४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

शिशुको हत्या आरोपमा आमा पक्राउ

मोरङको मिक्लाजुङमा नवजात शिशु (छोरा) को हत्या गरेको आरोपमा प्रहरीले शिशुकी आमालाई नियन्त्रणमा लिएको छ।

मिक्लाजुङ गाउँपालिका–१ की २६ वर्षीया महिलालाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए। पक्राउ परेकी महिलाका श्रीमान् वैदेशिक रोजगारीका क्रममा १ वर्षदेखि बाहिरै रहेको प्रहरीको भनाइ छ।

श्रीमान् विदेशमा भएका बेला परपुरुषसँगको अवैध सम्बन्धबाट गर्भवती भएकी महिलाले शिशु जन्माएर हत्या गरी फ्याकेको पाइएको बताउँदै, डिएसपी बस्नेतले भने, ‘शिशुका बाबु भने पत्ता लागेको छैन। शिशुका बाबुको पहिचानको प्रयास भइरहेको छ। घरदेखि १ किलोमिटर उत्तरमा रहेको बाँसघारीमा छोरा जन्माएपछि हत्या गरेर ढुंगाको चेपमा फ्यालेको अवस्थामा सोमबार साँझ शिशुको शव फेला परेको हो।’

शिशुलाई जन्म दिएपछि हत्या गरी घर फर्किँदै गरेकी महिलाको शरीरमा रगत देखेपछि शंका लागी आफन्तले सोधपुछ गर्ने क्रममा जन्माएर शिशुको हत्या गरेको खुलेपछि प्रहरीलाई खबर गरेका थिए। कपडाले छोपेर राखेको अवस्थामा शिशुको शव फेला परेको प्रहरीले जनाएको छ।

सुत्केरी अवस्थाकी महिलालाई नियन्त्रणमा लिएर उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको बताउँदै, डिएसपी बस्नेतले भने, ‘उनको स्वास्थ्य अवस्था कमजोर देखिन्छ। महिला उपचाररत रहेका कारण विस्तृत रुपमा सोधपुछ गर्न नसक्दा यथार्थ कुरा खुल्न सकेको छैन। अस्पतालबाट डिस्चार्ज भएपछि थप अनुसन्धान अघि बढ्ने छ।’

परिवारका सदस्यले दिएको जाहेरीका आधारमा उनीविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान अघि बढ्नेछ। शिशुको शवलाई पोस्टमार्टमका लागि धरान लगिएको प्रहरीले जनाएको छ। 

प्रकाशित: १८ वैशाख २०८१ १९:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App