६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

माछापुछ्रे बैंक र एनसेललाई सफलता

माछापुछ्रे बैंक र एनसेल जारी लिजेन्ड्स कर्पोरेट सुपर सिक्सेस सिजन–७ मा समूह चरणको खेलमा अपराजित रहँदै क्वार्टरफाइनलमा पुगेका छन्।

एसएस इभेन्ट्स प्रालि र नेकोसको संयुक्त आयोजनामा मूलपानी क्रिकेट मैदानमा जारी कर्पोरेट सुपर सिक्सेस सिजन–७ मा सोमबार क्वार्टरफाइनल समीकरण पूरा भएको छ। तीनदिने प्रतियोगिताको क्वार्टरफाइनल, सेमिफाइनल र फाइनल मंगलबार नै हुनेछन्। मंगलबारको पहिलो क्वार्टरफाइनलमा माछापुच्छ्रेले सिप्रदी, दोस्रो क्वार्टरफाइनलमा आइसिएफसीले एनआइसी एसियासँग, तेस्रो क्वार्टरफाइनलमा एनसेल लिजेन्ड्सले राष्ट्रिय वाणिज्य बैंक र चौथो क्वार्टरफाइनलमा सुबिसुले सूर्य नेपालसँग प्रतिस्पर्धा गर्नेछन्।

त्यसअघि मूलपानी क्रिकेट मैदानमा भएको खेलमा समूह ‘ए’ को माछापुच्छ्रे र समूह ‘सी’ को एनसेल समान तीन खेल जित्दै समूहविजेताका रूपमा क्वार्टरफाइनलमा पुगेका हुन्। माछापुच्छ्रेले सोमबार समूहमा क्लाउड फ्याक्ट्रीलाई १ रन र एनआइसी एसिया बैंकलाई १ विकेटलाई हराउँदै समूह विजेता बन्यो। यद्यपि, हारका बावजुद एनआइसी समूह उपविजेताका रूपमा दोस्रो चरणमा पुग्यो। एनआइसी एसियाले आइतबार नै दुई जित निकालेको थियो। पाँच ओभरमा भएको कर्पोरेट सुपर सिक्सेस सिजन–७ मा सोमबार १२ खेल भएको थियो।

यता, एनसेल लिजेन्ड्सले सोमबार सूर्य नेपाललाई पाँच विकेट र नेपाल बैंकलाई २३ रनको फराकिलो अन्तरले हराउँदै समूह विजेता भयो। यो समूह ‘सी’ मा तीन खेलको समाप्तिमा सूर्य नेपाल, आइएमई ग्रुप र नेपाल बैंकले समान एक जित निकाले। यद्यपि, नेट रनरेटका आधारमा सूर्य नेपाल क्वार्टरफाइनलमा पुग्न सफल भयो । सूर्य नेपालले सोमबार आइएमई ग्रुपमाथि ११ रनको जित निकालेको थियो। यो नै दोस्रो चरणमा पुग्न पर्याप्त बन्यो। समूह ‘बी’ बाट आइसिएफसी फाइनान्स र सिप्रदी शीर्ष दुईमा रहँदै क्वार्टरफाइनलमा पुगे। 

आइसिएफसी फाइनान्सले सोमबार मूलपानीमा जगदम्बा ग्रुपलाई ५ रन र सिप्रदीलाई १२ रन हरायो। यससँगै समूहमा तीन खेल नै जित्दै आइसिएफसी फाइनान्स दोस्रो चरणमा पुग्यो। सिप्रदीले भने दोस्रो दिन जगदम्बा ग्रुपलाई १५ रन र कुमारी बैंकलाई १४ रनले हरायो। सिप्रदीले एक खेल मात्र गुमाउन पुग्यो। समूह ‘डी’ मा तीन टोलीले मात्र प्रतिस्पर्धा गरेका थिए। तीमध्ये सुबिसु दुई खेलमा अपराजित रहँदै क्वार्टरफाइनलमा पुग्न सफल भयो।

सुबिसुले दोस्रो दिन राष्ट्रिय वाणिज्य बैंकमाथि तीन विकेटको जित निकाल्दै अपराजित यात्रा कायमै राखेको हो। यो समूहबाट राष्ट्रिय वाणिज्य बैंक दोस्रो चरणमा पुग्न सफल भयो। वाणिज्य बैंकले पनि सोमबार एनसेल इलाट्समाथि १३ रनको जित निकाल्यो। यो जित नै वाणिज्य बैंकलाई क्वार्टरफाइनलमा पुग्न पर्याप्त भयो। सोमबार भएका अन्य खेलमा समूह ‘बी’ को जगदम्बा ग्रुपले कुमारी बैंकलाई ४ रन, समूह ‘सी’ को आइएमईले नेपाल बैंकलाई १८ रन, समूह ‘ए’ को प्राइम बैंकले क्लाउड फ्याक्ट्रीमाथि ३० रनको जित निकाल्यो। यद्यपि, यो जित तीनै टोलीका लागि दोस्रो चरणमा पुग्न पर्याप्त भएन।

१५ वटा कर्पोरेट हाउसले प्रतिस्पर्धा गरेको यस सिजनको विजेता र उपविजेताले ट्रफी र गिफ्ट ह्याम्पर पाउनेछन्। साथै विजेताले आगामी सिजन फ्री इन्ट्री पाउने भएका छन्। प्लेयर अफ द टुर्नामेन्ट, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर, बेस्ट फिल्डर र बेस्ट विकेटकिपरले पनि पुरस्कार पाउनेछन्।

प्रकाशित: २५ वैशाख २०८१ ०७:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App