६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

बर्खामा हिलाम्मे हिउँदमा धुलाम्मे

ललितपुरको गोदावरी नगरपालिका–६ टीकाभैरवका शिवराम खड्का छोरीलाई कलेज पुर्‍याउन र लिन दैनिक चार किलोमिटरको सडक ओहोरदोहोर गर्छन्। तर सडक अस्तव्यस्त हुँदा उनले ओहोरदोहोरका क्रममा निकै सास्ती खेप्नुपरेको छ। पहिलेपहिले टीकाभैरवसम्म नै कलेज बस आउने गरेको तर अहिले प्याङगाउँ–चापागाउँ सडक ढलान भइरहेका कारण चापागाउँ चौकीसम्म मात्रै बस सेवा सञ्चालन हुँदै आएको उनले जनाकारी दिए। जसले गर्दा उनलाई मात्र नभएर कैयौं विद्यार्थी, कर्मचारीलगायत स्थानीयलाई आवागमनमा कठिनाइ हुने गरेको छ।  

बिहान ६ बजे नै कलेज जानुपर्ने भएकाले छोरीलाई एक्लै जंगलको बाटो पठाउन नसकिएको, आफैं लिन र छाड्न जाने गरेको खड्काले बताए। कहिलेकाहीँ केही महत्वपूर्ण काम पर्दा पुर्‍याउन र लिन जान नभ्याउँदा छोरी हिँडेरै जानेआउने गरेको उनको भनाइ छ। ‘एकातिर कलेज जान बिहान राति नै उठेर हिँडेर जानुपर्ने हुन्छ, यस्तो धेरै पानी झमझम परिरहेको हुन्छ। कति दिन त चिप्लो बाटोमा लडेर फर्किनुपरेको छ। अर्कोतिर यस्तो घाममा हिँड्दा आफूलाई थकाइ, रिँगटा लागेर पढ्न र काम गर्नसमेत नसकेको अवस्था छ,’ उनले भने।  

बन्दै गरेकाले महिनौंसम्म सडक अवरुद्धहुँदा कामको सिलसिलामा चापागाउँ, ठेचो हिँडेरै आउनेजाने गरेको टीकाभैरव र लेलेका स्थानीय बासिन्दा बताउँछन्। यस क्षेत्रका सबै सडकमा बस चल्दैनन्। चापागाउँस्थित सडक ढलान हुँदै गर्दा रुटको गाडी नचलेकाले हिँडेरै आउनजान बाध्यतामा परेको पैदलयात्रीहरूको गुनासो छ। ‘आआफ्नो सवारीसाधन हुनेलाई त रुटको गाडी चल्दा के भो र नचल्दा के हुने हो र, मार पर्ने भनेको हामीजस्ता बुढाबुढी र बच्चाहरूले साह्रै कठिनाइ भोग्नुपरेको छ। बर्खा होस् वा हिँउद, आज लगाएर गएको कपडा भोलि हेरिसक्नु हुन्न,’ चापागाउँकी निशा देसार बताउँछिन्, ‘हिउँदमा धुलोले र बर्खामा हिलोले गर्दा सर्वसाधारणलाई परेको मर्का कसले बुझ्छ र !’  

हिउँदमा धुलोले गर्दा बाहिर कपडा सुकाउनै नहुने, काममा जाँदा लगाएको कपडा भोलि लगाउनै नहुने, अव्यवस्थित बाटोले गर्दा नयाँ सवारीसाधन एक वर्षपछि कवाडीलाई बुझाउनुपर्ने, धुवाँधुलोले गर्दा एक महिनामा नै तीनपटक अस्पताल जानुपर्ने जस्ता धेरै समस्या देसार बताउँछिन्। गोदावरी नगरपालिका प्याङगाउँदेखि चापागाउँको चौकीसम्मको सडक ढलान भइरहेकाले डेढ महिनाभन्दा लामो समयदेखि मुख्य सडक बन्द छ। सडक बन्द हुँदा लखनखेलबाट आउने रुटका सवारीसाधन वडा १० सम्म जान सकेको छैनन्। मुख्य सडक नै बन्द हुँदा समेत घन्टौंसम्म स्थानीयवासी जाममा पर्ने साथै जामका कारणचक्रपथ निस्कन घन्टौं लाग्ने गरेको छ। सडक निर्माण गर्नै पर्ने भए पनि वैकल्पिक सडकको राम्रो व्यवस्था नहुँदा आवतजावत गर्न गाह्रो भएको गुनासो स्थानियको छ।  

सडक रोक्न एक महिनाभन्दा बढी दिन भइसकेको छ भने अझै केही समय लाग्ने देखिन्छ। गोदावरी नगरपालिका मात्रै नभएर ललितपुरका तीन गाउँपालिका र मकवानपुरको दुई गाउँपालिकाका बासिन्दाहरूलाई पनि ठुलै समस्यामा परेको चापागाउँका स्थानिय बासिन्दा कर्ण देसार बताउँछिन्। प्याङगाउँको माथिल्लो क्षेत्र ढलान सकिएर खुलाइ सकेको तर तल्लो क्षेत्र अझै समय ढलान गर्न लागे पनि त्यसको सेटिङका लागि पनि समय लाग्ने देसारको भनाइ छ। केही वर्षपहिले ढोलाहिटी–लेले सडक विस्तार सुरु भएकोमा प्याङगाउँ–चापागाउँ चौकीसम्मको खण्डमा मात्रै ढलान गर्न लागिएको हो। विगतमा कालो पत्रे गरेको केही समयमा नै उप्केको देसारले बताइन्।  

गोदावरी नगपालिकाका प्रमुख गजेन्द्र महर्जनले सडक निर्माणका क्रममा सर्वसाधारणले दुःख पाए पनि यो सडक दीर्घकालीन रूपमा राम्रो बनाउन लागिपरेको बताए। वैकल्पिक सडक हिँड्दा नागरिकले दुःख पाइरहेको र आफूलाई थुप्रै गुनासो आइरहेको पनि बताए। बर्खाको समयमा धेरै नै पानी चाहिने हुँदा वर्षामा काम गर्नु परेको उनको भनाइ छ। चापागाउँको भित्री बाटो बज्रबाराही हुँदै झरुवासीको धापाखेलबाट नागदह निस्किएर सातदोबाटो र लगनखेल जान सकिने महर्जनले बताए।  

यो सडक दक्षिण ललितपुरका स्थानीय ओहोरदोहोर गर्ने मुख्य सडक पनि हो। तर सडक साँघुरो र खाल्डाखुल्डी हुँदा दक्षिण ललितपुरवासीले सास्ती खेप्ने गरेका छन्। उनीहरूले सडकका खाल्डाखुल्डी पुर्न मात्रै नभएर कालोपत्र र चौडा हुनेपर्ने माग राख्दै आएका छन्। ललितपुरलाई हेटौंडासम्म जोड्ने सबैभन्दा छोटो सडकखण्ड कान्ति लोकपथ पनि यही सडकअन्तर्गत पर्छ। अन्य स्थानमा सडक चौडा पार्ने काम सकिएपछि त्यस क्षेत्रमा भने पुराना बस्ती र सडकको क्षेत्रफल कम हुँदा चौडा पार्ने काम अघि बढेको छैन।  

(प्रशिक्षार्थी पत्रकार)  

प्रकाशित: ९ श्रावण २०७९ ०१:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App