६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

गोकर्णेश्वर नगरपालिका दोस्रो चरणमा

प्रज्ञा स्मृति भलिबल

लगातार दोस्रो जितसहित गोकर्णेश्वर नगरपालिका प्रथम प्रज्ञा स्मृति बाग्मती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको दोस्रो चरणमा पुगेको छ।

ललितपुरको महाङ्काल गाउँपालिकास्थित महाकाल माविको प्रांगणमा भएको अन्तरपालिका भलिबल प्रतियोगितामा समूह ‘ख’ बाट गोकर्णेश्वर दुई जित निकाल्दै दोस्रो चरणमा पुगेको हो।

प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजना भएको प्रतियोगितामा गोकर्णेश्वरले लिखु तामाकोसी गाउँपालिकालाई २५–२० र २५–१६ तथा बेथानचोक गाउँपालिकालाई २५–१७ र २५–१९ ले हराएको हो। यसै समूहमा समान दुई जित नै निकालेको माडी नगरपालिकाले गोकर्णेश्वरलाई चुनौती दियो। माडी र गोकर्णेश्वरले समान प्रतिद्वन्द्वीलाई हराए।

तर, गोकर्णेश्वरले दुवै खेल सोझो सेटमा जित्दा माडीले भने तेस्रो सेटमार्पmत खेल आफ्नो बनाएको हो। अर्को समूह ‘ग’ मा मकवानपुरको बाग्मती गाउँपालिका पनि दुई जित निकाल्दै बलियो अवस्थामा छ। बाग्मतीले यो समूहमा रामेछापको खाँडादेवी गाउँपालिका र पनौती नगरपालिकालाई हराएको हो।

पनौतीले भने समूहको तीनवटै खेलमा पराजय सामना गर्‍यो। खाँडादेवी गाउँपालिकाले पनि दुई जित निकालेको छ। खाँडादेवीले तारकेश्वर नगरपालिका र पनौतीलाई हराएको हो। यस समूहमा बाग्मती र खाँडादेवी बलियो अवस्थामा छन्।

समूह ‘घ’ को थाहा नगरपालिका पनि दोस्रो चरणनजिक पुगेको छ। थाहाले समूहका दुवै खेलमा जितपछि सम्भावना बलियो बनाएको हो। यसै समूहमा घरेलु टोली महाङ्काल ‘बी’ दुवै खेलमा पराजित हुन पुग्यो। समूह ‘घ’ कै भरतपुर महानगरपालिका र ह्याङ्ले गाउँपालिकाले भने समान एक जित निकालेका छन्।

समूह ‘क’ बाट हेटौंडा उपमहानगरपालिकाले दुई जित निकाल्दै दोस्रो चरणको सम्भावना बलियो बनाएको छ। यो समूहमा रहेका जुगल गाउँपालिका र घरेलु टोली महाङ्काल गाउँपालिकाले समान एक जित निकालेका छन्।

खानीखोला गाउँपालिका भने दुई खेलमा जितविहीन छ। लिग कम नकआउटको आधारमा जारी प्रतियोगिताको समूहमा शीर्ष दुई स्थान प्राप्त गर्ने टोली क्वार्टरफाइनल प्रवेश गर्नेछन्।

प्रतियोगिताको विजेताले तीन लाख, उपविजेताले दुई लाख र तेस्रो हुने दुई टोलीले समान १/१ लाख रूपैयाँ पाउनेछन्। उत्कृष्ट प्रशिक्षक र विधागत उत्कृष्ट पाँच खेलाडीले जनही ५० हजार रूपैयाँ पुरस्कार प्रदान गरिनेछ।  

प्रकाशित: २४ वैशाख २०८१ ०७:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App