७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

आज मात्रै होइन सँधै आमाको स्वास्थ्यको ख्याल गरौँ

मातातिर्थ औँसी

आज मातातिर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन। आजको दिन सबै सन्तानले आफ्नो जन्म र कर्म दिने आमाको मुख हेरेर मिठो खाने कुरा र उपहार दिएर मनाइरहेका छन्। आमा नभएकाहरू भने मातातिर्थ कुण्डमा गएर आजको दिन मनाइरहेका छन्। मातातिर्थ औँसी मनाइरहँदा आमाको स्वास्थ्यलाई तपाईंले कतिको ख्याल गर्नुहुन्छ भन्ने पनि आवश्यक हुन्छ।

मातातिर्थका दिन आमालाई दिइने उपहारको अर्थ उनको जीवनभरि नै ख्याल गर्नु हो। आमाको स्वास्थ्यको ख्याल तपाईंले सँधैभरि गरिरहनुभयो भने आमालाई आजको दिन मात्रै ख्याल गर्नुपर्दैन।

आमाको लामो आयू र स्वस्थ जीवन चाहनुहुन्छ भने उनको स्वास्थ्यको साथै उनको खुसी र उनलाई के मन पर्छ भन्ने कुराको पनि ध्यान राख्नुपर्छ। आमा जसले तपाईंलाई जन्म दिन्छिन् उनको स्वास्थ्यको लागि तपाईं सँधै सचेत रहनुपर्छ। कुनैपनि समय उनले भनेको र उनले चाहेको कुराको विशेष ध्यान राख्ने हो भने उनी सँधै खुशी रहन्छिन्। त्यति मात्र नभई उनको खानपानमा पनि विशेष ध्यान दिनुपर्छ। जसले उनलाई कुनै रोगले आक्रमण नगरोस्।

कुनैपनि व्यक्तिको स्वास्थ्यलाई सँधै राम्रो बनाइराख्नु छ भने उनको खानपान र खुसीको नै विशेष ध्यान राख्नुपर्छ। मातातिर्थ औँसीका दिन आमालाई कस्तो खाना र उपहार दिने ? जानौं प्रा.डा.दिनेश कुमार लम्सालको यो टिप्सः सबैभन्दा पहिले आमाको स्वास्थ्यको बारेमा विशेष ध्यान दिनुपर्छः

खानाका परिकार बनाउँदा आमाको स्वास्थ्यलाई ध्यानमा राखेर बनाउनुपर्छ। चिल्लो, मसालेदार, अत्यधिक गुलियो, रातो मासु, ग्यास्ट्रिक गराउने र रोग बल्झाउने खालको खानेकुरा दिनुहुँदैन।

फलफूल, हरियो साग, तरकारी, दूध, ताजा फलको जूश जस्ता सन्तुलित आहार दिनुपर्छ। खाना बनाउँदा खाना अपच हुने खालको बनाउनु हुँदैन। उनलाई कुनै स्वास्थ्य समस्या छ भने त्यसै अनुसारले उनको हेरचाह गर्नुपर्छ।

उपहार दिँदा महँगा खालका भन्दा पनि उनलाई कतै घुम्न जान मन छ वा के कुराले उनलाई खुसी भेट्छ त्यस्ता कुरामा ध्यान राखेर उपहार दिनुपर्छ।

अन्तिममा पछिल्लो समय विभिन्न रोगको सङ्क्रमणको जोखिम र महामारीहरू आइरहने भएकाले विभिन्न रोगको जोखिम हुन सक्छ। त्यसकारण आमाको स्वास्थ्यको विशेष ख्याल गर्नुपर्छ। आमाको शरीरको क्षमता र उनलाई सहजै पच्ने खालका खानेकुरा दिनुपर्छ। जसले गर्दा रोगसँग लड्ने क्षमताको विकास होस्।

प्रकाशित: २६ वैशाख २०८१ ०९:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App