२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विराटनगरमा प्रदर्शनकारी र प्रहरीबीच झडप, ७ प्रहरी घाइते

फाइल।

विराटनगर महानगरपालिका–१५ रानी क्षेत्रमा बिहीबार बेलुका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। १५ नम्बर वडाको भित्री सडकमा जम्मा भएका प्रदर्शनकारीलाई प्रहरीले हटाउन खोजेपछि झडपको स्थिति बनेको हो।

प्रहरीले सडकमा जम्मा भएका प्रदर्शनकारीलाई सडक खाली गर्न आग्रह गरेको थियो। स्थानीयले प्रहरीमाथि नै ढुंगामुढा गर्न थालेपछि झडपको स्थिति बनेको मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए।

साढे ५ बजेतिर इलाका प्रहरी कार्यालयदेखि दक्षिणतर्फ रहेको सडक खाली गराउने क्रममा प्रदर्शनकारीबीच झडप भएको बताउँदै, एसपी कार्कीले भने, ‘सडकमा बसेका प्रदर्शनकारीहरुलाई हट्न आग्रह गर्दा नहटेपछि हटाउनका लागि सामान्य बल प्रयोग गर्नु परेको हो।’

एसपी कार्कीले झडपका क्रममा ७ प्रहरी सामान्य घाइते भएको बताए। प्रदर्शनकारीबाट भने घाइते नभेटिएको उनको भनाइ छ।

बुधबार रामनवमीका अवसरमा निकालिएको र्‍यालीको विषयमा दुई पक्षबीच झडप भएको थियो। झडपलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको थियो। त्यसपछि थप झडप हुन नदिन र शान्ति सुरक्षा मजबुत बनाउन नेपाल र सशस्त्र प्रहरी व्यापक रुपमा परिचालन गरिएको थियो।

बुधबार (हिजो) भएको विषय हिजै सकिएको थियो। आज केही युवाहरु सडकमा बसेका थिए। उनीहरुलाई हटाउन खोज्दा झडप भएको बताउँदै, एसपी कार्कीले भने, ‘अहिले रानी क्षेत्र सामान्य बनिसकेको छ। स्थानीयहरु सहज रुपमा हिँडडुल गरिरहेका छन्। फेरी प्रदर्शन हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर सुरक्षाकर्मी परिचालन गरिएको छ।’

प्रदर्शनका क्रममा प्रहरीले विराटनगर–१५ का राजन झा र रितेज झा पक्राउ परेका थिए। दुवै जनालाई सम्झाइ बुझाइ छाडिएको एसपी कार्कीले बताए।

प्रकाशित: ६ वैशाख २०८१ १९:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App