२९ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

एसिया कप दुआथलनमा हिमाल र मञ्जु च्याम्पियन

नेपालका हिमाल टमाटाले दुआथलन च्याम्पियनसीपको उपाधि जितेका छन्। नेपाल ट्रायथलन एशोसिएसन (एनटिए)को आयोजनामा पोखरामा आयोजित एसियन ट्रायथलन च्याम्पियनसीपको अवसरमा आईतबार भएको दुआथलन प्रतियोगितामा टमाटा प्रथम भएका हुन्। उनले निर्धारित ५ किलोमिटर दौड, २० किलोमिटर साईक्लिङ र पुनः २.५ किलोमिटर दौड ५१ मिनेट २४ सेकेण्डमा पार गर्दै च्याम्पियन भएका हुन्।

ट्रायथलनमा सहभागि भएका अधिकांश विदेशी खेलाडीले मौसमका कारण पोखरा छाडेपछि उनीहरु सहभागि नभएको प्रतिष्पर्धामा नेपालकै नवराज न्यौपानेले १ घण्टा ३ मिनेट ४७ सेकेण्डमा पार गर्दै दोश्रो, लक्ष्मण मल्लले १ घण्टा ४ मिनेट ५८ सेकेण्डमा पार गर्दै तृतीय र रमेश लिम्वुले १ घण्टा ६ मिनेट ५१ सेकेण्डमा पार गर्दै चौथो भए।

च्याम्पियनसीप अन्तर्गत आईतबार नै भएको महिला दुआथलन प्रतियोगितामा पनि नेपाली खेलाडीहरु नै बिजेता बने। प्रतियोगितामा १ घण्टा १९ मिनेट ४५ सेकेण्डमा निर्धारित दुरी पार गरेकी मञ्जुकुमारी खड्का प्रथम, १ घण्टा २३ मिनेट ३६ सेकेण्डमा दुरी पार गरेकी पुष्पा रोकाया द्वितीय र १ घण्टा २८ मिनेट ३४ सेकेण्डमा दुरी पार गरेकी प्रमिला धमला तृतीय भईन्।

च्याम्पियनसीप अन्तर्गत भएको राष्ट्रिय दुआथलन प्रतियोगितामा एसियन दुआथलन च्याम्पियनसीपका बिजेता नै राष्ट्रिय दुआथलन प्रतियोगितामा पनि बिजेता बने। विदेशी खेलाडी नहुँदा एसियन दुआथलन च्याम्पियनसीप जितेका उनीहरु नै राष्ट्रिय प्रतियोगितामा पनि बिजेता घोषित भए। प्रतियोगितामा हिमाल टमाटा प्रथम, नवराज न्यौपाने द्वितीय, लक्ष्मण मल्ल तृतीय र रमेश लिम्वु तृतीय भएको नेपाल ट्रायथलन एशोसिएसन (एनटिए)का उपाध्यक्ष सुमन देवकोटाले जानकारी दिए।

एसियन ट्रायथलन च्याम्पियनसीपमा सहभागि भएकाहरु पोखराको मौसम नखुलेपछि काठमाडौं फर्केका थिए। मौसम नखुलेका कारण दुआथलनमा सहभागी नभई विदेशी खेलाडीहरु बाहिरिएको उपाध्यक्ष देवकोटाले बताए। विदेशी खेलाडीहरुले भाग नलिएपछि नेपाली खेलाडीहरुले दुआथलनमा वर्चस्व जमाएको उनको भनाई छ। ‘विदेशी खेलाडीहरु पोखरामै बसेर दुआथलनमा पनि भाग लिन चाहन्थे,’ उनले भने, ‘तर मौसमले साथ नदिएपछि उनीहरु काठमाडौं फर्किए।’ यसअघि आइतबार भएको एसिया कप ट्रायथलनमा पुरुषतर्फ ईजिप्टका सिफेलडिन ईसमेल र महिलातर्फ ईजराईलका ईड्डा जानेसडोटिर च्याम्पियन बनेका थिए।

प्रकाशित: १६ वैशाख २०८१ १२:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App