२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

खलंगामा कृषि, पर्यटन र व्यापार महोत्सव

जुम्लाको सदरमुकाम खलंगामा कृषि पर्यटन प्रथम बृहत् व्यापार तथा सांस्कृतिक महोत्सव भइरहेको छ। संघीय सांसद विनिता कठायतले महोत्सवको उद्घाटन गरेकी थिइन्।

महोत्सवले आर्थिक क्षेत्रलाई चलायमान बनाउनुका साथै कला र संस्कृतिको प्रवर्द्धनमा टेवा पुर्‍याउने उल्लेख गरिन्। उनले भनिन्, ‘मनोरञ्जनसँगै भाषा र संस्कृतिको संरक्षण पनि हुने छ।’

राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान जुम्लाको आयोजना र एके इभेन्ट बहुउद्देश्यीय प्रालि सुर्खेतको सहयोगमा वैशाख १३ देखि २३ सम्म सञ्चालन हुने महोत्सवबाट यस क्षेत्रका कृषि, जडिबुटी, पर्यटन, ऊर्जा, संस्कृति तथा सांस्कृतिक वस्तुको प्रदर्शन गरी प्रचार–प्रसार गर्ने र कला र संस्कृतिका माध्यमबाट कर्णालीको सुन्दरता चिनाउने लक्ष्य राखिएको छ।  

कर्णालीको कृषि क्षेत्रको पहिचान गरेर पर्यटक भित्र्याउने उद्देश्य हो। महोत्सव अवधिभर  फलफूलमा स्याउ, ओखर, बालीमा मार्सी धान, मार्सी चामल, चिनो, कागुनो, फापर, सिमीका स्टल राखिएका छन्। कपडामा परम्परागत राडीपाखी, खरायोका टोपीहरुको स्टल छन्।

बजारमा अधिक माग भए पनि मूल्य पाउन नसकेको कृषिजन्य वस्तु बजारीकरणका लागि पनि महोत्सवले सहयोग गर्ने जुम्ली किसान बताउँछन्।

उत्पादन वृद्धिसँगै कृषि क्षेत्रको महत्व प्रचार–प्रसार गर्नका लागि बृहत् कृषि पर्यटन सांस्कृतिक महोत्सव हुन लागेको राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान जुम्लाका अध्यक्ष कर्णबहादुर बुढ्थापाले बताए।

उनले भने, ‘महोत्सवमा स्थानीयदेखि राष्ट्रय चर्चित कलाकारको प्रस्तुति रहेको छ। कृषि पर्यटन प्रवर्द्धन र स्थानीय कलाकारको खोजीका लागि महोत्सव सञ्चालन गरिने अध्यक्ष बुढथापाले बताए। महोत्सवमा विभिन्न ५०÷६० स्टल बुक भइसकेका छन् भने ८०÷९० वटा स्टल छन्।

‘लोक, कला र संस्कृतिको संरक्षण, रूपान्तरण, समुद्री हाम्रो अभियान कृषि संस्कृति र संस्कार हाम्रो पहिचान कृषि पर्यटन र स्थानीय उत्पादनको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने महोत्सवको नारा रहेको छ।

महोत्सवमा देउडा, दोहोरी, एकल नाच प्रतियोगिता गरिने लोक तथा दोहोरी गीत प्रतिष्ठानका सचिव विश्वराज खत्रीले बताए। प्रतिष्ठानका अनुसार स्थानीय कलाकारलाई पनि प्राथमिकता दिइने छ।

प्रकाशित: १४ वैशाख २०८१ १७:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App