६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

रुसी सेनामा कार्यरत युवाका परिवारले भारी मनले तोडे अनशन

सरकारको संवेदनहीनता

रत्नपार्कको शान्तिबाटिकामा रुसी सेनामा भर्ना भएका नेपालीका परिवारको माग पूरा गर्न सरकार तयार भएपछि १७ दिनदेखि जारी अनशन तोडिएको छ। तस्बिर : नागरिक

सरकारको संवेदनहीन व्यवहारबाट आजित बन्दै रुसी सेनामा कार्यरत नेपाली युवाका आफन्तले थालेको आमरण अनशन १७औं दिनमा समाप्त भएको छ। स्वास्थ्यमा दिनप्रतिदिन जटिलता बढ्दै जाँदा पनि आफ्ना माग सम्बोधन गर्न सरकारले संवेदनशीलता नदेखाउँदा अनशनरत पक्ष तत्काललाई अनशन स्थगित गर्ने निष्कर्षमा पुगेको हो।

‘रुसी सेनामा गएका नेपाली युवाको जिउज्यानको रक्षा त परको कुरा, आफ्नै आँगनमा अनशन गरिरहेका हाम्रो ज्यानको फिक्रीसम्म सरकारलाई देखिएन,’ आमरण अनशनरत रहेकी अभियन्ता कृतु भण्डारी भन्छिन्, ‘झन् हाम्रा मागमा सरकारको फिटिक्कै ध्यान छैन। यस्तोमा पहिला आफ्नै ज्यान जोगाएर थप आन्दोलन गर्न तत्काल अनशन तोड्ने निर्णयमा पुगेका हौं।’

अनशनमा रहेका रुसी सेनाका आफन्त सरकारको व्यवहारबाट झन् स्तब्ध छन्। रुसी सेनामा भर्ती भएका श्रीमान् माइतमान घर्ती महिनौंदेखि बेपत्ता हुँदा खोजी गर्दै आमरण अनशनसम्म पुगेकी रुकुमपूर्वकी सिरानी घर्ती सरकारको निर्दयी रूप देख्दा साह्रै दुःख लागेको बताउँछिन्।

‘आफ्नै सरकार भन्ने ठानेकी थिएँ। तर रहेनछ,’ उनी भन्छिन्, ‘अनशनमा बस्दा यति निर्दयी रूप देखिन्छ भन्ने अपेक्षा थिएन।’ उनका श्रीमान् माइतमान तत्कालीन नेकपा माओवादीले गरेको १० वर्षे सशस्त्र संघर्षका छापामार(जनमुक्ति सेना) पनि हुन्। ‘हाम्रो सिंगो परिवारले गरेको संघर्ष प्रचण्ड (प्रधानमन्त्री पुष्पकमल दाहाल) र नारायणकाजी श्रेष्ठहरूलाई रहेछ। आफ्ना लागि रहेनछ,’ उनले दुःखेसो पोखिन्।

आमरण अनशनमै रहेका सुर्खेत पञ्चपुरी गाउँपालिका–५ का किशन थापाले भने सरकारको व्यवहार पूर्वानुमान गरिसकेका थिए। ‘म महिनौंदेखि काठमाडौंमा भौतारिरहेको छु। सरकारले केही सुनेकै थिएन। अनशन बस्दा पनि के सुन्ला र? भन्ने लागेको थियो। आखिर त्यही देखियो,’ थापाले भने। रुसी सेनामै भर्ती रहेका थापाका साला लक्ष्मण बिष्ट पनि महिनौंदेखि सम्पर्कविहीन छन्।

आमरण अनशनरत तीनैजनाले आइतबार गह्रौं मन बनाएर अनशन तोडेका छन्। आइतबार दिउँसो परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागका महानिर्देशक प्रकाशमणि पौडेलसहित परराष्ट्रमन्त्रालयको टोली अनशनस्थल शान्तिबाटिका पुगेको थियो। टोलीले संवाद गरेपछि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव गणेशप्रसाद पाण्डेयले अनशनरत् पक्षले उठाएका मागबारे सरकारको गम्भीर ध्यानाकर्षण भएको र समस्या समाधानका लागि कुटनीतिक माध्यमबाट भन्दै अनशन स्थगित गर्न लिखित आग्रह गरेका थिए।

‘अनशन थालेदेखि सरकारका तर्फबाट आधिकारिक रूपमा सम्बोधन भएको यो नै पहिलो पटक हो,’ अभियन्ता भण्डारी भन्छिन्,‘यसमा पनि कुनै आशातीत कुरा भने आएको छैन। तैपनि आफ्ना अजेन्डा बचाइराख्न जीवित रहनु पनि जरुरी छ भनेर अनशन तोडेका छौं।’

साँझ सचिव पाण्डेय, प्रधानमन्त्री पुष्पकमल दाहालका जनसम्पर्क सल्लाहकार बुद्धि जिसी र काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतसहित अनशनस्थल पुगेका थिए। सोही क्रममा सचिव पाण्डेय र काका रुसी सेनामा रहेकी चार वर्षीया बालिका सुशन कुमालको हातबाट जुस पिएर तीनै जनाले अनशन तोडेका छन्।

अनशन तोडे पनि आन्दोलन जारी रहने उनीहरूले बताएका छन्। ‘हामीले आन्दोलन जारी राख्न आफ्ना बाँच्नुपर्छ भनेर अनशन तोडेका हौं। अनशन तोडे पनि हाम्रो आन्दोलन रोकिने छैन,’ अनशन तोडेपछि सिरानी घर्तीले भनिन्।

अभियन्ता भण्डारीले रुसी सेनामा रहेका नागरिकका आफन्त र नेपाली युवाको जीवनरक्षा चाहने नागरिक समाज समेत संगठित गर्दै आन्दोलन अझै बलियो बनाउने काम जारी रहने बताउँछिन्।

उनले भनिन्,‘यसले हाम्रा आवाज रोकिने भन्ने छैन। हामी सरकारसँगको वार्ता र आन्दोलन सँगसँगै जारी राख्छौं। राज्यलाई आफ्ना नागरिकको रक्षा गर्ने दायित्वबाट भाग्न दिँदैनौं।’

यस्तै रुसी सेनामा आफन्त रहेका ५० जनाभन्दा बढी व्यक्ति रिले अनशनमा थिए। उनीहरूले पनि तत्कालका लागि आफ्नो अनशन रोकेका छन्।

प्रकाशित: २४ वैशाख २०८१ ०७:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App