६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

डमरु हुर्काउन फेरि आइपुगिन् बघेनी !

एआईद्वारा निर्मित साङ्केतिक तस्बिर।

हरेक वर्ष झैँ यस पटक पनि डमरु हुर्काउन पोथीबाघ मसुरिया क्षेत्रमा आइपुगेको छ।

भाले बाघबाट बच्चा (डमरु) जोगाउन पोथी बाघ एक डमरुसहित मसुरिया क्षेत्रमा आइपुगेको हो। भाले बाघले भर्खरै जन्मेका डमरु खाइदिने भएकाले पोथी बाघ डमरु सुरक्षित गर्न वसन्ता जैविक मार्ग हुँदै सहायक मार्ग मसुरिया करिडोर आइपुगेको हो।

डमरुसहित पोथी बाघ एक हप्तादेखि मसुरिया (शंकरपुर–अमखोइया) क्षेत्रका सामुदायिक वनमा स्थान परिवर्तन गर्दै बच्चा हुर्काउन थालेको छ।

‘एक सातादेखि पोथी बाघ भाले बाघबाट डमरु जोगाउन गौरीगंगा नगरपालिका वडा नम्बर-९ को हरियाली सामुदायिक वन शंकरपुरमा विचरण गरिरहेको छ,’ सामुदायिक वन समन्वय समिति (सीएफसीसी) मसुरियाका अध्यक्ष ओमप्रकाश सापकोटाले भने,‘यहाँ पनि उसले स्थान परिवर्तन गर्दै कहिले पूर्व–पश्चिम राजमार्गको उत्तरतर्फका सामुदायिक वन र कहिले दक्षिणतर्फका सामुदायिक वनमा सिकार खोज्दै बाघ डमरुसहित डुलिरहेको छ।’

वसन्ता जैविक मार्ग बाघको विचरण गर्ने क्षेत्र भएको बताउँदै राष्ट्रिय प्रकृति संरक्षण कोषको जैविक विविधता संरक्षण केन्द्रका प्रमुख बाबुराम लामिछानेले भने, ‘मसुरियाको दक्षिणी क्षेत्रमा रहेको वसन्ता करिडोरबाटै बाघ डमरु हुर्काउन र सिकार गर्न त्यो क्षेत्रसम्म आइपुगेको हुनसक्छ।’

बाघले बच्चा जन्माएपछि धेरै टाढाको यात्रा गर्न नसक्ने र आफूले बच्चा जन्माएको क्षेत्रमा असुरक्षित महसुस भएपछि नजिकैको जंगलमा डमरु हुर्काउन र सुरक्षित पार्न मसुरिया क्षेत्रमा आएको हुनसक्ने उनी बताउँछन्।

उत्तरतर्फको चुरे वन क्षेत्र र पूर्वपट्टि बर्दिया राष्ट्रिय निकुञ्ज तथा पश्चिमपट्टि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र दक्षिणतर्फ बसन्ता कोरिडोर रहेको मसुरिया क्षेत्रमा निकुञ्ज तथा वसन्ता करिडोरमा बाघको संख्या बढेकाले पनि आफ्नो वासस्थान सुरक्षित गर्न तथा स्थान परिवर्तन गरेर त्यस क्षेत्रमा पनि आएको हुन सक्ने सीएफसीसीका अध्यक्ष सापकोटा बताउँछन्।

डमरुसहित बाघ बस्ती नजिक आएको हुँदा यस्तो बेला जंगल नजाने तथा जानै परे चनाखो हुनुपर्ने उनी सुझाउँछन्। ‘यस्तो बेला पोथी बाघले बढी समय डमरुको हेरचाहमै खर्चेको हुन्छ र भोकाएको पनि हुन्छ,’ उनले भने, ‘त्यसैले यो बेला बाघ आफ्नो अगाडि जे भेटे पनि सिकार गर्छ।’

राष्ट्रिय निकुञ्ज तथा बाघको वासस्थान भएको घना जंगलहरुमा डढेलो लागेकाले आगलागीबाट बच्न बघेनी डमरुसहित मसुरिया क्षेत्रमा आइपुगेको हुन सक्ने डिभिजन वन कार्यालय कैलालीका डिभिजन वन अधिकृत रामचन्द्र कँडेल बताउँछन्।

‘बाघको वासस्थानमा डढेलो लागेकाले बाघका आहाराहरु मृग, चित्तल, बँदेल लगायतका वन्यजन्तु सुरक्षित स्थानमा हिँडेपछि बाघ पनि सुरक्षित स्थान र आहारा खोज्दै यो क्षेत्रमा आइपुगेको हुन सक्छ,’ उनले भने।

यसअघि मसुरियाको बढैपुर र राजीपुर जोड्ने सामुदायिक वनहरुमा डमरुसहित बाघ देखा पर्दै आएको थियो।

प्रकाशित: २४ वैशाख २०८१ १५:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App