६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

नक्कली लाइसेन्स प्रकरण: पूर्व कम्प्युटर अपरेटर पक्राउ

नक्कली लाइसेन्स प्रकरणमा यातायात व्यवस्था विभागका पूर्व कम्प्युटर अधिकृत पक्राउ परेका छन्। केही बेर अघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले विभागका पूर्व कर्मचारी वसन्त पाण्डेलाई पक्राउ गरेको हो।

दसैँ अघिसम्म उनी विभागमा करारमा कार्यरत थिए। उनी नक्कली लाइसेन्स वितरणमा संलग्न रहेको आशंकामा हालका महानिर्देशक उद्धव रिजालले करार अवधि थप नगरी राखेका थिए।

पाण्डेलाई करारमा राख्न विभागका पूर्व एक महानिर्देशकले समेत दबाब दिएका थिए। उनले भाइ भएको बताउँदै करार अवधि थप गर्न हालका महानिर्देशकलाई दबाब दिएका थिए।

उनै पाण्डेलाई सिआइबीले अनुसन्धानका लागि पक्राउ गरेको हो। यसअघि अनुसन्धानका क्रममा हरीश भट्ट, सुरजप्रकाश अर्याल, नारायणप्रसाद पाण्डे, लुजारस दनुवार, प्रदीप सुनार, अजित मिश्र र मिलन बास्तोला पक्राउ परेका छन्। सिआइबीले वैशाख १५ गते भट्ट र अर्याललाई नियन्त्रणमा लिएको थियो।

नक्कली लाइसेन्स प्रकरणमा अर्यालले नक्कली ‘युजर’ सिर्जना गरेर विवरण फेर्ने र भट्टको भूमिका प्रिन्ट गर्नेमा देखिएको स्रोतको दाबी छ। त्यस्तै, सिआइबीले वैशाख १६ गते यातायात व्यवस्था कार्यालय लुम्बिनीका करारका कम्प्युटर अपरेटर नारायण पाण्डेलाई पक्राउ गरेको थियो। उनीहरू सबै अहिले सिआइबीको हिरासतमा छन्।

सिआइबीले नक्कली लाइसेन्स लिएको देखिएकोमा दनुवार, सुनार, मिश्र र बास्तोलालाई पनि सोधपुछका लागि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। दनुवारलाई वैशाख १७, सुनारलाई वैशाख १८, मिश्रलाई वैशाख १९ र बास्तोलालाई वैशाख २० मा नियन्त्रणमा लिइएको हो।

प्रकाशित: २५ वैशाख २०८१ १८:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App