३० वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

विराट गोल्डकपकाे उपाधि आफ्नो पक्षमा हुनेमा साङ्ग्रिला मोरङ र मच्छिन्द्र विश्वस्त

विराट गोल्डकप फुटबल प्रतियोगिताको ८ औं संस्करणको उपाधि जितका लागि शनिबार घरेलु टोली साङ्ग्रिला मोरङ एफए र काठमाडौँको मच्छिन्द्र फुटबल क्लब खेल्दै छन्। दुवै टोलीले उपाधि आफ्नो पक्षमा हुने दाबी गरेका हुन्।

शुक्रबार विराटनगरमा आयोजित प्रि–फाइनल प्रेस मिटमा दुवै टोलीका प्रशिक्षक र कप्तानहरूले जित आ–आफ्नो पक्षमा हुने दाबी गरे। सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपविजेता मच्छिन्द्रलाई पराजित गर्ने रणनीतिका साथ मैदान उत्रने बताउँदै, घरेलु टोली मोरङका प्रशिक्षक रानु राना मगरले भने, ‘अर्को टोली कमजोर छैन। तर, हाम्रो टोलीका सदस्यहरू पनि उहाँहरूभन्दा कम नभएको हुँदा जित आफ्नो पक्षमा हुन्छ। मैदानभित्र खेलाडीले रणनीति अनुसार खेलेर र मैदान बाहिरका खेलाडी भनेको दर्शक हुन्। दुवैको सम्मिश्रणबाट विपक्षी टोली दबाबमा पर्ने छन्।’

यो मैदान हाम्रै भएकाले खेल्न सहज हुन्छ। घरेलु टोली भएको हुँदा दर्शका साथ मैदान उत्रँदा खेलाडीलाई मैदानभित्र सहज हुने र जित हात पार्ने प्रशिक्षक मगरले भने। उनले उपाधि भिडन्तका लागि टोली शारीरिक र मानसिक रुपमा तयार रहेको बताए।

कप्तान अभिषेक लिम्बूले मच्छिन्द्र कस्तो टोली हो भन्ने हामी सबैले देखेका छौँ भन्नु पर्दैन। विशेष रणनीतिका साथ मैदानमा उत्रने भएकोले उनीहरुलाई खेल सहज हुनेछैन। मैदानभित्र ११ जना खेलाडी हुन्छन् भने १२ नम्बरको खेलाडीका रुपमा मैदान बाहिर दर्शक हुने हुँदा उहाँको साथले जित हाम्रो पक्षमा हुन्छ भन्ने विश्वस्त छौँ। गोल्डकपको दोस्रो संस्करणको जितको इतिहासलाई पुनः फर्काउने कप्तान लिम्बूले बताए।

मोरङले विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) र पाहुना टोली भुटानको आरटिसी एफसीलाई पराजित गर्दै फाइनलमा पुगेको हो। मोरङले क्वाटरफाइलनमा भुटानलाई ३–२ गोल र सेमिफाइनलमा एपिएफलाई सडनडेथमा ४–३ गोलले हराएको थियो। 

यता, मच्छिन्द्र विराट गोल्डकपको फाइनलमा पहिलो पटक पुगेको हो। उसले क्वाटरफाइनलमा भारत कोलकाताको साउर्थन समितिलाई २–१ गोल र सेमिफाइनलमा भारतकै सिक्किमको ड्रागान फुटबल क्लबलाई १–० गोलमा पराजित गरेको थियो।

यो सिजनमा तेस्रो पटक गोल्डकप जित्ने दाउ र रणनीतिका साथ मैदानमा टोली उत्रने बताउँदै, मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले भने, ‘यो गोल्डकपको उपाधि हामी नै जित्छौँ। किनभने टोलीका सदस्यहरू पछिल्लो दुई ठूला प्रतियोगिताको उपाधि जितको हुँदा त्यो आत्मबलका साथ खेल्दै आएकाले पनि जित्नेमा विश्वस्त छौँ। ओली कप र बागमती गोल्डकपको उपाधि हामीले जितको हौँ। फाइनल पुग्ने विश्वास र सपना पूरा भयो भने उपाधि हात पार्ने सपना शनिबार पूरा हुँदैछ।’ फिनिसिङमा देखिएको केही फितलो अवस्थालाई सुधार्दै बलियो बनाउने छौँ। हामीलाई दर्शकको साथ सहयोग फाइनल अघि पनि थियो फाइनलमा पनि उस्तै हुन्छ। दर्शकको साथ सहयोगमा खेलाडीले उपाधि जित्ने विश्वास सबैलाई दिलाउन चाहन्छु, प्रशिक्षक न्यौपानेले भने।

अन्य खेलहरूमा सुरुवातदेखि आक्रमण रणनीतिका साथ खेलाडी मैदानमा उत्रिने गरेको बताउँदै, मच्छिन्द्रका कप्तान विशाल श्रेष्ठले भने, ‘पहिलो पटक फाइनल पुगेकोले नयाँ च्याम्पियन बनेर इतिहास रच्ने दाउमा छौँ। देशकै प्रतिष्ठित उपाधि उचाल्नका लागि साथीहरू कडा खेल प्रदर्शन गर्दै आएको र फाइनलमा अझ थप परिश्रम गर्ने छन्।

यस सिजनमा मच्छिन्द्रले ७ वटा गोल्डकपमा सहभागिता जनाएको छ। मकवानपुरको छैटौँ बाग्मती अन्तर्राष्ट्रिय गोल्डकप र काठमाडौँमा सम्पन्न केपी ओली कपको उपाधि जितेको छ। आहा रारा गोल्डकपमा जाउलाखेलसँग, झापा गोल्डकपमा त्रिभुवन आर्मीसँग र छैटौँ सहिद स्मृति मकवानपुर अन्तर्राष्ट्रिय गोल्डकपमा एपिएफसीसँग पराजय भएको थियो।

२०१८ सालमा तत्कालीन महेन्द्र गोल्डकपको पहिलो संस्करणमा घरेलु टोली मोरङ ११ फाइनलमा पुगेर उपविजेता भएको थियो। त्यस बेला पहिलो उपाधि भारतको कलकाताले उपाधि जितेको थियो। २०१९ सालमा मोरङ ११ ले उपाधि हात पारेको थियो। गत वर्षको सातौँ संस्करणमा विराटनगर सिटीले गोल्डकपको उपाधि जित्यो।

प्रतियोगितामा ३ विदेशी टोलीसहित १० टोलीको सहभागिता रहेको थियो। गोल्डकपको विजेताले ११ लाख र उपविजेताले ५ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन्। व्यक्तिगत पुरस्कारतर्फ उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ताले जनही २१ हजार रुपैयाँ प्राप्त गर्ने छन् भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पुरस्कार प्राप्त गर्ने ट्रष्टका सचिव तथा प्रचारप्रसारका संयोजक ध्रुव सिग्देलले जानकारी दिए। 

प्रकाशित: २३ चैत्र २०८० १९:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App