७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

वनै खायो डढेलोले!

डोटीको बुडरनजिक सल्लेरी वनमा लागेको डढेलो। तस्बिर: पुष्पराज/नागरिक

गोदावरीबाट उकालो चढ्दा आँखा पिरोपिरो हुन थाल्छ। अझै अगाडि बढ्दै गयो भने प्रस्टैसँग देखिने धुवाँ मिसिएको वायु बहन थाल्छ। श्वासप्रश्वास बढ्न थाल्छ। हो, वनैभरि डढेलो सल्कँदा आएको धुवाँले नै यस्तो समस्या देखिएको छ अहिले पहाडभर।

बैतडी, डडेल्धुरा, डोटीका अधिकांश सामुदायिक वन र राष्ट्रिय वन क्षेत्र डढेलोबाट प्रभावित छन्। भीमदत्त राजमार्ग र दशरथचन्द राजमार्गका २०औं ठाउँमा डढेलो लागेको छ। ‘गोदावरीदेखि माथि उक्लेपछि गन्तव्य नपुगुन्जेलसम्म राजमार्गछेउको जंगल डढेलोले सखाप छ,’ राजेन्द्र चन्दले भने, ‘डाडैभरी सल्केको डढेलोले पूरै पहाड धुवाँमय बनेको छ।’

यस वर्ष अत्यधिक डढेलो सल्केको उनी बताउँछन्। ‘फागुन–चैतमा खासै वर्षा भएन,’ उनले भने, ‘त्यसैले पनि डाँडाका सल्लेरी वन डढेलोको चपेटामा परेका छन्।’

पहाडैभरि फैलिएको डढेलोले वन सखाप पार्नुका साथै डढेलोबाट निस्केको धुवाँले अहिले पहाडको वातावरण पनि बिग्रेको छ। अहिले डढेलोबाट निस्केको धुवाँले आँखा पोल्ने तथा चिलाउने रोगसमेत देखिएको छ।

पछिल्ला दिनमा डाँडैभरि लागेको डढेलोबाट निस्केको धुवाँले टाढासम्म देखिने पहाडी दृश्य त परै जाओस् नजिकैको दृश्यसमेत देखिन छोडेको छ। ‘वसन्त ऋतुको समयमा पहाडमा जताततै हरियाली देखिनुका साथै हिम शृंखलाहरूसमेत प्रस्टै देखिन्थे,’ उनले भने, ‘तर अहिले हिमशृंखला त परको कुरा हो, नजिकैको हरियाली वन तथा डाँडाकाँडासमेत धुवाँका कारण देखिनै छाडे।’

जंगलमा डढेलो लगाउँदा चरिचरनका लागि नयाँ घाँस पलाउने भन्ने गलत मानसिकताका कारण स्थानीयले नै जानीजानी डढेलो लगाउने गरेको डोटीको बडिकेदारका चक्र मल्ल बताउँछन्।

उनले भने, ‘जंगलमा आगो लगाउँदा पालुवा पलाउँछ र घाँस काट्न सजिलो हुन्छ भनेरै यहाँका किसानले डढेलो लगाउने गरेका छन्।’ जनचेतनाको कमीका कारण बर्सेनि यहाँको जंगल डढेलोले सखाप भइरहेको छ।

‘सम्बन्धित निकायले जनचेतना जगाउने कार्यक्रम ल्याउनु पर्दछ,’ उनले कल्लले भने, ‘यसका साथै प्रत्येक सामुदायिक वनलाई डढेलो लाग्दा पाउने सहुलियतमा कटौती गर्ने हो भने त्यसले केही हदसम्म नियन्त्रण हुन सक्छ।’

सुदूरपश्चिम प्रदेशको जम्मा क्षेत्रफल मध्ये ५७ प्रतिशत क्षेत्रफल वनले ओगटेको छ। अहिले मात्रै सुदूरपश्चिमको वन क्षेत्रमध्ये ३० प्रतिशत वन क्षेत्र डढेलोको चपेटामा परेको सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका प्रदेश वन निर्देशक हेमराज विष्ट बताउँछन्। उनका अनुसार चैतयता मात्रै सुदूरपश्चिमको कुल वन क्षेत्रको ३० प्रतिशत वन क्षेत्र डढेलोले खाएको छ।

प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीका अनुसार सुदूरपश्चिमका २८ वटा वन डढेलोको चपेटामा परेका छन्। डढेलोका कारण अहिलेसम्म तीन महिला घाइते हुनुका साथै चारवटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। जंगलबाट सल्केको डढेलोकै कारण १८ परिवार प्रभावित हुनुका साथै ६ घरमा आंशिक क्षति र ६ वटा पशुचौपाया मरेका छन्।

डढेलो लाग्नुको प्राकृतिक कारण नभई भौतिक कारण रहेको उनी बताउँछन्। ‘यहाँ चट्याङले डढेलो सल्केको नभई आम उपभोक्ताले नै जानी जानी डढेलो सल्काउने गरेका छन्,’ उनले भने, ‘आम उपभोक्ता जंगलमा आगो लगाउँदा त्यसले नयाँ पालुवा पलाउने र घाँस काट्न सजिलो हुने भन्ने गलत मानसिकताका कारण त्यसो गर्दै आएका छन्।’

सल्लाघारीमा सल्लीपीरले मानिस हिँड्दा भिरमा लड्ने, गाईगोरु लड्ने भएकाले त्यस्तो ठाउँमा आगजनी गर्ने गरेको संरक्षणकर्मी जमुना न्युुरे बताउँछिन्। ‘सल्लीपीरमा चिप्लेर मानिसको मृत्यु हुने भयले पनि पहाडका आम उपभोक्ताले वनजंगलमा डढेलो लगाउने गरेका छन्,’ उनले भनिन्, ‘त्यसलाई रोक्न जनचेतनामूलक कार्यक्रम मात्रै नभई सामुदायिक वन तथा उपभपोक्तालाई कडाइ गर्नु जरुरी देखिन्छ।’

तराईको जंगलमा लागेको डढेलो निभाउन सहज हुने गरे पनि पहाडी भेगमा लागेको डढेलो निभाउन कठिनाइ हुने गरेको प्रदेश वन निर्देशक विष्ट बताउँछन्। सुदूरपश्चिममा सबैभन्दा बढी डढेलो डडेल्धुरा र डोटीको वनमा लागेको छ।

‘डोटी र डडेल्धुराको वन क्षेत्रमा सबैभन्दा बढी सल्लाको जंगल छ, सल्लाको जंगलमा सल्केको डढेलो ह्वारह्वार्ती बढ्छ,’ उनले भने, ‘सल्लाको जंगलको डढेलो निभाउन जोखिम हुनुका साथै नियन्त्रणमा लिन कठिनाइ पनि उत्तिकै छ।’

पहाडको जंगलमा सल्केको डढेलो निभाउन हरप्रयास गरे पनि डाँडा तथा भीरमा निभाउन निकै गाह्रो हुने उनी बताउँछन्। पहाडका डाँडामा लागेको डढेलो निभाउन दमकलको प्रयोग गर्नसमेत बाटोघाटो नहुनु र भीरपाखाले हिँडेर जान समस्या उस्तै छ।

डढेलो नियन्त्रणका लागि आफूहरूसँग छुट्टै दक्ष जनशक्ति नहुनु र वनरक्षक, सामुदायिक वनका पदाधिकारी र सेना तथा प्रहरीकै सहयोगमा डढेलो नियन्त्रणमा लिने प्रयास गरिँदै आएको निर्देशक विष्ट बताउँछन्। डढेलोका कारण बर्सेनि पुनरुत्पादन सखाप हुने गरेको बताउँदै उनले भने, ‘जनचेतनामूलक कार्यक्रमसँगै समयमै डढेलो नियन्त्रण गर्न सके त्यसले पुनरुत्पादन जोगिन सक्थे।’ 

प्रकाशित: २६ वैशाख २०८१ १२:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App