ प्रतिशत इ-बुक बिक्री भएका छन्। कुल २४ दशमलब ३ विलियन अमेरिकी डलर कारोबार भएको यो अवधिमा १३ करोड अमेरिकी डलर कारोबार इ-बुकको भएको छ।

अहिले अनलाइनमा पुस्तक कति छन् त? विभिन्न कम्पनीले आ-आफ्नै तरिकाले पुस्तक अनलाइन राख्दै आएका छन्। गुगलले अनलाइन राख्नको लागि एक करोड भन्दा बढि पुस्तक स्क्यान गरिसकेको छ भने १० लाख पुस्तक निशुल्क अनलाइन उपलब्ध गराउने जनाएको छ। यसको लागि गुगलले बुक स्क्यानिङ परियोजनानै सञ्चालनमा ल्याएको छ। यसको लक्ष्य 'गुगल इ-लाइब्रेरी' हो। गुगलको डेढ करोड पुस्तक अनलाइन राख्ने योजना छ।

माइक्रोसफ्ट, याहू र अम्याजनले भने गुगलको परियोजनाको खुलेर विरोध गरेका छन्। गुगलको परियोजना सफल भए पुस्तक बजारमा गुगलको आधिपत्य हुँने ठहर उनीहरूको छ। त्यसो त अम्याजन अनलाइन बुक बिक्री गर्ने कम्पनीहरूमा अग्रपंक्तिमा आउँछ। तर पनि गुगलसँगको प्रतिस्पर्धामा हच्किएको छ।

विकसित पश्चिमी राष्ट्रको तुलनामा नेपालमा इ-रिडर खासै देखिँदैन। के अनलाइन रिडिङले नेपालमा प्रभाव नपारेकै हो त?

'प्रभाव पारेकै छैन भन्न मिल्दैन, पाठक बाँडिएका छन्। सामान्य जानकारी चाहने पाठकहरू पुस्तक किन्न आउँन छाडेका छन्।' मण्डला बुक पोइन्टका प्रबन्धक माधवलाल महर्जन भन्छन्, 'तर अन्ततः पाठक प्रिन्ट कपीमै फर्कन्छन् , यो केही समयको लागि मात्र हो। प्रिन्ट कपी पढ्न लागेको लत कहाँ त्यसै हटाउन सकिन्छ र। प्रभाव न्यून छ, आक्तिनु पर्ने अवस्था छैन।'

नेपालमा इ-रिडर युवा पुस्ता नै भएको विश्वास कठायतको पनि छ। इन्टरनेटमा धेरै सामाग्री निशुल्क पाइने कारण पनि डिजिटल कन्टेन्टमा झुकाव बढ्दै गएको तर्क उनको छ। द्रुत गतीको इन्टरनेट सेवा उपलब्ध हुँनथाले पछि नेपालमा झन् इ-रिडर बढेको उनको बुझाई छ।

कठायतको तर्कसँग नजिक छन् शाक्य। उनको धारणा छ, 'नेटमा आँफूलाई चाहिएको विषय वस्तु खोज्न निकै सहज छ। पसलमा जस्तो घण्टौ बिताउन पर्दैन। सबै कुरा अनलाइनमै पाइन्छ र घरमै बसेर ती कुरा पाउँन सकिन्छ भने पसल-पसल किन चहार्नु र।'

सिंहको बुझाई भने केही भिन्न छ। 'नेटमा राम्रा र नयाँ पुस्तकहरूको पूर्ण पाठ निशुल्क पढ्न पाइदैन' सिंह भन्छन्, 'प्राय बेस्ट सेलर नै पढ्न खोजिन्छ, तर यी पुस्तक निशुल्क हुँदैन।' उनका शब्दमा 'पुस्तक त वेडमा सुतेर आनन्दासाथ पढ्ने हो'। कम्प्यूटर स्क्रिनमा पढ्दा आँखामा समस्या देखिने उनको तर्क छ।

नेटमा बजारमा नपाउँने पुस्तक पनि पाइन्छ। यो इ-रिडिङको आकर्षक पक्ष हो। कठायत 'इ-बुक' लाई प्रविधिको वरदान मान्छन्। आफ्नो दिमागी पुस्तकालयमा नयाँ ज्ञान थप्न इन्टरनेट भन्दा अर्को सहज माध्यम नभेटिने उनको बुझाई छ। उनले म्यान हटन प्रोजेक्टका प्रमुख रोबर्ट ओपनहाइमरले पहिलो पटक एटम बम परिक्षण गर्दा हिन्दु ग्रन्थ गिताका केही पंक्ति पाठ गरेको धेरै पहिला देखि सुन्दै आएका थिए। तर उनले यसको यथार्थता जाँच गर्न पाएका थिएनन्।

