२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

पोखरामा डढेलोको असरः धुँवा र खरानी उडेर घरैसम्म

वायु प्रदूषणले धुम्मिएको पोखरा। फाइल तस्बिरः नागरिक

पोखरा–५ पर्स्याङका अजय पौडेलले आजकल खुला आकशमुनि पार्किङ गरेको मोटरसाइकलको सिटमा खरानीका स–साना कण देख्ने गरेका छन्। वरिपरि कतै आगलागी भएकोले खरानीको कण उडेर आएको हुनसक्ने उनको सुरुवाती अनुमान थियो। तर, पछिल्लो केहीदिनदेखि उनले मोटरसाइकलको सिटमा खरानीका कण फेला पारिरहेका छन् । घर वरिपरि आगो नलाग्दा पनि घरसम्मै खरानी र धुवाँ आउने गरेको उनको भनाई छ।

खासमा यतिबेला पर्यटकीय सहर पोखरा धुम्म छ। पर्यटकीय सहर पोखरा नखुलेको लामो समय भयो। हिमाली श्रृंखला नदेखिएको झन्डै महिनादिन पुग्न थाल्यो। त्यत्तिमात्र नभई धुलो र धुवाँले बजार क्षेत्र धुम्मिएको छ। बजार आसपासका डाँडाकाँडा पनि देखिन छाडेका छन्। भिजिविलिटी घटाउँदा त्यसको असर सर्वत्र परेको छ। धुवाँधुलोका कारण मानवीय स्वास्थ्यमा समेत समस्या आउन थालेको सर्वसाधारणको गुनासो छ।

अरुबेला खुल्ने हिमाल देख्न नपाएको र आसपासका डाँडाकाँडा पनि सेताम्य हुँदा उकुसमुकुस अनुभव भएको पोखरेलीको भनाई छ। पौडेल भन्छन,  ‘खरानीका मसिना कण बाहिर सुकाएको लुगामा पनि टाँसिएको हुन्छ । लामो समय पार्किङ गरेको सवारीको सिटमा खरानीका कण टासिएका हुन्छन। त्यसबाहेक नाक पिरो हुने, आँखा पोल्ने समस्या पनि थपिएका छन्।’  

पोखरा आसपासका क्षेत्रमा वन डढेलो लागेकोले त्यहाँबाट उडेर आएको खरानीका कण टाँसिएको हुनसक्ने उनले बताए। ‘नाक पोल्ने, आँखा पिरो हुने त समस्या छँदैछ। डढेलोपछिको धुँवा नै बजार पसेको देखिन्छ,’ उनले भने। पानी नपरेसम्म वा जोडले हावा नचलेसम्म पोखराको यो तुँवालो नहट्ने उनको बुझाइ छ।

गण्डकी प्रदेशको वन निर्देशनालयका अनुसार यो वर्ष अहिलेसम्म प्रदेशका २४९ ठाउँमा डढेलो लागेको छ। सबैगरि ३२ सय २९ हेक्टर वनक्षेत्र आगलागीले ध्वस्त भईसकेको छ। कतिपय ठाउँको डढेलो अझै नियन्त्रणमा छैन। कास्की, म्याग्दी, स्याङजा, बागलुङ लगायतका जिल्लामा यो वर्ष बढी डढेलो लागेको छ। हिमाली जिल्ला मुस्ताङ बाहेक प्रदेशका १० जिल्लाको वन क्षेत्रमा डढेलो लागेको छ।

वन विज्ञान अध्ययन संस्थान पोखराका प्राध्यापक राजन सुवेदीका अनुसार यो वर्ष पोखरामा खासै पानी परेको छैन। सहर आसपासका डाँडाकाँडामा अधिक नै आगजनी भएको छ। पानी कम पर्नु र विकास निर्माणका काम बढी हुँदा त्यसको असर वायुमण्डलमा पर्छ। अहिले पोखरामा धुलो उड्नेगरि धमाधम काम भईरहेको छ। केहीदिन अघि हावाहुरी चल्दा बिस्तार भइरहेको पृथ्वी राजमार्गको चाउथे खण्डमा धुलो उड्दा अस्तव्यस्त भएको थियो। यतिसम्म धुलो उडेको थियो की अघिल्लो र पछिल्लो सवारी ठोक्किने अवस्था समेत आएको थियो।

