४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु

धादिङको थाक्रे गाउँपालिका ५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ।

गएराति ७० वर्षीय तेजबहादुर लामाको एकतले घरमा आगलागी हुँदा उहाँ र उहाँकी ७० वर्षीया पत्नी ठूली लामाको मृत्यु भएको धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम केसीले बताए। घरमा भएका अन्नपात र लत्ताकपडा सबै नष्ट भएको छ।  

‘राति करिब ११ः३० बजे घरमा आगो लागेको खबर पायौँ । हाप्सेचौर अस्थायी प्रहरी चौकी र इलाका प्रहरी कार्यालय खानीखोलाको टोली घटनास्थल पुग्दा उहाँहरूको मृत्यु भइसकेको थियो’, प्रहरी उपरीक्षक केसीले भने।

यसैबीच गोरखामा आगलागीबाट दुईवटा घर र चारवटा गोठ जलेका छन्। गोरखा नगरपालिका– ५, स्थित ठूलोरिपमा घरनजिकै जङ्गलमा लागेको डढेलो बस्तीमा पुग्दा स्थानीय पार्वती राना र रुपा रानाको घर जलेका हुन्।  

आगलागीबाट पार्वतीको दुईकोठे र रुपाको दुईकोठे घर पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए। सोही ठाउँका पूर्णबहादुर मगरको गोठ पनि जलेको उनले बताए। पालुङटार नगरपालिका– ९ चालिसेडाँडामा आगलागीबाट तीनवटा गोठमा क्षति भएको छ। गोठमा बाँधेको एउटा गाई पनि मरेको छ।

 

यसैबीच नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाले ठूलोरिपका आगलागीपीडितलाई राहत सामग्री उपलब्ध गराएको छ। आगलागीबाट घर र गोठमा क्षति पुगेका परिवारलाई आपत्कालीन सहयोग उपलब्ध गराइएको शाखाका कार्यालय प्रमुख सुवास घिमिरले बताए। –रासस

प्रकाशित: २० वैशाख २०८१ ०९:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App