८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

सहाना स्मृति भलिबल असार दोस्रो साता

प्रथम सहाना प्रधान स्मृति पुरुष तथा महिला भलिबल प्रतियोगिता असारको दोस्रो सातादेखि हुने भएको छ।

नेपाल भलिबल संघको व्यवस्थापन तथा सहाना प्रधान प्रतिष्ठानको आयोजनामा असार ९ गतेदेखि उक्त प्रतियोगिता हुने भएको हो। साताव्यापी हुने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा खेलाइनेछ।

प्रतिष्ठान र भलिबल संघबीच उक्त प्रतियोगिताका बुधबार पत्रकार सम्मेलनमा सम्झौतासमेत भएको थियो। प्रतिष्ठानकी अध्यक्ष रामकुमारी झाँक्री र भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले सो सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। भलिबल संघले प्रतियोगिताको व्यवस्थापन र प्रतिष्ठानले आर्थिक पक्षमा सहयोग गर्ने सम्झौतामा उल्लेख छ।

प्रतियोगितामा पुरुष/महिलामा सात प्रदेशबाट समान सात टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्। त्यसका लागि सातै प्रदेश भलिबल संघलाई टिम निर्माण गरी सहभागी गराउन आग्रह गर्ने अध्यक्ष चन्दले बताए।

पुरुष/महिला दुवैमा सहभागीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउटमा आधारमा खेलाइनेछ। पुरुष/महिला दुवैमा विजेताले तीन लाख, उपविजेताले दुई लाख र तेस्रो हुनेले एक लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीलाई २५/२५ हजार नगद पुरस्कार प्रदान गरिनेछ। विधागत उत्कृष्टले समान १० हजार नगद पुरस्कार पाउनेछन्।

संघका अध्यक्ष चन्दले कुनै पनि खेलको विकास गर्न ग्रासरुट प्रतियोगिता महत्त्वपूर्ण हुने उल्लेख गर्दै प्रतिष्ठानको सहयोगप्रति आभार प्रकट गरे। उनले प्रतियोगितालाई संघको वार्षिक क्यालेन्डरमा समावेश गर्दै प्रतियोगितालाई निरन्तरता दिने विश्वास व्यक्त गरे।

प्रतिष्ठानकी अध्यक्ष झाँक्रीले उमेरसमूहको यो प्रतियोगितालाई वार्षिक क्यालेन्डरमा समावेश गरेकोमा संघलाई धन्यवाद दिइन्। साथै उनले नेपाली राजनीतिकी अग्रज सहानाको योगदानको सम्मानमा प्रतियोगिता आयोजना गर्न लागेको बताइन्।

प्रकाशित: २७ वैशाख २०८१ ०७:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App