२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

राष्ट्रपति रनिङ सिल्ड: १९ स्वर्णसहित सुदूरपश्चिम टिम च्याम्पियन

सुदूरपश्चिम प्रदेश बिहीबार १४औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा टिम च्याम्पियन बनेको छ।

राष्ट्रपति रनिङ सिल्डको १४औं संस्करणसम्म आइपुग्दा सुदूरपश्चिम पहिलोपटक टिम च्याम्पियन बनेको हो। सुदूरपश्चिमले १९ स्वर्ण, १२ रजत र १८ कांस्य जित्यो। गत संस्करण च्याम्पियन लुम्बिनी प्रदेशले भने खराब प्रदर्शन गर्‍यो। गत संस्करण लुम्बिनी लगातार तीन पटक च्याम्पियन हुँदै रनिङ सिल्ड आफ्नो बनाउन सफल भएको थियो। लुम्बिनी ६ स्वर्ण, ११ रजत र १८ कांस्य जित्दै पाँचौं स्थानमा सीमित भयो। बागमती १७ स्वर्ण, १३ रजत र १५ कांस्यका साथ दोस्रो भयो। कर्णाली प्रदेश तेस्रो भयो।

कर्णालीले १० स्वर्ण, पाँच रजत र १६ कांस्य पदक जित्यो। ८ स्वर्ण, ९ रजत र ९ कांस्य जितेको कोशी चौथो भयो। सात प्रदेश टिमको सहभागिता रहेको प्रतियोगितामा तीन स्वर्ण, १० रजत र १३ कांस्य साथ गण्डकी छैटौं भयो। मधेश तीन स्वर्ण, ६ रजत र ९ कांस्य साथ सातौं स्थानमा रह्यो। विजेतालाई राखेपका सदस्यसचिव टंकलाल घिसिङलगायतले पुरस्कृत गरे। तीनदिने प्रतियोगितामा ६ खेलमा कुल ६ सय ८६ खेलाडीले कुल ६६ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए। ६३५ स्थानीय तहबाट छनोट हुँदै केन्द्रीय प्रतिस्पर्धा भएको हो।

आशिषले तोडे ३६ वर्ष पूरानो कीर्तिमान  

सुदूरपश्चिम प्रदेशका आशिष महरले १४औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्डअन्तर्गत छात्र ट्रिपल जम्पमा ३६ वर्ष पूरानो जुनियर राष्ट्रिय कीर्तिमान तोडेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको ट्य्राकमा उनी १४.१९ मिटर जम्प गर्दै कीर्तिमानसहित स्वर्ण जित्न सफल भएका हुन्। आशिषले २०४४ सालमा धनवीर चौधरीले बनाएको १४.०६ मिटरको कीर्तिमान तोडेका हुन्। प्रतियोयगितास्थलमै रहेका धनवीरले आशिषलाई प्रोत्साहन स्वरूप नगद पनि प्रदान गरेका थिए। बागमती प्रदेशका विशाल गुरुङ दोश्रो तथा लुम्बिनी प्रदेशका विजय थारु तेस्रो भए।

बिहीबार एथलेटिक्समा तीन वटा नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम भयो। तीनदिने एथलेटिक्स प्रतियोगितामा कुल ५ जुनियर राष्ट्रिय कीर्तिमान बने। एथलेटिक्समा कुल २६ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो। ट्रिपल जम्पमा नै छात्रामा लुम्बिनीकी अनिशा थारु पहिलो भइन्। अनिशाले १०.५७ मिटर जम्प गरिन्। सुदूरपश्चिमकी रेनुका ऐर दोस्रो तथा बागमतीकी अपेक्षा महतो तेस्रो भए। छात्रा तीन हजार मिटर दौडमा सुदूरपश्चिमकी देवकीकुमारी धामीले जुनियर राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितिन्। देवकीले निर्धारित दूरी १० मिनेट ५२.८२ सेकेन्डमा दौड पूरा गर्दै २०७५ सालमा राममाया बुढाले स्थापित गरेको १० मिनेट ५७.२ सेकेन्डको कीर्तिमान तोडिन्।

कराते, उसु र तेक्वान्दोमा बागमती च्याम्पियन

रनिङ सिल्डको मार्सल आर्ट्समा वर्चश्व जमाउँदा बागमती कराते, उसु र तेक्वान्दोमा टिम च्याम्पियन भयो।

बागमतीले करातेमा चार स्वर्ण, दुई रजत र दुई कांस्य पदक जित्यो । सातदोबाटोस्थित कराते हलमा बिहीबार सम्पन्न प्रतियोयगितामा कोशी दुई स्वर्ण, पाँच रजत र एक कांस्यसहित दोस्रो भयो। लुम्बिनीले तेस्रो स्थानमा चित्त बुझायो। लुम्बिनीले दुई स्वर्ण, समान एक रजत र कांस्य पदक प्राप्त गर्‍यो। कर्णाली र सुदूरपश्चिमले समान २–२ स्वर्ण प्राप्त गरे। करातेमा पनि १२ स्वर्णकै लागि भिडन्त भएको थियो।

त्यस्तै बागमती उसुमा पनि टिम च्याम्पियन बन्यो। त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा सम्पन्न प्रतियोगितामा बागमतीले पाँच स्वर्ण, पाँच रजत र दुई कांस्य पदक जित्यो। सुदूरपश्चिम दोस्रो र कोशी प्रदेश तेस्रो भए। सुदूरपश्चिमले पाँच स्वर्ण, तीन रजत र तीन कांस्य जित्यो। कोशीले समान दुई स्वर्ण र कांस्य हात पार्‍यो।

तेक्वान्दोमा पनि बागमती प्रदेश ४ स्वणसहित शीर्षमा रह्यो। सातदोबाटोस्थित तेक्वान्दो हलमा सम्पन्न प्रतियोगितामा बागमतीले बागमतीले थप एक रजत र पाँच कांस्य पनि जित्यो। कोशी तीन स्वर्ण, तीन रजत र पाँच कांस्य पदकसहित दोस्रो भयो। सुदूरपश्चिमले समान तीन स्वर्ण र कांस्यसहित तेस्रो स्थान प्राप्त गर्‍यो। मधेश र कर्णालीले समान एक स्वर्ण हात पारे।

कबड्डीमा सुदूरपश्चिमको दुई स्वर्ण

सुदूरपश्चिम प्रदेशले राष्ट्रपति रनिङ सिल्डको कबड्डीमा दोहोरो उपाधि जित्यो। लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सम्पन्न प्रतिस्पर्धामा सुदूरपश्चिम छात्र/छात्रा दुवैमा स्वर्ण जित्न सफल भएको हो। छात्रको फाइनलमा सुदूरपश्चिमले कोशीलाई ३२–२६ ले पराजित गर्‍यो। लुम्बिनी र मधेशले कांस्य पदक जिते। छात्राको उपाधि भिडन्तमा सुदूरपश्चिमले पनि लुम्बिनीलाई ४०–२७ ले हरायो। कर्णाली र बागमती तेस्रो भए।

प्रकाशित: ७ वैशाख २०८१ ०७:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App