२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कतारका अमिर शितल निवास प्रस्थान, बानेश्वर- टिचिङ सडक अवरुद्ध

तस्बिर: दिपेश दर्शनधारी/नागरिक

नेपालका दुई दिने राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै राष्ट्रपति भवन शीतल निवास प्रस्थान गरेका छन्।

उनकाे सवारीका कारण हाल अन्तर्राष्ट्रिय विमानस्थलबाट बानेश्वर हुँदै शीतल निवाससम्मकाे सडक अवरुद्ध छ। शीतल निवासबाट एयरपोर्टसम्म चल्ने सवारीसाधनलाई डाइभर्ट गरिएको छ।

तस्बिर: दिपेश दर्शनधारी/नागरिक

मंगलबार कतारका अमिर थानीले राष्ट्रपति पौडेलसँग शीतलनिवासमा भेटवार्ता गर्ने कार्यक्रम छ। उक्त भेटवार्ताका लागि आधा घण्टादेखि ४५ मिनेटको समय छुट्याइएको छ।

भ्रमण अवधिभर सार्वजनिक र निजी सवारी चल्न रोक लगाइने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएकाे छ।

कतारका अमिर अल थानी फिलिपिन्सबाट बंगलादेश हुँदै मंगलबार काठमाडौं आइपुगेका हुन्। उनी आफ्नो निजी विमानमा दिउँसो ३:३५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए।

उनको स्वागतका लागि उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल’, सभामुख देवराज घिमिरे र उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ विमानस्थल पुगेका थिए।

यसैगरी कतारका अमिरलाई स्वागत गर्न उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र मन्त्रिपरिषद्का सदस्यलगायत उच्चपदस्थ अधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि विमानस्थल पुगेका थिए।

नेपालको राजकीय भ्रमणमा आएका अमिर थानीको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी अर्पण गरेको थियाे।

राष्ट्रपति पौडेलसँग शीतलनिवासमा भेटवार्तापछि होटल सोल्टीमा उनका लागि राष्ट्रपतिले रात्रीभोजको आयोजना गरेका छन्।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालसहित सरकारका उच्चपदस्थ अधिकारीहरू उक्त राजकीय भोजमा सहभागी हुनेछन्।

कतारका अमिर अरब राष्ट्रहरूबाट नेपालको भ्रमणमा आउने हालसम्मकै सबैभन्दा विशिष्ट पाहुना हुन्।

भ्रमणका क्रममा नेपाल र कतारबीच युवा तथा खेलकुद र शिक्षा तथा वैज्ञानिक अनुसन्धानलगायत विभिन्न क्षेत्रमा सहकार्यसम्बन्धी समझदारी हुने जनाइएको छ।

नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि कतारका अमिरको यो पहिलो नेपाल भ्रमण हो।

नेपालले सन् २००० जुलाई ११ मा दोहामा राजदूतावास स्थापना गरेको थियो भने कतारले काठमाडौँमा आफ्नो राजदूतावास सन् २०११ अगस्टमा स्थापना गरेको थियो।

प्रकाशित: ११ वैशाख २०८१ १७:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App