६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

नेपालीको औसत आयु ७१.३ वर्ष

नेपालीको औसत आयु विगत ४० वर्षको अवधिमा २० वर्षले बढेको छ। राष्ट्रिय तथ्यांक कार्यालयले आइतबार सार्वजनिक गरेको ‘राष्ट्रिय जनगणना- २०७८ जनसांख्यिक सूचक र जनसंख्या साक्षरता’ प्रतिवेदनमा नेपालीको औसत आयु विगत ४० वर्षमा २० वर्षले बढेको उल्लेख छ।

महिलाको औसत आयु पुरुषको भन्दा पाँच वर्ष बढी रहेको तथ्यांकले देखाएको छ। प्रदेशगत आधारमा कर्णालीका महिलाहरूको औसत आयु बढी छ।

जनसांख्यिक सूचकले नेपालीहरूको औसत आयु ७१.३ वर्ष पुगेको देखाएको छ। ४० वर्षअघि अर्थात् २०३८ सालमा गरिएको जनगणनाअनुसार नेपालीको औसत आयु ४९.८ वर्ष थियो। २०७८ सालको जनगणनाले पुरुषको औसत आयु ६८.२ वर्ष र महिलाको औसत आयु ७३.८ वर्ष पुगेको देखाएको छ। यसबाट समग्रमा पुरुषभन्दा महिलाको औसत आयु पाँच वर्ष बढी रहेको देखाउँछ।

नयाँ जनसांख्यिक सूचकले अब राज्यले शिक्षा, स्वास्थ्य तथा विकास नीति र नियमहरू नयाँ तरिकाले बनाउनुपर्ने देखाएको राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेले बताए।  

कर्णालीका महिलाको औसत आयु धेरै

सार्वजनिक जनसांख्यिक तथ्यांक अनुसार कर्णालीका महिलाको औसत आयु अन्य प्रदेशका महिलाको तुलनामा बढी छ। यसबाट कर्णालीका महिला बढी बाँच्ने गरेको नयाँ तथ्य बाहिर आएको छ। सूचकअनुसार कर्णालीका महिलाको औसत आयु ७५.५ वर्ष पुगेको छ।

४० वर्षमा औसत आयु २० वर्ष बढ्यो  

२०३८ सालमा नेपालीको औसत आयु ४९.८ वर्ष रहेकोमा २०७८ सम्म आइपुग्दा बढेर ७१.३ वर्ष पुगेको छ। ‘४० वर्षको अवधिमा नेपालीको औसत आयु २० वर्षले बढेको छ,’ निर्देशक लामिछानेले भने, ‘अब राज्य शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका पुराना नीति, नियम परिवर्तन गरी नयाँ ढंगले अघि बढ्नुपर्ने देखिएको छ।’ नेपालीको औसत आयु २०४८ सालमा ५४.३ वर्ष, ०५८ मा ६०.४ वर्ष र ०६८ मा ६६.६ वर्ष थियो।

२०३८ सालमा महिलाको औसत आयु ४८.१ वर्ष रहेकोमा २०७८ सालमा आइपुग्दा वृद्धि भएर ७३.८ वर्ष पुगेको छ। तुलनात्मक रूपमा महिलाको आयु ४० वर्षको अवधिमा २५ वर्षले बढेको छ। २०३८ सालमा पुरुषको औसत आयु ५०.९ वर्ष रहेकोमा ०७८ मा आइपुग्दा ६८.२ वर्ष पुगेको छ। ४० वर्षको अवधिमा पुरुषको आयु १७ वर्षले बढेको छ।

‘समग्रमा नेपालीको औसत आयु बढ्नुले नेपालीले गुणस्तरीय जीवन जिउन थालेको स्पष्ट भएको छ,’ निर्देशक लामिछानेले भने, ‘कर्णालीमा महिलाको औसत आयु पुरुषको भन्दा बढी हुनुको मुख्य कारण राज्यले ४० वर्षको अवधिमा ल्याएको महिलामैत्री नीति, नियम र कार्यक्रमको उपलब्धि हो। तथ्यांक संकलन कोभिडको समयमा गरिएको हो। जुन बखत पुरुषको मृत्युदर बढी थियो। सूचकअनुसार अहिले पुरुषको मृत्युदर कर्णालीमा बढी छ। बुढ्यौली बसाइसराइँ पनि कर्णालीमा बढी देखिएको छ।’

लामिछानेका अनुसार सरकारीसँगै गैरसरकारी संघसंस्थाले पनि महिलाकेन्द्रित कार्यक्रम कर्णालीमै बढी केन्द्रित गरेका छन्। समग्रमा राज्यको नीति, नियम, शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवासुविधाका कार्यक्रम महिलाकेन्द्रित भएकाले महिलाको आयुसँगै जीवनस्तर माथि उठेको तथ्यांकले देखाएको उनले बताए। लैंगिक हिसाबले पुरुषभन्दा महिलाको औसत आयु बढेको छ। महिलाको औसत आयु २०३८ सालमा ४८.१ वर्ष, २०४८ सालमा ५३.५ वर्ष र २०५८ सालमा ६१.६ वर्ष र २०६८ सालमा ६८ वर्ष थियो।

२०७८ मा आउँदा महिलाको औसत आयु ७३.८ वर्ष पुगेको छ। पुरुषको औषत आयु ४० वर्षअघि महिलाको भन्दा बढी थियो। पुरुषको औसत आयु २०३८ साल ५०.९ वर्ष, ०४८ सालमा ५५ वर्ष, ०५८ मा ६१.१ वर्ष र ०६८ सालमा ६६.४ वर्ष थियो। २०७८ को जनगणनाले पुरुषको औसत आयु ६८.२ वर्ष पुगेको देखाएको छ। तथ्यांक विश्लेषण गर्दा पुरुषको औसत आयु २०४८ सालसम्म महिलाको तुलनामा बढी भएकोमा त्यसपछि घट्दै गएको देखिन्छ।

कर्णाली र बागमतीमा औसत आयु बढी

प्रदेशगत आधारमा कर्णाली र बागमती प्रदेशका मानिसको औसत आयु बढी रहेको जनसांख्यिक सूचकले देखाएको छ। नयाँ सूचकअनुसार कर्णाली प्रदेशका बासिन्दाको औषत आयु ७२.५ वर्ष र बागमती प्रदेशका बासिन्दाको औसत आयु ७२.४ वर्ष पुगेको देखिन्छ। त्यस्तै सूचकअनुसार सबैभन्दा कम लुम्बिनी प्रदेशका बासिन्दाको औसत आयु ६९.५ वर्ष छ। लुम्बिनी प्रदेशमा औसत आयु महिलाको ७२.५ वर्ष र पुरुषको ६६.१ प्रतिशत छ।

कार्यालयका प्रमुख तथ्यांक अधिकारी अर्जुनप्रसाद पोखरेलका अनुसार सार्वजनिक नयाँ तथ्यांकका आधारमा राज्यलाई नयाँ नीति, नियम र बजेट निर्माण गर्न सहज हुनेछ।

‘तथ्यांकले औसत आयु बढ्दै गएको देखाएको छ। देशका नागरिक शिक्षा, स्वास्थ्य, सार्वजनिक प्रयोग तथा घरायसी प्रयोगमा सहज हुदै गएका छन्। जीवनस्तर उन्नत बन्दै गएको छ। कर्णाली प्रदेशमा विगतको अवस्थामा सुधार आएको छ। जीवनस्तर गुणस्तरीय बन्दै गएको छ,’ पोखरेलले भने, ‘अब राज्यले कम गुणस्तर जीवनयापन गर्ने प्रदेशका बासिन्दातर्फ नीति, नियम र कार्यक्रम केन्द्रित गर्नुपर्छ।’ उनले थपे, ‘तर कार्यालयले औसतमा तथ्यांक प्रकाशित गरेकाले राज्यले नीति निर्माण गर्दा बीचको ग्याप पत्ता लगाएर मात्र गर्नुपर्छ। तथ्यांकमा आधारित भएर नीति तथा कार्यक्रम बनाएर अघि बढे लगानी उपलब्धिमूलक बन्छ।’

प्रकाशित: २४ वैशाख २०८१ ०७:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App