६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

महिला उद्यमीलाई स्थानीय सरकारसँग जोड्दै एफवीन

महिला उद्यमी महासंघ नेपाल (एफवीन) ले महिलाहरूलाई उद्यमी बन्न प्रेरित गर्ने उद्देश्यसहित विभिन्न स्थानीय तहसँग सहकार्य गरेर सिपमूलक तालिमलाई तीब्रता दिएको छ।  

गोदावरी नगरपालिकाको आर्थिक सहयोगमा महासंघले नगरक्षेत्र भित्रका महिलाहरुलाई ‘सेनेटरी न्यापकिन’ उत्पादन सम्बन्धी पाँच दिने तालिम प्रदान गरेको छ।

गोदावरी नगरपालिकाले उपलब्ध गराएको आवास गृहमा वैशाख २१ गते सुरु भएको तालिम मंगलबार सकिएको थियो।  

स्थानीय २१ जना उदयीमान महिला उद्यमी सहभागी तालिममा पीपल इन नीड, हेल्भिटास नेपाल र डब्लूएचएच नेपालको सहयोग रहेको थियो। महासंघको जिल्ला शाखा ललितपुरका अनुभवी प्रशिक्षकहरूले तालिमको नेतृत्व गरेका थिए।

समुदायका महिलाहरूलाई महिनावारी सरसफाइ, पर्यावरणमैत्री सेनेटरी नेपकिन उत्पादन, प्याकेजिङ, लागत खर्चलगायत विषयमा आवश्यक जानकारी दिँदै वातावरणमैत्री सेनेटरी प्याडको प्रयोगको महत्त्वबारे प्रकाश पारिएको थियो।  

तालिमकै क्रममा महासंघको आर्थिक सहयोगमा खरिद गरिएको सेनेटरी प्याड बनाउने अत्याधुनिक मेसिनसमेत नगरपालिकालाई हस्तान्तरण गरिएको थियो। गोदावरी नगरपालिकाले कच्चा पदार्थ खरिदको व्यवस्थापन गरेको थियो। 

महासंघ अध्यक्ष शोभा ज्ञवाली र गोदावारी नगरपालिकाकी उपमेयर मुना अधिकारी

कार्यक्रमको समापन गर्दै महासंघकी अध्यक्ष शोभा ज्ञवालीले महिला उद्यमशीलता र सशक्तीकरणको महत्वबारे प्रकाश परेकी थिइन्। दिगोपन सुनिश्चित गर्न स्थानीय सरकारको सहयोग आवश्यक रहेकोमा उनको जोड थियो।  तालीम मार्फत सहभागीहरूले पर्यावरणमैत्री महिनावारी स्वच्छता अभ्यासहरूबारे पनि मार्गदर्शन प्राप्त गरेको उनको भनाइ थियो।  

कार्यक्रममा गोदावरी नगरपालिकाकी उपमेयर मुना अधिकारीले महिला उत्थान र आर्थिक सशक्तीकरणका लागि स्थानीय स्तरमा उत्पादन हुने सेनेटरी प्याडको खरिद र बजारीकरण गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले सिकेको सीपलाई व्यक्तिगत विकास र सामुदायिक विकासका लागि उपयोग गर्न सुझाव दिइन्।  

विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन अनुकूलन र दिगो विकासमा केन्द्रित सहयोगी प्रयास, एलायन्स २०१५ अर्बन रेजिलिन्स प्रोजेक्टले नेपालमा सहरी समुदायहरूलाई सशक्तिकरण गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।

प्रकाशित: २५ वैशाख २०८१ २२:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App