'धेरै पुस्तक पसल गए, कतै भेटिन,' कठायतले भने, 'अन्ततः इन्टरनेटमा सर्चगर्दा नै अहिले भेटे। साच्चै नै रोबर्टले गिताको केही पंक्ति पाठ गरेकै रहेछन्।'

इन्टरनेटले गर्दा प्रिन्ट पुस्तक बिक्री गर्न अझ सजिलो भएको ठान्छन् महर्जन। इन्टरनेटमा सशुल्क पुस्तकका केही अंश मात्र राखिएको हुन्छ। यस्ता अपुरा अंश पढ्दा पाठकलाई थप खसखस हुन्छ। अनि उनीहरू पुस्तक पसलसम्म पुग्छन्। महर्जन भन्छन्, 'इन्टरनेटमा फलानो किताब राम्रो छ भनेको छ, त्यो यहाँ छ भन्दै हामी कहाँ आउँछन्।'

यस्तै पाठक हुन् कुलेश्वरका कुशल न्यौपाने। उनले नेटमा स्टेफन हकिन्सको 'व्रिफ हिस्ट्री अफ टाइम' को अपूर्ण अंश भेटे। त्यसैले जगाएको प्यास मेटाउन उनी मण्डला पुगेका थिए। 'निशुल्क पुस्तकहरू त म डाउनलोड गरेरै पढ्छु तर सबै पुस्तक नेटमा निशुल्क पाइदैन। पसलमा नआई सुखै छैन,' उनी भन्छन्।

त्यसो त महर्जन पनि फुर्सद पाए इन्टरनेटमा घोत्लिन पुग्छन्। उनको खोजी पुस्तक नै हुन्छ। नेट बाटै उनी थाहा पाउँछन् बजारमा के नयाँ पुस्तक आइरहेको छ, बेस्ट सेलर कुन-कुन हुन् अनि तिनलाई नेपालमा बिक्री गर्न ल्याउन सकिन्छ कि सकिदैन। यसरी नै उनले भेटेका पुस्तक हुँन् 'किङ्ग्स अफ द फरेस्ट' र 'पाराडाइज लस्ट : स्टेट फेलर इन नेपाल'। नेपालका बारे लेखिएका यि दुवै पुस्तकबारे उनले नेटबाट जानकारी पाए। अहिले उनी यि दुई पुस्तक नेपाल भित्राउन कसरत गर्दैछन्।

समस्या क्रेडिट कार्ड
नेपालमा निशुल्क राखिएका पुस्तक मात्र डाउनलोड गर्न सकिन्छ। सशुल्क पुस्तक डाउनलोड गर्न प्रायः असम्भव नै हुन्छ। अनलाईन पुस्तक खरिदगर्दा क्रेडिट कार्डबाट डलरमा भुक्तानी गर्नुपर्छ। तर नेपालमा सरकारले सहजरुपमा सर्वसाधरणलाई डलरमा खाता खोल्न र क्रेडिट कार्डको व्यवस्था गर्न सकेको छैन।

'जबसम्म क्रेडिट कार्ड सुविधाको प्रायोग सर्वसाधारण नेपालीले गर्न पाउँदैनन् तबसम्म अनलाईन पुस्तक किन्न सक्दैनन्,' सिंह भन्छन्, 'क्रेडिट कार्ड प्रयोगमा आए मात्र अनलाइन रिडर बढ्छन्।'

कठायत अनलाइन सशुल्क पुस्तक किन्नु परे विदेशी साथीहरूको शरण माग्छन्। साथीहरूको कार्ड प्रयोग गरेर उनले सशुल्क पुस्तक किन्दै आएका छन्। 'नेपालमा प्रमुख समस्या नै क्रेडिट कार्ड हो', कठायत बताउँछन्।
अर्को समाचार
नेपाली कांग्रेस : पुनर्जागृत हुने कि स्खलित ?
०९ मंसिर २०८३
•
७ मिनेट पाठ
नेपाली कांग्रेस : पुनर्जागृत हुने कि स्खलित ?
नेपालमा प्रजातन्त्र स्थापना गर्ने देखी सबै खाले राजनैतिक आन्दोलनहरूमा आफ्नो दर्बिलो उपस्थिति देखाउँदै यस देशको विकास क्रममा नेपाली कांग्रेस कहिले खुम्चिएर त कहिले आम जनताको अभुतपूर्ण समर्थनमा करिब आठ दशकदेखि नेपालको राजनीतिको अग्रमोर्चामा छ।




