हाइक एन्ड बाइक
०२ चैत्र २०६६
•
१९ मिनेट पाठ
हाइक एन्ड बाइक
झुल्किँदो घाम केही कठोर भैसकेको छ। हाम्रो गन्तव्य - सुन्दरीजलबाट हिंडेर चिसापानी (१८ किलोमिटर) र भोलीपल्ट साइकलमा चिसापानीबाट सुन्दरीजल (१६ किलोमिटर) सरर। फाल्गुनको तेस्रो हप्ता होलीको एकदिन अगाडि छालारुपी हाम्रा दुईवटा ह्वीलले सुन्दरीजलको उकालोमा विस्तारै गति सम्हाल्दै छन्। उकालो बाटो अनि घामको रापले जाडो बिर्साइदिएको छ। अघिपछि गर्दै लुकामारीको शैलीमा घाम तगारो बन्ने कोशिस गरिरहेको भानहुन्थ्यो। कहिले पुन्पुरो त कहिले गर्धन, निरन्तर हाम्रा निशाना बनिरहेका छन्।

एउटै गन्तव्य बनाएर उकालो लाग्ने हाम्रो झुन्डमा ५८ जना छन्। सुन्दरीजलसम्म त सबै एकै ठाउँमा थिए, त्यसपछि त्यही हो भेंडा भेंडासित बाख्रा बाख्रासित। सबै स-सानो बथान निर्माणमा निपुर्ण। हाम्रो पनि भुन्ड तयारभो- चौंथो अङ्ग। यात्रामा काठमाडौंस्थित बिभिन्न दूतावासका कर्मचारी, एनजिओ-आइएनजियोका कर्मचारी, सञ्चारकर्मी सबै अटाएका छन्। सबैकोणबाट समावेशी- छाला, पेसा, लिङग, देश....। सबैजना लस्करै हिडेको भए यो वरियात भन्दा कम देखिदैनथ्यो। तर परिचयका हिसावले धेरै धेरैसँग अनभिज्ञ।
बाटोमा जर्किन थाप्लोमा बोकेर तल झर्नेको कमि थिएन। थाहा भयो - यो त कोदाको रक्सी पो रहेछ। काठमाडौंबासीको तिर्खा मेट्न थाप्लोमा डाम बसालेर भए पनि उनीहरु जर्किन बोकेर ओरालो झर्ने गरेका रहेछन्। सुन्दरी जल गाविसले जल र जाँड दुईथरी प्यास मेटाउँदै आएको रहेछ काठमाडौं बासीको। दैनिक झण्डै तीन हजार लिटर (८० मुरी) रक्सि यसरी जर्किन भित्र मानिसको ढाडमा निदाउँदै काठमाडौं झर्ने रहेछ। अनि काठमाडौं पुगेर ब्यूझेपछि शहरका चोक गल्ली थर्काउने।

'रक्सी नबेची घरमा दियो बल्दैन,' सुन्दरीजल उकालोमा भेटिएका एक वृद्ध भन्दैथिए, 'चिया-चुरोट त खानै पर्‍यो नी।'

सबैले राहतको महशुष गरे मुलखर्क स्थित एक होटल पुगेपछि। सधैको मात्रा भन्दा बढि हसुरेर यात्रालाई निरन्तरता दियौं। साथीहरुको झोला अटेसमटेस। जति उकालो चढ्यो साथीहरुको सरिरको आकार पातालिदो झोलाको आकार बढ्दै थियो।

मूलखर्कको उकालो चढेपछि स्पष्छ हुन्छ- गाउँले जिवन हेर्न राजधानीबाट धेरै टाढा गइराख्नु पर्दैन। वास्तविक नेपाल यहाँ छर्लङ्ग देख्न पाइन्छ। बिदेसी सहयात्रीहरु बाटो आडमा कोदाको रक्सी बनाएको हेर्न पाउँदा निकै फुरुङ्ग थिए। 'ओ, दिस इज अ लोकल वाइन, राईट,' नेपाली राम्रैसँग बोल्ने काठमाडा्रै स्थित बेलायत िदुतावासका द्धितीय सचिव हिनेश रजानी भन्दैथिए, 'चाख्न पाइन्छ।' दुइवटा 'स' समय र सहयात्रीका कारण उनले चाख्न भने पाएनन्। तर धेरैका क्यामराको मेमोरी कार्डमा भने यो रक्सी स्वाट्यै पस्यो। रक्सी लरोतरो थिएन, त्यसपछि जङ्गलको यात्रामा क्यामरा मौन थिए।

चिहान डाडाँ पुगियो। 'अब बाटो त्यति उकालो छैन' भन्ने सुनेपछि साथीहरुले राहतको महशुष गरे। आँखा दक्षिण-पश्चिम तिर ओरालो लाग्दा भने सबै निराश भए। त्यसै त कुरुप बनेको काठमाडौं तुयालोले छेक्दा झनै बिरुप देखिएको थियो। 'काठमाडौं कहिले व्यवस्थित र सफा हुने होला?' सबैले सायद यही सोचेका हुनुपर्छ।

अब बाटो जङ्गलको बिचै बिच। बिच बिचमा जम्काभेट भएका लालिगुराँसका फुलले हामीलाई केहीबेर रोक्ने प्रयास गर्दै थिए। रोकिने चान्सनै थिएन, साथीहरुका श्रृखलावद्ध ननभेज जोक्सको वर्षाले यात्रा निकै सहज बनाइरहेको थियो। बाटो भुलिएला भन्ने चिन्तै थिएन। नेपाल पर्यावरण तथा पर्यटन जागरण आधारशिला (नेटिफ) ले बिच बिच भेटिने दोवाटोमा राखेको 'चिसापानी' लेखिएका बोर्डले हामीलाई सघाएको थियो। अघिल्लो वर्ष यही मार्गमा यात्रागर्दा यि बोर्ड देख्न पाइएको थिएन। नेटिफले ठाउँ ठाउँमा केहीबेर सुस्ताउन पाटी समेत बनाउन भ्याइसकेको रहेछ।

सानो खर्कहुँदै अहिले हामी बोर्लाङ्ग भञ्ज्याङ आइपुगेका छौं। हाम्रो यात्राको यो सबैभन्दा अग्लो स्थान हो। चौबिस सय मिटर, यसको उचाई। अबभने बाटो ओरालो। पर तुयालोमा चिसापानी अस्पष्ट देखिएको छ। तुयालो हिमाल र हामीबिच बार बनेर बसेको छ। 'भोली विहान पक्कै हिमाल हेर्न पाइएला' म यही सोच्दै थिएँ। २०१३ सालमा बनाइएका सिढीहुँदै अब आधा घन्टामा हामी चिसापानी पुग्ने छौं।

*********

पञ्चेवाजाको आवाज निकै चर्को सुनिदै छ। अलि नजिक पुगेपछि थाहा भो- यो आवाज हाम्रै स्वागतको लागि गुञ्जिएको रहेछ। प्रवेसद्धार लालिगुरासका फुलले सजाइएको छ। साना केटाकेटी हातमा लालिगुराँसको फुल लिएर उभिएका छन्। प्रत्येक पाहुनालाई लालिगुराँसको थुङ्गा थमाउदै उनीहरु अभिवादन गर्नमा व्यस्त। एकछिन अघिसम्म हिड्दा लखतरान देखिएका सथाीहरु पञ्चेवाजाको तालमा कम्मर मर्काउन थालिसके।

झन्डै चारबजे चिसापानी पुगेको हामीलाई अब आधा घन्टामा साँस्कृतिक कार्यक्रम सुरुहुने जानकारी दिइएको छ। एकछिनको विश्रामपछि सबै एकैठाउँमा भेला- अन्नपूर्ण र बिबिसी होटलको आगनमा। आँगनमा बसेका हामी कोही नुवाकोट त कोही सिन्धुपाल्चोक जिल्लामा उभिएका छौं। तलाखु गाविसमा पर्ने चिसापानी- नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको संगम स्थल हो। पाहुना र स्थानियगरी झण्डै तीनसयको उपस्थिती छ।

आडैमा उभिएका चिसापानी पयर्टन तथा पर्यावरण विकास समितिका अध्यक्ष बिजय केसी भन्दैछन्, 'यहाँ झन्डै ७५ प्रतिशत तामाङ र बाँकी वाहुन-क्षेत्री छन्।' हाम्रो अगाडि हातमा माला, घाटीमा घन्टी, कम्मरमा फुर्पा, जामा, टाउकोमा मावा (पगरी), हातमा डम्फु लिएका पाँच-छ जना उभिएका छन्। सुरु भयो- तामाङहरुको चर्चित नृत्य 'झाक्रि नाँच'।

हे राम राम राम.....
तलाखुको गाँउ
चिसापानीको ठाउँ
बस्न हुने शितल पर्यटक स्थल
नारायण...हरी हरी......
आउँदै गर्नोस है, आउँदै गर्नोस है
बिदेसी पाहुना, स्वदेशी पाहुना
चिसापानी सम्झी आउनोस है
नारायण....हरी हरी.....

झाँकी नाच सकिने वित्तिकै सुरु भयो खैजेडी नाच। स्थानिय भगवान कार्की भट्याउँदैछन्। सबै मुग्द छन् उनको भट्याउने शैलीमा। खैजेडी बजाउँदै नाच्ने पनि कम आकर्षक देखिएका छैनन्। चिसापानीको साँस्कृतिक नृत्यले चलिरहेको चिसो सिरेटोको ख्याल कसैमा थिएन। नृत्य पालैपलो चलिनै रह्यो- पञ्चेवाज, झाक्री, खैजेडी। केही समयपछि यो सबै दोहोरीमा रुपान्तरण भयो। घडीले रातको बाह् बजेको संकेत गर्दै थियो। युवा-युवती बिच दोहोरीको घम्साघम्सी झन् चर्किदै थियो। 'स्यावोई....स्यावोई.....' दोहोरीको बिचबिचमा चिच्चउँदै आफ्ना जवानीका दिन सम्झदै थिए ७१ वर्षिय बालसुन्दर अधिरकारी, 'यस्तो रमाइलो त वाबु यहाँ पहिले कहिल्यै भएको थिएन।' भाइसाथी सुमन थापाले सुत्न जाने संकेत गरे। दोहोरी कति बेला सक्कियो पत्तो भएन।

*********

विहानको सुर्योदय र खुलेको हिमाल हेर्ने सपना चकनाचुर भयो जब जेनी हामीलाई उठाउँदै भन्दैथिइन्, 'मौसम त आज पनि खुलेन।' तै पनि धरखराउँदै हामी झिनो आश लिएर बाहिर निस्कीयौं। हुस्सु र बादल गर्लम्म ओडेर हिमाल कहाँ लुकेको छ भेउ पाउन गाह्ो थियो। मेरो आँखामा ठिक एकवर्ष अगाडि यसै ठाउँमा आउँदाको दृश्य सलबलाउन थाले- आँखाले एकै पटक हेर्न नमिल्ने गरी आँखा सामु हिमाल लमतन्न भएर सुतेका थिए। कहिले पश्चिम त कहिले उत्तर, अनि पूर्व सबै तिर हिमाल नै हिमाल टल्केको देख्दा आँखा विश्राम लिन मानिरहेको थिएन। लागेको थियो टाउको टेबुल फेन झै घुमिरहेछ।

'यहाँबाट धौलागिरीदेखि सगरमाथा हिम श्रृखलासम्म देखिन्छ। नाम चलेका मात्र ३२ ओटा हिमाल यहाँबाट औलाले देखाउँदै गन्न सकिन्छ।' बिजयको आवाजले मलाई वर्तमानमा ल्यायो। बिजयलाई आधार मान्ने हो भने एकै स्थानबाट धेरै हिमश्रृखला देखिने नेपालका केही स्थानमा चिसापानी पनि पर्छ।

२ हजार १ सय ९४ मिटर उचाइमा रहेको चिसापानीमा साना-ठूला गरी १३ वटा होटल रहेछन्। शुक्रबार र शनीबार यहाँ धेरै पाहुना आउने दिन। अलि धेरै पयर्टक आए सुत्ने ठाउँ नै नुपुग्ने। अन्नपूर्ण होटलका सञ्चालक बलदेव केसी भन्दै थिए- 'कहिले काँही बेड त के टेबुल पनि पाउँदैनन् सुत्नलाई पाहुँनाले।' गोसाईकुण्ड, लाङटाङ, हेलम्बु जान तथा फर्कदा धेरै पर्यटक यही मार्ग प्रयोग गर्छन्।

'यो ठाउँ पर्यटकिय दृष्टिले भर्खर बामे सर्दै छ। चिसापानी अहिले जस्तो होला भनेर मैले सोचेको पनि थिईन।', बलदेवले बिगतलाई सम्झे- 'गोठालो आउँदा खैरो छाला भएका मानिस यहाँ टेन्ट गाढेर बसेको देख्थ्यौं। पछि बिस्तारै बुझियो र होटल खोलीयो।' विद्युत र बाटो यहाँका मानिसको पहिलो आवश्यकता बनेको छ। यि दुवै भए होटल व्यवसाय राम्रोसँग चल्ने दाबी उनीहरुको।

चिसापानीको यही सम्भावना देखेर नेटिफले सुन्दरीजल बाट मूलखर्क-चिहान डाँडा-चिसापानी-ढाप-झुले-चौकि भञ्ज्याङ्-नगरकोटहुँदै धुलीखेलसम्म 'कल्चरल ट्रेच रुट' बनाउन खोजेको रहेछ। नेटिफका निर्देशक अरुण क्षेष्ठ भन्दै थिए, 'यो नयाँ रुट होइन, तर ज्यादै कमलाई मात्र यसबारे ज्ञान छ।' उनले यस रुटमा बाइकिङ (साइकल मार्ग) को सम्भावन पनि देखेका छन्। 'आजको हाम्रो बाइकिङ यसैको प्रस्थान विन्दु हो' उनले भने।

*********

नेटिफले उपलब्ध गराएका साइकलमा आफ्नो नम्वर मिलाउन सबै व्यस्त छन्। हामीलाई १० मिनेट अभ्यास गर्न भनिएको छ। तेह्र वर्षपछि साइकलको ह्यान्डील समातेका मेरा हात काम्न थाले। मेरो आँट गल्याम्म गुर्लुम्म सुन्यमा पुग्यो। 'साइकल चलाएर सुन्दरीजल पुग्न सकिएला जस्तो छैन,' साथी मकर क्षेष्ठले भने। सबैको स्थिती उस्तै रहेछ- वर्षैंपछि साइकल यात्रा। हाम्रो झुण्डले निर्णय गर्‍यो, 'जे त होला होला, जाउँ।'

होलीको दिन, विहान दश बजे हामीलाई रातो अबिर लगाएर चिसापानी बासीले बिधाई गर्दैछन्। गाला चुम्दै हुस्सु पश्चिम तर्फ बढ्दै छ। हाम्रो अगाडि साइकलमा उभिएका छन् यम रसाइली। उनले सानैमा दाहिने खुट्टा गुमाएका। एउटा खुट्टाले साइकल चलाएको धेरै भयो उनले। 'जहाँ इच्छा त्यहाँ उपाया' उनी हामीलाई आँट सापट दिदै थिए, 'केही डर लाग्दैन।' हो हाम्रो साइकल यात्राको नेतृत्व आज यमले गर्दैछन्। उनी अगाडि बढेपछि मात्र हामीलाई साइकलको पाइडल ठेल्ने अनुमति दिइएको छ।

बाइकिङ् सुरु भयो। नियम आ-आफ्नै- चलाउने देखि गेयर चेन्ज। सिकाइएका नियम भुले या काम गरेन, पाँच मिनेट अगाडि बढेपछि सबै साइकलका गुरु। पहरा फोरी बनाइएको कच्ची बाटो माथी साइकल चलाउन निकै कठिन। ओरालोमा झनै कठिन। उकालो आउनै नहुने, फुक्त झर्‍यो डोर्‍यायो। हाम्रो यात्राले सानो ढापमा पुगेर एकछिन विश्राम लियो। यहीबाट छुट्टीन्छ नगरकोट र सुन्दरीजल जाने बाटो। नेटिफका प्रविन पौडेल भन्दैथिए, 'अब बाटो निके ओरालो छ र अफ्ठ्यारो पनि। अलि बिचार पुर्‍यानुपर्छ।'

नभन्दै बाटो निकै अफ्ठ्यारो। थोरैमात्र गडबढ भएर साइकल पल्टिए सिधै खोल्सामा। 'ज्यान रहला नरहला' यही सोच्दै विस्तारै जाने निर्णयमा म र मकर पुग्यांैं। दुईमिनेट मात्र के अगाडि बढेका थियौं दुईजना महिला सहयात्री एकैठाउँमा गल्याम्म गुर्लुम्म। धन्न ठूलो चोट लागेन। तर एकजना भने साइकल चलाउन नसक्ने भइन्। उनको उद्धारका लागि एकमित्र मोटरसाइकलमा उपस्थित भए। अर्कि महिला सहयात्रि भन्दैथिइन्, 'साइकल सिक्दा पनि यसरी नाकले टेक्नेगरी लडेकी थिइन।'

त्यसै डराएका हामी, झन् यो दृश्यले सातोपुत्लो लिने नै भयो। सुस्तरी हामी अगाडि बढ्यौं। 'खासै गाह्ो होइन रहेछ यो बाटो....' वाक्य टुङ्गीन नपाउँदै मित्र मकर बालुवामा डाइभ दिन भ्याए। उद्धारटोलीका एक सदस्य त्यही रहेछन्। धन्न खुट्टामा टेप लगाइदिए। 'कस्तो बालुवामा ब्रेक समाइएछ भने,' मकरले स्पष्टीकरण दिए।

मूलखर्क स्थित ठूलो चौरमा महिला समूहको होलीमा एकछिन रमाएर हामी सिधै ओरालो लाग्यौं। बाइकिङको सबैभन्दा कठिन यात्रा यहीनेर थियो। ठाडो ओरालो देखी डराएर केही साथीहरुले उद्धारको लागि हात उठाए। हामी भने रेस पुरा गर्ने धुनमा अगाडि बढ्यौं। धन्न यो ओरालोमा कसैले बल्ड्याङ खाएन। साढे दुई घन्टाको साइकल यात्रापछि बल्तल्ल सुन्दरीजल पुगियो। सबै थकित। सरिरमा नदुखेको भाग कुनै थिएन। केही बेर सुस्ताएपछि साथीहरुको सरीरमा उर्जा थपिदै थियो। अनि त ठूलो स्वरमा मित्रहरु भन्दै थिए, 'ए साथी मलाई फेसबुकमा एड गर्नु है, फोटोहरु हेर्नुपर्छ क्या।' साथीहरु कार्ड हुर्‍याउन थाले। पर्सबाट कार्ड झिक्ने तागत ममा आएन, भने, 'पत्रिकामै हेर्नोस'।
अर्को समाचार
नेपाली कांग्रेस : पुनर्जागृत हुने कि स्खलित ?
०९ मंसिर २०८३
•
७ मिनेट पाठ
नेपाली कांग्रेस : पुनर्जागृत हुने कि स्खलित ?
नेपालमा प्रजातन्त्र स्थापना गर्ने देखी सबै खाले राजनैतिक आन्दोलनहरूमा आफ्नो दर्बिलो उपस्थिति देखाउँदै यस देशको विकास क्रममा नेपाली कांग्रेस कहिले खुम्चिएर त कहिले आम जनताको अभुतपूर्ण समर्थनमा करिब आठ दशकदेखि नेपालको राजनीतिको अग्रमोर्चामा छ।

पहिलो पटक जनताले आफ्नो प्रतिनिधि आफैँ चुन्न पाउनेदेखि, मौलिक हकहरू, समावेशिता, विकास(?)का अनेक पूर्वाधार निर्माणका सवालमा कांग्रेसले महत्त्वपूर्ण योगदान गरेको कुरा अकाट्य छ। नेपालमा बहुदलीय प्रतिस्पर्धात्मक राजनैतिक व्यवस्था , शान्ति प्रक्रिया हुँदै नेपाललाई संघिय लोकतान्त्रिक गणतन्त्रात्मक देशको रूपमा संविधानमै सुनिश्चित गराउने सम्मका काममा नेपाली कांग्रेस सदैव नेतृत्वदायी भूमिकामा रह्यो। 

तर कांग्रेसबाट जनताको अपेक्षा यतिमा मात्रमा सीमित थिएन। हिजोको जहानिया राणाशासन , पञ्चायती व्यवस्थाको विषम परिस्थितिमा समेत डटेर लडेको कांग्रेस आजको यत्तिको अवसरका बिचमा किन लरखराएको छ ? यो नै आम चिन्ताको विषय बनेको छ।

संविधानको कार्यान्वयन , सरकारको पारदर्शिता , भ्रष्टाचार , महँगी , बढ्दो बेरोजगारी , युवा पलायन लगायतका अनकन विषयहरूमा कांग्रेस र यहाँका मुख्य दलहरूमाथि जनताको जबरजस्त अविश्वास पैदा भयो। यही अविश्वासको जगमा समाजमा आक्रोश पैदा गराई देशका महत्त्वपूर्ण धरोहरहरू ; संसद् भवन , राष्ट्रपति कार्यालय ,सिंहदरबार लगायत थुप्रा नेताका घरहरू , व्यावसायिक स्थलहरू , छापाखाना क्षणभरमै खरानी बनाइए। 

नेपाली कांग्रेसको समर्थनमा रहेको तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार शान्ति सुरक्षाको मामिलामा निरीह मात्र रहेन सत्तासीन मन्त्री र सांसदहरूलाई ज्यान जोगाउनै धौधौ पर्‍यो। अझै पूर्वप्रधानमन्त्री समेत बनिसकेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा आफ्नो धर्मपत्नीकै साथ कुटाइ खानुपर्‍यो। अहिले उनको पछिल्लो अभिव्यक्ति अनुसार आफूलाई मार्ने षड्यन्त्रमा आफ्नै पार्टीका तत्कालीन महामन्त्री गगन थापाले व्यक्तिहरू परिचालन गरेको गम्भीर आरोपसमेत आएको छ। समयले थप सत्यहरू उजागर गर्दै पनि जाला।

तर राजनीतिका यी अनकन फोहोरी हर्कतभन्दा माथि आजको मुख्य सवाल नेपाली कांग्रेसको वैचारिक धरातलको हो। नेपालको राजनीतिमा आफूलाई जेठो पार्टी दाबी गरेर मात्रै वा हिजोका अग्रजहरूको योगदानको ब्याज खाएर मात्रै कांग्रेसले भोलिको समयमा आफ्नो औचित्य पुष्टि गरिरहन सक्दैन। 

स्थापनाको समयदेखि अहिलेसम्ममा सायदै काँग्रेस सबैभन्दा बढी विचार शून्य अवस्थामा छ र केवल पद प्राप्तिको लडाइँमा मात्र सीमित देखिन्छ। विशेष र नियमित महाधिवेशनको नाममा कांग्रेस अब प्राविधिक रूपमा मात्र विभाजित हुन बाँकी रहेको छ। तर यो विभाजन कुनै वैचारिक जगमा उभिएको विभाजन भने पटक्कै होइन। यो केवल राजनीतिलाई सतरन्जको खेल सम्झिनेहरूको परिणामहीन कुकृत्य मात्र हो। यसलाई पुष्टि गर्ने केही आधारहरू छन्। 

गत वर्षको भाद्रमा जेनजीआन्दोलनको भावना/मर्मको नाममा भाद्र २२ गतेसम्म भागबन्डामा मग्न नेताहरू भाद्र २५ देखि नेतृत्व हत्याउने हतारमा देखिन पुगे। भातृ संगठनको जगमा पार्टीको महामन्त्रीजस्तो जिम्मेवार पदमा आसीन नेताहरू आफ्नो पूरा कार्यकालभरि कुनै भातृ संगठनको अधिवेशनको पक्षमा न कतै बोले न त कुनै पहलकदमी देखाए। 

अझै भद्दा नेविसंघ र तरुण दलमा आफ्ना मान्छेहरू भन्दै भागबन्डाको बार्गेनिङमा यिनलाई निकम्मा बनाउन लागिपरे , त्यसकै फलस्वरूप युवाहरूको असङ्गठित आवाजले जेनजी आन्दोलनको नाममा विनाशको रूप लियो। फेरि उल्टै सारा दोष अरूमाथि पन्छाएर आफू पानीमाथिको ओभानो देखिन रत्तीभर लाज मानेनन्,हिचकिचाएनन्।

अब प्रश्नहरू आउँछन् , नेपाली कांग्रेसको मुख्य समस्या नीति हो वा नेतृत्व ? शेरबहादुर देउवाको अनुहार फालेर गगन थापा वा कसैको अनुहार देखाउँदैमा पार्टी मजबुत भइहाल्ने भए हालै सम्पन्न निर्वाचनको परिणाममा कांग्रेसको नयाँ सभापति बनेर आएँ भनेकै व्यक्तिको र पार्टीका सबैजसो उम्मेदवारहरूको निर्वाचनमा लज्जास्पद पराजय कसरी हुन पुग्यो ?

महाधिवेशन भनेको सभापति वा पदाधिकारी फेर्ने अभ्यास मात्र हो वा वैचारिक मन्थनको प्रक्रिया पनि हो ?

नेपालको शासन व्यवस्थामाथि जनताको जबरजस्त अविश्वास पैदा भयो , किन? त्यो अविश्वास पैदा हुनुमा तत्कालीन माओवादसहित सबै दल जिम्मेवार छन्। तर कांग्रेस किन र कुन अर्थमा के के कारण बढी जिम्मेवार छ? त्यसको रिफ्लेक्सन कांग्रेसको अन्तर पार्टी संघर्षमा देखिन्छ , कसरी?

अहिलेको कांग्रेसको आन्तरिक अवस्थाले देशको सकारात्मक रूपान्तरणमा सिर्जना हुन सक्ने अवरोधहरू कस्ता छन्? ती अवरोधहरू सिर्जना हुनुमा कांग्रेसको आन्तरिक शक्तिसङ्घर्ष किन र कसरी जिम्मेवार छ?

अहिले जसरी विशेष महाधिवेशन जसलाई ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेको भनिएको छ , त्यो समूहलाई आवश्यक लाग्यो भन्ने बित्तिकै अर्को पक्षलाई निषेध गरेर आफ्नै पार्टी पङ्क्तिलाई दास र लासको संज्ञा दिने हर्कतले कांग्रेसको भलो हुन्छ ?  

हिजो स्थापना कालदेखि कांग्रेसमा बिपी सुवर्णको बिचमा होस् वा केही समय अघिसम्म शेरबहादुर देउवा र कोइराला परिवारको अन्तर सङ्घर्षको बिचमा ! सबै समयमा नेताहरूले संवाद र सहमतिकै बाटो रोजेर पार्टी एक राखेका हुन् भने अहिले विशेष महाधिवेशनको गलत प्रयोग (लुप होल)को सहारा लिएर पार्टी विभाजन गर्नुको प्रयोजन के हो ?

यावत् प्रश्नहरू इतिहासले सोध्ने नै छ।

आज जे सतहमा देखिएको छ यो सरासर वैचारिक स्खलनको दिशातर्फ उन्मुख हर्कतहरु हुन् । तर , सङ्कटले आविष्कारको अवसर पनि दिएकै हुन्छ। अबको कांग्रेस फेरिपनी तब मात्र जनताको अघि सार्थक साबित हुनसक्छ जब कांग्रेस आफ्नो वैचारिक स्खलनको बाटोबाट वैचारिक पुनर्ताजगीको बाटोमा आइपुग्नेछ।

वैचारिक पुनर्ताजगी के हो ? बिपी कोइरालाले समाजवादको सन्दर्भमा भन्नुभएको एक हरफको मद्दत लिन चाहन्छु , "हाम्रो मुलुक गरिब छ , हाम्रो मुलुक किसान छ , जुन नीति र कार्यक्रमबाट गाउँमा बस्ने किसानहरूको भलाई हुन्छ त्यही अवधारणा नै नेपालको समाजवादी अवधारणा हो।" तर आजको दिनमा उत्पादनको साधन बदलिएको छ। 

हिजो बिपीको समयको हलो,कोदालो वा दुहुनो गाईलाई हामी बिम्बात्मक रुममा मनन गर्दै आजको प्रविधियुक्त विश्वमा नेपालका जनतालाई कसरी समृद्धितर्फ उन्मुख गर्न सकिन्छ भन्नेमा मुख्य ध्यान दिनु आवश्यक छ। भूमण्डलीकरण वा पुजीवादबाट समाजको बढ्दो उचनीचको खाडललाई कसरी भर्न सकिन्छ भन्नेमा अबको चासो देखिनु आवश्यक छ। 

शिक्षा , स्वास्थ्य लगायतका मुख्य विषयमा सबैलाई कसरी समान अवसर प्रदान गर्न सकिन्छ भनेर राज्यले र राजनैतिक दलहरूले सोच्न जरुरी छ। जाति, पेसा, भाषा, वर्ण, लिङ्ग, भूगोलको आधारमा हुने विभेदलाई हटाई नेपाललाई अनेकतामा एकता भएको देशको रूपमा सिद्ध गर्न गरिनुपर्ने कार्यक्रमहरूको चर्चा हुनु जरुरी छ।  

बदलिँदो विश्व राजनीति र यसको प्रभावको सन्दर्भमा हाम्रो मुलुकको साझा लक्ष र चुनौतीहरूको बिस्तारमा  छलफल हुनु आवश्यक छ। यी सबै उत्तरदायित्व नेपालको राजनीतिमा अझैसम्म पनि नेपाली कांग्रेसकै हो। अन्तरपार्टी संघर्षमा अनकन बिचारहरूको साझा प्रतिनिधित्व खोज्दै , राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा एकताको मध्य बिन्दु खोज्न सक्ने क्षमता कांग्रेसमा छ र सबै विषयहरूलाई निष्कर्षमा पुर्‍याउनुपर्ने अभिभारा समेत अझैसम्म पनी कांग्रेसको काँधमा छ। तर कांग्रेस बरालिएको देखिएको छ। 

'मियो बिनाको दाइँ ' भनेझैँ वा ' कुहिरोको काग ' भनेझैँ कांग्रेसले अहिले आफ्नो गति, दिशा र लक्ष पहिल्याउन सकिरहेको छैन। लामो वादविवादबाट सही बिचार ठम्याउन सक्नुपर्ने अवस्थामा अहिले तर्कभन्दा बढी कुतर्क , एकतामा भन्दा बढी आपसमा अनावश्यक पौठेजोरी खोज्नमा कांग्रेस मग्न देखिन्छ। अब सारा समस्याको एक मात्र हल भनेको पानी धमिल्याएर माछा मार्ने पदलोलुप , महत्वाकांक्षी र अवसरका भोगिहरुविरुद्ध कांग्रेसका सम्पूर्ण युवा , तरुण र अग्रजहरू एक ढिक्का भई तिनको सही पहिचान गरी तिनलाई परास्त गर्नुमा नै छ। 

भोलिको दिनमा कांग्रेसको वैचारिक धरातलको जग नै यहाँको लोकतन्त्र र देशको भविष्यसँग जोडिएको छ। यसरी आदर्श र बिचारलाई तिलाञ्जली दिँदै फगत चिन्हको लडाइँमा कांग्रेस मग्न रहने हो भने यो कांग्रेसजनका लागि मात्र होइन समग्र देश र यहाँको समग्र लोकतान्त्रिक व्यवस्थाकै लागि अभिशाप सिद्ध हुने निश्चित देखिन्छ। 

जनताको ठुलो त्याग , तपस्या र साहदत्तपश्चात् प्राप्त यो व्यवस्थाको जगमा अझै थुप्रा उपलब्धिहरू हासिल गर्नतर्फ उद्धत हुनुपर्ने कांग्रेस अहिलेको निर्णायक समयमा पतन (स्खलन)को  बाटो नरोजोस् , एउटा उन्नत र परिष्कृत बिचारको साथ जनताको मनमा हाजिर बनोस्। 

केन्द्रमा जुँघाको लडाइँमा मग्न बन्दै जाँदा कसैको आफ्नो व्यक्तिगत अभीष्ट त पूरा होला तर वडा,पालिका तहमा निस्वार्थ भावनाले पार्टीमा आबद्ध लाखौँ सदस्यहरूको मनमा ठेस पुग्नेछ। यसरी शिथिल अवस्थामा आसन्न निर्वाचनमा होमिँदै गर्दा पार्टीको कुन हबिगत रहने हो भन्नेमा पार्टीका जिम्मेवार नेतृत्व पंक्ति बेलैमा होसियार हुनु आवश्यक छ। समयमै कुवा खने पछि सहज होला , घरमा आगो लागिसकेपछि कुवा खन्न हिँड्नुको कुनै तुक हुनेछैन । (नेपाल कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन्।)
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस