६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

वेदेशिक रोजगारीमा ठगीका घटना बढेसँगै सचेत रहन सरकारको आग्रह

वैदेशिक रोजगारीका क्रममा विभिन्न देशको अवसर देखाउँदै ठगी गर्ने क्रम बढेपछि सचेत रहन सरकारले सबैमा आग्रह गरेको छ।

विशेषगरी युरोप, अमेरिका, जापान, कोरिया, इजरायललगायतका देशमा सुनौलो अवसर भन्दै ठगीका धन्दा बढिरहेकोमा नेपाली युवालाई सचेत रहन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सुझावसहित आग्रह गरेको हो।

वैदेशिक रोजगारीका क्रममा कुनै पनि प्रकारको ठगीमा संलग्न रहेको पाइए वैदेशिक रोजगार ऐन, २०६४ अनुसार कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ।

ऐनको दफा ४३ बमोजिम कुनै पनि व्यक्ति वा संस्थाले इजाजतपत्र नलिई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेमा वा कसैलाई वैदेशिक रोजगारीमा लगाइदिन्छु भनी झुटा आश्वासन दिई वा प्रलोभन देखाई कुनै रकम लिएमा वा विदेश पठाएमा त्यसरी लिएको रकम र त्यसको पचास प्रतिशतले हुने रकम हर्जनावापत असुल गर्ने कानुनी व्यवस्था छ।

साथै त्यस्ता व्यक्तिलाई विदेश जान र आउन लागेको खर्चसमेत भराई निजलाई तीन लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र ३ देखि ७ वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा यस्ता गैरकानुनी कार्य नियन्त्रण गर्न मन्त्रालय, मातहतका निकाय तथा सरकारका अन्य नियमनकारी निकायहरु प्रतिबद्ध रहेको उल्लेख छ।

वैदेशिक रोजगारीका क्रममा ऐनविपरीत रोजगारीको प्रलोभन देखाउने, युरोप, अमेरिका, जापान, कोरिया, इजरायललगायतका देशमा रोजगारीका अवसर छ भनेर सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाउनेलगायत घटनाप्रति पनि गम्भीर ध्यानाकर्षण भएको मन्त्रालयले स्पष्ट पारेको छ।

त्यस्तै आम नागरिकमा वैदेशिक रोजगारीसम्बन्धी विभिन्न किसिमका भ्रम सिर्जना गरी आर्थिक लाभका लागि ठगी गर्ने गरेको भन्दै मन्त्रालयले सचेत गराएको हो।

वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित गराउन आवश्यक नीतिगत, कानुनी एवम् संस्थागत प्रबन्ध गरी यस क्षेत्रमा हुने ठगी नियन्त्रण गर्न अधिकतम प्रयास गरिरहेको मन्त्रालयले स्पष्ट पारेको छ।

वैदेशिक रोजगारीमा जानका लागि तीन प्रकारका विधिमध्ये पहिलो सरकार सरकारबीच सम्झौता भई कार्यान्वयनमा रहेको जिटुजी, इजाजतप्राप्त संस्थाबाट आधिकारिक र कानुनी प्रक्रिया पूरा गरी वैदेशिक रोजगारीमा जाने-पठाउने र व्यक्तिगत प्रयासमा सम्बन्धित देशको रोजगारदातासँग श्रम सम्झौता तथा भिसा प्राप्त गरी श्रम स्वीकृति लिएर मात्र विदेश जानसमेत मन्त्रालयले सबैसँग आग्रह गरेको छ।

प्रकाशित: २५ वैशाख २०८१ १३:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App