‘वरिपरि डढेलो लाग्ने, सहरमा धुलो उड्नेगरि विकासका काम हुँदा त्यहाँँबाट उत्पन्न भएको धुलो सिधै वायुमण्डलमा मिसिन्छ। डढेलोपछिको खरानीका कण घरघरसम्म आइपुगेका छन,’ सुवेदीले भने, ‘वन क्षेत्रको डढेलो, विकास पूर्वाधारबाट निस्केको धुलोका कण वायुमण्डलमा मिसएिको छ। हावाहुरी चल्ने वा पानी परेको खण्डमा मात्र त्यो धुलो वायुमण्डलबाट बाहिर जान्थ्यो। तर, जान सकेन।’ उनका अनुसार पानी पर्ने र हावा चल्ने हो भने वायुमण्डलको कण जमिनमा झर्ने हो वा एकठाउँबाट उडेर अर्काे ठाउँमा जान्छ। तर, अहिले जहाँबाट उत्पन्न भयो, त्यही नै रहने अवस्था रहेको उनले बताए।

‘यस्तो अवस्था आयो की धुलो धुँवा जहाँ उत्पन्न भयो, त्यही नै रोकिएर रहेको छ,’ सुवेदीले भने, ‘जोडेले हावा चलेको भए उडेर जान्थ्यो। तर, जान पाएन।’  पोखरा धेरै नै पानी पर्ने सहरको रुपमा परिचित भएपनि पछिल्ला केही वर्षदेखि पानी कम पर्दा त्यसको असर वातावरणमा परेको उनले सुनाए। ‘पानी परेन, त्यही भएर गर्मि पनि ह्वात्तै बढेको हो। धुलो हुने समस्या पनि थपिएको छ,’ उनले भने, ‘पानी पर्ने चक्र कम भएकोले पनि यो समस्या बढेको हो।’  

उनका अनुसार डाँडाकाँडातिर आगजनी हुँदा पनि खरानीको धुलो उडेर पोखरा आउँछ। डाँडाकाँडा र पोखरा उपत्यकाबीचको आकाशमा धुलोधुवा रोकिएर रहेको छ। ‘पानी नपर्ने र हावा नचलेसम्म यो समस्या रहिरन्छ,’ उनले भने, ‘यसले स्वास्थ्यमा समस्या पनि निम्त्याउँछ।’

जल तथा मौसम विज्ञान विभागको पोखरा कार्यालयका पोखरा प्रमुख सुजन सुवेदी पनि डाँडाकाँडामा आगो लागेपछि धुँवा र खरानीका कण उडेर आउँदा अहिले पोखरा सहर नै धुम्मिएको बताउँछन। ‘वायुमण्डलमा धेरै प्रकारको तह मिसिएको छ। धुलो, धुवा, प्रदुषण अधिक बढेको छ। पानी नपरेको र हावा नचलेकोले यो अवस्था आएको हो,’ उनले भने, ‘वायु प्रदुषण अधिक नै बढेको छ। यसले पोखराको भिजिविलिटी पनि घटाएको छ।’

वायुमण्डलको भिजिविलिटी घट्दा पोखराको हवाई उडान पनि बेलाबेला प्रभावित हुने गरेको छ। बिहानै खुल्ने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ढिलागरि खुल्ने र उडान प्रभावित हुने हवाई कम्पनिका पदाधिकारी बताउँछन। ‘हवाई उडानको पनि टुंगो छैन। हरेक दिनजसो हवाई उडानमा कुनै न कुनै खालको अवरोध आइरहन्छ,’ बुद्ध एयरका पोखरास्थित स्टेशन म्यानेजर गौतम बराल भन्छन, ‘विमानस्थल ढिला खुल्नेदेखि हावाहुरी चल्दा उडानै प्रभावित हुने गर्छन।’

प्रकाशित: १२ वैशाख २०८१ १७:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App