६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

नगरपालिकाको सम्पत्ति तोडफोड आरोपमा पक्राउ परेका वडाध्यक्ष धरौटीमा रिहा

धनुषाको सहिदनगर नगरपालिका-६ का वडाध्यक्ष उमेश कुमार निराला धरौटीमा रिहा भएका छन्।

नगरपालिकाको सम्पत्ति तोडफोड आरोपमा पक्राउ परेका निरालालाई धनुषा जिल्ला अदालतले एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।

आइतबार न्यायाधीश चित्र बहादुर गुरुङको एकल इजलासले वडाध्यक्ष निरालालाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले जानकारी दिए।

नगर प्रमुख दिनेश प्रसाद यादवले दिएको जाहेरीको आधारमा धनुषा प्रहरीले वडाध्यक्षसहित ७ जनामाथि आपराधिक उपद्रव मुद्दा दर्ता गरेको थियो। बाँकी ६ जना भने अझै फरार छन्।

गत वैशाख १० गते नगरपालिकाका शिक्षा शाखा प्रमुख विश्वनाथ यादवलाई जिम्मेवारीबाट हटाउन माग राखी नगरपालिकाको कार्यालय घेराउ गर्न पुगेका निरालासहितका प्रदर्शनकारीले नगर कार्यालयमा ढुङ्गामुढा गर्नुका साथै नगर प्रमुख चढ्ने गाडीमा समेत तोडफोड गरेका थिए।

सोही दिन प्रहरीले वडाध्यक्ष निरालालाई नियन्त्रण लिई उनीमाथि आपराधिक उपद्रव मुद्दा चलाइएको थियो। निराला समूहका प्रदर्शनकारीले गरेको ढुङ्गामुढाबाट दुई जना सुरक्षाकर्मीसमेत सामान्य घाइते भएका थिए।

प्रदर्शनकारीको ढुङ्गामुढाबाट नगरपालिकालाई दश लाख रुपैयाँ बराबर नोक्सानी भएको भन्दै क्षतिपूर्ति माग दाबी सहित उनीहरु उपर नगर प्रमुख यादवले मुद्दा दायर गरेका थिए।

प्रकाशित: २३ वैशाख २०८१ १८:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App