२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

पहिलो दिन भुवनको अग्रता

डिफेन्डिङ च्याम्पियन प्रोफेसनल गल्फर भुवन नगरकोटीले सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन मंगलबार अग्रता लिएका छन्।

यो सूर्य नेपाल गल्फ टुर २०२३–२४ को सातौं प्रतियोगिता हो। पार–६८ को रोयल नेपाल गल्फ क्लबमा भुवनले इभन पार–६८ को स्कोर गर्दै अग्रता लिएका हुन्। शीर्ष स्थानका भुवनले रवि खड्का, भुवनकुमार रोक्का र नीरज तामाङमाथि एक स्ट्रोकको अग्रता बनाएका छन्। रवि, भुवन र नीरजले एक ओभर ६९ मा पहिलो दिनको खेल समाप्त गरे। पूर्णप्रसाद शर्मा, धनबहादुर थापा, जयराम श्रेष्ठ, सञ्जय लामा र दिनेश प्रजापतिले संयुक्त रूपमा पाँचौं स्थान बाँडे। यी पाँचैले दुई ओभर ७० मा पहिलो दिनको खेल पूरा गरे।

पशुपति शर्मा तीन ओभर ७१ को स्कोरसहित दशौं स्थानमा छन्। शीर्ष स्थानमा अग्रता बनाउने क्रममा भुवनले फ्रन्ट नाइन दुई ओभर ३६ मा सकाए। उनको दिनको सुरूआत बर्डीबाट भयो। तर, दोस्रो, तेस्रो र नवौं होलमा भुवन बोगी सामना गर्न पुगे। ब्याक नाइनमा भने उनी सम्हालिए। दशौं, ११औं र १५औं होलमा समान १/१ सट बचाउँदा १७औं होलमा बोगी खेपे। यससँगै उनी ब्याक नाइनमा दुई अन्डर ३२ मा रहे। यो प्रदर्शन मध्यम हो। तर, इभन–पार ६८ नै पहिलो दिनको उत्कृष्ट स्कोर कार्ड बन्न पुग्यो।

एमेच्योरतर्फ टासी छिरिङ र सदभाव आचार्य संयुक्त रूपमा शीर्ष स्थानमा रहेका छन्। उनीहरूले चार ओभर ७२ मा पहिलो दिनको खेल सकाए। नीलकुमार थापा र भरत थापामगरले संयुक्त रूपमा तेस्रो स्थान बाँडेका छन। सूर्य नेपाल गल्फ टुरमा डेब्यु गरेका सुवास तामाङले पहिलो दिन चार ओभर ७२ को प्रदर्शन गरे। उनी समग्रमा एमेच्योरद्वय टासी र सद्भावसँग संयुक्त रूपमा ११औं स्थानमा छन्। चारदिने प्रतियोगितामा ३६ होल समाप्तिपछि कट लागू हुनेछ। यहाँ २१ टप प्रोफेसनल खेलाडीले अन्तिम १८ होलका लागि स्थान बनाउनेछन्।

विजेताले एक लाख २० हजार, उपविजेता र तेस्रो हुने खेलाडीले क्रमशः ८२ हजार र ६६ हजार रूपैयाँ पाउनेछन्। चौथो हुनेले ५५ हजार र पाँचौं हुने खेलाडीले ४३ हजार नगद हात पार्नेछन्। प्रतियोगितामा ३६ होलको समाप्तिसँगै कट लागू हुनेछ र त्यहाँबाट शीर्ष २१ प्रोफेसनल गल्फरले अन्तिम १८ होलका लागि स्थान बनाउनेछन्। शीर्ष २१ भित्र अटाउने गल्फरले नगद पुरस्कार पाउने आयोजकले जनाएको छ। प्रतियोगिताको कुल पुरस्कार राशि सात लाख तीन हजार पाँच सय रूपैयाँ रहेको छ।

प्रकाशित: १२ वैशाख २०८१ ०७:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App