२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कतारी राजा आउँदा सार्वजनिक सवारीसाधन बन्द नहुने, विमानस्थल भने आधाघन्टा बन्द हुने

कतारका राजा शेख तमिम बिन हमाद अल थानी आज काठमाडौँ आउँदा सवारीसाधन बन्द नगर्ने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कतारी राजा आउँदा सर्वसाधारणलाई मर्का नपर्ने गरी सवारी साधनलाई सुरक्षित हिसाबले व्यवस्थापन गरिने छ।

‘उपत्यकाका प्रत्येक रुटमा ट्राफिक प्रहरी परिचालन गरेका छौँ। उसो त आज सार्वजनिक बिदा छ। अरु दिनको भन्दा आज त्यति धेरै यात्रु आवत जावत नगर्ने भएकाले पनि हामीले ट्राफिक जाम हुन नदिने भन्दै सुरक्षित व्यवस्थापन गरेका छौँ,’ उपत्यका प्रहरी कार्यालयका एसपी तथा सहप्रवक्ता अवदेश बिष्टले नागरिक न्युजसँग भने।

कतारका राजा आउने समयमा करिब आधा घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भने बन्द हुने उनको भनाइ छ।

एसपी बिष्टका अनुसार उनी सवार विमान अवतरण अघि १५ मिनेट र अवतरणपछिको १५ मिनेट अन्य जहाजको उडान र अवतरणमा रोक लगाइनेछ।

उनले भने, ‘महत्त्वपूर्ण विशिष्ट अतिथि आउँदा ल्यान्ड हुनुअघि र पछिका १५/१५ मिनेट अन्य विमानलाई उडान र अवतरण गर्न रोक लगाइनेछ।’

दुई दिने औपचारिक भ्रमणका क्रममा कतारका राजा शेख तमिम बिन हमाद अल थानी आज साँझ नेपाल आउन लागेका हुन्। सरकारले उनको लागि उच्च प्रोटोकलको सुरक्षा व्यवस्था गरेको छ।

प्रकाशित: ११ वैशाख २०८१ १२:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App