पहिलो पटक जनताले आफ्नो प्रतिनिधि आफैँ चुन्न पाउनेदेखि, मौलिक हकहरू, समावेशिता, विकास(?)का अनेक पूर्वाधार निर्माणका सवालमा कांग्रेसले महत्त्वपूर्ण योगदान गरेको कुरा अकाट्य छ। नेपालमा बहुदलीय प्रतिस्पर्धात्मक राजनैतिक व्यवस्था , शान्ति प्रक्रिया हुँदै नेपाललाई संघिय लोकतान्त्रिक गणतन्त्रात्मक देशको रूपमा संविधानमै सुनिश्चित गराउने सम्मका काममा नेपाली कांग्रेस सदैव नेतृत्वदायी भूमिकामा रह्यो। 

तर कांग्रेसबाट जनताको अपेक्षा यतिमा मात्रमा सीमित थिएन। हिजोको जहानिया राणाशासन , पञ्चायती व्यवस्थाको विषम परिस्थितिमा समेत डटेर लडेको कांग्रेस आजको यत्तिको अवसरका बिचमा किन लरखराएको छ ? यो नै आम चिन्ताको विषय बनेको छ।

संविधानको कार्यान्वयन , सरकारको पारदर्शिता , भ्रष्टाचार , महँगी , बढ्दो बेरोजगारी , युवा पलायन लगायतका अनकन विषयहरूमा कांग्रेस र यहाँका मुख्य दलहरूमाथि जनताको जबरजस्त अविश्वास पैदा भयो। यही अविश्वासको जगमा समाजमा आक्रोश पैदा गराई देशका महत्त्वपूर्ण धरोहरहरू ; संसद् भवन , राष्ट्रपति कार्यालय ,सिंहदरबार लगायत थुप्रा नेताका घरहरू , व्यावसायिक स्थलहरू , छापाखाना क्षणभरमै खरानी बनाइए। 

नेपाली कांग्रेसको समर्थनमा रहेको तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार शान्ति सुरक्षाको मामिलामा निरीह मात्र रहेन सत्तासीन मन्त्री र सांसदहरूलाई ज्यान जोगाउनै धौधौ पर्‍यो। अझै पूर्वप्रधानमन्त्री समेत बनिसकेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा आफ्नो धर्मपत्नीकै साथ कुटाइ खानुपर्‍यो। अहिले उनको पछिल्लो अभिव्यक्ति अनुसार आफूलाई मार्ने षड्यन्त्रमा आफ्नै पार्टीका तत्कालीन महामन्त्री गगन थापाले व्यक्तिहरू परिचालन गरेको गम्भीर आरोपसमेत आएको छ। समयले थप सत्यहरू उजागर गर्दै पनि जाला।

तर राजनीतिका यी अनकन फोहोरी हर्कतभन्दा माथि आजको मुख्य सवाल नेपाली कांग्रेसको वैचारिक धरातलको हो। नेपालको राजनीतिमा आफूलाई जेठो पार्टी दाबी गरेर मात्रै वा हिजोका अग्रजहरूको योगदानको ब्याज खाएर मात्रै कांग्रेसले भोलिको समयमा आफ्नो औचित्य पुष्टि गरिरहन सक्दैन। 

स्थापनाको समयदेखि अहिलेसम्ममा सायदै काँग्रेस सबैभन्दा बढी विचार शून्य अवस्थामा छ र केवल पद प्राप्तिको लडाइँमा मात्र सीमित देखिन्छ। विशेष र नियमित महाधिवेशनको नाममा कांग्रेस अब प्राविधिक रूपमा मात्र विभाजित हुन बाँकी रहेको छ। तर यो विभाजन कुनै वैचारिक जगमा उभिएको विभाजन भने पटक्कै होइन। यो केवल राजनीतिलाई सतरन्जको खेल सम्झिनेहरूको परिणामहीन कुकृत्य मात्र हो। यसलाई पुष्टि गर्ने केही आधारहरू छन्। 

गत वर्षको भाद्रमा जेनजीआन्दोलनको भावना/मर्मको नाममा भाद्र २२ गतेसम्म भागबन्डामा मग्न नेताहरू भाद्र २५ देखि नेतृत्व हत्याउने हतारमा देखिन पुगे। भातृ संगठनको जगमा पार्टीको महामन्त्रीजस्तो जिम्मेवार पदमा आसीन नेताहरू आफ्नो पूरा कार्यकालभरि कुनै भातृ संगठनको अधिवेशनको पक्षमा न कतै बोले न त कुनै पहलकदमी देखाए। 

