८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

हमास-इजराइलबीच वार्ता नमिल्दा विपिन रिहा हुने दिन लम्बिदै

इजराइल र हमासबीच जारी युद्धका कारण विपिन जोशीको रिहाईमा ढिलाई हुँदै गएको छ। पटकपटक दुबै पक्षबीच विभिन्न चरणमा वार्ता भएपनि सहमति हुन नसक्दा विपिनको रिहाई पनि लम्बिदै गइरहेको छ।

गत अक्टुबर ७ मा हमासले इजराइलमाथि आक्रमण गरेपछि इजराइलले जवाफी आक्रमण गर्दै आएको छ। हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थी मारिएका थिए भने कञ्चनपुर भिमदत्तका विपिन बेपत्ता भएका थिए।

बेपत्ता भएको झन्डै एक महिना पछि प्यालेस्टाइनको गाजा क्षेत्रमा जोशी रहेको पुष्टि भएको खबर आएको थियो। जोशी प्यालेस्टाइनको गाजा क्षेत्रमा थाइल्यान्डका नागरिकहरूसँगै सुरक्षित अवस्थामा रहेको जानकारी परराष्ट्र मन्त्रालयलाई आएको थियो।

हमास र इजराइलबीच पहिलो पटक भएको युद्धविरामको क्रममा विपिनको रिहाइ हुन्छ की भन्ने आशा थियो। तर, सहमति अनुसार त्यो समय बालबालिका र महिलाहरूलाई मात्रै रिहा गर्दा विपिन रिहा हुन पाएनन्।

त्यसपछि पनि विभिन्न चरणमा हमास र इजराइलबीच युद्धविरामका लागि वार्ता हुँदै आएको छ। तर, हालसम्म कुनै निस्कर्ष निस्कन सकेको छैन। यसै साता भएको वार्तामा इजराइलले हमासको प्रस्ताव अस्विकार गर्दै रफाहमा आक्रमण गर्ने चेतावनी दिएपछि विपिनको रिहा हुने आशा पनि न्यून भएको हो।

दुबै पक्षबीच वार्ताका लागि मुख्य मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको कतार अझैपनि युद्धविराका लागि प्रयासरत छ।

कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपाल भ्रमणमा आउँदा राष्ट्रपति रामचन्द्र पौडेलले हमासको आक्रमण पश्चात् बेपत्ता भएका विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए।

त्यतिबेला अमिर थानीले विपिनको रिहाईका लागि पहल गर्ने आश्वासन दिएका थिए। तर, दुबै पक्षबीच सहमति नहुँदा विपिनको रिहाई हुने टुङ्गो अझै लागेको छैन।

गत वैशाख ७ मा पनि विपिनका परिवारले प्रधानमन्त्री पुष्पकमल दाहालसँग हमासको कब्जामा रहेका विपिनलाई रिहा गराइदिन आग्रह गरेका थिए। जवाफमा प्रधानमन्त्री दाहालले आफू विपिनको रिहाइका लागि चिन्तित रहेको र उनको रिहाईका निम्ति निरन्तर पहल गरिरहेको बताउँदै चाँडै सकारात्मक परिणाम आउनेमा आफू आशावादी रहेको उल्लेख गरेका थिए। तर, रफाहमाथि इजराइलको आक्रमण गर्ने चेतावनी र वार्तामा सहमति नहुँदा विपिनको रिहाई हुने समय पनि लम्बिदै गएको छ।

प्रकाशित: २८ वैशाख २०८१ १३:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App