विद्यालयीकरणको चपेटामा प्रारम्भिक बाल विकास र बालशिक्षा
०२ मंसिर २०८३
•
१४ मिनेट पाठ
विद्यालयीकरणको चपेटामा प्रारम्भिक बाल विकास र बालशिक्षा
प्रारम्भिक बाल विकास र बाल शिक्षा (इसिइडी) को प्राथमिक ध्येय बालबालिकाको सर्वाङ्गीण (शारीरिक, संवेगात्मक, सामाजिक, भाषिक तथा संज्ञानात्मक) उन्नति हासिल गराउनु हो। यस्तो विकास पाठ्यपुस्तक कण्ठ पार्ने परिपाटीबाट नभई खेल, जिज्ञासा, स्वतन्त्र खोज र स्नेहमय अन्तरक्रियाद्वारा सम्भव हुन्छ। यद्यपि, नेपालमा विगत दुई दशकयता इसिइडीका कार्यक्रमहरू तीव्र रूपमा विद्यालयीकरण (स्कुलिफिकेशन) को सिकार बनिरहेका छन्।




विद्यालयीकरण भन्नाले प्रारम्भिक बाल्यकालको सिकाइ परिवेशलाई औपचारिक विद्यालयको साँचोमा ढाली डेस्क–बेन्च, किताब–कापी, गृहकार्य एवं परीक्षातर्फ मोड्ने अनि बालबालिकाको प्राकृतिक खेल, सिर्जनशीलता र बालसुलभतालाई पाखा लगाउने अभ्यास हो। हामीले विभिन्न मञ्चहरूमा यस विद्यालयीकरण र औपचारिक विद्यालयजस्तो बनाउने प्रवृत्तिप्रति निरन्तर ध्यानाकर्षण गराउँदै यसले इसिइडीलाई केबल ‘विद्यालय प्रवेशको तयारी’ मा सीमित तुल्याएको कुरा प्रस्ट पार्दै आएका छौँ।

बाल्यकाललाई वयस्क जीवनको तयारीका रूपमा मात्र बुझ्नु हुँदैन। बाल्यकाल आफैँमा पूर्ण, अर्थपूर्ण र अधिकारसम्पन्न जीवनको अवस्था हो। त्यसैले इसिइडीको सफलता बालबालिकाले कति अक्षर चिने, कति शब्द लेखे वा कति गणितीय प्रश्न हल गरे भन्ने आधारमा मात्र मापन गर्न सकिँदैन। उनीहरू कति सुरक्षित, आत्मविश्वासी, जिज्ञासु, सिर्जनशील, आत्मनिर्भर र सामाजिक रूपमा सक्रिय बने भन्ने कुरा उत्तिकै महत्वपूर्ण हुन्छ। यस अर्थमा बाल्यकालको संरक्षण, सम्मान र प्रर्वद्र्धन इसिइडीको शैक्षिक मात्र नभई नैतिक, सामाजिक र अधिकारसम्बन्धी दायित्व पनि हो।

विद्यालयीकरणका स्वरूपहरू

विद्यालय तयारी (स्कुल रेडिनेस) र विद्यालयीकरण (स्कुलिफिकेसन) समानार्थ अवधारणा होइनन्। विद्यालय तयारी भन्नाले बालबालिका विद्यालय प्रवेश गर्दा आवश्यक पर्ने आधारभूत शारीरिक, सामाजिक, संवेगात्मक, भाषिक तथा संज्ञानात्मक क्षमताको समग्र विकासलाई बुझिन्छ। यसको विपरीत विद्यालयीकरणले प्रारम्भिक बाल्यकालकै सिकाइलाई औपचारिक विद्यालयको पाठ्यक्रम, समयतालिका, अनुशासन, परीक्षा र उपलब्धिमुखी प्रतिस्पर्धाको ढाँचामा सीमित गर्छ।

वास्तविक विद्यालय तयारी बालबालिकालाई विद्यालयको दबाबअनुसार ढाल्नु होइन, विद्यालयलाई बालबालिकाको विकासात्मक आवश्यकता र विविधता (डिएपी) अनुसार तयार गर्नु हो। नेपालमा विद्यालयीकरण चार प्रमुख स्वरूपहरूमा प्रकट भएको पाइन्छ।

क. स्थानीय सांस्कृतिक तथा सामाजिक सन्दर्भ

यसमा आयातित मोडेलहरूको अन्धाधुन्ध प्रयोगलाई लिन सकिन्छ। विशेषगरी विकसित भनिएका शैक्षिक प्रणालीबाट सीधै अनुकरण गरिएका प्रि–स्कुल र तथा कथित ‘इन्टरनेसनल’ पाठ्यक्रमहरूलाई नेपाली भाषा, स्थानीय परिवेश, मौलिक संस्कृति र बालबालिकाको दैनिक जीवन जगतसँग जोड्ने कुनै गम्भीर प्रयास नगरी तिनिहरूलाई अँगाल्ने प्रवृत्ति व्यापक रूपमा बढेको छ। यसले इसिइडीलाई बालबालिकाको स्वाभाविक विकासको माध्यम बनाउनुको सट्टा एउटा ‘आयातित परियोजना’ मा सीमित गरिदिएको छ।

