१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अब १० रुपैयाँमै २० लिटर खानेपानी!

फाइल तस्वीर

काठमाडौंवासीले १० रूपैयाँमै २० लिटर खानेपानी पाउने भएका छन्। पहिलोपटक काठमाडौंको बानेश्वरबाट १० रूपैयाँबाट २० लिटर खानेपानी पाउने व्यवस्था भएको हो। काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले यो सुविधा सम्पूर्ण सर्वसाधारणका लागि गरेको हो। यसका लागि पानी लिन चाहनेले स्क्यान वा पैसा खसालेर खानेपानी लिनसक्ने छन्।

अहिले काठमाडौं उपत्यकामा धेरैले खानेपानीका लागि २० लिटरको जारमा पानी खरिद गर्ने गरेका छन्। निजी क्षेत्रबाट उनीहरूले न्यूनतम पनि ४० रूपैयाँ मूल्य तिर्नुपर्छ। यो व्यवस्थापछि सर्वसाधारणले यही न्यूनतम मूल्यलाई नै आधार मान्ने हो भने पनि ३० रूपैयाँ प्रतिजारको पैसा बचत भएको छ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा. सञ्जीवविक्रम राणाले अहिले पनि आफूहरूले पर्याप्त मात्रामा खानेपानी दिन नसकेको स्वीकार गरे। यही कारण काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) सूगको समन्वयमा समानुपातिक रूपमा पानी वितरण गर्न बोर्डले प्रयास गरिरहेको उनले बताए।

 उपत्यकाबासीको पानी पाउने अधिकारको सुनिश्चितताका लागि आगामी दिनमा भूमिगत पानीको संरक्षण तथा वाटर एटिएमको संख्या थप गर्दै लगिने योजना रहेको उनले बताए।

बोर्डका सूचना अधिकारी सन्तोष बरालले नेपालमै पहिलोपटक यो सेवा सर्वसाधारणले पाएको बताए। ‘यस्तो सुविधा दिएको यो नेपालमै पहिलोपटक हो,’ उनले भने, ‘यसअघि पाँच रूपैयाँमा एक लिटर र एक रूपैयाँमा दुई सय मिलीलिटर पानी पाउने व्यवस्था थियो।’ सर्वसाधारणलाई कम मूल्यमा खानेपानी पाउने अधिकार सुनिश्चित गर्नका लागि यस्तो सुविधाको थालनी गरेको उनले बताए।

बोर्डको बुधबार राजधानीमा भएको १९औं वार्षिकोत्सवको अवसरमा खानेपानीमन्त्री राजेन्द्रकुमार राईले १० रूपैयाँमा २० लिटरको जारमा पानी भर्ने कार्यको क्युआरमार्फत शुभारम्भ गरे।

यस अवसरमा मन्त्री राईले खानेपानीसम्बन्धी समस्या समाधानका लागि काठमाडाैं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, काठमाडाैं उपत्यका खानेपानी लिमिटेड र खानेपानी तथा सरसफाइ सेवा महशुल निर्धारण आयोगले संयुक्त पहल गर्नुपर्ने बताए।

 उनले आगामी दिनमा काठमाडाैं उपत्यकाको खानेपानी समस्या निराकरणका लागि बोर्डको १८ वर्षको कार्यानुभवले सार्थकता पाउनेमा आशा व्यक्त गरे। उनले काठमाडाैं उपत्यकाका जनतलाई सहज रूपमा स्वच्छ खानेपानीको पहुँच पुर्‍याउन प्रशासनिक कार्यलाई छरितो बनाउनुपर्नेतर्फ ध्यानाकर्षण गराए।

प्रकाशित: ६ वैशाख २०८१ ०८:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App