८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

दरबारमार्गबाट पक्राउ परेका दुबैजना हुन्डी र सुन कारोबारमा संलग्न रहेको प्रहरीको निष्कर्ष (अपडेट)

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्रोत नखुलेको ९८ लाख रकमसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा रुपन्देही सियारी गाउँपालिका–७ बस्ने २८ वर्षीय समिर सुनार तथा सोही ठाउँका २९ वर्र्षीय मिलन बिक रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

उनले भने, ‘दरबारमार्गस्थित जय नेपाल हल नजिक गाडीमा रकम लिएर हिँडेको अवस्थामा बिहीबार उनीहरु  पक्राउ परेका हुन्। पक्राउ परेकाहरु हुन्डी एवं सुन कारोबारमा पनि संलग्न रहेको हाम्रो प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ।’

प्रहरीले उनीहरुको साथबाट नगद ९८ लाख तथा बा १३ च ४८५८ नम्बरको फोर्ड कम्पनीको इको स्पोर्ट गाडी समेत बरामद गरेको जानकारी दिए।

पक्राउ परेका २९ वर्र्षीय मिलन बिक यसअघि २०८० असोज १० गतेमा दोलखामा साढे ११ केजी अबैध सुन पैठारी तथा संलग्नमा पक्राउ पुर्जी जारी भई फरार भएको र निजको सम्पत्ति शुद्धीकरणमा समेत मुद्धा अनुसन्धानमा रहेको खुल्न आएको प्रमुख भट्टराईले बताए।

पक्राउ परेकाहरु विगत दुई वर्षयता आपराधिक गतिविधिमा संलग्न रहँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाइ छ। 

पक्राउ परेकाहरुलाई हुण्डिसम्बन्धी कारोबार गर्न नहुने कसुरमा थप अनुसन्धानका लागि आजै जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइने जनाइएको छ।-रासस

प्रकाशित: २८ वैशाख २०८१ १३:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App