२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

इलामको सूर्याेदय आउँदै साठी ओलम्पियन

खेल र खेलाडीका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलामको सूर्याेदय नगरपालिकामा ओलम्पियन खेलाडीको भ्रमण आयोजना गरिने भएको छ। यही वैशाख २१–२२ मा देशका ४० र विदेशका १० ओलम्पियन खेलाडी, खेलपदाधिकारी सूर्याेदयका पर्यटकीय स्थल आउने भएका हुन्।

विशेष गरी इलामको अन्तुडाँडामा हुने ‘तेस्रो ओलम्पियन्स पुनर्मिलन तथा स्पोर्टस् सेलिब्रेटी मिट’ मा सन् १९६४ देखि हालसम्मका ओलम्पियन खेलाडी, अन्तर्राष्ट्रिय ओलम्पियन एसोसिएसन अध्यक्ष र सदस्य गरी १० जना, कोसी प्रदेशका सेलिब्रेटी खेलाडी २५ तथा विभिन्न मिडियामा आबद्ध १५ पत्रकार सहभागी हुनेछन्। 

प्रदेश खेलकुद बोर्डको आयोजना, नेपाल ओलम्पियन्स एसोसिएसनको संयोजन, सूर्याेदय नगरपालिकाको स्थानीय व्यवस्थापन तथा जिल्ला खेलकुद विकास समितिको समन्वयमा स्पोर्ट्स मिट आयोजना गर्न लागिएको हो।

सूर्याेदय नगरपालिकाका मेयर रणबहादुर राईले ओलम्पिकका अन्तर्राष्ट्रिय प्रतियोगिताका विजयी खेलाडीबाट स्थानीय खेलाडीलाई हौसला प्रदान गर्न पनि यो अवसर फलदायी हुने आशा गरेको बताए।

‘हाम्रो नगरले आउँदो २०८३ साललाई खेलकुद वर्ष घोषणा गरिसकेको छ, त्यसका लागि पनि यो कार्यक्रम सहयोगी बन्नेछ,’ उनले भने, ‘विशेष गरी यो कार्यक्रमले सूर्याेदय र इलामलाई नै विश्वमा पर्यटकीय गन्तव्यका रूपमा चिनाउन इँटा थप्नेछ।’

विराटनगरबाट वैशाख २१ गते दिउँसो यी खेलाडीको टोली कन्याम आइपुग्ने छ। २२ गते बिहान अन्तुडाँडाबाट दृश्यावलोकन गर्दै परिचयात्मक कार्यक्रम राखिएको छ। त्यसपछि उनीहरूलाई नगरपालिकाले अभिनन्दन गर्ने र सबैले फोटो सेसन गर्ने कार्यक्रम राखिएको नगरले जनाएको छ। 

जिल्ला खेलकुद विकास समिति अध्यक्ष खगेन्द्र बाँस्तोलाले विश्वका चर्चित र नेपालका ओलम्पियन खेलाडीले इलाम भ्रमण गर्नुले खेल क्षेत्रका लागि ऐतिहासिक उपलब्धि हासिल हुने अपेक्षा गरेको बताए।

‘अहिलेसम्म नेपालका ओलम्पिक खेलाडीको यत्रो ठूलो टिम एकैसाथ इलाम ल्याउन सकिएको थिएन,’ उनले भने, ‘यसले इलामको खेल क्षेत्रमा तरंग त ल्याउने नै छ, यहाँको खेल पर्यटनमा पनि उत्तिकै सघाउ पुग्ने छ।’

प्रकाशित: १२ वैशाख २०८१ ०८:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App