ख. औपचारिक शैक्षिक सामग्रीको अत्यधिक प्रयोग

चार वर्षभन्दा कम उमेरका साना बालबालिकाका लागि पनि पाठ्यपुस्तक, अभ्यास पुस्तिका, कापी र निरन्तरको लेखन अभ्यासलाई अनिवार्य बनाउने प्रवृत्ति व्यापक छ। यस उमेरमा बालबालिकाको सर्वाङ्गीण विकासका लागि खेलकुद, चित्रकला, कथा गायन तथा सामाजिक अन्तरक्रिया मुख्य माध्यम हुनुपर्नेमा थ्री आर (पढ्ने, लेख्ने र गणितीय गणना गर्ने) लाई नै सिकाइको मुख्य मानक मान्ने गरिएको छ। यसले गर्दा बालबालिकाको स्वाभाविक जिज्ञासा, सिर्जनशीलता र मौलिक सोच कुण्ठित हुन पुगेको छ।

ग. कक्षा संरचना र मूल्याङ्कनको अत्यधिक विद्यालयीकृत ढाँचा

प्रारम्भिक बाल विकास र बालशिक्षा केन्द्रहरूमा पनि साना बालबालिकालाई उमेर (अनुकूल खुला तथा लचिलो वातावरण दिनुको सट्टा औपचारिक विद्यालय जस्तै कडा कक्षा संरचनामा बाँध्ने गरिएको पाइन्छ। विद्यालयकृत बेन्च डेस्कको संरचनाले उनीहरूको शारीरिक तथा प्राकृतिक सिकाइको चाहनालाई पूर्णरूपमा नियन्त्रण गर्छ।

घ. कानुनी व्यवस्था

नेपालको विद्यमान कानुनी व्यवस्थाले चार वर्ष उमेर पूरा गरेका बालबालिकाका लागि कम्तीमा एक वर्षको प्रारम्भिक बाल विकास तथा शिक्षा सुनिश्चित गरेको छ। राष्ट्रिय प्रारम्भिक बाल विकास रणनीति, २०७७–२०८८ ले गर्भावस्थादेखि आठ वर्षसम्मको अवधिलाई समेट्दै स्वास्थ्य, पोषण, सुरक्षा, संरक्षण, हेरचाह र प्रारम्भिक सिकाइलाई एकीकृत रूपमा हेरेको छ। यस सन्दर्भमा चार वर्षभन्दा कम उमेरका बालबालिकाका लागि आवश्यक विकास अनुकूल हेरचाह (केयर) सुरक्षित वातावरण, पोषण, खेल र सामाजिक अन्तरक्रियाका अवसरहरूलाई पनि राज्यको नीतिगत जिम्मेवारीभित्र समेटिनुपर्छ।

विशेषगरी घरबाहिर काम गर्ने अभिभावक, न्यून आय भएका परिवार र जोखिममा रहेका समुदायका बालबालिकाका लागि गुणस्तरीय बाल हेरचाह केन्द्रको व्यवस्था आवश्यक छ। यसरी (इसिइडी) लाई एक वर्षको विद्यालय प्रवेशपूर्व कार्यक्रमका रूपमा मात्र नभई जन्मदेखि आठ वर्षसम्मको निरन्तर र एकीकृत विकास प्रक्रियासँग जोडेर बुझ्नुपर्छ।

एकीकृत विकासको दृष्टिकोणलाई बेवास्ता गरी अधिकांश अभिभावकहरूमा ‘जति धेरै वर्ष पढाउन सकियो र जति छिटो औपचारिक कापी–कलम समात्न लगाइयो, उति नै राम्रो इसिइडी  हुन्छ’ भन्ने गलत धारणा व्याप्त छ। अभिभावकको यही मानसिकताले प्रारम्भिक बाल विकासलाई एउटा गलत शिक्षा परियोजनना (मिसएजुकेशन प्रोजेक्ट) मा परिणत गरिएको छ।

विद्यालयीकरणलाई अभिभावकको व्यक्तिगत चाहना वा विद्यालयको शिक्षण अभ्यासमा मात्र सीमित गरेर बुझ्नु पनि पर्याप्त हुँदैन। यो नेपालको शिक्षा प्रणालीभित्र विकसित हुँदै गएको एउटा संरचनागत समस्या पनि हो। निजी शैक्षिक संस्थाहरूबीचको प्रतिस्पर्धा, अङ्ग्रेजी माध्यमप्रतिको सामाजिक आकर्षण, छिटो शैक्षिक उपलब्धि देखाउने दबाब, व्यावसायिक पाठ्यपुस्तक तथा शैक्षिक सामग्रीको बजार र प्रारम्भिक बाल शिक्षामा प्रभावकारी नियमनको अभावले विद्यालयीकरणलाई थप संस्थागत बनाएका छन्।

यसरी बाल्यकाल क्रमशः शैक्षिक प्रतिस्पर्धा र उपभोगको वस्तुमा रूपान्तरण हुने जोखिम बढेको छ। त्यसैले विद्यालयीकरणको समाधानका लागि अभिभावक सचेतना मात्र पर्याप्त हुँदैन, शिक्षा प्रणाली, संस्थागत अभ्यास, नियमन र बजार संरचनामा समेत परिवर्तन आवश्यक छ।

विद्यालयीकरणका गम्भीर प्रभावहरू

विद्यालयीकरणले प्रारम्भिक बाल विकासका लक्ष्यहरूलाई विकृत मात्र गरेको छैन, यसले बालबालिकाको विकासमै दीर्घकालीन मुख्यगरी निम्न नकारात्मक असर पु¥याएको देखिन्छः

संज्ञानात्मक र सामाजिक–संवेगात्मक विकासमा नकारात्मक असर

नेपाली इसिइडीका सन्दर्भमा विद्यालयीकरण मुख्यतया चार स्वरूपमा प्रकट भएको पाइन्छ। पहिलो, रैथाने ज्ञान र स्थानीय परिवेशलाई बेवास्ता गर्दै पश्चिमा तथा आयातित प्रि–स्कुल मोडेलहरूको अन्धाधुन्ध प्रयोग गर्नु। दोस्रो, चार वर्षभन्दा कम उमेरका बालबालिकालाई पनि घोकाउने र औपचारिक कापी किताब तथा गृहकार्यको भार थोपर्नु।

तेस्रो, कक्षा संरचना, शिक्षक–केन्द्रित कण्ठा गर्ने शिक्षण विधि र प्राप्ताङ्कमा आधारित नतिजामुखी मूल्याङ्कन ढाँचा अँगाल्नु। चौथो, अतिरिक्त व्यापारिक कक्षाहरू सञ्चालन गरी प्रारम्भिक बाल शिक्षाको मानमर्दन गर्नु।

तनाव र मनोवैज्ञानिक भार

प्रारम्भिक बाल्यकालमा बालबालिकामाथि थोपरिने अत्यधिक विद्यालयीकरणले उनीहरूको मानसिक र मनोवैज्ञानिक स्वास्थ्यमा गम्भीर नकारात्मक असर पारिरहेको छ। साना बालबालिकाले छिटो अक्षर चिन्नु, अङ्ग्रेजी बोल्नु वा धेरै हिसाब गर्नुलाई नै उत्कृष्ट बाल विकास मान्ने गलत धारणाका कारण विद्यालयहरू पनि कण्ठ गर्ने प्रणाली र विधि अपनाउन बाध्य छन्।

सरकारले पनि सही पैरवी र स्रोतको व्यवस्था गर्न उदासिन रहँदा यो क्षेत्रको सही विकास भएको देखिन्न। पाँच वर्ष वा सोभन्दा कम उमेरका साना बालबालिकालाई उनीहरूको विकासक्रम अनुकूल नहुने गरी ‘कक्षा १’ वा सोभन्दा माथिल्लो तहको कठिन पाठ्यक्रम घोकाउने, दैनिक कापी–कलममा सीमित गराई अनिवार्य गृहकार्य दिने र लिखित परीक्षाको सामना गर्न बाध्य पारिँदा उनीहरूमा निरन्तरको चिन्ता, मानसिक तनाव र असफलताको डर पैदा हुन्छ।

दबाब र असमानताको विस्तार

इसिइडीमा देखिएको अत्यधिक विद्यालयीकरणले बालबालिकाको समग्र मानसिक स्वास्थ्य, संवेगात्मक विकास र सामाजिक सम्बन्धहरूमा गम्भीर असर पारिरहेको छ। साना बालबालिकालाई उनीहरूको उमेर र क्षमताभन्दा माथिल्लोस्तरको औपचारिक पाठ्यक्रम घोकाउने, दैनिक गृहकार्यको बोझ थोपर्ने तथा लिखित परीक्षाको सामना गर्न बाध्य पारिने अभ्यासले उनीहरूमा मानसिक तनाव र चिन्ता सिर्जना गर्दछ।

प्रारम्भिक बालविकासमा सरकारको कम लगानीले एक प्रकारको विषम अवस्था उत्पन्न भएको छ। आर्थिक रूपमा विपन्न परिवारका बालबालिका महँगा निजी प्रि–स्कुलको प्रतिस्पर्धामा पछि पर्ने अवस्था सिर्जना हुन्छ। ठिकै शुल्क लिएर चलाइएका निजी, सामुदायिक र धेरै शुल्क असुल्ने (इसिइडी)  केन्द्रहरूबीचको शुल्कमा भएको खाडलले प्रारम्भिक वर्षदेखि नै सामाजिक विभाजनलाई संस्थागत गर्न सक्छ। इसिइडी क्षेत्रमा सरकारले लगानी बढाई स्रोतको सुनिश्चितताका साथ गरिब परिवारका बच्चाहरूका लागि गुणस्तरीय इसिइडीको व्यवस्था गर्नु जरूरी छ।

सांस्कृतिक विरासत र भाषिक पहिचानको क्षय

विद्यालयीकृत इसिइडीले नेपाली र मातृभाषा, लोककथा, स्थानीय खेल र सामुदायिक ज्ञान प्रणालीलाई पाठ्यक्रमबाट बाहिर पार्दै लगेको छ। साना बालबालिकालाई उनीहरूको मौलिक परिवेशबाट टाढा राखेर आयातित, अङ्ग्रेजी माध्यम वा औपचारिक ढाँचाका विषयवस्तु घोकाउनाले उनीहरू आफ्नै भाषिक जग र सांस्कृतिक पहिचानबाट विमुख हुने खतरा बढेको छ।

बालबालिकाले मातृभाषा वा स्थानीय भाषामार्फत अभिव्यक्ति व्यक्त गर्ने प्राकृतिक अवसर नपाउँदा उनीहरूको भाषिक सामथ्र्य, मौलिक शब्दावली र अभिव्यक्ति क्षमतामा सङ्कुचन आउँछ।

यसैगरी, हाम्रा रैथाने लोककथा, गीतिकथा र हजुरआमा हजुरबाबाले सुनाउने परम्परागत दन्त्यकथाहरू ओझेलमा पर्दै गएका छन्। यी लोककथाहरू केबल मनोरञ्जनका साधन मात्र नभई जीवनमूल्य, नैतिकता र सामाजिक दायित्व हस्तान्तरण गर्ने महत्वपूर्ण माध्यम थिए। साथै, घुर्रा, डन्डीबियो, चङ्गा, गट्टा, र चुङ्गीजस्ता स्थानीय तथा परम्परागत खेलहरूले बालबालिकाको शारीरिक सुगठन, सामूहिक भावना, सहकार्य र सामाजिक सीपको विकासमा महत्वपूर्ण योगदान पुर्याउँथे। यसका साथै, स्थानीय कालीगढ, किसानहरूले प्रयोग गर्ने व्यावहारिक एवं सामुदायिक ज्ञान प्रणालीलाई समेत ओझेल पारिएको छ।

कार्यक्रम बढ्दै, गुणस्तर खस्कँदै

नेपालमा विगत केही दशकयता इसिइडी कार्यक्रमहरूको सङ्ख्यात्मक विस्तार व्यापक रूपमा भएको छ। सार्वजनिक तथा निजी दुवै क्षेत्रबाट बाल विकास केन्द्र तथा प्रि–स्कुलहरूको पहुँच गाउँ–गाउँसम्म पुगेको छ। जति–जति कार्यक्रमहरूको विस्तार हुँदैछ, उति–उति बाल शिक्षाको मौलिक मर्म र गुणस्तर भने खस्कँदो अवस्थामा पुगेको छ । विशेष गरी शिक्षा ऐनको आठौँ संशोधनपश्चात् प्रारम्भिक बाल विकास केन्द्रहरूलाई औपचारिक विद्यालय ढाँचाभित्र समायोजन गरियो।

नेपालको प्रारम्भिक बाल विकास तथा शिक्षाको वर्तमान अवस्थाले पहुँच र गुणस्तरबीचको अन्तरलाई पनि उजागर गर्छ। युनिसेफको  ‘स्कुल रेडिनेस रिपोर्ट’मा प्रस्तुत शैक्षिक वर्ष २०२३/२४ को तथ्याङ्कअनुसार नेपालमा ४० हजार ६८४ प्रारम्भिक बाल विकास केन्द्र तथा पूर्वप्राथमिक कक्षाहरू सञ्चालनमा थिए। तीमध्ये ८१.२ प्रतिशत सरकारी वा सामुदायिक र १८.७ प्रतिशत निजी क्षेत्रबाट सञ्चालित थिए। यसै अवधिमा प्रारम्भिक बाल शिक्षाको कुल भर्नादर ९९.९ प्रतिशत पुगेको देखिन्छ तर उच्च भर्नादरले मात्र बालबालिकाले प्राप्त गरिरहेको सिकाइको गुणस्तर, अनुभव र विकासात्मक अवसर सुनिश्चित गर्दैन।

तीन चार वर्षका बालबालिकालाई कापी कलम समात्न लगाएर अक्षर र अङ्क घोकाउने, गृहकार्यको बोझ दिने र लिखित परीक्षाका आधारमा मूल्याङ्कन गर्ने विकृत परिपाटीले व्यापकता पाएको छ। यसले अब नेपालको इसिइडी बहस पहुँच विस्तारबाट गुणस्तरीय, समावेशी, अर्थपूर्ण र विकासअनुकूल सिकाइ अनुभवतर्फ केन्द्रित हुनुपर्ने आवश्यकता देखाउँछ।

स्नातकदेखि विद्यावारिधिसम्मको संरचना

यस विरोधाभासलाई चिर्ने प्रण गर्दै निजी, सामुदायिक र सरकारी पक्षसँगको सहकार्यमा  काठमाडौँ विश्वविद्यालयको शिक्षा सङ्काय (कुसोड) ले इसिइडीमा स्नातकदेखि विद्यावारिधिसम्मका शैक्षिक कार्यक्रमहरू सञ्चालनमा ल्याएको छ। यसको मुख्य उद्देश्य पश्चिमा वा आयातित अभ्यासहरू र विद्यालयीकरणलाई चुनौती दिँदै नेपालको स्थानीय, सांस्कृतिक तथा सामाजिकसन्दर्भ अनुकूल इसिइडीको विकास गर्नु हो।

गएको तीन वर्षमा कुसोड अन्तर्गतको समावेशी शिक्षा, प्रारम्भिक बाल विकास तथा व्यावसायिक अध्ययन विभाग (डिआइइपी) ले (इसिइडी) मा स्नातकदेखि विद्यावारिधिसम्मको एउटा पूर्ण शैक्षिक सोपान निर्माण गरेको छ। यसअन्तर्गत पिएचडी, इएमफिल, स्नातकोत्तर (१ र २ वर्षे), पिजिडी, ब्रिज कोर्ष र स्नातक ( ४ वर्षे) जस्ता शैक्षिक कार्यक्रमहरू सञ्चालनमा रहेका छन्। यसका अतिरिक्त भर्खरै युनेस्को चेयर अन्तर्गत (इसिइडी) लगायत अन्य विषयमा पोस्टडक्टरल कार्यक्रमको घोषणा पनि गरिसिकिएको छ।

कुसोडमा हाम्रा अनुसन्धानहरूमा प्रारम्भिक बाल्यकालमा विद्यालयीकरणको प्रभावले स्वाभाविक प्राकृतिक खेल, जिज्ञासा र सर्वाङ्गीण विकासलाई प्राथमिकता दिनुको सट्टा सिकाइ परिवेशलाई औपचारिक विद्यालयको साँचोमा ढाल्ने अभ्यासलाई परेको असर के कस्तो छ भन्ने छ।

अनुसन्धानको अर्काे पक्ष अत्यधिक गृहकार्य र प्राप्ताङ्कमा आधारित नतिजामुखी दबाबले बालबालिकामा कलिलै उमेरमा मानसिक तनाव, चिन्ता र असफलताको भय कसरी पैदा गराउँछ भन्ने हो। नेपाली लोककथा, स्थानीय खेल र मातृभाषा ओझेलमा पर्दा भाषिक तथा सांस्कृतिक पहिचानको क्षय भइरहेको कुरालाई अनुसन्धानको लागि विषय बनाइएको छ।

नेपाल–केन्द्रित इसिइडीका लागि तीन आधारभूत रणनीति

विद्यालयीकरणलाई परास्त गर्न र नेपाल केन्द्रित प्रारम्भिक बाल विकास तथा  प्रारम्भिक बाल शिक्षा निर्माण गर्न निम्न तीनवटा अन्तरसम्बन्धित रणनीतिहरू आवश्यक पर्दछन्ः

क. खेल–आधारित, बाल–नेतृत्व र स्थानीय सन्दर्भमा आधारित सिकाइ

इसिइडीका लगि तयार पाठ्यपुस्तकको ठाउँमा कथा, गीत, स्थानीय खेल, बालुवा–पानीको खेल, र प्रकृति–अन्वेषणले भरिएको हुनुपर्छ। बालबालिकाले आफ्ना जिज्ञासाबाट सिक्न पाउनुपर्छ। शिक्षकको भूमिका निर्देशक होइन, सहजीकरणकर्ताको हुनुपर्छ। डिएपीले बालबालिकाको उमेर, विकासस्तर र सांस्कृतिक पृष्ठभूमिलाई सिकाइको केन्द्रमा राख्छ। यसका लागि शिक्षकहरूलाई मात्र होइन, अभिभावक र समुदायलाई समेत ‘खेल नै सिकाइ हो’ भन्ने कुरामा विश्वस्त बनाउनुपर्छ।

ख. स्थानीय ज्ञान र सांस्कृतिक सन्दर्भलाई पाठ्यक्रमको केन्द्रमा राख्ने

नेपाली समाजको बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय यथार्थलाई इसिइडी पाठ्यक्रममा समेट्नुपर्छ। स्थानीय लोककथा, मौलिक खेल, चाडपर्व, र सामुदायिक ज्ञान प्रणालीलाई सिकाइ सामग्रीका रूपमा प्रयोग गर्दा बालबालिकाले आफ्नो पहिचानसँग जोडिएर सिक्न पाउँछन्।

समुदायसँगको सहकार्यमा विकास गरिएको पाठ्यक्रमले यस दिशामा महत्वपूर्ण कोसेढुङ्गा प्रदान गरेको छ, तर यसलाई थप गहिरो बनाउँदै स्थानीयस्तरमा ‘नेपाली इसिइडी  मोडेल’ विकास गर्नुपर्छ। हाम्रो अनुसन्धान कार्यक्रमले पनि इसिइडी पाठ्यक्रम विकास र कार्यान्वयनजस्ता विषयहरूलाई प्राथमिकता दिएको छ।

ग. नीतिगत सुधार, नियमन र अभिभावक सचेतना

प्रारम्भिक बाल विकासको तथा प्रारम्भिक बाल शिक्षाको उद्देश्य, खेलको महत्व, र औपचारिक पढाइको जोखिमबारे अभिभावक र समुदायमा व्यापक अभियान चलाउनुपर्छ। नीति निर्माताहरूले प्रारम्भिक बाल विकास तथा प्रारम्भिक बाल शिक्षालाई ‘प्राथमिक विद्यालयको तयारी’ होइन, ‘बालबालिकाको अधिकार’ का रूपमा हेर्नुपर्छ।

अनुसन्धान, अभ्यास र नीतिबीचको सम्बन्ध स्थापना

नेपाल–केन्द्रित इसिइडी निर्माणका लागि अनुसन्धानलाई शैक्षिक कार्यक्रमको सहायक गतिविधिका रूपमा मात्र नभई ज्ञान निर्माण र अभ्यास रूपान्तरणको आधारका रूपमा विकास गर्नुपर्छ। यसका लागि विभिन्न भौगोलिक, भाषिक, सांस्कृतिक र सामाजिक परिवेशमा बालबालिकाले कसरी सिक्छन्, खेल्छन्न्। सम्बन्ध निर्माण गर्छन् र आफ्नो संसारलाई अर्थ दिन्छन् भन्ने विषयमा निरन्तर अनुसन्धान आवश्यक छ।

बालबालिका, अभिभावक, सहजकर्ता र समुदायका अनुभवलाई अनुसन्धानको केन्द्रमा राख्दै स्थानीय अभ्यासहरूको दस्तावेजीकरण, विश्लेषण र पुनःव्याख्या गर्नुपर्छ। अनुसन्धानबाट प्राप्त ज्ञानलाई पाठ्यक्रम विकास, शिक्षक तथा सहजकर्ता तयारी, अभिभावक शिक्षा र नीतिगत सुधारमा जोड्नुपर्छ।

बाल्यकाललाई फिर्ता दिने नैतिक दायित्व

विद्यालयीकरणले नेपालको इसिइडीलाई एउटा मौन सङ्कटमा पु¥याएको छ। यसले बाल्यकाललाई ‘हतार’ मा छोटो अवधिमा परिणत गर्दै छ, सिकाइको आनन्दलाई औपचारिकताको भारमा बदल्दै छ, र प्रारम्भिक वर्षदेखि नै गलत शिक्षाको जरा गाड्दैछ तर यो अवस्था अपरिवर्तनीय छैन।

काठमाडौँ विश्वविद्यालयले इसिइडीमा स्नातकदेखि पोस्टडक्टरल कार्यक्रमहरू स्थापना गरेर, समुदायसँगको सहकार्यमा सन्दर्भमुखी पाठ्यक्रम विकास गरेर र विभिन्न मञ्चहरूबाट विद्यालयीकरणको आलोचनात्मक बहसलाई अगाडि बढाएर एउटा वैकल्पिक बाटो देखाउने प्रयत्न गरेको छ। यस दिशामा निजी, सरकारी र सामुदायिक क्षेत्रसँग सहकार्य गर्दै यो परिवर्तनको प्रकृयालाई व्यवहारमा उतार्ने इच्छाशक्ति, संस्थागत प्रतिबद्धता र सामुदायिक सहभागिताको आवश्यकता छ।

- रासस, काठमाडौँ विश्वविद्यालयमा प्राध्यापनरत डा बालचन्द्र लुइटेल, डा रुपा मुनाकर्मी र बबिता महर्जन।
अर्को समाचार
नेपाली कांग्रेस : पुनर्जागृत हुने कि स्खलित ?
०९ मंसिर २०८३
•
७ मिनेट पाठ
नेपाली कांग्रेस : पुनर्जागृत हुने कि स्खलित ?
नेपालमा प्रजातन्त्र स्थापना गर्ने देखी सबै खाले राजनैतिक आन्दोलनहरूमा आफ्नो दर्बिलो उपस्थिति देखाउँदै यस देशको विकास क्रममा नेपाली कांग्रेस कहिले खुम्चिएर त कहिले आम जनताको अभुतपूर्ण समर्थनमा करिब आठ दशकदेखि नेपालको राजनीतिको अग्रमोर्चामा छ।




पहिलो पटक जनताले आफ्नो प्रतिनिधि आफैँ चुन्न पाउनेदेखि, मौलिक हकहरू, समावेशिता, विकास(?)का अनेक पूर्वाधार निर्माणका सवालमा कांग्रेसले महत्त्वपूर्ण योगदान गरेको कुरा अकाट्य छ। नेपालमा बहुदलीय प्रतिस्पर्धात्मक राजनैतिक व्यवस्था , शान्ति प्रक्रिया हुँदै नेपाललाई संघिय लोकतान्त्रिक गणतन्त्रात्मक देशको रूपमा संविधानमै सुनिश्चित गराउने सम्मका काममा नेपाली कांग्रेस सदैव नेतृत्वदायी भूमिकामा रह्यो। 

तर कांग्रेसबाट जनताको अपेक्षा यतिमा मात्रमा सीमित थिएन। हिजोको जहानिया राणाशासन , पञ्चायती व्यवस्थाको विषम परिस्थितिमा समेत डटेर लडेको कांग्रेस आजको यत्तिको अवसरका बिचमा किन लरखराएको छ ? यो नै आम चिन्ताको विषय बनेको छ।

संविधानको कार्यान्वयन , सरकारको पारदर्शिता , भ्रष्टाचार , महँगी , बढ्दो बेरोजगारी , युवा पलायन लगायतका अनकन विषयहरूमा कांग्रेस र यहाँका मुख्य दलहरूमाथि जनताको जबरजस्त अविश्वास पैदा भयो। यही अविश्वासको जगमा समाजमा आक्रोश पैदा गराई देशका महत्त्वपूर्ण धरोहरहरू ; संसद् भवन , राष्ट्रपति कार्यालय ,सिंहदरबार लगायत थुप्रा नेताका घरहरू , व्यावसायिक स्थलहरू , छापाखाना क्षणभरमै खरानी बनाइए। 

नेपाली कांग्रेसको समर्थनमा रहेको तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार शान्ति सुरक्षाको मामिलामा निरीह मात्र रहेन सत्तासीन मन्त्री र सांसदहरूलाई ज्यान जोगाउनै धौधौ पर्‍यो। अझै पूर्वप्रधानमन्त्री समेत बनिसकेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा आफ्नो धर्मपत्नीकै साथ कुटाइ खानुपर्‍यो। अहिले उनको पछिल्लो अभिव्यक्ति अनुसार आफूलाई मार्ने षड्यन्त्रमा आफ्नै पार्टीका तत्कालीन महामन्त्री गगन थापाले व्यक्तिहरू परिचालन गरेको गम्भीर आरोपसमेत आएको छ। समयले थप सत्यहरू उजागर गर्दै पनि जाला।

तर राजनीतिका यी अनकन फोहोरी हर्कतभन्दा माथि आजको मुख्य सवाल नेपाली कांग्रेसको वैचारिक धरातलको हो। नेपालको राजनीतिमा आफूलाई जेठो पार्टी दाबी गरेर मात्रै वा हिजोका अग्रजहरूको योगदानको ब्याज खाएर मात्रै कांग्रेसले भोलिको समयमा आफ्नो औचित्य पुष्टि गरिरहन सक्दैन। 

स्थापनाको समयदेखि अहिलेसम्ममा सायदै काँग्रेस सबैभन्दा बढी विचार शून्य अवस्थामा छ र केवल पद प्राप्तिको लडाइँमा मात्र सीमित देखिन्छ। विशेष र नियमित महाधिवेशनको नाममा कांग्रेस अब प्राविधिक रूपमा मात्र विभाजित हुन बाँकी रहेको छ। तर यो विभाजन कुनै वैचारिक जगमा उभिएको विभाजन भने पटक्कै होइन। यो केवल राजनीतिलाई सतरन्जको खेल सम्झिनेहरूको परिणामहीन कुकृत्य मात्र हो। यसलाई पुष्टि गर्ने केही आधारहरू छन्। 

गत वर्षको भाद्रमा जेनजीआन्दोलनको भावना/मर्मको नाममा भाद्र २२ गतेसम्म भागबन्डामा मग्न नेताहरू भाद्र २५ देखि नेतृत्व हत्याउने हतारमा देखिन पुगे। भातृ संगठनको जगमा पार्टीको महामन्त्रीजस्तो जिम्मेवार पदमा आसीन नेताहरू आफ्नो पूरा कार्यकालभरि कुनै भातृ संगठनको अधिवेशनको पक्षमा न कतै बोले न त कुनै पहलकदमी देखाए। 

अझै भद्दा नेविसंघ र तरुण दलमा आफ्ना मान्छेहरू भन्दै भागबन्डाको बार्गेनिङमा यिनलाई निकम्मा बनाउन लागिपरे , त्यसकै फलस्वरूप युवाहरूको असङ्गठित आवाजले जेनजी आन्दोलनको नाममा विनाशको रूप लियो। फेरि उल्टै सारा दोष अरूमाथि पन्छाएर आफू पानीमाथिको ओभानो देखिन रत्तीभर लाज मानेनन्,हिचकिचाएनन्।

अब प्रश्नहरू आउँछन् , नेपाली कांग्रेसको मुख्य समस्या नीति हो वा नेतृत्व ? शेरबहादुर देउवाको अनुहार फालेर गगन थापा वा कसैको अनुहार देखाउँदैमा पार्टी मजबुत भइहाल्ने भए हालै सम्पन्न निर्वाचनको परिणाममा कांग्रेसको नयाँ सभापति बनेर आएँ भनेकै व्यक्तिको र पार्टीका सबैजसो उम्मेदवारहरूको निर्वाचनमा लज्जास्पद पराजय कसरी हुन पुग्यो ?

महाधिवेशन भनेको सभापति वा पदाधिकारी फेर्ने अभ्यास मात्र हो वा वैचारिक मन्थनको प्रक्रिया पनि हो ?

नेपालको शासन व्यवस्थामाथि जनताको जबरजस्त अविश्वास पैदा भयो , किन? त्यो अविश्वास पैदा हुनुमा तत्कालीन माओवादसहित सबै दल जिम्मेवार छन्। तर कांग्रेस किन र कुन अर्थमा के के कारण बढी जिम्मेवार छ? त्यसको रिफ्लेक्सन कांग्रेसको अन्तर पार्टी संघर्षमा देखिन्छ , कसरी?

अहिलेको कांग्रेसको आन्तरिक अवस्थाले देशको सकारात्मक रूपान्तरणमा सिर्जना हुन सक्ने अवरोधहरू कस्ता छन्? ती अवरोधहरू सिर्जना हुनुमा कांग्रेसको आन्तरिक शक्तिसङ्घर्ष किन र कसरी जिम्मेवार छ?

अहिले जसरी विशेष महाधिवेशन जसलाई ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेको भनिएको छ , त्यो समूहलाई आवश्यक लाग्यो भन्ने बित्तिकै अर्को पक्षलाई निषेध गरेर आफ्नै पार्टी पङ्क्तिलाई दास र लासको संज्ञा दिने हर्कतले कांग्रेसको भलो हुन्छ ?  

हिजो स्थापना कालदेखि कांग्रेसमा बिपी सुवर्णको बिचमा होस् वा केही समय अघिसम्म शेरबहादुर देउवा र कोइराला परिवारको अन्तर सङ्घर्षको बिचमा ! सबै समयमा नेताहरूले संवाद र सहमतिकै बाटो रोजेर पार्टी एक राखेका हुन् भने अहिले विशेष महाधिवेशनको गलत प्रयोग (लुप होल)को सहारा लिएर पार्टी विभाजन गर्नुको प्रयोजन के हो ?

यावत् प्रश्नहरू इतिहासले सोध्ने नै छ।

आज जे सतहमा देखिएको छ यो सरासर वैचारिक स्खलनको दिशातर्फ उन्मुख हर्कतहरु हुन् । तर , सङ्कटले आविष्कारको अवसर पनि दिएकै हुन्छ। अबको कांग्रेस फेरिपनी तब मात्र जनताको अघि सार्थक साबित हुनसक्छ जब कांग्रेस आफ्नो वैचारिक स्खलनको बाटोबाट वैचारिक पुनर्ताजगीको बाटोमा आइपुग्नेछ।

वैचारिक पुनर्ताजगी के हो ? बिपी कोइरालाले समाजवादको सन्दर्भमा भन्नुभएको एक हरफको मद्दत लिन चाहन्छु , "हाम्रो मुलुक गरिब छ , हाम्रो मुलुक किसान छ , जुन नीति र कार्यक्रमबाट गाउँमा बस्ने किसानहरूको भलाई हुन्छ त्यही अवधारणा नै नेपालको समाजवादी अवधारणा हो।" तर आजको दिनमा उत्पादनको साधन बदलिएको छ। 

हिजो बिपीको समयको हलो,कोदालो वा दुहुनो गाईलाई हामी बिम्बात्मक रुममा मनन गर्दै आजको प्रविधियुक्त विश्वमा नेपालका जनतालाई कसरी समृद्धितर्फ उन्मुख गर्न सकिन्छ भन्नेमा मुख्य ध्यान दिनु आवश्यक छ। भूमण्डलीकरण वा पुजीवादबाट समाजको बढ्दो उचनीचको खाडललाई कसरी भर्न सकिन्छ भन्नेमा अबको चासो देखिनु आवश्यक छ। 

शिक्षा , स्वास्थ्य लगायतका मुख्य विषयमा सबैलाई कसरी समान अवसर प्रदान गर्न सकिन्छ भनेर राज्यले र राजनैतिक दलहरूले सोच्न जरुरी छ। जाति, पेसा, भाषा, वर्ण, लिङ्ग, भूगोलको आधारमा हुने विभेदलाई हटाई नेपाललाई अनेकतामा एकता भएको देशको रूपमा सिद्ध गर्न गरिनुपर्ने कार्यक्रमहरूको चर्चा हुनु जरुरी छ।  

बदलिँदो विश्व राजनीति र यसको प्रभावको सन्दर्भमा हाम्रो मुलुकको साझा लक्ष र चुनौतीहरूको बिस्तारमा  छलफल हुनु आवश्यक छ। यी सबै उत्तरदायित्व नेपालको राजनीतिमा अझैसम्म पनि नेपाली कांग्रेसकै हो। अन्तरपार्टी संघर्षमा अनकन बिचारहरूको साझा प्रतिनिधित्व खोज्दै , राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा एकताको मध्य बिन्दु खोज्न सक्ने क्षमता कांग्रेसमा छ र सबै विषयहरूलाई निष्कर्षमा पुर्‍याउनुपर्ने अभिभारा समेत अझैसम्म पनी कांग्रेसको काँधमा छ। तर कांग्रेस बरालिएको देखिएको छ। 

'मियो बिनाको दाइँ ' भनेझैँ वा ' कुहिरोको काग ' भनेझैँ कांग्रेसले अहिले आफ्नो गति, दिशा र लक्ष पहिल्याउन सकिरहेको छैन। लामो वादविवादबाट सही बिचार ठम्याउन सक्नुपर्ने अवस्थामा अहिले तर्कभन्दा बढी कुतर्क , एकतामा भन्दा बढी आपसमा अनावश्यक पौठेजोरी खोज्नमा कांग्रेस मग्न देखिन्छ। अब सारा समस्याको एक मात्र हल भनेको पानी धमिल्याएर माछा मार्ने पदलोलुप , महत्वाकांक्षी र अवसरका भोगिहरुविरुद्ध कांग्रेसका सम्पूर्ण युवा , तरुण र अग्रजहरू एक ढिक्का भई तिनको सही पहिचान गरी तिनलाई परास्त गर्नुमा नै छ। 

भोलिको दिनमा कांग्रेसको वैचारिक धरातलको जग नै यहाँको लोकतन्त्र र देशको भविष्यसँग जोडिएको छ। यसरी आदर्श र बिचारलाई तिलाञ्जली दिँदै फगत चिन्हको लडाइँमा कांग्रेस मग्न रहने हो भने यो कांग्रेसजनका लागि मात्र होइन समग्र देश र यहाँको समग्र लोकतान्त्रिक व्यवस्थाकै लागि अभिशाप सिद्ध हुने निश्चित देखिन्छ। 

जनताको ठुलो त्याग , तपस्या र साहदत्तपश्चात् प्राप्त यो व्यवस्थाको जगमा अझै थुप्रा उपलब्धिहरू हासिल गर्नतर्फ उद्धत हुनुपर्ने कांग्रेस अहिलेको निर्णायक समयमा पतन (स्खलन)को  बाटो नरोजोस् , एउटा उन्नत र परिष्कृत बिचारको साथ जनताको मनमा हाजिर बनोस्। 

केन्द्रमा जुँघाको लडाइँमा मग्न बन्दै जाँदा कसैको आफ्नो व्यक्तिगत अभीष्ट त पूरा होला तर वडा,पालिका तहमा निस्वार्थ भावनाले पार्टीमा आबद्ध लाखौँ सदस्यहरूको मनमा ठेस पुग्नेछ। यसरी शिथिल अवस्थामा आसन्न निर्वाचनमा होमिँदै गर्दा पार्टीको कुन हबिगत रहने हो भन्नेमा पार्टीका जिम्मेवार नेतृत्व पंक्ति बेलैमा होसियार हुनु आवश्यक छ। समयमै कुवा खने पछि सहज होला , घरमा आगो लागिसकेपछि कुवा खन्न हिँड्नुको कुनै तुक हुनेछैन । (नेपाल कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन्।)
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ७ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस