३१ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

तयारीमा चुक्दा नेपालको सहभागिता समूहचरणमै

दक्षिण एसियाली राष्ट्रहरूका लागि साफ च्याम्पियनसिप आफ्नो साख राख्ने सबैभन्दा प्रतिष्ठित प्रतियोगिता हो।

सन् १९९३ र १९९५ मा सार्क गोल्ड कपको रूपमा आयोजना भएको प्रतियोगितालाई सन् १९९७ मा काठमाडौंमा सम्पन्न तेस्रो संस्करणबाट साफ च्याम्पियनसिपका रूपमा खेलाउन थालिएको थियो। साफ च्याम्पियनसिपले १४औं संस्करण जारी रहँदा नेपालका लागि भने सधैं उपाधि सपनामै सीमित हुँदै आएको छ।

सन् २०२१ मा माल्दिभ्समा सम्पन्न १३औं संस्करणमा नेपालले फाइनल प्रवेश गर्दै इतिहास रचेको थियो। त्यसैले नेपालले भारतमा जारी १४औं संस्करणमा सो उपलब्धि कायम राख्ने लक्ष्य लिएको थियो। कुवेत र भारतजस्तो बलियो टोली सम्मिलित समूह ‘ए’ मा नेपाल र पाकिस्तानलाई कमजोर टोलीका रूपमा हेरिएको थियो। नतिजा पनि त्यहीअनुसार आयो। भारत र कुवेत समूहमा समान दुई खेल जित्दै एक खेलअगावै सेमिफाइनल प्रवेश गर्दा नेपाल र पाकिस्तानको यात्रा भने समूहचरणमा सीमित भयो।  

पहिलो खेलमा कुवेतविरुद्ध पहिलो हाफमा निरीह बन्दा ३–१ को नतिजा सुम्पिएको नेपाल दोस्रो खेलमा भारतविरुद्ध २–० ले निराश बन्यो। तेस्रो खेलमा नेपालले मंगलबार पाकिस्तानको सामना गर्दैछ। जुन खेल नेपालका लागि प्रतिष्ठाको लडाई मात्र हुनेछ।  

सहिद स्मारक ‘ए’ डिभिजन लिगकै दौरान मुख्य प्रशिक्षक भिसेन्जो अल्बेर्टो एनिसले खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाए पनि क्लबहरूले विरोध जनाएपछि बन्द प्रशिक्षण नै प्रभावित बनेको थियो।  

साफ च्याम्पियनसिप २०२३ मा फाइनल प्रवेशको लक्ष्य लिएको नेपालले तयारीस्वरूप फिलिपिन्सविरुद्ध एक मात्र मैत्रीपूर्ण खेल खेलेको थियो। लिग सकिएको एक दिनपछि नेपालले मैत्रीपूर्ण खेलका लागि फिलिपिन्सलाई प्रस्ताव गरेको थियो। टोली त्यहीँबाट भारत प्रस्थान गरेको थियो। बिदाइका दौरान कप्तान तथा गोलकिपर किरणकुमार लिम्बु र प्रशिक्षक एनिसले भारत कुवेतविरुद्ध खेल्नुपर्ने भएकाले यस पटक समूहचरण नै आफूहरूका लागि कठिन हुने बताएका थिए।  

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक बालगोपाल महर्जनले नेपालले उपाधि लक्ष्य लिए पनि सोअनुरूपको तयारी गर्न नसक्दा यसअघिकै संस्करणमा झैं नेपाल उपाधि सपनाबाट विमुख भएको बताए।  

‘हाम्रा लागि साफ च्याम्पियनसिप सबैभन्दा ठूलो प्रतियोगिता हो र हामीले सधैं त्यो उपाधिको सपना देख्ने गरेका छौं,’सहिद स्मारक ‘ए’डिभिजन लिग च्यााम्पियन चर्च ब्वाइजका समेत प्रशिक्षक रहेका महर्जनले भने, ‘तर हामी सधंै तयारीमा चुक्ने गरेका छांै। यस पटक पनि हामीले साफ च्याम्पियनसिप लक्षित योजना बनाउन सकेनांै। भर्खरै मात्र लिग सकियो। लगातारको खेलका कारण खेलाडीहरू पनि थकित थिए भने लिगकै कारण पर्याप्त तयारी पनि हुन पाएन। जसको नतिजा नेपालले साफ च्याम्पियनसिपमा गरेको प्रदर्शनमा देखियो।’ महर्जनले कुवेत र भारतका अनुभवी खेलाडीका सामु नेपाली खेलाडीले स्वाभाविक प्रदर्शन गर्न नसकेको बताए।

‘हामीसँग क्षमतावान् खेलाडी छन् तर फुटबल एक खेलाडीले मात्र खेल्ने खेल होइन,’महर्जनले भने, ‘यो टिम गेम हो। यस पटक टोलीमा धेरै युवा खेलाडी थिए। उनीहरूमा अनुभवको कमी देखियो। भारत र कुवेतविरुद्धको दुवै खेलमा रक्षापंक्ति र गोलकिपरमा पनि तालमेल अभाव देखियो। अग्रपंक्तिका खेलाडीले पनि स्वाभाविक लय भेट्टाउन सकेनन्। यस प्रतियोगितामा सहभागी हुन आएका अन्य टोलीले धेरैभन्दा धेरै अभ्यास खेल खेले। जसले उनीहरूको मनोबल बढायो। नेपालको हकमा भने त्यो लागू भएन।’  

प्रकाशित: १२ असार २०८० ०२:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App