२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

प्रमाण नष्ट गर्न सक्ने भन्दै सुनिल पौडेललाई थुनामा राख्न आदेश

विशेष अदालतले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई थुनामा राख्न आदेश दिएको छ। अवैध सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा विशेष अदालतले उनलाई बुधबार थुनामा पठाउने आदेश दिएको हो।

उनीसँग २३ करोड ७५ लाख रुपैयाँ अकुत सम्पत्ति रहेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आइतबार मुद्दा दायर गरेको हो। पौडेलले प्रमाण नष्ट गर्न सक्ने तथा पैसा लुकाउन सक्ने भन्दै अदालतले थुनामा पठाएको हो।

उनलाई गत माघ १० गते अख्तियारले पक्राउ गरेको थियो। नेशनल पेमेन्ट गेटवेसम्बन्धी भ्रष्टाचार मुद्दामा पनि उनी दोषी ठहर भइसकेका छन्। न्यायाधीशहरू तेजनारायणसिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उनलाई थुनामा पठाउने आदेश दिएको हो। 

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक तथा नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक पौडेलले घुसबापतको रकम सिंगापुरको बैंकमा राखेको अख्तियारले जनाएको छ।

अख्तियारले पौडेलविरुद्ध अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख भएअनुसार उनको खातामा १३ करोड ५३ लाख ८६ हजार २२६ रूपैयाँँ जम्मा भएको छ। उनले त्यहाँ राखेको रकमबारे अख्तियारले छानबिन गरेको थियो।

सिंगापुरको युओबीमा पौडेलको नामको खाता नम्बर ३८०–९४८३१०८ मा पटक पटक रकम जम्मा भएको थियाे। पौडेलको खातामा २०७६ पुस १५, २०७६ चैत १४, १९ र २५ गते रकम जम्मा भएको थियाे।

ललितपुरको पुलचोकस्थित नेक्स्ट जेन सोलुसन, ओम्नी, कमलादीको म्याक्स इन्टरनेसनल र कान्तिपथमा रहेको वर्ल्ड डिस्ट्रिब्युसन नेटवर्क (डब्ल्युडिएन) मार्फत राष्ट्रिय सूचना प्रविधि केन्द्रका ठेक्कामा उनले सेटिङ गरेको अख्तियारले दाबी छ।

नेक्स्ट जेनको लोकल एजेन्ट रहेको इन्स्टासेफ इन्क र ओम्नी ग्रुपकै सिंगापुरस्थित कम्पनी ब्याङ्कोटेक प्रालिजस्ता कम्पनीमार्फत सूचना प्रविधिसँग सम्बन्धित सामान आपूर्ति गरेर सुनिलले कमिसन बुझ्दै आएको स्रोतले जनाएको छ।

सूचना प्रविधिसँग सम्बन्धित सामान आपूर्ति गर्ने गरेको र त्यसबापतको कमिसन विदेशी कम्पनीले उनको सिंगापुरस्थित युनाइटेड ओभरसिज बैंकको खातामा जम्मा गरेको र सोही बैंकबाट ट्रान्सफर गरेको रकम अख्तियारले फेला पारेको हो।

अख्तियारले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक तथा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो २३ करोड ७५ लाख ४६ हजार ३२४ रुपैयाँ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेकोसम्बन्धी आरोप पत्र दायर गरेको थियो।

अकबर हुसेनको म्याक्स इन्टरनेसनल सुनिल र विकलको सेटिङ गर्ने माध्यम बन्दै आएको थियो। राष्ट्रिय सूचना प्रविधि केन्द्रले खरिद गरेको राउटर, नागरिक एपजस्ता अर्बौँका ठेक्का म्याक्सले लिएको थियो।

प्रकाशित: १३ वैशाख २०८१ १५:३९ बिहीबार