२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

दुर्घटनामा परी दुईको मृत्यु, एक घाइते

मोरङको लेटाङमा टेम्पो र केराबारीमा साइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा परी एकजना घाइते भएका छन्।  

लेटाङ नगरपालिका– ३ स्थित भित्री सडक खण्डमा को २ ह ३२०८ नम्बरको टेम्पो आफैं अनियन्त्रित भएर शुक्रबार दुर्घटना हुँदा चालकको मृत्यु भएको मोरङ ट्राफिक कार्यालयले जनाएको छ। टेम्पोमा सवार अर्का व्यक्ति घाइते भएका छन्।

लेटाङबाट कानेपोखरीतर्फ आउँदै गरेको टेम्पोका चालक कानेपोखरी गाउँपालिका– ७ का ४१ वर्षीय ओमनारायण श्रेष्ठको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिए।

उनका अनुसार दुर्घटना परेर घाइते भएका श्रेष्ठलाई उपचारका लागि लेटाङको एड्भान्स हेल्थ केयर सेन्टरमा भर्ना गरिएको र त्यही उपचारकै क्रममा मृत्यु भएको हो।

ट्राफिक प्रहरीका अनुसार टेम्पोमा सवार कानेपोखरी– ७ का ३१ वर्षीय पूर्णबहादुर तामाङ दुर्घटनामा परी घाइते भएको र उनको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ। तीव्र गतिका कारण टेम्पो दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ।

त्यसैगरी, केराबारी गाउँपालिका– ७ मा साइकल दुर्घटना हुँदा सोही वडाका १७ वर्षीय निर्मल महतोको मृत्यु भएको ट्राफिक प्रमुख न्यौपानेले बताए। उनका अनुसार बिहीबार महतो आफ्नै घरअगाडि साइकल कुदाउँदै गर्दा अनियन्त्रित भई लड्दा साइकलको हेन्डिल पेटमा लागी घाइते भएका थिए।

ट्राफिक प्रहरीका अनुसार घाइते भएका महतोको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा राति साढे ११ बजेतिर मृत्यु भएको हो। घटनाको थप अनुसन्धान भइरहेको ट्राफिक प्रहरीले जनाएको छ।

प्रकाशित: १४ वैशाख २०८१ १६:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App