अझै भद्दा नेविसंघ र तरुण दलमा आफ्ना मान्छेहरू भन्दै भागबन्डाको बार्गेनिङमा यिनलाई निकम्मा बनाउन लागिपरे , त्यसकै फलस्वरूप युवाहरूको असङ्गठित आवाजले जेनजी आन्दोलनको नाममा विनाशको रूप लियो। फेरि उल्टै सारा दोष अरूमाथि पन्छाएर आफू पानीमाथिको ओभानो देखिन रत्तीभर लाज मानेनन्,हिचकिचाएनन्।

अब प्रश्नहरू आउँछन् , नेपाली कांग्रेसको मुख्य समस्या नीति हो वा नेतृत्व ? शेरबहादुर देउवाको अनुहार फालेर गगन थापा वा कसैको अनुहार देखाउँदैमा पार्टी मजबुत भइहाल्ने भए हालै सम्पन्न निर्वाचनको परिणाममा कांग्रेसको नयाँ सभापति बनेर आएँ भनेकै व्यक्तिको र पार्टीका सबैजसो उम्मेदवारहरूको निर्वाचनमा लज्जास्पद पराजय कसरी हुन पुग्यो ?

महाधिवेशन भनेको सभापति वा पदाधिकारी फेर्ने अभ्यास मात्र हो वा वैचारिक मन्थनको प्रक्रिया पनि हो ?

नेपालको शासन व्यवस्थामाथि जनताको जबरजस्त अविश्वास पैदा भयो , किन? त्यो अविश्वास पैदा हुनुमा तत्कालीन माओवादसहित सबै दल जिम्मेवार छन्। तर कांग्रेस किन र कुन अर्थमा के के कारण बढी जिम्मेवार छ? त्यसको रिफ्लेक्सन कांग्रेसको अन्तर पार्टी संघर्षमा देखिन्छ , कसरी?

अहिलेको कांग्रेसको आन्तरिक अवस्थाले देशको सकारात्मक रूपान्तरणमा सिर्जना हुन सक्ने अवरोधहरू कस्ता छन्? ती अवरोधहरू सिर्जना हुनुमा कांग्रेसको आन्तरिक शक्तिसङ्घर्ष किन र कसरी जिम्मेवार छ?

अहिले जसरी विशेष महाधिवेशन जसलाई ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेको भनिएको छ , त्यो समूहलाई आवश्यक लाग्यो भन्ने बित्तिकै अर्को पक्षलाई निषेध गरेर आफ्नै पार्टी पङ्क्तिलाई दास र लासको संज्ञा दिने हर्कतले कांग्रेसको भलो हुन्छ ?  

हिजो स्थापना कालदेखि कांग्रेसमा बिपी सुवर्णको बिचमा होस् वा केही समय अघिसम्म शेरबहादुर देउवा र कोइराला परिवारको अन्तर सङ्घर्षको बिचमा ! सबै समयमा नेताहरूले संवाद र सहमतिकै बाटो रोजेर पार्टी एक राखेका हुन् भने अहिले विशेष महाधिवेशनको गलत प्रयोग (लुप होल)को सहारा लिएर पार्टी विभाजन गर्नुको प्रयोजन के हो ?

यावत् प्रश्नहरू इतिहासले सोध्ने नै छ।

आज जे सतहमा देखिएको छ यो सरासर वैचारिक स्खलनको दिशातर्फ उन्मुख हर्कतहरु हुन् । तर , सङ्कटले आविष्कारको अवसर पनि दिएकै हुन्छ। अबको कांग्रेस फेरिपनी तब मात्र जनताको अघि सार्थक साबित हुनसक्छ जब कांग्रेस आफ्नो वैचारिक स्खलनको बाटोबाट वैचारिक पुनर्ताजगीको बाटोमा आइपुग्नेछ।

वैचारिक पुनर्ताजगी के हो ? बिपी कोइरालाले समाजवादको सन्दर्भमा भन्नुभएको एक हरफको मद्दत लिन चाहन्छु , "हाम्रो मुलुक गरिब छ , हाम्रो मुलुक किसान छ , जुन नीति र कार्यक्रमबाट गाउँमा बस्ने किसानहरूको भलाई हुन्छ त्यही अवधारणा नै नेपालको समाजवादी अवधारणा हो।" तर आजको दिनमा उत्पादनको साधन बदलिएको छ। 

हिजो बिपीको समयको हलो,कोदालो वा दुहुनो गाईलाई हामी बिम्बात्मक रुममा मनन गर्दै आजको प्रविधियुक्त विश्वमा नेपालका जनतालाई कसरी समृद्धितर्फ उन्मुख गर्न सकिन्छ भन्नेमा मुख्य ध्यान दिनु आवश्यक छ। भूमण्डलीकरण वा पुजीवादबाट समाजको बढ्दो उचनीचको खाडललाई कसरी भर्न सकिन्छ भन्नेमा अबको चासो देखिनु आवश्यक छ। 

शिक्षा , स्वास्थ्य लगायतका मुख्य विषयमा सबैलाई कसरी समान अवसर प्रदान गर्न सकिन्छ भनेर राज्यले र राजनैतिक दलहरूले सोच्न जरुरी छ। जाति, पेसा, भाषा, वर्ण, लिङ्ग, भूगोलको आधारमा हुने विभेदलाई हटाई नेपाललाई अनेकतामा एकता भएको देशको रूपमा सिद्ध गर्न गरिनुपर्ने कार्यक्रमहरूको चर्चा हुनु जरुरी छ।  

बदलिँदो विश्व राजनीति र यसको प्रभावको सन्दर्भमा हाम्रो मुलुकको साझा लक्ष र चुनौतीहरूको बिस्तारमा  छलफल हुनु आवश्यक छ। यी सबै उत्तरदायित्व नेपालको राजनीतिमा अझैसम्म पनि नेपाली कांग्रेसकै हो। अन्तरपार्टी संघर्षमा अनकन बिचारहरूको साझा प्रतिनिधित्व खोज्दै , राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा एकताको मध्य बिन्दु खोज्न सक्ने क्षमता कांग्रेसमा छ र सबै विषयहरूलाई निष्कर्षमा पुर्‍याउनुपर्ने अभिभारा समेत अझैसम्म पनी कांग्रेसको काँधमा छ। तर कांग्रेस बरालिएको देखिएको छ। 

'मियो बिनाको दाइँ ' भनेझैँ वा ' कुहिरोको काग ' भनेझैँ कांग्रेसले अहिले आफ्नो गति, दिशा र लक्ष पहिल्याउन सकिरहेको छैन। लामो वादविवादबाट सही बिचार ठम्याउन सक्नुपर्ने अवस्थामा अहिले तर्कभन्दा बढी कुतर्क , एकतामा भन्दा बढी आपसमा अनावश्यक पौठेजोरी खोज्नमा कांग्रेस मग्न देखिन्छ। अब सारा समस्याको एक मात्र हल भनेको पानी धमिल्याएर माछा मार्ने पदलोलुप , महत्वाकांक्षी र अवसरका भोगिहरुविरुद्ध कांग्रेसका सम्पूर्ण युवा , तरुण र अग्रजहरू एक ढिक्का भई तिनको सही पहिचान गरी तिनलाई परास्त गर्नुमा नै छ। 

भोलिको दिनमा कांग्रेसको वैचारिक धरातलको जग नै यहाँको लोकतन्त्र र देशको भविष्यसँग जोडिएको छ। यसरी आदर्श र बिचारलाई तिलाञ्जली दिँदै फगत चिन्हको लडाइँमा कांग्रेस मग्न रहने हो भने यो कांग्रेसजनका लागि मात्र होइन समग्र देश र यहाँको समग्र लोकतान्त्रिक व्यवस्थाकै लागि अभिशाप सिद्ध हुने निश्चित देखिन्छ। 

जनताको ठुलो त्याग , तपस्या र साहदत्तपश्चात् प्राप्त यो व्यवस्थाको जगमा अझै थुप्रा उपलब्धिहरू हासिल गर्नतर्फ उद्धत हुनुपर्ने कांग्रेस अहिलेको निर्णायक समयमा पतन (स्खलन)को  बाटो नरोजोस् , एउटा उन्नत र परिष्कृत बिचारको साथ जनताको मनमा हाजिर बनोस्। 

केन्द्रमा जुँघाको लडाइँमा मग्न बन्दै जाँदा कसैको आफ्नो व्यक्तिगत अभीष्ट त पूरा होला तर वडा,पालिका तहमा निस्वार्थ भावनाले पार्टीमा आबद्ध लाखौँ सदस्यहरूको मनमा ठेस पुग्नेछ। यसरी शिथिल अवस्थामा आसन्न निर्वाचनमा होमिँदै गर्दा पार्टीको कुन हबिगत रहने हो भन्नेमा पार्टीका जिम्मेवार नेतृत्व पंक्ति बेलैमा होसियार हुनु आवश्यक छ। समयमै कुवा खने पछि सहज होला , घरमा आगो लागिसकेपछि कुवा खन्न हिँड्नुको कुनै तुक हुनेछैन । (नेपाल कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन्।)
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस