१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
खेल

टेबल टेनिसको ओलम्पिक छनोट हुने लक्ष्य

नेपालले पेरिस ओलम्पिक २०२४ का लागि टेबल टेनिसको दक्षिण एसियाबाट छनोट हुने लक्ष्य लिएको छ। सोमबारदेखि नेपालमा ओलम्पिकका लागि दक्षिण एसियाली छनोट हुँदै छ। आगामी जेठ दुई गतेसम्म चल्ने छनोट नकआउट आधारमा हुनेछ। छनोट प्रतियोगिताअघि आइतबार भएको पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक मोहनदास बासुकलाले सुखद नतिजा ल्याउने विश्वास व्यक्त गरेका छन्। 

छनोट प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुँदै छ । नेपालबाट संयोग कपाली, स्यान्टु श्रेष्ठ, नविता श्रेष्ठ र इभाना थापाले चुनौती प्रस्तुत गर्दै छन्। दक्षिण एसियाली छनोटबाट समान १/१ पुरुष र महिला खेलाडीले ओलम्पिकमा स्थान बनाउनेछन्।

प्रशिक्षक मोहनदासले आफ्नै घरेलु मैदानको फाइदा लिई राम्रो प्रदर्शन गर्दै क्वालिफाइङ हुने धेरै सम्भावना रहेको बताए। उनले नेपालले दुई महिनादेखि तयारी गरिरहेको पनि उल्लेख गरे। पछिल्लो भेटमा हाल सहभागी टोलीविरुद्ध राम्रो प्रदर्शन रहेको उल्लेख गर्दै प्रशिक्षक मोहनदासले अनुभवी र क्षमतावान् युवा खेलाडीबाट धेरै आशा रहेको बताए। 

आगामी जुलाईदेखि फ्रान्सेली सहरमा हुने ३३औं गृष्मकालीन ओलम्पिकका लागि दक्षिण एसियाली छनोट प्रतियोगिता हुन लागेको हो।छनोटमा भारत र भुटानबाहेक नेपाल, बंगलादेश, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका खेलाडीले प्रतिस्पर्धा गर्दै छन्। आयोजक अखिल नेपाल टेबल टेनिस संघका अनुसार विश्व वरीयताको शीर्ष आठमा भएकाले भारत छनोटमा सहभागी नहुने भएको हो। 

नेपाली राष्ट्रिय टोलीकी कप्तान नविता श्रेष्ठले आफूले करियरमा पहिलो पटक ओलम्पिक छनोट खेल्न लागेको र त्यो पनि घरेलु मैदानमा खेल्नु सुखद रहेको बताइन् । साथै यो अवसरलाई आफ्नो टोलीले सदुपयोग गर्ने उनको विश्वास छ । छनोट प्रतियोगितामा हरेक देशबाट समान दुई पुरुष र महिलाले प्रतिस्पर्धा गर्नेछन्।

नेपालमा पहिलो पटक टेबल टेनिसको ओलम्पिक छनोट आयोजना हुन लागेको हो। भारतको सहभागिता नहुँदा नेपाल यसको फाइदा उठाउन चाहन्छ। बंगलादेशले सहभागी सबै टोलीका स्तर उस्तै रहेकाले छनोट हुने सम्भावना खुला रहेको धारणा राख्यो। पाकिस्तानले पनि सबै प्रतिस्पर्धी समान स्तरको रहेकाले छनोट हुने सम्भावना रहेको दोहोर्‍यायो। 

श्रीलंकाले भने यो अवसरमा दक्षिण एसियाका हरेक टोली उत्साहित रहने उल्लेख गर्‍यो। अहिलेसम्म नेपालका लागि तेक्वान्दो खेलाडी संगीना वैद्य र दीपक विष्टले मात्र छनोट चरण पार गरेर ओलम्पिक खेलेका छन्।

प्रतियोगताका लागि एसियन टेबल टेनिस युनियनले लेबनानका फाडी कसिसलाई कम्पिटिसन म्यानेजर, भारतका गणेशन नीलकण्ठ एयरलाई रेफ्री र नेपालका तेजेन्द्रसिंह महरालाई टुर्नामेन्ट डाइरेक्टर नियुक्त गरेको छ। 

एसियन टेबल टेनिस युनियनका रिजनल उपाध्यक्ष तथा साउथ एसियन टेबल टेनिस फेडरेसन्सका महासचिव शंकर गौतमले दक्षिण कोरियामा एसियन टेबल टेनिस युनियनसँगको कयौं बैठकपछि यो छनोट प्रतियोगिता नेपाल ल्याउन सफल भएको बताए। 

उनले यस प्रतियोगिताका लागि एसियन टेबल टेनिस युनियनले २५ सय अमेरिकी डलर सहयोग गरेको जानकारी दिए।

यसबीच ओलम्पिकमा चयन हुने नेपाली टेबल टेनिस खेलाडीलाई प्रायोजकमध्ये एक समाजसेवी सुमन खड्गीले जनही एक लाख र रेड टाइल्सका प्रोप्राइटर सुरज केसीले ५० हजार रुपियाँ प्रदान गर्ने घोषणा गरे। 

प्रकाशित: ३१ वैशाख २०८१ १०:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App